फोन चोर – विष्णु भण्डारी

अविसाले रसाउँदै गरेका आँखा पुछी, मानसिक झट्काले कमजोर हुँदै गएको शरीरलाई रेलिङमा अडेस लगाई र सजल नेत्रले शून्यमा हेरी । हेर्दाहेर्दै सबैतिर अन्धकार छायो । सारा संसार घुमेजस्तो लाग्यो । मुख सुकेर प्याकप्याक भयो । कोक्काइ कोक्काइ रुन मन लाग्यो उसलाई ।

उसको फोन भर्खरै हराएको थियो ।

ऊ आएको बस सहिदगेटलाई पछाडि पारेर गैसकेको थियो । पहिले त फोन बसमै खसेको सोचेर ऊ बसलाई भेट्टाउन दौडी । फोन बसमै खसेको हुन सक्छ । बसमा खसेको भए फोन भेटिन सक्छ । उसले यस्तै सोची । यो आशा थियो । व्यग्र मनोदशाले सिर्जना गरेको आशा । यो आशा पनि निराशामा बदलिन बेर लागेन । हैन फोन त झोलामा थियो । झोलाको फोन कसरी खस्न सक्छ बसमा ? ऊ फेरि रोकिई । फोन झोलामा राखेको सम्झिएपछि ऊ झनै निराश भई ।

कैयौँ पल्ट झोला छामी । ओल्टाइपल्टाइ गरी । तर कतै पनि भेटिएन फोन । ऊ बडो मुस्किलले बसबाट झरेकी थिई । नाकाबन्दीले सिर्जना गरेको अप्ठ्यारोको फाइदा उठाएको थियो चोरले । उसलाई फोन भेटिएला भन्ने त रत्तिभर पनि आशा थिएन । तै पनि उसले सडकपेटीमा फलफूल बेच्ने अन्टीसँग फोन मागेर आफ्नो नम्बरमा फोन गरी । फोन स्विचअफ थियो ।

उसलाई कहाँ जानु थियो ? के के गर्नु थियो ? उसले सब भुली । केहीबेर त्यहीँ उभिई । त्यहाँ उभिनुको पनि अर्थ थिएन । मनमा पीडा र आत्मग्लानीसहित निन्याउरो अनुहार लगाएर ऊ घर फर्की । फर्किंदा झल्यास्स टेलिकमको याद आयो । टेलीकमले हराएको फोन भेट्टाइदिन्छ भन्ने सुनेकी थिई । मनभित्र झिनो आशा पलाएर आयो । तर एकैछिनमा त्यो आशामा पनि पानी फेरियो । आइएमइआई नम्बर पो माग्यो टेलिकमले । ऊसँग त्यो नम्बरै थिएन । ऊ हिस्स परेर त्यहाँबाट फर्की ।

कतै प्रहरीले पो सहयोग गर्छ कि ! उसलाई अर्को आशाको त्यान्द्रोले तान्यो । कैयौँ फोन प्रहरीले भेट्टाइदिएको सुनेकी थिई । ऊ त्यहाँबाट सिधैँ प्रहरी कार्यालय गई । त्यहाँ पनि उसको आशामा पैरो गयो । उसले पनि आइएमइआई नम्बर राखेको भए सहयोग गर्न सक्ने बतायो । ऊ त्यहाँ पनि हिस्स परी । आइएमइआई नम्बर नै के हो भन्ने थाहा थिएन उसलाई । आशाको अन्तिम त्यान्द्रो पनि गुमाएर ऊ घर पुगी ।

घरमा आउँदा ऊ थकाइ र चिन्ताले लखतरान भएकी थिई । केही नबोली कोठमा गएर पल्टिई । भाइले पढ्दै रहेछ । दिदीको यस्तो कमजोर र क्लान्त अवस्था देख्दा ऊ डरायो । उसले निकैबेर दिदीलाई हे¥यो । के भएको हो बुझ्न खोज्यो । तर लामो समय बोलिन दिदी । ऊ नबोले पनि दिदीले फोन हराएको कुरा चाल पाइहाल्यो भाइले ।

केहीबेरमै आमासम्म पुग्यो फोन हराएको सूचना ।

के भन्छ यो भन्दै चिच्याउँदै आइन् आमा । पहिले त उनलाई विश्वासै लागेन । तर जब फोन साँच्चिकै हराएको थाहा पाइन्, छोरीलाई गाली गर्न लागिन् । ‘कति दुःखले किनेको फोन, हराइस् हैन ? एउटा फोन स्याहार गर्न नसक्नेले केको घर गरेर खाली । मैले नजा भनेकै थिएँ । समय यस्तो छ । न गाडी पाइन्छ न ग्याँस । खुब जानुपरेको सात गाउँ डुल्न ! बाउआमाले भनेको मान्ने भए पो !’ उनी थन्थनाउँदै भित्र छिरिन् र ल्यान्डलाइनबाट लोग्नेलाई छोरीले फोन हराएको जानकारी गराइन् ।

‘फोन हराएकोमा बाउले झनै पिर मान्ने छन् ।’ अविसाले यस्तै सोची र चुपचाप कोठामा बसी । कत्ति दुःख गरेर किनिदिएका थिए फोन । यति महङ्गो फोन किनिदिने हैसियत कहाँ हो र उनको ? प्राइभेट कम्पनीको सामान्य कारिन्दा । दुःखजिलो गरेर छाक टार्ने परिवार । छोरीलाई यति महङ्गो फोन किनिदिनु सामान्य कुरो थिएन । तर छोरीका सबै साथीको हातहातमा स्मार्ट फोन देख्दा उसको मन चसक्क चसक्क हुन्थ्यो । मन घोचेर मात्र के गर्ने ? एक महिनाको पूरै तलब लगाए पनि फोन किन्न सकिन्नथ्यो । फेरि फोन मात्र किनेर भएन । छोराछोरीको फिस, घरखर्च र दवाइमुलो कहाँबाट जुटाउनु ? घरको लागि त्यही तलब नै अन्तिम आधार थियो ।

एकपल्ट छोरीले भनी, ‘बाबा ! मसँग चार हजार छ ।’

‘चार हजार छ रे ! कसरी आयो यतिका पैसा ?’ उसको बाउ यस्तो कुरो सुन्दा खङ्ग्रङ्ङ भयो । कहाँबाट ल्याई छोरीले यतिका पैसा ? कतै बदमासी त गरिन ? चिनिया युुवाहरूले आइफोन किन्न किड्नी बेचेको समाचार सुनेको ऊ छोरीको कुराले आत्तियो । ‘छोरीले पनि फोन किन्न कतै गलत काम त गरिन ?’ उसलाई छोरीको कुरोले हर्षित हैन दुःखित बनायो ।

‘सजिलेरी ।’ छोरीले मस्किँदै भनी, ‘अलिकता खाजा कटाएँ । मामाले दिएको पैसा खर्च नगरी खुद्रुकेमा राखेँ । अनि थाहा छ ?’ उसले हौसिँदै भनी, ‘पत्रिकाले पनि दियो नि !’

‘दिन्छ पत्रिकाले !’ बाउले शङ्का व्यक्त ग¥यो । छोरीलाई थाहा थियो बाउले शङ्का गर्न सक्छन् भन्ने । उसले हत्तपत्त पत्रिका देखाउँदै भनी, ‘यी बाबा ! मेरा प्रकाशित रचना । मेरा तीनोटा बालकथा प्रकाशित भएका छन् ।’

‘ठीक छ छोरी ।’ बाउले छोरीलाई धन्यवाद दिँदै भन्यो, ‘मसँग तेरो फोनका लागि बल्ल दश हजार जम्मा भएको छ । केही दिन अझै पर्खिनुपर्छ ।’

उसको बाउ आजकल अफिसबाट घर अबेला आउँथ्यो । कहाँ जान्छ भन्ने कसैलाई पनि थाहा थिएन । तर आउँदा सदाभन्दा थकित देखिन्थ्यो । स्वास्नीको करकर अति नै भएपछि एक दिन भनेको थियो, ‘के गर्ने ? छोराछोरी बढे । उमेरसँगै उनीहरूको माग पनि बढ्यो । पार्टटाइम काम गर्छु आजकल ।’

‘मसँग छ पाँच हजार । आजै किनिदिनोस् यसलाई फोन ।’ आमाले अपत्यारिलो ढ्ङ्गले पैसा भएको घोषणा गरी । फेरि पनि उनको लोग्ने झस्कियो । काम नगरी घरमा बस्ने स्वास्नीसँग पैसा हुनु भनेको सोचनीय कुरो हो । उसलाई यस्तै लाग्थ्यो । ऊ अलि झर्किंदै भन्यो, ‘फेरि काँबाट आयो तिमीसँग पैसा ?’

‘काम गरेर आयो नि । के गरेर आउँछ ?’ निर्धक्कसँग स्वास्नीले भनी ।

‘के काम ग¥यौ त्यस्तो ? के काम पाइन्छ घरमा बसीबसी गर्ने ?’ अपत्यारिला आँखाले हेर्दै लोग्नेले सोध्यो । उसकी स्वास्नीले जब छिमेकीसँगै मिलेर सिलाइको काम गर्छु भनी केहीबेर त ऊ अवाक् भयो । एक मन त छिमेकीसँग मिलेर काम गरेकोमा उसलाई खुसी नै लाग्यो । तर छोराछोरीका लागि विरामी श्रीमतीले यसरी दुःख गर्नु परेकोमा मर्माहत भयो ।

यसरी ठुलो मेहनत र प्रयत्नपछि उसको बाउले किनिदिएको थियो फोन ।

कोठामा बसेर यो सबै सम्झिँदा कतिखेर अँध्यारो भयो उसलाई पत्तै भएन । एकै पटक भाइले खाना खान बोलाउँदा पो ऊ झस्किई । उसले त बजार जाँदा लगाएका कपडा पनि खोलेकी रहिनछ ।

‘पिर नगर छोरी । म फेरि किनिदिउँला ।’ खाना खाने बेलामा बाउले भन्यो ।

बाउले यसो भन्दै टाउको थपथपाउँदा पो बल्ल हिक्का फुट्यो उसको । दिनभरि थामिएका आँसु बल्ल पो बलेसी जस्तै गरी बग्न थाले । ऊ बाउको छातीमा घुस्रिएर निकैबेर रोई ।

‘फोन पो हराएको हो,’ उसले भन्यो, ‘हाम्री छोरी हराएको त हैन नि ! मेरो छातीको टुक्रा मसँगै भएपछि केको पिर । जाबो फोन किनौला नि !’

उसले यसो भने पनि ऊभित्र के पाक्दै होला भन्ने सहजै अनुमान लगाउन सकिन्थ्यो । उसले सदाभन्दा अलि कमै खायो र तुरुन्तै सुत्न गयो । अविसा रातभर सुत्न सकिन । एकपल्ट एस्सो निदाएकी रहिछ सपनाले गर्दा ब्युँझी हाली । सपना पनि कति राम्रो देखेकी । सपनामा त फोन पो भेटिएको । हत्तारिँदै बाउलाई फोन भेटिएको खबर गर्न खोज्दा पो जागी ऊ ।

०००

सिवानाले फोन पाउनु र अविसाको हराउनु एकैदिन प¥यो । अर्को दिन ऊ निन्याउरो मुख लगाएर विद्यालय आई । सिवाना भने हर्षित देखिन्थी ।

‘मेरो ब्वाइफ्रेन्डले दिएको । कस्तो राम्रो छ हेर त,’ उसले फोन देखाउँदै भनी, ‘विचरा ! सेकेन्डहेन किनेको रे !’

‘मेरो जस्तै पो रै’छ !’ अविसाले फोन हेर्दै भनी ।

‘तँ वर्थडेमा आइनस् । कस्तो रमाइलो भयो । उसले यही फोन उपहार दियो ।’ अविसा वर्थडेमा नआएकोमा अलि दुःखित हुँदै उसले भनी ।

उनीहरूले हाफटाइममा वर्थडेका फोटो हेरे ।

‘कति राम्रा फोटा ? ए ! को हो यो ? को केटा हो यो ?’ अविसाले ऊसँगै मस्किएर उभिएको केटोलाई देखाउँदै सोधी ।

‘को हुन्थ्यो नि, मेरो ब्वाइफ्रेन्ड ! परवेस । राम्रो लाग्यो ? कस्तो हेन्ड्सम छ, हेर न । फेरि आँखा नला नि !’ सिवानाले खित्किँदै भनी ।

‘तेरो ब्वाइफ्रेन्ड ! ऊ र म त हिजो एउटै गाडीम थियौँ । मसँगै उभिएको थियो । ऊ वानेश्वरबाट गाडी चढेको थियो ।’

‘वानेश्वरबाट चढ्दैन त । उसको घरै वानेश्वर हो त ।’

‘म सहिद गेटमा झर्दा फोन हराएको थियो । त्यहीँबाटै घर फर्किएँ म । तेरो साथी कता गयो थाहा भएन ।

‘फोन हरायो रे ! कसरी हराइस् फोन ?’

‘भन्दै छु नि बसमा कसैले चो¥यो मेरो फोन । झोलामा राखेकी थिएँ । भिडभाडमा कसैले निकालेछ ।’

‘पुलिसलाई खबर गरिनस् । ओहो ! त्यत्रो दुःखले किनेको फोन ! कस्तो ब्याडन्युज !’ उसले दुःख व्यक्त गर्दै भनी ।

फोन किन्दा उसका बाआमाले कति दुःख गरेका थिए भन्ने सिवानालाई थाहा थियो । फेरि अविसाले नास्ता कटाएर पैसा जोगाएको, फोनकै लागि कथा कविता छपाएको सबै सबै त थाहा थियो उसलाई । अहिले त्यही फोन हराएको थियो । यस्तो सुन्दा सिवानालाई गहिरो झट्का लाग्यो । 

सिवानाको कथा पनि उस्तै थियो । साथीहरूले एन्ड्रोइड फोन बोक्दा उसलाई पनि यस्तै फोन बोक्न रहर नलागेको कहाँ हो र ! रहर लागेर मात्र के गर्ने ? उसका बाउ कामका लागि कतार गएका थिए । केही महिनामा गएको ऋण तिरेपछि फोन पठाइदिउँला भनेका थिए । तर महिनौँ बितिसक्दा पनि फोन पठाउन सकेका थिएनन् । यो कुरा थाहा पाएको ब्वाइफ्रेन्डले उसलाई फोन उपहार दिएको थियो ।

स्कुल विदा भयो । सिवानाले सोच्दै गई, ‘कतै यो फोन अविसाको त हैन ? कतै परवेसले  बसमा पाएर त दिएन ? कतै चो¥यो कि ! हैट ! के सोचेकी मैले ? कसरी चोरी गर्न सक्छ उसले ? फेरि यतिका पैसा काँबाट आयो ऊसँग ? अस्ति त भन्दै थियो म त एकथुङ्गा फूल लिएर आउने हुँ । फेरि केही पनि त ढाँट्दैन मसँग ।’ घन्टौँ यही कुराले सताइरह्यो उसलाई ।

‘भर्खर त आएको हो यो फोन । सेकेन्डहेन पनि कहाँ पो पाइन्छ र ! फेरि पाइए पनि महङ्गो पर्छ होला । दश हजार त पक्कै पनि परे होला । हुन त के दिन्थ्यो र दश हजारमा । पन्ध्रै हजार पनि पर्न बेर छैन । हिँजोसम्म एक पैसा नहुनेले कसरी सक्यो यति महङ्गो फोन किन्न ? ऊ आफैसँग त यस्तो फोन छैन । मलाई झन के किनिदिन्थ्यो र ?’

यस्तै सोच्दै ऊ फोनसँग खेलीरही । खेल्दाखेल्दै उसले नोटप्याड खोली । खोली कि आफै खोलियो, अहँ उसलाई नै थाहा भएन । तर त्यहाँ भने केही लेखिएको थियो । सायद कविता थियो त्यो । ‘परवेसले कविता पो लेखेर दिएछ !’ पहिले त उसले यस्तै सोची । तर कविता त कतै सुने जस्तो पढे जस्तो पो लाग्यो ।

‘हैन, के हो यो ! यो कविता त मैले कतै पढेको हो ।’ उसले निकैबेर सोच्दा पनि कहाँ पढेँ भन्ने पत्तो पाउन सकिन । अन्तिममा अस्तिको पत्रिकामा पढेको जस्तो लाग्यो । उसले अस्तिको पत्रिका निकाली र अविसाको कवितासँग जाँची । कविता त ठ्याम्मै पो मिल्यो बाः ।

यस्तो देखेर ऊ यति हैरान भई कि तुरुन्तै परवेसलाई बोलाई । के के न खुसी हुँदै परवेश हत्तारिँदै आयो । तर सिवानाको अनुहारबाटै उसले अड्कल काट्यो केही न केही गडबड पक्कै छ । कतै उसले थाहा त पाइन ? उसले शङ्का व्यक्त गर्यो । सोधी भने भनिदिन्छु नि साथीसँग किनेको ।

पहिलो भेटमै सिवानाले फोन देखाउँदै भनी, ‘भन यो फोन काँ पायौ ?’

‘केहीबेर अगाडिको परवेसको उज्यालो अनुहार एकाएक चुक घोप्टाएको आकाश जस्तो भयो । ‘ल अब फेला परियो ।’ उसले यस्तै सोच्यो । जति नर्मल हुन्छु भन्दा पनि ऊ भकभकायो । उसको होसहवास उड्यो । उसले सबैतिर अन्धकारसिवाय केही देखेन ।

‘साथीसँग किनेको,’ उसले मुस्किलले सुकेको मुख भिजाउँदै भन्यो, ‘साथीले भेट्टाएको रै’छ ।’

‘भेट्टाउँछ साथीले ! नढाँटी भन । तिमीले काँ भेट्यौ यो फोन ?’ पुलिसले जस्तो पो खार्न लागी उसले । अब केही समयमै ऊ चोर प्रमाणित हुने छ । हेर्दाहेर्दै उसको सुन्दर सपनामा पैरो जाने छ । कति सुन्दर सपना देखेको थियो उसले ? कति प्यारी र अमूल्य निधि लाग्थी यो केटी ? तर आज सम्पूर्ण गुम्ने तीव्र खतरा देखिँदै थियो । केही समयमा चोर मात्र प्रमाणित हुने छैन, गर्लफ्रेन्ड समेत गुमाउने छ उसले । यो देखेर आफू उभिएको जमिन नै भासिएजस्तो लाग्यो ।

‘किन ढाँट्थेँ र मैले । तिम्रो कसम साथीले दिएको हो ।’ ऊ अझै पनि आफूलाई इमान्दार प्रमाणित गराउने प्रयत्नमा थियो ।

‘तिमीले कति सत्य बोल्यौ भन्ने त एकैछिनमा खुलिहाल्छ नि ।’ यसो भन्दै उसले अविसालाई बोलाई । अविसा भित्रबाट निस्किई । ऊ निस्किँदा पो बल्ल थाहा पायो लहरो कहाँसम्म जेलिएको रहेछ ।

‘यो केटीसँगै हिजो बेलुका चार बजे तिमी वानेश्वरबाट गाडी चढेका थियौ । हो कि हैन ?’ अलि कट्किँदै सिवानाले सोधी ।

‘हो ।’

‘अनि किन चो¥यौ उसको फोन ?’

‘तिम्रो वर्थडेमा दिने उपहार थिएन । त्यसैले ।’ आँखा झुकाउँदै उसले भन्यो ।

‘मैले कत्ति पटक भनेँ प्रेमलाई उपहारसँग नजोड । मैले तिमीसँग प्रेम गरेकी हुँ नकि सम्पत्तिसँग । तिमी गरिब छौ भन्ने थाहा नभएको हो र मलाई ! तिमीले पैसा र प्रेममा फरक छुट्याउन सकेनौँ । धिक्कार छ मेरो छनोटलाई । देऊ यो फोन उसलाई । थाहा छ उसका बाआमाले कति दुःखले किनिदिएका हुन् यो फोन ?

ऊ बोलेन । घोसेमुन्टो लगाएर उभिइरह्यो । धेरैपछि उसले सुस्तरी भन्यो, ‘मलाई के थाहा ? मलाई त ऊ धनी बाउकी छोरी जस्तो लाग्योे । त्यसैले ।’

‘हुन्छे धनी बाउकी छोरी । फेरि धनी होस् कि गरिब अरूको वस्तु चोरी गर्नु अपराध हो भन्ने थाहा छैन तिमीलाई ?

‘त्यही अपराधबोधले म दुई दिनसम्म राम्रोसँग सुत्न सकिनँ । पछि भद्रकालीमा उत्रिएर तिम्रो कोठामा आउन पुल क्रस गर्नै लाग्दा यो केटी रोइरहेको देखेको थिएँ । तर अपराध त गरिसकेको थिएँ । एकपल्ट त फोन फर्काऊँ जस्तो पनि लाग्यो । तर तिम्रो मायाका खातिर यो सबै अपराध गरेँ ।’ परवेसले सुस्तसुस्त भन्यो । यसरी बोल्दा उसको शिर झुकेको थियो । खुट्टा कामेका थिए ।

परवेशलाई कस्सेर चट्कन हान्नै लागेकी थिई, झल्याँस्स ब्युँझिई ।

‘ओहो ! सोच्दासोच्दै भुसुक्क पो निदाएछु । सपना पनि कस्तो साँच्चै हो जस्तै देखेको ।’ उसले सोची ।

उसको हातमा अविसाको हराएको फोन छ । सपनामै देखेको जस्तो । कतै यो अविसाकै त हैन ? कतै परवेशले ………..!

उसले हत्त न पत्त त्यही मोबाइलबाट अविसालाई फोन गरी, ‘अविसा, तँ तुरुन्तै यहाँ आइहाल् त ! तेरो हराएको फोन म अहिल्यै पत्ता लाइदिन्छु ।’

‘लु ! मैले त भन्नै बिर्सेकी ! मेरो फोन त स्कुलब्यागको चेपमा पो रै’छ बाई ! अहिले तैँले त्यही नम्बरमा फोन गरेकी हैनस् र !’

‘……..अँ साँच्ची ! यो नम्बर त तेरै पो हो त ! कस्तो भुसुक्कै बिर्सेकी ।’

(२०७४, माघ–चैतको कथालिकामा प्रकाशित)


  प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १५:५७