About Me

नमस्कार !
यहाँलाई मेरो वेवपेजमा स्वागत छ । यहाँलाई थाहै छ म लेखक हुँ । मेरो काम लेख्ने हो । त्यसो त म लेखक मात्र नभएर कवि र पत्रकार पनि हुँ । तर म केही वर्षदेखि आख्यानमा काम गरिरहेको छु । यो पेजमा तपाईंले मेरा कृति र ब्लगमार्फत् मलाई अरू नजिकबाट चिन्न सक्नुहुने छ ।
म गाउँमा जन्मिएको र हुर्किएको हुँ । म अहिले जुन ठाउँमा आइपुगेको छु त्यहाँसम्म आइपुग्न मैले धेरै नै सङ्घर्ष गर्नुपरेको छु । मेरो जीवनको पाटो निराशा, अस्थिरता र सङ्घर्षमय छ । म सानैदेखि परिवर्तन र सुखी समाज बनाउने सपना बोकेर हिँडेको थिएँ । सपना प्राप्तिको यात्रा राजनीतिक थियो । तर त्यो राजनीति विशुद्ध राजनीति नभएर साहित्य र राजनीतिको सम्मिश्रण थियो । मेरो चरित्र पनि, सायद, राजनीतिमा भन्दा साहित्यमा फिट हुने खालको थियो । यही चरित्रकै उपलब्धी थियो कलासाहित्यको अविराम यात्रा ।
सानोमा म असाध्यै सोझो र अन्तर्मुखी थिएँ । मानिस देख्यो कि डराएर भाग्ने गर्थें । मेरो बाल्यजीवन गरिवी र अभावमा बित्यो । हाम्रो परिवार आर्थिक रूपमा विपन्न त छँदै थियो साथै छरछिमेक र आफन्तबाट तिरस्कृत थियो । सामाजिक अर्र्घेल्याइँकै कारण म बिस्तारै विद्रोही विचारको नजिक भएँ । परिवारको दारुण अवस्था, सामाजिक विभेद र असमानता देख्दा म व्याकुल हुन्थेँ । लोभ, लालच, छलकपट र धुत्र्याइँ देख्दा विचलित हुन्थेँ । शोषण, अत्याचार र अर्घेल्याइँका कारण मभित्रको विद्रोही चेतना अरू विकसित भयो ।
म हाइस्कुलदेखि नै माक्र्सवादी विचारको नजिक पुगेँ । म बिस्तारै राजनीतिक आन्दोलनमा क्रियाशील भएँ । राजनीतिक र सामाजिक विसङ्गतिविरुद्धको सङ्घर्षले मलाई प्रश्न गर्न सिकायो । म जुन राजनीतिक वातावरणमा हुर्किएँ, जुन विचारलाई आत्मसात गरेँ त्यसले मलाई अलग धारमा ल्याएर उभ्यायो ।
अहिले म स्वतन्त्र लेखनमा क्रियाशील छु । तर पनि विचार र वर्गपक्षधरताभन्दा टाढा छैन । म प्रायः राजनीतिक र सामाजिक विकृति, विसङ्गतिका विरुद्धमा कलम चलाउँछु । मेरा अधिकांश कृतिमा राजनीतिक विषय भेटिन्छन् । ‘विद्रोहको छाल’ मेरो पहिलो कविता कृति हो । जुन वि.सं.२०४३ सालमा प्रकाशित भएको थियो ।
म साहित्यलाई आदर्श र सपनाको रूपमा लिन्छु । साहित्य व्यापार हुन सक्दैन भन्ने मेरो मान्यता छ । हुन त बजारले साहित्यलाई पनि वस्तुका रूपमा विक्री गर्छ । त्यसो त म पनि साहित्यको बजारीकरणलाई मान्यता दिन्छु । यसको अर्थ यो हैन कि साहित्य आर्थिक लाभकै लागि लेखिन्छ ।
साहित्य विचार निर्माण र सामाजिक परिवर्तनको महङ्खवपूर्ण उपकरण हो भन्नेमा विश्वास गर्छु म । साहित्यमा जीवन र जगतको प्रतिबिम्बन हुन्छ र हुनुपर्छ । साहित्य मनोरञ्जनको साधन मात्र नभएर जीवनलाई अझ सुन्दर र अझ आदर्शमय कसरी बनाउन सकिन्छ भन्ने दिशामा उन्मुख हुनुपर्छ ।
म साहित्यलाई आर्थिक लाभ, सम्मान र पदप्रतिष्ठा प्राप्त गर्ने भ¥याङ बनाउनु हुन्न भन्ने मान्यता राख्छु । साहित्य सिर्जना भनेको सामान्य काम हैन र यसलाई हल्का रूपमा लिनु पनि हुन्न । जे लेखे पनि सहित्य हुन्छ भन्ने मान्यताको विरोधी हुँ म । साहित्यकारको काम पाठकलाई जीवनको नयाँ गोरेटो देखाउने हो ।
म प्रयोग र क्रमभङ्गतामा विश्वास गर्छु । शिल्प र शैलीमा नवीन प्रयोग, गहन विषय र जिम्मेवारीपूर्ण लेखनले मात्र साहित्यको उच्चता निर्धारण हुन्छ । उटपट्याङ विषय, सस्तो मायाप्रेम र मूल्यहीन बरबराहट साहित्य हुन सक्दैन । यही भएर नै मैले लामो समयदेखि विभिन्न संघसंस्था, अभियान र आन्दोलनमार्फत् गहन साहित्यको पक्षमा बहस र अन्तक्र्रिया गर्दै आएको छु ।
कलासाहित्य सत्ताको स्थायी प्रतिपक्षी हुनुपर्छ भन्छु म । साहित्यले सत्ताको प्रशस्ती गाउन सक्दैन । सत्ताको भाटगिरी गर्ने, पुरातन र पश्चगमन विचारको वकालत गर्ने तथा क्रान्ति, परिवर्तन र अग्रगमनविरोधी कार्यमा संलग्न हुने मानिस खासमा लेखक नभएर लेखन्दास हो ।
साहित्यकारले सधैँ अलग धारमा रहेर सिर्जन कार्य गर्नुपर्छ । हाम्रो जस्तो मुलुकमा, जहाँ हरेक मानिस कुनै न कुनै राजनीतिक पार्टीमा संलग्न छन्, मेरो विचार अल्पमतमा पर्न सक्छ । तर पनि म ‘अलग धार’ को लेखनमा क्रियाशील छु । ‘अलग धार’ आन्दोलन पनि हो र अभियान पनि । नेपाली समाज हिजोभन्दा नितान्त नयाँ ठाउँमा आइपुगेको छ । हिजोका राजनीतिक र सामाजिक मूल्यहरू भत्किने र नयाँ बन्ने प्रक्रिया तीव्र बनेको छ । बदलिदो समयमा हिजोका मूल्य, अवधारणा, शैली र संरचनाले काम गर्न सक्दैनन् । यिनलाई भत्काएर नयाँ निर्माण गर्नु अहिलेको आवश्यकता हो । यसो गरिएन भने हामीले समयसँग संवाद गर्न सक्ने छैनौँ । यही भएर पनि म ‘अलग धार’मा विश्वास गर्छु ।
‘सुनको पहाड, अरुन्धतीको मृत्यु’ र ‘लक्ष्मण थारूकी आमा’ अलग धारका निर्माण हुन् । विषय, शैली र संरचनामा नवीनता, सत्तासँग आँखा जुधाएर प्रश्न गर्ने आँट र निरन्तरतामा क्रमभङ्ग मेरो लेखनको प्राप्ति हो । सम्भवत यही नै मेरो पहिचान हो ।