रामदीप शर्मा यतिखेर सुनसान बगरमा उभिएको थियो । ऊ जहाँ उभिएको थियो कुनै समय त्यहाँ सुन्दर गाउँ थियो । उसले त्यही गाउँमा बसेर युद्धको प्रथम योजना बुनेको थियो । ऊ त्यहाँ धेरै समय बस्यो । युद्धका कठिन दिनमा ऊ त्यहीँको पानी पिएर बाँच्यो, त्यहीँको साथ लिएर लड्यो । तर ऊ सहर फर्किएपछि नदीमा असमेल बाढी आयो । हेर्दाहेर्दै गाउँ बगरमा परिणत भयो ।
लामो समयपछि ऊ फेरि त्यहीँ आएको थियो ।
ऊ त्यहाँ आइपुग्दा गाढा अन्धकार फैलिएको थियो । त्यो ठाउँ कतिविघ्न चकमन्न थियो भने नदीकिनारामा पनि नदीको सुसाहट सुनिदैनथ्यो । उसलाई यतिखेर आफू कहाँ छु भन्नेसम्म पनि थाहा थिएन । उज्यालोको नाममा ऊसँग बेट्री डाउन भएको टर्चलाइट थियो ।
पहिलोपल्ट यात्रामा निस्किदा ऊसँग झुलो र चकमकसिवाय केही थिएन । त्यो पनि बडो मुस्किलले जुटाएको थियो । उहिलेको कुरो हो, जतिखेर ऊ यही बाटो हुँदै अगाडि बढेको थियो, रात अहिले जस्तै अन्धकार थियो । उसले नदीको यही घाटमा दर्शनढुङ्गा रगडेर आगो सल्काएको थियो ।
लामो समय उसले त्यसैगरी आगो बाल्यो । आधुनिक युगमा पनि दर्शनढुङ्गा रगडेर आगो बाल्दा मान्छेहरूले उसलाई खिसिट्युरी गर्थे । हेपेर बोल्थे । सामल दामलबिनै यात्रामा निस्किएको भनेर घृणा गर्थे । हुन पनि ऊसँग केही थिएन । शिखर चुम्न निस्किएको ऊसँग न आगो थियो न धागो । आगो र धागोबिना उसले आफ्नो यात्रालाई कसरी नियमित गर्ला ? कसरी कठिन यात्रामा सफलता पाउला ? सोच्नु मुनासिबै थियो ।
उसले भन्थ्यो, मसँग विश्वास छ, साहस र इच्छाशक्ति छ । महान् सपना बोकेर यात्रामा निस्किएको हुँ । म यही हतियारले संसार जित्ने छु ।
झुलो र चकमककै सहाराले ऊ गाउँ पुग्यो । बस्ती बस्तीमा विचारको नयाँ विरुवा रोप्यो । धेरैपछि किनेको हो सलाई उसले । लाइटर भेट्याउँदा ऊ खुसीले रमाएको थियो । यिनैको सहाराले ऊ अगाडि बढ्यो । टर्चलाइट उसको नयाँ खोज थियो । लाइटको प्राप्तिपछि यात्रामा गुणात्मक विकास भयो । लाइटकै सहराले ऊ धेरै ठाउँ पुग्यो, धेरै माथि पुग्यो ।
धेरै टाढा पुगे पनि आज ऊ पुरानै ठाउँमा आइपुगेको थियो । उसको अघिल्तिर उही दोबाटो थियो, उही नदीसङ्गम थियो, जहाँ वर्षौं अघि उभिएको थियो । यति लामो समयपछि ऊ कसरी त्यहाँ आयो ? कसरी एकलो र सहाराहीन भयो ? यतिखेर ऊ दिनभरि जोतेर थाकेको गोरु जस्तो थकित देखिन्थ्यो । ऊसँग न आँट थियो न इच्छाशक्ति । ऊभित्र न पहिले जस्तो स्फूर्ति थियो न साहस ।
उसले कोटको खल्ती छाम्यो । झोला खोतलखातल गर्यो । अहँ कतै पनि भेटिएन सलाई । लाइटर हुने कुरै भएन । ग्याँस सकिएको भन्दै उहिल्यै फ्याँकेको थियो । ग्याँस भर्न मिल्छ कमरेड राख्नोस् भनेको थियो कसैले । आ ! सहरमा जाबो थोत्रो लाइटरको के काम, फाल्दिन्छु भन्दै फालेको थियो । चकमक र झुलो उहिल्यै खाल्डोमा गाडेको थियो । दर्शनढुङ्गाहरू भिरबाट गुल्टाएको पनि झन्डै एक दशक भयो ।
‘आ जाबो ढुङ्गो ! म त शिखर चुमेको मान्छे पो !’ उनले यस्तै सोचेको थियो ।
उसले लाइट बाल्न अनेक प्रयत्न गर्यो । तर जति नै गरे पनि लाइट बोलेन । मिलिकमिलिक मात्रै गर्यो । लाइट नबोलेको देख्दा ऊ चिन्ताकुल भयो । यहाँबाट कसरी पो बाहिर निस्किने होला भन्ने सन्तापले ऊ आहत भयो ।
ऊ यतिखेर थकित मात्र थिएन, बाटो भुलेको बटुवा जस्तो दिशाहीन थियो । कता जाने ? पूर्व जाने कि पश्चिम ? सबैतिर अन्धकार भएपछि दिशा पनि कसरी छुट्याउनु ? उसले आकाश हेर्यो । आकाश बादलले ढाकिएको थियो । ‘छ्या के भएको यो ? कस्तो अन्धकार !’ उसले सोच्यो ।
अन्धकार मेटाउन हिँडेको ऊ स्वयम् अन्धकारको बन्दी बनेको थियो ।
आहा ! कति रोमाञ्चक थियो विगतको यात्रा ! भोको भए पनि ऊसँग सपना थियो । साथी थिए । जे भेट्यो त्यही खानु र जहाँ नीद लाग्यो त्यहीँ सुत्नुको मजा नै बेग्लै ! उसले विगतको सङ्घर्षशील जीवन सम्झियो । खाँदाखाँदैको गास काटेर ख्वाउने किसान सम्झियो । आफ्नै ओछ्यानमा लगेर सुताउने गाउँले सम्झियो । टाउकोमा रातो तारा अङ्कित क्याप लगाएर उसको स्वागतार्थ उभिएका जनसेना सम्झियो ।
ओहो ! हेर्दाहेर्दै कहाँ बिलाए सबै ? कहाँ गयो त्यो वीरता र शौर्यले भरिएको गाथा ? निश्चय पनि ममाथि कसैले षड्यन्त्र गर्यो । हुन सक्छ यो सबै मेरै सहपाठीको दुष्कर्म हो । उसले कहाँ लग्यो मलाई ? किन म यतिसाह्रो कमजोर भएको ? कसरी यतिछिट्टै मेरो उर्जावान विगत सेलाएको ? उसले सम्झियो मात्र । ऊसँग विगत सम्झिएर पछुताउनु सिवाय अर्को विकल्प थिएन ।
त्यहाँ उभिएको पनि घन्टौँ भएको थियो । पराजयको हीनता र पश्चातापले ऊ कमजोर भएको थियो । ऊसँग अब नयाँ यात्राको कुनै योजना थिएन, न त भविष्यको कुनै मार्गचित्र नै थियो ।
निकैबेरपछि केही पर हो कि हैन जस्तो गरी प्रकाश देखियो । पिलपिलाउँदो उज्यालो देख्दा ऊ खुसीले रोमाञ्चित भयो । तलाउमा डुब्दै गरेको मानिसले तृण भेटे जस्तो, ऊ त्यही उज्यालोको प्रतीक्षामा बस्यो । प्रकाश क्रमश नजिकिदै आयो । यो खुसीको क्षण थियो । उसले अन्तरहृदयबाटै भगवानलाई पुकार्यो ।
‘भगवान तँ साँच्चिकै अपरम्पार छ ! बुझिनसक्नु छस् ! तैँले गर्दा नै मैले शिखर चुमेँ, ढुङ्गे युगबाट महान् युगमा फड्को मारेँ । तैँले नै सलाई र लाइटर दिइस् । तैँले नै टर्चलाइट दिइस् । अनि तैँले नै फेरि भट्किएको मलाई उद्धार गर्न यो प्रकाश पठाइस् । धन्य छस् तँ ।’
हिजोको नास्तिक ऊ अहिले आस्तिक भएको थियो, भगवानको पाउमा परेको थियो । उसको कथन थियो, यो सबै सङ्गतको फल हो । सत्ताको परिणाम हो । शिखरमा पुगेपछि तलतिर हेर्नु पनि भएन । भुइँमान्छेको सङ्गत छुटेर ऊ संभ्रान्त बनेको थियो । उसले भन्थ्यो, ‘यो सबै बाध्यता हो । बाध्यताले मानिसलाई के बनाउँदैन ? सधैँ चकमकको सहारा पनि लिनु भएन । विज्ञान र प्रविधिको युगमा ढुङ्गे युगतिर फर्किनु पनि भएन ।’
रामदीपले विगत कोट्याउँदा कोट्याउँदै प्रकाश उसको धेरै नजिक आइपुगेको थियो । उसले उज्यालो बोक्ने मानिसलाई गौर गरेर हेर्यो । आगन्तुक पनि ऊ जस्तै थियो । फरक यत्ति थियो उसले तिलचामले जुंगा खौरिएको थियो । शिरमा भादगाउँले टोपी सानले लगाएको थियो ।
रामदीपलाई त्यो मानिस पहिले पनि कतै देखेजस्तो लाग्यो । पहिले पनि ऊसँग परिचय भए जस्तो लाग्यो । आगन्तुक नजिकै आएर सानले हात उठाउँदै अभिवादन गर्यो । रामदीपले अन्यमन्यस्क अनुहार लाएर अभिवादन फर्कायो । त्यो मानिस केहीबेर उभियो र सानले भन्यो, ‘फेरि कता निस्किएको ? जङ्गलतिर त पक्कै हैन होला !’
उसको भनाइले रामदीप लजायो । कसरी भन्नु कि ऊ दिशाहीन भएको छ ? शक्ति र शौर्यहीन भएको छ । ऊ बोलेन । नबोलेको देखेर आगन्तुकले नै भन्यो, ‘किन नबोलेको ? मलाई सब थाहा छ, तिमी यहाँ किन उभिएका छौ ?’
उसको भनाइले रामदीप झस्कियो । आफ्नो पोल खुल्ने डरले ऊ प्रकम्पित भयो । कहाँ जान हिँडेको, कहाँ पुगेको थियो ? उसले आफूभित्रको इरादा खोल्न चाहेन । यति सजिलै खोल्न पनि त सक्दैनथ्यो । जसलाई जिन्दगीभरि सरापेर शक्ति आर्जन गरेको थियो आज उसैकोमा जाँदै छु भन्न पनि भएन ।
‘मैले उहिल्यै भनेको थिएँ, तिमी बर्सातमा उम्रिएको च्याउ हौ, हामी बटवृक्ष । कस्तो लाग्यो मेरो भविष्यवाणी ?’ बोल्दै गर्दा आगन्तुकले सानले कुम झट्का¥यो । स्फुट हाँसो हाँस्यो र फेरि भन्यो, ‘केही बिग्रिएको छैन । सबैले छोडे पनि हामी छौँ । जान्छौ भने आऊ मसँग प्रकाश छ ।’
‘जान्छौ ?’
‘कहाँ ? कहाँ जाने भन्दै छौ तिमी ?’
‘कहाँ जाने नि ! देश निर्माण गर्न,’ उसले उसैगरी सानले भन्यो, ‘नयाँ नेपाल बनाउने भनेको हैन ? उतिखेर त हामीले नयाँ जनवाद ल्याउने हो भन्थ्यौ त !’
यतिखेर उसको अनुहारमा व्यङ्ग्यमिश्रित मुस्कान प्रष्टै देखिन्थ्यो । उसको भनाइले रामदीपलाई अपमानबोध भयो । उसले अपमानको थुक घुटुक्क निल्यो ।
रामदीपले चारैतिर हेर्यो । परपर धेरै टाढासम्म अन्धकार फैलिएको थियो । आगन्तुकले बोकेको लाइट जूनकीरी जस्तै चिमचिमाउँदै थियो । लाइटको प्रकाशमा चिहानहरू चम्किदै थिए । चम्किने भन्दा पनि डरलाग्दा देखिदै थिए । म मसानघाटमा उभिएको रहेछु भन्ने कुरा रामदीपले बल्ल थाहा पाएको थियो । यो देखेर उसलाई भित्रैदेखि डर लागेर आयो । नियतिले उसलाई यस्तो डरलाग्दो ठाउँमा ल्याएर उभ्याएको थियो । चारैतिर चिहानैचिहान ! यस्तो ठाउँमा आइपुग्दा ऊसँग उज्यालो थिएन ।
ऊ यो ठाउँमा उभिएको पनि एक दशक भैसकेको थियो । यही बिचमा उसले आफूसँग भएका सबै चिज गुमाएको थियो । सबैको साथ छुटाएको थियो । अहिले ऊसँग सम्पत्तिको नाममा बेट्री डाउन भएको लाइट मात्र थियो ।
हुन त उसलाई थाहा नभएको हैन, उसको यात्रा टुङ्गिएको छ । ऊ यात्राको त्यस्तो मोडमा आएर उभिएको थियो जहाँबाट अन्धकारसिवाय केही देखिन्नथ्यो । यस्तो अवस्थामा पनि उसले भगवानलाई आह्वान गर्दै थियो । फेरि पनि शिखरमा पुग्ने सपना बुन्दै थियो ।
नजिकै खङखङ काँसेको अवाजले उसको तन्द्रा भङ्ग भयो । विगतको स्मृतिका कारण सँगै उभिएको पुरानो मित्रलाई समेत बिर्सिएको थियो । आगन्तुक अझै पनि ऊसँगै उभिएको थियो । उसले फेरि पनि टाठो स्वरमा भन्यो, ‘तपाईं नजाने हैन ? ल म हिँडेँ ।’ यति भन्दै ऊ हिँडि पनि हाल्यो ।
रामदीपले आशङ्काले भरिएका नयनले उसलाई हेर्यो । ऊ थकित भैसकेको थियो । ऊभित्र सिर्जनशीलता गुम्दै गएको थियो । यति हुँदा पनि ऊभित्र रहेको सत्तामोहको अभीप्सा कम भएको थिएन ।
‘सुन्नोस् त कमरेड !’ आगन्तुकलाई सम्वोधन गर्दै उसले भन्यो, ‘लाइटको बेट्री चार्ज गर्न पाए हुने । तपाईं उतै जाँदै हुनुहुन्छ क्यारे ! मलाई पनि छिमेकीको सिमानासम्म पुर्याइदिनोस् न ।’
‘भो भो ठुलो कुरो नगर्नोस् । जसलाई तपाईं टर्चलाइट भन्दै हुनुहुन्छ त्यो लाइट हैन च्याउ हो, च्याउ । उज्यालोको भ्रममा नपर्नोस अब,’ आगन्तुकले रामदीपको भित्रैसम्म घोच्ने गरी भन्यो, ‘चार्ज गर्ने हैन फाल्दिने हो । फाल्दिनोस् त्यसलाई र आउनोस् सँगै जाऊँ ।’
उसको आवाजले रामदीप निराश भयो, तर्सियो पनि । यति लामो समयसम्म उज्यालो दिएको लाइट कसरी फाल्नु ? कसरी अरूको उज्यालोमा आफ्नो भविष्य देख्नु ? पर्नुसम्म विलखवन्दमा प¥यो ऊ । ऊसँग उपाय पनि केही थिएन । उसले सोच्यो, ‘यो बिग्रिएको लाइट बोकेर कतिञ्जेल बस्नु ? कतिञ्जेल बनाउँछु बनाउँछु भन्दै ढाँट्नु ? अरूलाई त ढाँटिएला अफैलाई कहिलेसम्म ढाट्नु ?’
ऊ आगन्तुकतिर फर्किएर किच्च हाँस्यो । मुर्दा हाँसे जस्तो ! उसको हाँसोमा न खुसी थियो न प्राण ।
त्यसपछि त्यो बिग्रिएको लाइट सुनसान बगरमा बेवारिस भयो ।
०००
लाइट बेवारिसे भएपछि गाउँमा अचम्मको घटना घट्यो । रामदीप शर्माको अनुहार एकाएक चिन्नै नसकिने गरी फेरियो । उसको अनुहार मात्र फेरिएन गाउँको मसानघाटमा रातैभरि ज्वाला दन्किन लाग्यो । यी दुबै घटना सँगसँगै घटे । यस्तो अपत्यारिलो घटना देख्दा गाउँलेहरू तर्सिए ।
मसानघाटमा आगोको ज्वाला देखिनु अलच्छिन हो भन्थे हुनेखानेहरू । धेरै पहिले र त्योभन्दा पहिले पनि पटक पटक यस्तै अनिष्टका सङ्केतहरू देखिएका थिए । यस्ता सङ्केत देखिएपछि गाउँमा अशान्ति सुरु हुन्थ्यो । गाउँबाट सुरु भएको अशान्ति बिस्तारै सहरसम्म पुग्थ्यो र राजाको गाथगादी हल्लिन थाल्थ्यो । फेरि पनि त्यही नियति दोहोरिने त हैन भन्ने आशङ्काले गाउँलेहरू त्रसित भए ।
रामदीपको अनुहार कसरी फेरिएको ? फेरिन त पहिले पनि धेरैका अनुहार फेरिएका थिए । तर यतिविघ्न पत्याउनै नसकिने गरी त फेरिएका थिएनन् । उसको अनुहार फेरिएपछि गाउँलेहरू सशङ्कित भएका थिए । बुढापाका भन्थे, मसान रिसाएपछि अगुवाको अनुहार बदलिन्छ । यसपल्ट पनि मसान रिसायो । मसान रिसाउनु भनेको गाउँमा अशान्ति फैलिनु हो । देशकै हर्ताकर्ताको अनुहार फेरिएपछि कसरी आउला र शान्ति ?
आफै फेरिएको होला कि अरूले फेर्दिएको होला ? हुन त अहिलेको टेक्नोलोजीले के नै गरेको छैन र ! कतै उसले प्लास्टिक सर्जरी त गरेन ! सर्जरी गरेको भए त अनुहार मात्र फेरिनुपर्ने । उसको त सम्पूण परिचय नै बदलिएको छ । आफ्नो अनुहारमा अर्कैको अनुहार टाँसेर हिँड्दा पनि ङिच्च हाँस्छ । लाजै नभएजस्तो ! उसलाई कसरी सम्झाउने होला तिमीले जसलाई म भन्दै छौ त्यो तिमी हैनौ, यो अनुहार नक्कली हो, बिलकुल नक्कली । उसलाई यो भ्रमबाट कसरी मुक्त गर्ने होला ? कस्तो मान्छे होला आफ्नै अनुहार फेरिदा पनि दुःखी नहुने ? पहिचान गुमाएर बुख्याँचा जस्तो हुँदा पनि चाल नपाउने ?
गाउँलेको यस्तो भनाइ उसले नसुनेको हैन, सुनेको थियो । तर पनि ऊ नसुनेझैँ गथ्र्यो । गाउँलेहरू चिन्तित भए पनि उसलाई कुनै मतलब थिएन । आफ्नो आलोचना गर्नेहरूलाई उसले मूर्ख र अबुझ भन्थ्यो । पुरातन विचार बोकेर हिँड्ने पाखे भन्थ्यो ।
०००
अनुहार फेरिएको केही समयपछि रामदीप यात्रामा निस्कियो । यात्रामा जाँदै गर्दा यसपल्ट पनि ऊ मसानघाटमा पुग्यो । मसानघाट पहिले जस्तै अन्धकार थियो । रातको घना अन्धकारमा मसानघाट पहिले जस्तै सुनसान देखिन्थ्यो । अहिले पनि ऊ नदी किनारामा उभिएको थियो । त्यहाँ आइपुग्दा खै किन हो ऊभित्रको उत्साह मरिसकेको थियो ।
यतिखेर ऊ अलिक खिन्न देखिन्थ्यो । महलमा मस्तले बस्न छोडेर यस्तो एकलास ठाउँमा आएकोमा उसले आफैलाई धिक्का¥यो । मन खिन्न भए पनि उसलाई त्यहाँ आउनै पर्ने थियो, रातीराती ज्वाला दन्किनुको रहस्य खोज्नु थियो र गाउँलेहरू अन्तै लहसिनुको कारण पत्ता लगाउनु थियो ।
मसानघाटमा ज्वाला दन्किन थालेपछि ऊ चिन्तित बनेको थियो । ऊ मसानघाटमा बलेको आगोमा पानी खन्याउन चाहन्थ्यो । आगो निभाउन ढिला गर्नु भनेको भविष्यमा डढेलो लगाउनु हो भन्ने कुरा उसलाई राम्रैसँग थाहा थियो ।
हुन त ऊ पनि यसैगरी मसानघाटबाटै उठेको हो । उसले पनि यसरी नै रातबिरात आगो सल्काएको हो । कैयौँ दिन मसानघाटमा बसेर असरल्ल छरिएका सपना समेटेको हो । अहिले भने ऊ दरबारमा थियो, शिखरमा थियो । दरबारमा बसेको मान्छेले गाउँबस्तीमा आगो सल्किएको पनि कसरी हेरोस् । यही भएर ऊ आगो निभाउने यात्रामा निस्किएको थियो ।
मसानघाटमा गाढा अन्धकार भए पनि यसपल्ट ऊ डराएन । ऊसँग पुरानो मित्रले दिएको अत्याधुनिक लाइट थियो । पुरानो मित्रको आँट र साथ थियो । यही भएरै निर्धक्कसँग त्यहाँसम्म आएको थियो ।
ऊ पुगेको केही समयमै उसको चारैतिर हाहा र हुहुको आवाज आउन थाल्यो । कोही रुँदै थिए, कोही हाँस्दै थिए र कोही कोकोहोलो मच्याउँदै थिए । केही अघिसम्म सुनसान बगरमा यतिखेर खैलाबैला मच्चिएको थियो । अपर्झट आएको डरलाग्दो आवाजले उसको मन नराम्रोसँग काँप्यो । ऊ त्यहाँ एकछिन पनि बस्न चाहन्नथ्यो । जतिसक्दो छिटो त्यहाँबाट भाग्न चाहन्थ्यो । भाग्नकै लागि उसले लाइट अन गर्यो । अफसोस ! यसपटक पनि लाइटले धोका दियो । उसको मित्रले दिएको अत्याधुनिक लाइट पनि स्विचअफ भएको थियो ।
‘के भएको ? कसरी यो लाइट अफ भयो ?’ उसलाई चिच्याउन मन लाग्यो । तर ऊ न चिच्याउन सक्यो न भाग्न ।
एकैछिनमा बगरमा आगोको ज्वाला दन्कियो । आगोको ज्वाला देख्दा उसको सर्वाङ्ग काम्यो । अवश्य पनि यहाँ उत्पात मच्चिदै छ । यो अनिष्टको सङ्केत हो । अशुभ सङ्केत हो । यस्तो सोचले उसको मन बेस्कन अत्तालियो । निधारमा चिटचिट पसिना देखिए ।
ऊ मसानघाटको मध्यभागमा उभिएको थियो । यतिखेरसम्म त त्यहाँ ज्वालामात्र निस्किएको थियो । हेर्दाहेर्दै चिहानबाट मानिस निस्कियो । यो अर्को अजिबको परिदृश्य थियो । पत्याउनै नसकिने घटना थियो । त्यो मानिसले जिउ तन्काउँदै लामो हाइ काड्यो । मानौँ ऊ भर्खर निद्राबाट बिउँझिएको छ । त्यसपछि टुसुक्क भुइँमा बसेर काम गर्न थाल्यो ।
यस्तो दृश्य देख्दा रामदीपको होस गुम भयो । यस्तो हुनु पनि स्वभाविकै थियो । चिहानबाट मानिस निस्कन्छ र काम गर्न थाल्छ । सँगै उभिएको उसलाई नदेखेजस्तो गर्छ ।
‘दुनियाँले मानेकोलाई जाबो मसानले अनादर गर्ने ?’ रामदीपलाइ झनक्क रिस उठ्यो, ‘को हो यो ? निश्चय पनि मसानघाटमा आगो बाल्ने यही हो । केही नपाएर मेरो सिको गर्दो रै’छ । निश्चय पनि यो मसाल मेरै हो । मैले नै जगाएको हो । मेरो मसाल चोर्ने यही हुनुपर्छ ।’
‘ओए ! मसाल चोर ! के गर्दै छस् ?’ रामदीपले रिसाउँदै सोध्यो । यसरी रिसाउँदा ऊ काम्दै थियो । जीवनमा पहिलोपल्ट ऊ यसरी कमजोर भएको थियो ।
उसको आवाजले त्यो मानिस किञ्चित मुस्कुरायो । उसले काम नरोकिकनै ऊतिर हेर्यो । उसको एकापट्टि पुराना लाइट, बिग्रिएका बेट्री र सलाईका बट्टा थिए । अर्कोपट्टि लाइटर, झुलो, चकमक र दर्शनढुङ्गा थिए ।
‘महाशय म चोर हैन, श्रमिक हुँ । देख्नुभएन म के गर्दै छु ?’ उसले सुस्तसुस्त भन्यो ।
‘यो मसानघाटमा के काम गर्दै छस् ?’ रामदीपले आक्रोशले उत्तेजित हुँदै भन्यो ।
‘के काम रे !’ यसो भन्दै ऊ बेस्कनी हाँस्यो । त्यसपछि फेरि रामदीपको अनुहारमा हेर्दै भन्यो, ‘जे काम कुनै समय तपाईं गर्नुहुन्थ्यो ।’
‘प्रष्ट भन्, छलछामको जमाना हैन यो । म नयाँ नेपाल बनाउने काममा व्यस्त छु भन्ने तँलाई थाहा छैन र ! किन यसरी आगो बालेर गाउँलेलाई तर्साउँछस् ।’
‘मैले सदियौँदेखि मसानघाटमा फालिएका कोइला र बेट्रीहरू जम्मा गर्दै आएको छु । हेर्नोस् त यो चकमक र झुलो । तपाईंले खाल्डोमा गाडेको हैन ? यी दर्शन ढुङ्गाहरू देख्दै हुनुहुन्छ नि ! तपाईंले भिरबाट गुल्टाएको हैन ? म यी सबै चिजबिज जम्मा गर्दै छु । पुराना सलाईका बट्टा र बेट्रीबाट बारुद बनाउँदै छु ।’
‘के गर्छस् यो सब बनाएर ? तँलाई थाहा छैन र देशमा गणतन्त्र आयो भन्ने ?’
‘थाहा छ । थाहा भएर त यो सब गरेको,’ उसले पुरानो बेट्रीको कार्बन निकाल्दै भन्यो, ‘म त श्रमिक हुँ महाशय ! श्रमिकको काम भनेकै संसारलाई नयाँ बनाउने हो ।’
‘बनाउँछस् नयाँ ! मलाई थाहा छ, तँ गणतन्त्रको हत्या गर्न चाहन्छस् । बारुद पट्काएर मलाई तर्साउन चाहन्छस् । तँलाई थाहा हुनुपर्ने म अब कसैले तर्साएर तर्सिदैनँ । देखिनस् मेरो अनुहार ?’
‘देखेँ । देखेर त चिहानबाट निस्किएको । म प्रत्येक सङ्कटमा चिहानबाट निस्किन्छु भन्ने तपाईंलाई थाहा हुनुपर्ने ।’
‘महान् प्राप्तिको विरोध गर्ने तँ को होस् ? भन् को होस् तँ ? तँलाई अहिल्यै ठिक पार्छु म ।’
‘म कङ्काल हुँ महाशय ! राज्यद्वारा मारिएका हजारौँ योद्धाको कङ्काल ।’
(२०७५, मङ्सिर २२ को अन्नपूर्ण, फुर्सदमा प्रकाशित)