भ्रम – विष्णु भण्डारी

तारामान विश्वकर्मा बसपार्क आइपुग्दा झमक्क साँझ परिसकेको थियो ।

सुदूर गाउँको मान्छे, सहर उसका लागि नयाँ थियो । उसले बसपार्कमा उत्रिएर फोन गर्यो । फोन कि त व्यस्त थिए कि स्विचअफ । लामो समय फोन गर्दा पनि सम्पर्क हुन सकेन । अन्तिममा बल्लबल्ल मन्त्रीज्यूको मोबाइलमा फोन लाग्यो । उसले खुसीले पुलकित हुँदै अभिवादन गर्यो, ‘कमरेड अभिवादन ! म तारामान विश्वकर्मा ।’

‘तपाईंले कसलाई खोज्नुभएको ?’ उताबाट उत्तर आयो, ‘मन्त्रीज्यू अहिले व्यस्त हुनुहुन्छ । पछि गर्नुहोला ।’

उसले हेलो हेलो भन्दाभन्दै फोन काटियो ।

‘हँ ! मन्त्रीज्यू व्यस्त हुनुहुन्छ ! पछि गर्नुहोला !’ उसले रन्थनिदै उही कुरो दोहोर्यायो । उसले पहिलो गासमै ढुङगो लागेको महसुस गर्यो ।

‘न कुनै सोधपुछ छ न कुनै शिष्टाचार ! हैन के भएको होला ? पिए भएपछि त कसको फोन आएको हो ख्याल गर्नुपर्छ नि गाठेँ । फोन उठ्न पाएको छैन व्यस्त हुनुहुन्छ रे !’ तर पनि मनलाई सान्त्वना दियो । ‘मन्त्री हुन् व्यस्त त हुन्छन् नै । भोलि नै भेट्नु पर्ला ।’ ऊ यही आशामा नजिकैको होटलमा बस्यो ।

दुर्गम गाउँको सहिदपुत्र हो ऊ । उसको बाउ जिल्लामै चर्चित थियो । उसको र मन्त्री कामरेडको सम्बन्ध प्रगाढ थियो । पछि युद्धमा लड्दालड्दै राष्ट्रका लागि बलिदान गर्यो । उसले कहिल्यै पनि व्यक्तिगत सम्पत्तिमा ध्यान दिएन, न त परिवारलाई नै व्यवस्थित गर्यो । बरु पढ्दै गरेको छोरोलाई युद्धमा तान्यो । जिल्लामा मात्र हैन देशकै आदर्श नेतृत्वमा उसको गणना हुन्थ्यो । उसले अग्रमोर्चामा लड्दालड्दै जीवन गुमाएको थियो ।

युद्ध रोकिएपछिको कुरो हो । घर छोडेर युद्धमा गएकाहरू आ–आफ्नो घर फर्किए । गाउँ आउनेहरू कसैले इन्चार्ज, कसैले सेक्रेटरी त कसैले अध्यक्षको जिम्मेवारी पाए । कोही जिल्लामा कोही नगरमा त कोही गाउँमा खटिए । सेनामा जानेहरू क्यान्टोनमेन्टमा बसे । क्यान्टोनमेन्टमा नबस्नेहरू वाइसिएलमा संगठित भए । ऊ भने गाउँ कमिटीको सदस्यमा खुम्चिएर बस्यो । सहिद परिवार भएर मात्र हुँदो रहेनछ । ऊसँग न पढाइ थियो न सम्पत्ति । सम्पत्ति र पढाइ भएका टाठाबाठाहरू माथि माथि पुगे । ऊ गाउँमै बस्यो । पार्टीले लगाएको काम ग¥यो । कहिले पनि कामदेखि भागेन । उसले सोच्यो क्रान्ति नै भविष्य हो, पार्टी नै जीवन हो ।

उसले रात भनेन, घाम भनेन । जस्तै अप्ठ्यारोमा पनि काममा खटिइरह्यो । युद्ध सकियो, अब कमाउनेतिर लाग्नुपर्छ भन्दै साथीहरू विदेश गए । कोही व्यापारमा लागे, कोही कृषिमा । कोही नेताको फेरो समाएर सहरतिर लागे । ऊ भने क्रान्तिमै डटिरह्यो ।

‘युद्ध रोकिएको हैन, रूप मात्र फेरिएको हो,’ उसले भन्ने गर्थ्यो, ‘जनताको शासन नआएसम्म काँ रोकिन्छ युद्ध ? हामी त जनवाद ल्याउन पो लडेको ।’

संविधान सभाको निर्वाचन भयो । निर्वाचनमा उसको पार्टीलाई सबैभन्दा बढी सिट प्राप्त भयो । तारामान जस्ता हजारौँ कार्यकर्ताको मिहिनेतले उसको पार्टी सबैभन्दा ठुलो दल भएको थियो । निर्वाचनपछि ऊ झनै हौसियो । अब पार्टीले सत्ता कब्जा गर्ने छ । त्यसपछि गरिबका पनि दिन आउने छन् । उसले यस्तै सोच्यो । ऊ नयाँ नेपाल बन्छ भन्नेमा विश्वस्त थियो । उसलाई नेताले जे गर्छन् ठिकै गर्छन् भन्ने विश्वास थियो । नेताकै भरोसामा त यत्रो युद्ध लडेका थिए तारामानहरू । आशा र विश्वासमै महान् वलिदान गरेका थिए ।

अहिलेको अवस्था भने त्यस्तो थिएन । युद्धकालीन आदर्श बिस्तारै हराउँदै गएको थियो । विद्रोहको राप सेलाएको थियो । निर्वाचनपछि गाउँबाट नेता कार्यकर्ता धमाधम सहर पस्ने क्रम सुरु भयो । आफूसँगैका साथीहरू कोही विदेश पुगे कोही नोकरीमा घुसे । कसैले राजनीतिक नियुक्ति पाए कसैले सरकारी सुविधामा कलेजमा पढ्न थाले ।

उसलाई पनि ससानो नोकरीमा लागूँ भन्ने नलागेको हैन । सधैँ पार्टीको मात्र भर पर्नुभन्दा केही गर्नु उचित हो जस्तो पनि नसोचेको हैन । तर पनि ऊ खुम्चियो । उसले सोच्यो, ‘म त महान् सहिदको छोरो पो हुँ । म यति सानो घेरामा अलमलिनु हुन्न । मैले त बुवाको सपना साकार पार्नु छ । म पनि नोकरीमा भुलेँ भने ती सपनाहरू कसले साकार गर्ला ?’ ऊ यही महान् आदर्शको घेरामा अल्झियो ।

दिन बिते ।

एकदिन उसले छात्रवृत्तिमा पढ्नका लागि मन्त्रालयले विज्ञापन खुलाएको समाचार सुन्यो । त्यो पनि दलितका लागि । तीनवर्षे ओभरसियरको पढाइ सक्याएपछि जिल्लामै काम पाइने । यो खबरले ऊभित्र गुम्सिएर रहेको पढ्ने लालसा फेरि जाग्यो । बाउ छँदै स्कुल पास गरेको थियो । क्याम्पस पढ्ने रहर हुँदाहुँदै पढाइ छोडेको थियो । सबैका छोराछोरी युद्धमा लागेपछि उसले मात्र कलेज पढ्न पनि भएन । फेरि बाउले नै यो पढ्ने बेला हैन लड्ने बेला हो भनेपछि ऊ खुरुक्क युद्धमा होमिएको थियो । युद्ध सकिएपछि धन र मन हुनेले पढाइलाई निरन्तरता दिए । ऊ भने पढ्ने चाहना मनभित्रै गुम्स्याएर बसेको थियो । 

‘अध्ययन गर्नु त राम्रो कुरो हो,’ उसले सोच्यो, ‘पढाइबिना न संसारलाई बुझ्न सकिन्छ न नयाँ नेपाल बनाउन सकिन्छ । फेरि पढ्न जानु भनेको क्रान्तिबाट भाग्नु पनि त हैन ।’

उसले स्थानीय नेताहरूसँग सल्लाह ग¥यो । परिवार र साथीभाइसँग राय लियो र उच्च शिक्षा हासिल गर्न सहर पस्यो ।

पहिलोपल्ट आएको हो काठमाडौं । असाध्यै चिसो रहेछ । जताततै फोहोरको डुङ्गुर । जताततै मान्छे नै मान्छे ।  ‘यतिका विधि मान्छे के खान आएका हुनन् सहर !’ यस्तै सोच्दै ऊ सिंहदरबारको खोजीमा निस्कियो । जताततै घरैघर । घरैपिच्छे पसल । ऊ रनभुल्लमा पर्यो । जता गयो उस्तै गल्ली । जहाँ पुग्यो उस्तै बजार । ऊ घरैघरको जङ्गलमा अलमलियो । कहीँ त हरायो पनि । बडो मुस्किलले सहरका गल्लीहरू छिचोल्दै घन्टौँपछि ऊ सिंहदरवारको गेटमा पुग्यो ।

एउटा जङ्घार त पार गर्यो, उसको अगाडि अब अर्को पहाड खडा थियो । त्यो पहाड पार गर्न उसलाई पास चाहिने भयो । पास कहाँ पाउने होला ? ऊ रनभुल्लमा पर्यो । नयाँ मान्छे, ऊसँग न पास थियो न कुनै उपाय । निरुत्तर गेटमै उभिइरह्यो । लामो समयको पर्खाइपछि जिल्लाका सांसदको साथ लागेर ऊ भित्र पस्यो ।

मन्त्रालय मन्त्रीको बाटो हेरेर बसेको थियो । चिसो हावा खाउँला जस्तो गरी बग्दै थियो । पानी पर्लापर्ला जस्तो, आकाश बादलले डम्म थियो । बिहानैदेखि घाम नदेखेको उसले कुन दिशा कता पर्छ छुट्याउन पनि सकेन ।

ऊ पनि मन्त्री भेट्ने लाममा लामवद्ध भयो ।

काठमाडौं त्यसमा पनि मन्त्रालय, कसलाई कसको मतलब ! सबै आ–आफ्नो काममा व्यस्त । सबै आ–आफ्नै गफमा मस्त । एकलो र नयाँ मान्छे, भर्खर गाउँबाट आएको भएर हो कि उसलाई कसैले मतलब गरेन । कतै मेरो शरीरको गाउँ त गन्हाएन ? गाउँले भनेर पो नबोलेका हुन् कि ! यस्तै सोच्दै ऊ चुपचाप बस्यो ।

लामो पर्खाइपछि सुकिला मुकिलाद्वारा घेरिएर मन्त्रीज्यूको सवारी भयो । उसले अभिवादनको मुठ्ठी उठायो । तर त्यो मुठ्ठी जुम्ले हातहरूको हुलमा कता हरायो कता । तर पनि ऊ निराश भएन । आफ्नै कामरेडलाई मन्त्रीको रूपमा पाउँदा ऊ हुनसम्म खुुसी भयो । उसलाई लाग्यो, बाँचेका भए उसका बाउ पनि यसरी नै मन्त्री हुन्थे होलान् । यसरी नै सुकिला मुकिलाद्वारा घेरिएर हिँड्थे होलान् ।

उसले मन्त्रीसँग आफूले राख्ने विषयवस्तुको खाका बनायो । उसले मन्त्रीलाई भन्ने छ, ‘कमरेड ! म पार्टी र क्रान्तिका लागि पढ्न चाहन्छु । म दलितको छोरो । अनि म सहिदपुत्र पनि । यस्तै यस्तै ।’

लामो समयको प्रतीक्षापछि उसको पालो आयो । ऊ खुसी हुँदै भित्र पस्यो । मन्त्रीज्यू घुम्ने कुर्सीमा बसेका थिए । बाहिर चिसो भए पनि मन्त्रीज्यूको कार्यकक्ष तातो र न्यानो रहेछ । पहिले त उसलाई कोठाको भव्यता र मन्त्री कमरेडको गाम्भीर्यता देख्दा बोल्न पनि दकस लाग्यो । तर पनि उसले नजिकै बस्दै भन्यो, ‘कमरेड ! म पनि सरकारी कोटामा पढूँ कि भनेर । म दलित पनि…….।’

उसको भनाइ नसकिँदै मन्त्रीले भने, ‘दलित मात्र भएर पुग्दैन कमरेड ! सहिद परिवार पनि हुनुपर्छ ।’

उसले हर्षित हुँदै भन्यो, ‘म सहिद वीरबहादुको छोरो ! मलाई चिन्नुभएन कमरेड ? तपाईं कैयौँ पटक हाम्रो घरमा बस्नुभएको छ । हामीसँगै खाना खानुभएको छ । मेरो घर पश्चिम कालागाउँ हजुर !’

‘ए ! हो त हगि । कस्तो बिर्सिएछु । सहिद वीरबहादुरलाई कसले नचिन्ला ? ठिक छ पिएलाई नाम टिपाएर जानुुस् । म हेरूँला ।’

मन्त्री कमरेड यति भनिनसिध्याउँदै उठिसकेका थिए । उनी अरू केही नबोली बाहिरिए । ऊ अझ धेरै बोल्न चाहन्थ्यो । काठमाडौंमा आफ्नो कोही नभएकोले केही दिन बस्ने व्यवस्था हुन्छ कि भन्न चाहन्थ्यो । तर बोल्नै नभ्याउँदै को को हुन् कोे कोले मन्त्रीलाई घेरिहाले ।

उसले पिएलाई आफ्नो बायोडाटासहित नाम टिपायो र बाहिरियो ।

उसलाई मन्त्रीले सहिद परिवारमाथि जोड दिएकोमा असाध्यै खुसी लाग्यो । ऊ दलित मात्र नभइ सहिद परिवार पनि भएकोले काम बन्नेमा ढुक्क थियो ।

‘म सभासद भएपछि मेरो पहिलो काम दलितको पक्षमा हुने छ । दलित वर्षौंदेखि हेपिएका छन् । उत्पीडनमा पारिएका छन् । म यसको व्याजसहित फिर्ता गर्ने अभियानमा लाग्ने छु ।’ मन्त्री हुनुभन्दा पहिले यिनले भनेका थिए ।

पुरानो कुरा सम्झिँदा पनि उसको छाती ढक्क भयो । ऊ निश्चिन्त भएर मन्त्रालयबाट निस्कियो ।

‘अब बस्ने पो कहाँ हो ?’ ऊ केहीबेर यस्तै सोच्दै यत्तिकै रल्लियो । अन्तिममा आफूसँगै काम गरेको जिल्लाबासी कामरेड दानसिंलाई फोन ग¥यो । दानसिं राज्यस्तरीय वाइसिएल सदस्य थियो । ऊ काठमाडौंमा बस्ने भएकोले पनि ऊसँगै बस्नु उपयुक्त लाग्यो उसलाई । फोन गरेको केही समयमै पल्सर हुइक्काउँदै दानसिं आयो । ऊ उसैको क्याम्पमा बस्ने भयो ।

तारामान अर्कोदिन सहर घुम्न निस्कियो ।

पहिले त उसलाई यो सहर भव्य र सुन्दर लाग्यो । तर उसले जतिजति सहरलाई बुझ्दै गयो त्यति नै सहर उसले सोचोजस्तो सुन्दर नभएको अनभूत गर्यो । उसले केही दिनमै काठमाडौंमा रहेका धेरै कामरेडलाई भेट्यो । प्रायः सबै व्यस्त । कोही राजनीतिक नियुक्तिमा । कोही नोकरी र ठेक्कापट्टामा । कोही मुद्दा मामिलामा व्यस्त कोही घरजग्गा र मेनपावरमा व्यस्त ।

‘ओहो ! कति साह्रो बदलिइसकेछ पार्टी ?’ उसले यस्तै सोच्दै नेतृत्वलाई भेट्ने उपक्रममा लाग्यो । कोही गाडीमा घुइँकिने, कोही बाइकमा हुइँकिने । सबैजसोका फ्ल्याट र कोठा । सबैकुरा व्यवस्थित । छोराछोरीे वोर्डिङ्मा पढ्दै । श्रीमतीहरू ल्याङ्गेज र कम्प्युटर सिक्दै ।

‘कति छिटो यति धेरै प्रगति भएछ हँ !’ उसले अचम्म मान्यो ।

मन्त्रालय जान्छ प्रायः नयाँ र नौला मान्छेको भिड छ । हिजोका मन्डलेहरू खाँटी कार्यकर्ता भएका छन् । हिजोका भ्रष्टाचार र हत्याका आरोपीहरू नेता भएका छन् । पहिले त उसलाई पार्टीको अवस्था देखर चिन्ता र औडाहा भयो । ऊ छटपटियो । तर उसलाई लाग्यो ऊ मात्र छटपटिएर हुनेवाला छैन । अन्तिममा नेतृत्वले ठिकै त गरेको होला भनेर चित्त बुझायो ।

‘विशुद्ध हुनु मात्र पनि त कम्युनिष्टको गुण हैन । लचक पनि त हुनुपर्यो । फेरि सानो शक्तिले विद्रोह जस्तो कुरो कसरी सम्भब होला र ? यो सबै विद्रोहकै तयारी होला ।’ उसले यस्तै सोच्दै मनलाई सान्त्वना दियो ।

एक दिन ऊ जिल्ला गणतान्त्रिक मञ्चको भेलामा पुग्यो । त्यहाँको माहोल देख्दा ऊ झनै अचम्मित भयो । ओहो ! सबै मान्छे माओवादी भैसकेछन् । जिल्लाबाट काठमाडौं आएर व्यापार व्यावसाय गर्नेदेखि कर्मचारी र विद्यार्थीहरू सबका सब आएका । प्रायः सबैले मुठ्ठी उठाएर सलाम गर्छन् । कसैले पनि सलाम र अभिवादनभन्दा तलको सम्बोधन गर्दैन । सबैले गणतान्त्रिक मञ्चको क्याप लगाएका छन् । हलमात्र हैन प्राङ्गणसुद्ध भरिभराउ ।

कार्यक्रम सुरु भयो ।

मञ्चमा लाम लगाएर आसन ग्रहण गराइयो । महान् कमरेडको दायाँबायाँ भ्रष्ट र हत्याका आरोपीहरू मुस्कुराउँदै बसे । राता, पहेँला खादाद्वारा उसकै सामुन्नेमा सम्मानित भए सबै । मानौँ महान् अभियानका अभियन्ता हुन् । यो सब देख्दा पहिले त ऊ झस्कियो । हिजो युद्ध लडेकाहरू, सहिद र बेपत्ता परिवारजन तलै थिए । तलै बसेर जोडजोडले ताली बजाउँदै थिए । यो सब आँखै अगाडि देख्दा पनि के भएको हो बुझ्न सकेन उसले । उसले पनि ताली बजायो र मनमनै भन्यो, ‘नेतृत्वले ठिकै त गरेको होला ।’

‘हैन यो मान्छे त कृष्णसेनको हत्यामा डामिएको हैन र भन्या !’ असाध्यै भएपछि उसले दानसिंसित मञ्चासीन व्यक्तिको बारेमा जिज्ञासा राख्यो ।

‘त्यै भएर त अतिथिको आसनमा छ । खै ! तँ पुग्न सकिनस् त त्याँ ।’ साथीले यसो भन्दा उसको छातीभित्र कतै च्वास्स घोच्यो ।

‘पार्टी त अर्कै पो भएछ ए ! हैन यो क्रान्तिकारी पार्टी हो कि अरू नै हो ? मैले त बुझ्नै सकिन ।’ उसले कार्यक्रम सकिएपछि साथीलाई भन्यो ।

गाउँमा बस्ने उसलाई के थाहा कि पार्टीले जनतन्त्र हैन संसदतन्त्रको बाटो समातिसकेको छ । उसलाई अझै पनि लाग्दै थियो हामीले बलप्रयोगद्वारा सत्ता हत्याउने हो । नौलो जनवादी क्रान्ति पूरा गर्ने हो । भ्रम न हो । भ्रम पाल्न पाइन्न भन्ने पनि त छैन । यस्तै भ्रमित कार्यकर्ताद्वारा त पार्टी र नेताले जीवनदान पाउँछन् । 

केही दिनपछि छात्रवृत्तिको रिजल्ट निस्कियो । ऊ रिजल्ट हेर्न हस्याङ फस्याङ गर्दै मन्त्रालय गयो । मन्त्रालय पस्दै गर्दा हिजोको निरङ्कुश सत्ताको प्यादा कालिबहादुर विश्वकर्माको छोरो वाइक पार्किङ गर्दैरहेछ । हिजो आफैले खेदेको मन्डले पुत्रको मन्त्रालयमा आगमन देख्दा ऊ झस्कियो ।

‘कतै यो पनि हाम्रै मान्छे त भएको छैन ? हुन त सबै राष्टवादी, सबै खाँटी क्रान्तिकारी भएपछि यो बाहिरै बस्नुपर्छ भन्ने पनि त छैन ।’ ऊ यस्तैै सोच्दै मन्त्रीको कार्यकक्षतिर लाग्यो ।

‘कमरेड ! बधाई छ । ल, तपाईंको नाम एक नम्बरमा निस्कियो ।’ कोठामा पस्दानपस्दै स्वकीय सचिवले भन्यो । उसको यस्तो आवाजले ऊ झन्डै नतर्सिएको ।

‘कसलाई बधाई दिँदै छ यसले ? मलाई त चिन्दैन । फेरि यहाँ कुन कमरेड छ र यसो भन्दै छ ?’ उसले आफैसँग प्रश्न गर्यो ।

उसको दुविधा त्यतिखेर समाप्त भयो जतिखेर मन्डले पुत्रले यो तपाईंकै देन हो भन्यो । त्यसपछि त्यो बधाई दिने व्यक्ति सम्मानपूर्वक उठेर ऊसँग हात मिलायो ।

‘यो कहिलेदेखि कमरेड भएछ हँ ?’ उसले आफैसँग प्रश्न ग¥यो, ‘हिजोको सुराकी कतिछिटो कमरेड भएछ ! जानी नसक्नु छ बाः यो राजनीति पनि !’

उसले हतारहतार सूचनापाटीमा टाँसिएको रिजल्ट हे¥यो । उसको नाम त्यहाँ कतै थिएन ।

‘हैन के अचम्म हो ! नाम त छैन त !’ उसले अविश्वासपूर्वक आफैसँग संवाद गर्दै हात मोल्यो । माघको चिसोमा पनि उसको निधार चिटचिटायो । लिस्टमा आफ्नो नाम छैन भन्नेमा उसलाई विश्वासै लागेन ।

‘कतै मैले पढ्न पो गल्ती गरेँ कि !’ उसले सोच्यो ।

उसले फेरि पनि सूचना पाटीको नामलिस्ट पढ्यो । तर पनि उसले आफ्नो नाम भेट्याएन ।

ऊ खिस्रिक्क परेर टोलायो । हुन पनि त्यहाँ टोलाउनुसिवाय अरू केही थिएन । ऊ न बोल्यो न हाँस्यो । फेरि ऊ कोसँग बोलोस् ? कोसँग हाँसोस् ? उसलाई चिन्ने त्यहाँ को नै थिए र !

अफिस विदा भयो । उसलाई एकपल्ट मन्त्री महोदयलाई भेटेर बेस्सरी आक्रोश पोख्न मन नलागेको हैन । तर उनी यतिखेर त्यहाँ थिएनन् ।

कर्मचारी बाहिरिए । कर्मचारीसँगै मन्त्रालयको ठेक्का लिएर बसेका कुन्डलेमन्डले पनि निस्किए । ऊ पनि निस्कियो । भन्न त धेरैले भन्थे पार्टी संसदीय भासमा जाकियो । नेता नेता जस्ता नभएर व्यापारी जस्ता छन् । उनको आश गर्नु भनेको कसाईको अगाडि खसीले विलौन गरेजस्तै हो । तर उसले पटक्कै विश्वास गरेको थिएन । यो सबै हल्ला हो । हामी पार्टीका असल कार्यकर्ता बजारको हल्लापछि लाग्नुहुन्न भन्ने धारण थियो उसको ।

आज बल्ल पो ऊ सपनाबाट ब्युँझियो । मानौँ ऊ महान् भ्रमबाट मुक्त भएको छ । उसलाई यस्तै लाग्यो । ऊ निरुत्तर बिस्तारै बिस्तारै मन्त्रालयको गेटबाहिर पुग्यो । बाहिर पनि सुनसान र एकलास थियो । ऊ मन्त्रालय बाहिर उभिएर पश्चिम आकाश हेर्यो । सूर्य पश्चिम क्षितिजमा ओर्लिंदै थियो ।

(२०७६, माघको इच्छुकमा प्रकाशित)


  प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार ०१:३४