सिर्जना पुन निर्मल बोहोराको घरमा पुग्दा साँझ परिसकेको थियो । डगरमा किराहरू कराउन थालिसकेका थिए । आकाशमा ताराहरू फाट्टफुट्ट देखिँदै थिए । कुकुर यसरी कराउँदै थिए कि मानौँ गाउँको सुरक्षा गर्ने जिम्मा उनीहरूले नै लिएका छन् ।
सिर्जना निर्मल निवासको आँगनमा पुगेर उभिई । चौधरी आँगनमै रहेछ । उसलाई देखेर नमस्कार गर्यो । उसैले सिर्जनालाई बैठक कोठामा लग्यो । ऊ पुग्दा कार्यदलका सबै जना उपस्थित भैसकेका थिए । उसलाई म अलि ढिला भएँ कि भन्ने लाग्यो । उसले सबैको अनुहार हेर्दै अभिवादन गरी ।
सिर्जना आएको देखेर सबैका अनुहार उजेलिए । त्यसमा पनि सुवेदार निर्मल बोहोराको अनुहार झनै चम्कियो । उसको अनुहारमा भने खुसीको साटो उदासी छाएको थियो । बलैले मुस्कुराउँदै थिई । मानौँ मुस्कुराउनु पर्दा हीनतबोध गर्दै छ ।
पूरा बिस वर्ष भएछ ऊ त्यो घरमा नआएको । हुन त यो बिचमा लामो समय ऊ बाहिरै बसी । युद्धको समय थियो । पार्टीले जहाँ खटायो त्यहीँ पुग्नुपर्ने । आफ्नो इच्छामा भन्दा पनि पार्टीको योजनामा चल्नुपर्ने । फेरि सुवेदारको घरमा आउनुपर्ने कारण पनि थिएन । दोस्रो संविधानसभाको चुनावपछि हो ऊ नियमित रूपमा गाउँमा बसेको ।
निर्मल बोहोरा सेनाबाट सेवानिवृत्त भएपछि गाउँ फर्कियो । हुन त उसलाई गाउँ नआउने सल्लाह दिएका थिए आफन्तले । कतिले त बाउको जस्तै हविगत होला भनेर पनि तर्साएका थिए । गाउँको अवस्था पहिलेभन्दा पनि बिग्रिएको थियो । युद्धको सन्त्रास उस्तै थियो । तर पनि ऊ सहर बसेन, गाउँमै आयो ।
ऊ गाउँ आउनु र युद्धविराम हुनु सँगैजसो भयो । हुन त ऊ बाउभन्दा फरक चरित्रको थियो । सेनामा गए पनि पहिल्यैदेखि प्रजातान्त्रिक आन्दोलनको नजिक थियो । विद्यार्थी कालमा संगठनमा रहेर काम गरेको थियो । गाउँ आएर पनि पार्टी प्रतिनिधिको रूपमा काम गर्न थाल्यो । यतै ठेक्कापट्टा र विकास निर्माणमा लाग्यो ।
दुवै जना विपरीत विचारका, परस्पर विरोधी, दुस्मन कित्ताका । आज भने समयले दुवै जनालाई एकै ठाममा ल्याएर उभ्याएको थियो ।
खाना खानेगरी डाकेको थियो सुवेदारले बैठक । खाना बन्दै थियो । त्योभन्दा पहिले रुचि अनुसारको पेय पदार्थ आयो । चौधरी भाइले पहिले चिसोको बोत्तल र गिलास लिएर आयो । केही समयमा सेकुवा, भुटन र तरकारीसँगै चिउराको थाली आयो । अन्त्यमा ह्विस्कीको बोत्तल ।
‘ल ! यस्तो पनि व्यवस्था छ ?’ जिल्ला इन्चार्जले अलि आश्चर्य व्यक्त गर्दै सोध्यो ।
‘ल कमरेड पनि ! पहिलोपल्ट आउनुभएको छ, व्यवस्था त गर्नै प¥यो नि !’ निर्मल बोहोराले अलि अप्ठ्यारो मान्दै उत्तर दियो ।
उसको भनाइमा कसैले सवाल जवाफ गरेन ।
आजको बैठकमा पद विभाजनको निर्णयलाई अनुमोदन गर्नुथियो । बैठक गम्भीरै भएकोले होला जिल्ला इन्चार्ज स्वयम् आएको थियो । सिर्जना पुनलाई त्यहाँ आउने मन पटक्कै थिएन । जुन ठाउँमा लोग्नेको हत्या भएको थियो त्यहीँ गएर बीभत्स विगतलाई कोट्याउन चाहन्नथी ऊ । पार्टी इन्चार्ज नै आएपछि आउन्न भन्न पनि भएन । प्रतिवद्ध कार्यकर्ताका लागि यो सुहाउने कुरो पनि थिएन । फेरि चुनाव जित्नैपर्ने थियो । यो सबै विचार गरेर आएकी थिई सिर्जना पुन बैठकमा ।
सिर्जनालाई यो सबै एकरत्ति मन परेको थिएन । उसले के सोचेकी थिई के भएको थियो । विगत र वर्तमान पटक्कै समरेखामा थिएनन् । हिजोको यथार्थ नितान्त नयाँ थियो । त्याग र समर्पणको त्यो इतिहास स्वयम् इतिहास बनेको थियो । कसरी सत्ताको लुछाचुँडीमा विघटन भयो त्यो अपार शक्ति ? हिँड्दहिँड्दै फर्किएर पुरानै ठाउँमा आएजस्तो । न विचार समरूप थियो न दृष्टिकोण । सबै विपरीत ध्रुव जस्तै गरी अगाडि बढेका थिए ?
कहाँ त्यो रक्तरञ्जित इतिहास कहाँ यो समर्पणको पाल्सी खेल !
जब ऊ एकान्तमा हुन्थी, विगत सम्झिएर चुकचुकाउँथी । युद्धको रणनीति कतै सत्ता प्राप्त गर्ने भ¥याङ त थिएन ? हैन भने त्यत्रो बलिदानपछि पनि पुरानै सत्तासङ्घर्षमा फर्किनुको औचित्य के थियो ? उसले नचाहँदानचाहँदै पनि चुनावी तालमेलका लागि कार्यदल बनेको थियो । जोसँग मिलेर भए पनि चुनाव जित्नै पर्ने ह्विप जारी भएको थियो । जसरी पनि सके अध्यक्षमा नभए उपाध्यक्षमा त जित्नै पर्ने थियो । यो प्रतिष्ठाको मात्र हैन पार्टी जीवनकै लागि पनि महङ्खवको विषय थियो ।
उसले एकपल्ट कोठाको निरीक्षण गरी । धेरै वर्ष पहिले ऊ यो घरमा आएकी थिई । ऊ मात्र आएकी थिइन, ऊसँगै मिलिसियाको टिम पनि आएको थियो । सायद त्यतिखेरको घटना यही झ्यालमा भएको हुनुपर्छ । उसले अनुमान लगाई । झ्यालसँगैको ढोकामा जमिन्दार अहिले पनि खुकुरी उज्याएर उभिएझैँ लाग्यो । त्यही झ्यालबाट भित्र छिर्दै गर्दा हो जमिन्दारले छप्काएको सिर्जनाको लोग्नेलाई । लोग्ने ठाउँको ठाउँ ढलेको थियो ।
युद्ध भर्खर सुरु भएको थियो । एक दिन जमिन्दारको घरआँगनमा माओवादीले प्रवेश गरे । निष्टट्ट अन्धकार थियो । युद्धका प्रारम्भिक दिनमा सेबोटेजहरू प्रायः अन्धकारमै हुन्थे । सिर्जना पनि लोट्दैपोट्दै मिलिसियासँगै आएकी थिई ।
जमिन्दार सानले बसेको थियो । गाउँमा उसको हैकम डरलाग्दो थियो । उसको अगाडि कसले ठाडो शिर लगाएर बोल्नु ! सेना पुलिस उसैका थिए । प्रशासन उसैको थियो । गाउँलेहरू दशकौंदेखि दासता सहेर बाँचेका थिए । त्यो दिन भने विचित्रै भएको थियो । तिनै अधमरा गाउँलेहरूले उसको घर घेरेका थिए ।
ठाना टाढा थियो । फेरि यो रातीमा उसलाई कसले मद्दत गर्नु ? पुलिस रातीमा बाहिर कमै निस्किन्थे । हुन त उसले माओवादी आउन सक्छन् भन्ने अड्कल नकाटेको हैन । यही भएरै आफ्ना सेनामेना जुटाएको थियो । प्रायः पाँचसातजना पहलमान ऊसँगै हुन्थे । तर ती पहलमान पनि माओवादीको हुल देखेपछि भागेका थिए । जमिन्दार एकलै खुकुरी नचाउँदै झ्यालमा उभिएको थियो ।
विद्रोहीको चासो जमिन्दारका दुई नाल बन्दुकसँग थियो । उनीहरूलाई बन्दुक चाहिएको थियो । उनीहरूको भित्री उद्देश्य के थियो ? त्यो त सार्वजनिक भएको थिएन । घटना घटेपछि भने घरमा भएको सुनचाँदी र नगद लुटिएको थियो । लालपुर्जा र तमसुकमा आगो लगाइएको थियो ।
दुईटा बन्दुकका लागि दुई जनाको ज्यान गएको थियो । सिर्जनाको लोग्ने र सुवेदारको बाउ मारिएका थिए । त्यसपछि हो गाउँ आतङ्कित भएको । जमिन्दारको लास आँगनमा लडेको थियो । सिर्जनाको लोग्नेलाई मिलिसियाले राती नै लिएर गएका थिए । जाँदै गर्दा उनीहरूले लगाएको नारा अझै पनि सम्झना छ उसलाई ।
त्यसपछि हो ऊ भूमिगत भएकी ।
उसले एकपछि अर्को गर्दै विगतका सबै कुरा सम्झिई । कसरी ऊ अग्रमोर्चामा रहेर लडाइँ लडी ? कसरी ऊ दुस्मनद्वारा बलात्कृत भई ? र, कसरी ऊ शान्तिप्रक्रियापछि गाउँ आई ? यो सबै सम्झिँदा उसलाई असैह्य भयो । हेर्दाहेर्दै सबै माथिमाथि पुगे । ऊसँगै युद्धमा लागेकाहरू कतिपय मारिए, बाँचेका पनि कोही विदेश पलायन भए । कोही व्यापार व्यवसायमा लागे । नेताको नजिक रहेका र टाठाबाठा सभासद भए । ऊ भने अन्तिममा गाउँमै फर्किई ।
गाउँ फर्किएपछि धेरैले धेरै लख काटे । ऊ जस्तो पुरानो कार्यकर्ता गाउँ फर्किनु सामान्य कुरो पनि थिएन । कतिलाई लाग्यो, उसले अब विवाह गरेर घरगृहस्थीमा लाग्ने छ । कतिले सोचे ऊ फेरि बन्दुक बोक्छु भन्ने पार्टीमा जाने छ । समय बित्दै जाँदा सबैका अनुमानले फेल खाए । ऊ कतै गइन ।
गाउँमा स्थानीय चुनावको सरगर्मी बढ्दै गयो । जनजाति बहुल गाउँ, सिर्जना नै उत्तम उमेदवार हुन सक्थी । उसलाई भने खै के भएको हो चुनावप्रति पटक्कै ध्यान थिएन । उसको हाउभाउबाट बुझिन्थ्यो, उसलाई सत्ता साझेदारीको दुर्गन्धित खेल मन परेको छैन ।
उसले भन्थी, ‘हामीले यस्तै फोहरी राजनीतिको विरुद्धमा हो बन्दुक बोकेको ? खै मैले त बुझ्नै सकिनँ यो राजनीतिको खेल ?’
ऊ लोभ र लालचदेखि टाढै बसेर राजनीति गर्थी । कसैले सोध्यो भने उसले भन्थी, ‘मैले राजनीति गरेको सेवाको निम्ति हो । मेवा त म स्वयम् फलाउन सक्छु ।’
हुन पनि उसलाई नपुग्दो के नै थियो र ! ऊ र उसको लोग्ने केही पाइएला भनेर माओवादीमा गएका थिएनन् । पढेका थिए । दुःख गरे खान पुग्ने सम्पत्ति थियो । सम्पर्क सम्बन्ध राम्रै थियो । उनीहरूको खोजी सम्पत्ति थिएन अधिकार थियो । बहुदल आए पनि उनीहरूमाथिको उत्पीडन यथावत थियो । स्वतन्त्रता झनै खुम्चिएको थियो । गाउँमा फरक मत राख्नेलाई कम्युनिष्ट आतङ्ककारीको आरोपमा गिरफ्तार गरिन्थ्यो । हत्या र बलात्कार सामान्य बनेको थियो । यस्तो समयमा समानताको नयाँ दुनियाँ खोज्दै युद्धमा लागेका थिए उनीहरू ।
यहाँसम्म आइपुग्दा ऊ गम्भीर भएकी थिई । हिजोका अनुहारमा क्रान्तिको साटो भ्रान्ति देख्न थालेकी थिई । उसले निर्वाचन नजिकिँदै गर्दा जिल्ला इन्चार्जसँग आफ्नो मत राखेकी थिई । तर उसको अभिमत सुन्दा जिल्ला इन्चार्जलाई सकस भएको थियो । दोस्रो संविधान सभाको निर्वाचनमा पार्टीले खानु परेको सर्वनाक पराजयले ऊ रन्थनिएको थियो । फेरि पनि त्यस्तै अवस्था सिर्जना नहोस् भन्नेमा सजक थियो ।
‘के हामी साँच्चिकै सकिदै गएका हौँ कमरेड !’ उसले सोधेकी थिई, ‘हिजो जसलाई प्रमुख दुस्मन भनिएको थियो आज उसैसँग चुनावी एकता गर्नुपर्ने बाध्यता कसरी भयो ?’
‘अब पुराना कुरा बिर्सनुपर्छ सिर्जना ?’ जिल्ला इन्चार्जले भनेको थियो, ‘राजनीतिमा स्थायी शत्रु हुन्न भन्ने बुझिएन भने हामी फेरि पछाडि फर्किनुपर्छ ।’
‘त्यसो भए हिजो अङ्गिकार गरिएको नीति गलत थियो त ?’
‘कसले भन्न सक्छ हिजोको नीति गलत थियो,’ उसले भनेको थियो, ‘तर नयाँ परिवेशमा नयाँ तरिकाले सोच्नुपर्छ नि ! हैन र !’
त्यसो भए संसदीय राजनीतिको फोहोरी खेल नयाँ भयो ! तपाईंले भन्न खोजेको यही होला । हैन कमरेड ?’
‘जसरी बुझ्दा नि हुन्छ ।’ उसले आफ्नो लाचारी व्यक्त गरेको थियो ।
जिल्ला इन्चार्जबाट यस्तो सुन्ने अपेक्षा गरेकी थिइन उसले । उसमा थोरै भए पनि जनयुद्धको आदर्श बाँकी होला भन्ने सोचेकी थिई । तर ऊ पनि सत्ताको माखेसाङ्लोमा नराम्रोसँग फसेको देख्दा उसलाई सहिनसक्नुको पीडा भएको थियो ।
अब ऊ उनीहरूसँगै मिलेर चुनाव प्रचारमा हिँड्ने छ । उसले सुवेदार निर्मल बोहोरालाई महान् उमेद्वार भन्नुपर्ने छ । सुवेदार निर्मल बोहोरालाई विकासप्रेमी, कर्मठ र इमान्दार भन्नुपर्ने छ । गाउँका सहिद र बेपत्ता परिवारसँग गएर उसका लागि भोट माग्नुपर्ने छ । हिजो त वर्ग दुस्मन भन्थिस् नि नानी ! भन्दा उसले के उत्तर दिने होला ! हैन तेरो सिन्दुर मेट्ने यिनै हैनन् र भन्दा के भन्ने होला ! ऊ क्षोभ र विषाद्को भुँवरीमा यसरी फसी कि उसलाई लाग्यो अब ऊ निस्किन सक्ने छैन ।
केहीबेरमै सबैले चियर्स गरे । उसले चिसो लिई । ऊसँगै बसेकी कार्यदलकी महिला सदस्यले पनि चिसो लिई ।
‘हैन भाउजू ! तपाईंकोमा त घरमै मदिरा बन्छ, हैन र !’ मुस्कुराउँदै सुवेदारले जिज्ञासा राख्यो ।
‘त्यो त हाम्रो संस्कृति हो बाबु । तर मलाई दारु मन पर्दैन ।’
उसले नलिए पनि सबै जना गफिदै सेकुवा र ह्विस्कीमा रमाए । सँगसँगै आगामी चुनावी अभियानबारे पनि छलफल भयो । सिर्जना पुनको पार्टीले उपमेयर र बहुमत वडा अध्यक्ष पाउने भएको थियो । निर्मल बोहोराको पार्टीले मेयर र केही वडा अध्यक्ष पाउने सहमति भएको थियो ।
जिल्लामा भएको सहमतिलाई सिर्जना पुनबाहेक उपस्थित सबैले ताली बजाएर अनुमोदन गरे । यही खुसीयालीमा निर्मल बोहोराले बँदेलको सेकुवा बोकेर आयो ।
‘बँदेल पो ! क्या हो सुवेदार सा’ब ? आजैदेखि भोज सुरु ! यस्तै हो भने विजय निश्चित हुने भयो ।’ जिल्ला इन्चार्जले बँदेलको सेकुवा चपाउँदै भन्यो ।
उसको यस्तो भनाइ कत्ति पनि मन परेन सिर्जनालाई । ‘कसरी लाछी भएर बोलेको होला !’ उसले घृणापूर्वक इन्चार्जको अनुहारमा हेरी ।
ऊ भने हिजोका सबै प्रतिवद्धता भुलेर सुवेदारसँग साँखुल्ले भएको थियो । उसको व्यवहार देख्दा कसैले पनि ऊ हिजोको क्रान्तिकारी पार्टीको जिल्ला इन्चार्ज हो भन्न सक्दैनथे ।
‘समयले मानिसलाई कहाँबाट कहाँ पुर्याउँदो रहेछ,’ उसले सोची, ‘अब हाम्रो अगाडि उही फोहोरी खेलसिवाय अरू बाँकी रहेन । कस्तो संस्कृति विकास गरेछौँ हामीले ? के यसैका लागि मेरो लोग्नेले बलिदान दिएका थिए ? सरकारमा जानु नै सर्बोत्तम उपलब्धि थियो भने त्यति ठुलो महासङ्ग्राम किन गर्नुपरेको थियो ? ओहो ! जे हुँदै छ सबै गलत हुँदै छ ।’
‘ल कमरेड ! के गर्नुपर्छ म तयार छु । एकछापे हानेर हुन्छ कि बुथै कब्जा गरेर हुन्छ, यहाँ हामीले नै जित्नुपर्छ ।’ मेयर पदको उमेदवार हुन पाएकोमा खुसी व्यक्त गर्दै सुवेदारले भन्यो ।
सबैले हो मा हो मिलाए ।
‘तपाईंको व्यक्तित्वसँग हामी परिचित छौँ,’ कमरेड इन्चार्जले ह्विस्कीको गिलास रित्याउँदै भन्यो, ‘तपाईंसँग मिलेर चुनावमा जानु भनेको हाम्रो लागि पनि खुसीकै कुरो हो ।’
यस्तो लाग्थ्यो कि यी दुई जोडी पहिल्यैदेखिका हितैषी मित्र हुन् । हिजोको दुस्मनी केवल स्वार्थको लागि थियो । सिर्जनाले फेरि आफ्नो लोग्नेको सहादत सम्झी । हिजो गाउँबाट खेदिनु पर्दाको दुःख सम्झी । अनि हजारौँको बलिदान सम्झी । सम्झिदासम्झिदै उसले जिल्ला इन्चार्जको अनुहार हेरी । अहिले त्यो अनुहार कति निकृष्ट र विकृत देखियो भने मुखमा थुकेर हिँडूजस्तो लाग्यो ।
‘तपाईं हैन तपाईंको पार्टीसँग भन्नोस् न ।’ अर्को कुनोबाट इन्चार्जको भनाइप्रति असहमति व्यक्त गर्यो सुवेदारको कार्यकर्ताले ।
‘कमरेडलाई हाम्रो पार्टीको नाम लिन अप्ठ्यारो भएर पो हो कि !’ अर्कोले हाँस्दै व्यङ्ग्य गर्यो ।
‘हामी त्यस्ता जड कम्युनिष्ट कहाँ हौँ र मित्र ! हामी त एक्काइसौँ शताब्दीका कम्युनिष्ट पो हौँ त । वर्ग दुस्मनबिनाका ।’ इन्चार्जको अनुहारमा हेर्दै सिर्जनाले भनी ।
उसको भनाइले इन्चार्जको अनुहार अलिक बिग्रियो । उसले आधा गिलास स्वाट्ट पार्यो ।
‘अब पुरानो तिक्तता भुल्नुपर्छ भाउजू !’ सुवेदारले सिर्जनातिर हेर्दै भन्यो, ‘हामीलाई पनि तपाईंहरूसँग गठबन्धन गर्न मन त काँ थियो र ! तर के गर्नुहुन्छ ? समयले जस्तोसुकै बादशाहलाई पनि झुकाउँदो रै’छ ।’
‘हो नि ! अब पुराना कुरा कोट्याएर केही फाइदा छैन’, उसको भनाइमा सहमति जनाउँदै इन्चार्जले भन्यो, ‘बरु अब कसरी जित्नुपर्छ सबै जना मिलेर योजना बनाउनुपर्यो ।’
‘हजुरले चिन्ता लिनै पर्दैन,’ सुवेदारले घोषणा गर्यो, ‘यो गाउँमा अब रूख र हँसिया हथौडा अङ्कित गोलाकार चिन्ह मात्र देखिने छन् । सके फकाइने छ नभए छप्काइने छ । कसो साथी हो ?’
सबैले हो मा हो मिलाए ।
सिर्जनालाई लाग्यो ऊ यहाँ नआउनुपर्थ्यो ।
उसले कहिल्यै पनि षड्यन्त्रको राजनीतिमा विश्वास गरिन । त्यही भएर पार्टीमा कमजोर बनी । उसले सधैँ आदर्शमा विश्वास गरी । उसले कहिल्यै पनि हत्याहिंसालाई स्वीकारिन । उसले भन्थी, हामीले बन्दुक बोकेको अधिकारका लागि हो । छल, कपट र षड्यन्त्र हाम्रो आदर्श हैन ।
निर्मल बोहोरा अविराम बोल्दै थियो । ऊ अब मातिसकेको थियो । उसलाई मैले के बोल्दै छु भन्नेसम्म पनि हेक्का थिएन । सिर्जनाले सुवेदारको अनुहारमा हेरी । यतिखेर उसको अनुहार झनै विरूप देखिँदै थियो । बत्तीको मधुरो प्रकाशमा उसको अनुहार बिस्तारै बिग्रिँदै गयो । अब त्यहाँ निर्मल बोहोरा थिएन उसको बाउ खडा थियो । लामालामा जुँगा पालेको डरलाग्दो मान्छे उसको अघिल्तिर उभिएको थियो ।
सिर्जना पुन अज्ञात ठाउँमा थुनिएकी थिई । उसलाई लुछ्न कैयौँ हुँडारहरू तँछाडमछाड गर्दै थिए । उनीहरू जिब्रो लपलपाउँदै सिर्जना पुनको नाङ्गो शरीरमाथि घोप्टिदै थिए । त्यो तँछाडमछाडमा सुवेदार निर्मल बोहोरा पनि सामेल भयो । सिर्जना पुन ती हिंस्रक जन्तुबाट फुत्किन अनेक प्रयत्न गर्दै थिई ।
ओहो ! के भएको ? कसरी सुवेदारको अनुहार यतिसाह्रो विकृत भएको ? उसले एकपल्ट आँखा मिचेर पुनः सुवेदारको अनुहारमा हेरी । यतिखेर निर्मल बोहरा पार्टी इन्चार्जको गिलासमा ह्विस्की भरिदिँदै थियो ।
आज ऊ तिनै दुस्मन भनिएकाहरूसँग बसेकी थिई ।
अबको केही दिनमै उसले उनीहरूसँगै मिलेर उमेदवारी दिने छ । पार्टीका लागि उप–मेयर पद छुट्याइएको छ । उप–मेयरका लागि सिर्जना नै उपयुक्त पात्र हो भनिसकेका छन् इन्चार्जले । ऊ जस्तो महिलाले मेयरमा दावा गर्न पनि सुहाउँदैन ! दावा गरेर मात्र कसरी हुन्छ र ! चलाउनु पनि त पर्यो !
ऊ जुन अधिकारका लागि लडेकी थिई त्यो अब एकादेशको कथा भैसकेको थियो । म हिजो समानताका लागि युद्ध लडेकी थिएँ भनेर भएन त ! उसले चित्त बुझाउने भनेको उपमै हो । घरमा पनि उप बाहिर पनि उप ! त्यसमा पनि सुवेदार निर्मल बोहोरा इन्चार्ज कमरेडको साख्खै फुपूको छोरो ! इन्चार्जलाई अप्ठ्यारो पनि त पार्नुभएन । पार्टी मात्र भनेर भएन त ! नातासम्बन्ध पनि हेर्नै पर्यो । भोलि फेरि प्रदेशको चुनाव हुँदै छ । प्रदेशमा जित्नका लागि पनि त वातावरण मिलाउनै पर्यो ।
उसले सोच्दासोच्दै निक्कै समय पो बितेछ ।
‘ल ल ! समाचार हेर्नुपर्छ ।’ कसैले चिच्याउँदै भन्यो ।
टिभी अन भयो । टिभी स्क्रिनमा पार्टी अध्यक्ष मुस्कुराउँदै देखा परे । उनको दायाँबायाँ रूख र गाई पार्टीका अध्यक्षहरू सानले बसेका थिए । क्याप्सनमा लेखिएको थियो, ‘चुनावी तालमेलका लागि तीन पार्टीबिच गम्भीर छलफल ।’
नभन्दै तत्कालै तीनैजना अध्यक्ष उठेर यसरी हात मिलाए कि मानौँ उनीहरू वर्षौंदेखिका अनन्य भित्र हुन् । यतिखेर त्यहाँ कहीँकतै दुस्मनीको छनकसम्म देखिन्नथ्यो ।
(२०७४, भदौ १० गते अन्नपूर्ण, फुर्सदमा प्रकाशित)