सरकारी नम्बर प्लेटको गाडी सहरको पाँचतारे होटल अगाडि रोकियो । चालकले गाडीको ढोका खोलिदियो । गाडीबाट सांस्कृतिक संस्थानको जिएम निस्कियो । उसले भर्खरै राजनीतिक नियुक्ति पाएको थियो । राजनीतिक नियुक्ति पाएपछिको पहिलो सार्वजनिक कार्यक्रममा ऊ यहाँ आएको थियो ।
गाडीबाट झर्दा चिसोले टोक्ला जस्तो गरी घोच्यो । मध्य पुस, त्यसमा पनि बदली भएको आकाश, चिसो बढेको थियो । उसले आजै किनेको टाइसुट मिलायो । कपाल ठिक छ छैन भनेर दुबै हातले कपाल स्याहार्यो र होटलतिर हेर्यो । उसले हेर्दानहेर्दै आयोजक र अतिथिहरू ऊतर्फ हुर्रिए । उनीहरू झन्डै एकघन्टादेखि उसको प्रतीक्षामा फूलमाला लिएर उभिएका थिए । धेरैले झुकेर नमस्कार गरे । नवप्रवेशी कामरेडहरूले सिकारु मुठ्ठी सहितको हात उठाए । पुरानाले सलाम कमरेड भने । नवप्रवेशीले लालसलाम नै टक्र्याए । उसले स्मित हाँसोसहित अभिवादन फर्कायो ।
जिएम भर्खरै युद्ध लडेर आएको पार्टीको युवानेता, कला साहित्यमा पनि राम्रै दखल थियो । लामो समय सांस्कृतिक फाँटमा काम गरेकोले होला ऊ सांस्कृतिक विचलनप्रति अलि बढी नै सजग थियो । प्रशिक्षणमा सांस्कृतिक रूपान्तरण र प्रगतिशील संस्कृतिबारे धाराप्रवाह बोल्थ्यो । उसका कविता क्रान्तिकारी भावधाराले भरिएका हुन्थे ।
‘हामी सहरमा छौँ भन्ने कुरा बिर्सनुहुन्न कमरेड,’ उसले प्रायः बैठक र छलफमा भन्ने गथ्र्यो, ‘सहरमा काम गर्नेको सबैभन्दा ठुलो चुनौती भनेको आफूलाई सांस्कृतिक विचलनबाट जोगाउन सक्नु हो । सहर स्वभावैले अराजक र अनैतिक हुन्छ । गाउँमा जस्तो यहाँ काम गर्न सहज छैन । कमरेडहरूले आफूलाई सहरको रमझमबाट जोगाउनु होला ।’
पार्टी सरकारमा थियो । ऊ नेताको नजिकको मान्छे । पार्टीमा उसको हैसियत पनि माथि नै थियो । यही भएर होला दिनभरिजसो घेटघाटमा व्यस्त रहन्थ्यो । छलफल र भेटघाटमा खानेपिउने विषय जोडिने भैहाल्यो । प्रशिक्षणमा जे भने पनि बाध्यताले हो वा आवश्यकताले हो ऊ स्वयम् भने सहरको रमझममा अभ्यस्त हुँदै गएको थियो ।
केही समय अगाडि ऊ सवार गाडी नदीकिनारा हुँदै गुड्दै थियो । हुन त त्यो नदी नभएर खुल्ला छोडिएको ढल जस्तै देखिन्थ्यो । नदीमा पानीभन्दा बढी फोहोर थियो । पहिलेदेखि नदी भनिएकोले सबैले नदी नै भन्दा हुन् । यही दुर्गन्धित नदी किनारामा थियो सुकुम्बासी बस्ती ।
मान्छेहरू यस्तो ठाउँमा पनि मजाले बसेका थिए । हावासँगै नदी किनारमा दुर्गन्ध यसरी फैलिन्थ्यो कि बाटो हिँड्नेहरू नाक थुनेर हिँड्थे । चिसोमा भन्दा गर्मी ऋतुमा यहाँ बस्नै नसक्ने हुन्थ्यो । तातो हावासँगै दुर्गन्धले सारा बस्तीलाई कर्याप्प पार्थ्यो ।
यही बस्ती हुँदै पिच गरिएको चौडा बाटो सहरतिर जान्थ्यो । बाटोसँगै अग्लाअग्ला घर ठडिएका थिए । घरका झ्यालहरू सबैजसो बन्द देखिन्थे । ती झ्यालहरू फोहोरको कारणले हो वा नाङ्गाभुतुङ्गा सुकुम्बासीको नजर पर्छ भनेर हो प्रायः बन्द नै हुन्थे ।
चिसो बढे पनि सुकुम्बासी बस्तीमा चहलपहल थियो । त्यस्तो जाडोमा पनि नानीहरू नाङ्गैभुतुङगै यताउता दौडदै थिए । कोही रुँदै त कोही हाँस्दै थिए । त्यहाँ प्रायः प्रत्येक दिन यसरी नै हाँँसो र रोदन मिसिएर एउटा छुट्टै लयको निर्माण हुन्थ्यो । लय सङ्गीतमय हुँदै सारा बस्तीमा फैलिन्थ्यो । हुनेखानेहरू यो लयलाई मन पराउँदैनथे । उनीहरू यस्तो सङ्गीतलाई हेपेर माग्नेहरूको चर्तिकला भन्थे ।
प्रत्येकजसो छाप्राबाहिर आगो पुत्याउँदै थियोे । केटाकेटी र आइमाईहरू दिनभर दाउरा र कागजका टुक्रा खोजेर ल्याउँथे । बेलुका यसैलाई बालेर चिसो भगाउने निरर्थक प्रयास गर्थे । आज पनि उनीहरू यही उपक्रममा थिए ।
‘विचरा कस्तो विजोक !’ उसले दिक्क मान्दै सोच्यो, ‘सहरको बिचमा पनि कस्तो गरिबी !?’
त्यहाँको अवस्था दर्दनाक थियो । त्यस्तो कठ्याङ्ग्रिने चिसोमा पनि वृद्धवृद्धा र बच्चाहरू एकसरो कपडामा थिए । चिसो स्याँठ चलेको थियो । चिसोबाट बच्न सबै जना आगोको ओरिपरि झुम्मिएका थिए । उसलाई यस्तो दुःखपूर्ण र भयावह अवस्था देख्दा खपिनसक्नु भयो । उसले तुरुन्तै चालकलाई भन्यो, ‘गुरुजी गाडी रोक्नोस् त ।’
गाडी केही पर पुगेर रोकियोे । अपर्झट गाडी रोक्नुपर्नाको कारण नबुझेर चालकले प्रश्नसूचक दृष्टिले पछाडि हेर्यो ।
‘रामबहादुर गुरुङलाई भेटूँ कि भनेर,’ जिएमले भन्यो, ‘उनको घर यहीँ होइन र ?’
सायद कुरो बुझेन गुरुले । ऊ अलमलियो ।
‘उही क्या सुकुम्बासी संगठनको नेता । अस्ति डेलिगेसन आएका थिए नि !’ उसले विषयलाई अझ प्रस्ट्याउँदै भन्यो, ‘बस्तीमा निमोनियाले बच्चाहरू बिरामी भएका छन् । हाम्रो अफिसबाट सुकुम्बासी बस्तीलाई सहयोग गर्नुथियो ।’
‘हुन त हो हजुर ! तर कार्यक्रममा पुग्न ढिला भैसकेको छ । फेरि आए नहोला ।’ चालकले नम्र स्वरमा भन्यो । साथै समय एक घन्टा घर्किसकेको पनि जनाउ दियो ।
‘हुन त हो,’ उसले अलिक गम खाँदै भन्यो, ‘जाऊँ त उसो भए । बरू फर्किंदा सम्झाउनु होला । रकम मसँगै छ, दिनुपर्छ ।’
‘कस्तो असल मान्छे ! सुकम्बासीलाई आफै रकम पु¥याउन चाहन्छ,’ भर्खरै नियुक्त भएको आफ्नो जिएमप्रति अपार विश्वास जागृत भयो चालकमा । उसले सोच्यो, ‘साँच्चै ! अब हामी गरिबका दिन पनि आएछन् क्यारे !’
०००
उसले रिवन काटेर कार्यक्रमको उद्घाटन गर्यो ।
हल तालीले गुञ्जायमान भयो । पाँचतारे होटलको भव्य हल सेलिब्रेटीले खचाखच भरिएको थियो । नाम चलेका लेखक, कलाकार र वुद्धिजीवीको उस्तै ठुलो जमघट । यस्ता प्रबुद्ध व्यक्तिको अगाडि आफूलाई प्रमुख अतिथिको रूपमा पाउँदा अलिक असजिलो महसुस ग¥यो उसले । पुसको जाडोमा पनि उसको शरीरमा ताप उत्सर्जित भएर हप्प भयो ।
हुन त उसले सहर पसेदेखि नै आफूलाई हिरो सम्झिन्थ्यो । यी सबै गुहुका किरा हुन्, के थाहा छ यिनलाई भनेझैँ गर्थ्यो । ऊ सकभर साना र स्तरहीन कार्यक्रममा जान्नथ्यो । फेरि प्रमुख अतिथिभन्दा तल त ऊ मरिगए हुन्नथ्यो । कथंकथाचित यस्तो भैहाल्यो भने पनि ऊ तुरुन्तै मेरो काम छ भन्दै लुसुक्क निस्किन्थ्यो । कसैले यस्तो प्रवृत्तिको प्रसङ्ग उठाए सिधासिधा भन्थ्यो, ‘आफूलाई मेन्टेन गर्नुपर्छ । हामी भनेका दस वर्ष युद्ध लडेर आएका हौँ । यी सहरमा बस्नेहरूलाई के थाहा युद्धको भावभूमि ?’
हुन त जान्नेसुन्नेहरू भन्थे उसले युद्ध नै लडेको हैन । छाला बचाउन युद्धमा लागेको हो । युद्धका बेला ऊ मधेसको सानो सहरमा व्यापार गथ्र्यो । मान्छे चलाख भए पनि व्यापारमा सधैँ असफल भयो । कहिल्यै कमाउन सकेन । जहिले पनि घाटैघाटा । पछिल्लो समय कोल्डस्टोर खोलेको थियो । कुखुरा र खसी ल्याउने पार्टीलाई लाखौँ तिर्नुथियो । ऊसँग फुटेको कौडी थिएन । यस्तैमा ऊ युद्धमा लागेको थियो ।
अहिले ऊसँग पद, पैसा र सत्ता सबै थियो । पाँच वर्षमा ऊ कहाँबाट कहाँ पुगेको थियो । पहिले ऊसँग काम गर्नेहरू अहिले पनि कोल्डस्टोरमै थिए । अहिले पनि उनीहरूको दैनिकी पहिले जस्तै थियो । ऊ भने सत्ताको केन्द्रमा थियो ।
कार्यक्रममा उसलाई दोसल्ला ओढाएर सम्मान गरियो । प्रायः सबै वक्ताले उसको प्रशंसा गरे । कतिले अहिलेका महान् योद्धाको उपमा दिए । कतिले अहिलेका महान् कलाकार भने । कतिले यो दशककै अग्रणी कवि ! एक किसिमले उसलाई उडाए ।
‘ओहो कति भव्य ! कति सभ्य ! यस्तो पो कार्यक्रम !’ उसले हलमा सरर नजर दौडाउँदै सोच्यो । कार्यक्रम देखेर ऊ रोमाञ्चित भयो । उसले आजको कार्यक्रमलाई विगतमा हुने कार्यक्रमसँग दाँजेर हेर्यो । कति फरक ! कति भव्य ! उसलाई यस्तो कार्यक्रम हुन्छ भन्नेसम्म पनि थाहा थिएन । कहाँको गाउँबस्तीमा गरिने कार्यक्रम कहाँको यो ! आकाश जमिनको फरक थियो ।
उसको सम्मानमा नृत्य पनि राखिएको रहेछ । हिन्दी र नेपाली नृत्य प्रस्तुत भए । उसलाई अलि अप्ठ्यारो लाग्यो क्यारे ! छेवैमा बसेको आयोजक संस्थाको अध्यक्षलाई हे¥यो । अध्यक्षले अरूले नसुन्ने गरी भन्यो, ‘के गर्नु र हजुर ! ठाउँ अनुसार चल्नै पर्यो ।’
‘हो त नि, है !’ उसले चित्त बुझायो ।
कार्यक्रमको अन्त्यमा उसको बोल्ने पालो आयो । भर्खरै युद्धबाट आएको, त्यसमा पनि भरभराउँदो युवा, उसमा बोल्ने कला भरपुर थियो । सांस्कृतिक क्षेत्रमा काम गर्ने भएकोले उसलाई कला, साहित्य र संस्कृतिको ज्ञान पनि राम्रो थियो । यस्तो महङ्खवपूर्ण उपस्थितिमा आफ्नो योग्यता र खुवी पदर्शन गर्न पाउनु भनेको मौका पनि हो । नभन्दै कला, साहित्य र संस्कृतिका बारेमा गहन मन्तव्य दियो । अझ सांस्कृतिक रूपान्तरणका बारेमा बोल्दा त भर्खरै पार्टी प्रवेश गरेका अर्धनग्न यौवनाको अनुहार बिग्रिएर सानो भयो । उसले संस्कृतिका विविध पाटामाथि आफ्नो ओजपूर्ण भनाइ राख्दै भन्यो, ‘हामीले पुरातन र आयातीत संस्कृतिको पक्षपोषण गर्नुहुन्न ।’ उसको भनाइलाई गडगडाहट तालीद्वारा हलले समर्थन गर्यो ।
कार्यक्रमको पहिलो चरण सकियो ।
ऊ मञ्चबाट झर्दै गर्दा किशोरीहरूको ठुलो हुलले उसको अटोग्राफ माग्न थाल्यो । ती किशोरी थिए कि स्वर्गकी अप्सरा ! ऊ तिनीहरूको रूपरङ्ग देखेर आजित भयो । यति सुन्दर यौवनाहरू जीवनमा पहिलोपल्ट देख्दै थियो । धेरै त भर्खरै चलचित्रको रङ्गीन दुनियाँमा पाइला टेक्दै गरेका सुन्दरी थिए । एकसे एक सुन्दर ! कोही त ऊसँग टाँसिदै भन्न थाले, ‘वाह ! तपाईंले त कमालै गर्नुभयो ।’
उसले जीवनमा पहिलोपल्ट यति नजिकबाट यति कामुक सुन्दरीलाई स्पर्श ग¥यो । र, जीवनमा पहिलोपल्ट आफ्नो अटोग्राफ दियो । चिसो ऋतुमा पनि उसको निधारमा चिटचिट पसिना आए । पहिलोपल्ट भएर हो वा कागको बिचमा वकुल्ला देखिएँ कि भन्ने लागेर हो, उसलाई यहाँबाट भागूँभागूँ लाग्योे । उसले घडी हेर्दै अध्यक्षलाई सोध्यो, ‘अब जाने हैन ?’
‘भर्खर त कार्यक्रम सुरु भएको छ हजुर ।’ अध्यक्षले मुुस्कुराउँदै भन्यो ।
‘भर्खर कार्यक्रम सुरु भएको छ रे !’ उसले अचम्म मान्दै हेर्यो ।
‘हो त हजुर ! डिनर र गीतसङ्गीत त बाँकी नै छ ।’ अध्यक्ष अलि झुक्दै बाँकी कार्यक्रमको बारेमा जानकारी गरायो ।
‘ए हो ! ल ठिक छ । बरू जाँदा सुकुम्बासी बस्तीमा पस्नु छ । छिटो गर्नु है ।’ उसले सहमति जनाउँदै भन्यो ।
केहीछिनमै ऊ षोडशी सुन्दरी र बुज्रुकहरूद्वारा घेरियो । वेटर ह्विस्की, बियर र वाइनले भरिएका किस्ती समाएर उसको अगाडि उभिए । सबैले रुचिअनुसारका प्याला उठाए । उसको सहयोगीले पनि उसलाई प्याला उठाउन आग्रह गर्यो ।
‘हैन, लिने हो र !’ ऊ अनकनायो ।
अब पो उसलाई फसाद प¥यो । खाऊँ कि नखाऊँ भनेर फेरि पनि अध्यक्षको अनुहारमा हेर्यो । केही अघि त्यस्तो खरो भाषण गर्नेले अहिले कसरी खाने ? देख्नेले के भन्लान् ? ऊ धर्मसङ्कटमा पर्यो । हुन त उसले यसभन्दा पहिले नखाएको हैन, खाएकै हो । युद्धमा गएपछि भने खान छोडेको थियो । युद्धका बेला नखाए पनि सहर पसेपछि लुकीछिपी खान थालेको थियो ।
युद्धकालको कुरै बेग्लै । युद्धको समय रक्सी बनाउने र खाने दुबैलाई भाटे कारबाही हुन्थ्यो । कतिलाई त भाटे मात्र हैन आर्थिक कारबाहीसमेत हुन्थ्यो । ऊ लड्नभिड्नभन्दा यस्तै कारबाही गर्न मन पराउने मान्छे, युद्धका बेला सबैभन्दा बढी भाटे कारबाही उसैले गरेको थियो ।
‘हजुर पनि ! पाँचतारे होटलमा नलिएर कहाँ लिने त !’ सहयोगीले कर गर्यो, ‘हजुरकै लागि भनेर त यस्तो भव्य ककटेल पार्टी राखेको ।’
सहयोगी आयोजक संस्थाको अध्यक्ष पनि भएकोले उसलाई सल्लाह लिन सजिलो थियो । ऊ भर्खर पार्टीमा प्रवेश गरेको थियो । व्यवहारमा जस्तो भए पनि बोली मिजासमा अब्बल थियो । चाकडी चाप्लुसीमा पनि होनहार । सांस्कृतिक क्षेत्रमा जस्तो भए पनि आर्थिक क्षेत्रमा बलियो थियो । सहरमा उसलाई धेरैले चिन्थे । ऊ जहाँ पुग्थ्यो तर उसैले मार्थ्यो । यहाँ पनि उसको छिट्टै तरक्की हुनेवाला थियो । त्यसैले पनि उसले नयाँ नेतृत्वलाई खुसी पार्न कार्यक्रममा प्रमुख अतिथि बनाएको थियो ।
जिएम सा’ब अझै पनि अनकनाउँदै थियो । तर एकजना अर्धनग्न सुन्दरीले उसको हातमा ह्विस्कीको प्याला थमाई हाली । उसले पहिल्यैदेखि जिएमलाई पछ्याउँदै थिई । सबैले हर्षोल्लासपूर्वक चियर्स गरे ।
रात ढल्किँदै थियो । रातसँगै नृत्य र गीतसङ्गीतको धुनमा सुन्दरीहरू मस्किँदै थिए । उसलाई असैह्य हुन लाग्यो । एकातिर ह्विस्कीको रमरम अर्कोतिर सुन्दरीको कटाक्ष । ऊ विह्वल भयो ।
उसको अगाडि एकपछि अर्को गर्दै विगतका घटनाहरू नाच्न थाले । युद्धका बेला कसरी ऊ भोकभोकै कुँदेको थियो ? दुई कोस टाढा बन्दुक पट्किँदा पनि कसरी भागेको थियो ? भाग्दाभाग्दै कसरी सुरक्षाकर्मीको घेरामा परेको थियो ? कसरी उसको साथीले आफू मरेरै भए पनि उसलाई बचाएको थियो ? दुस्मनसँगको झडपमा आफ्नै अगाडि सहयोद्धा ढल्दा कसरी रोष र घृणाले उद्वेलित भएको थियो ?
युद्धका अन्तिम दिनमा ऊ जेलमा थियो । जेलका चिसा छिडी र भूमिगत कालको सम्झनाले उसको मुटु हल्लियो । हुन त जेलमा उसलाई खासै समस्या थिएन । राजवन्दीसँगै बसेको थियो । अध्ययन र छलफल गर्ने सुविधा थियो । उसले जेलमै बसेर केही थान कविता लेखेको थियो । कविता सहरका नाम चलेका पत्रिकामा प्रकाशित पनि भएका थिए । जेलमा परेकै कारण कवि भएको हो भन्थे जान्नेहरू ।
कस्टडीका आङै सिरिङ्ग बनाउने यातना सहेर आएकोले होला ऊ अलि डरपोक थियो । सुरक्षाकर्मी देख्यो कि अहिले पनि नर्मस हुन्थ्यो । ऊसँगै गिरफ्तारीमा परेका कतिपय साथीहरू कस्टडीबाटै बेपत्ता पारिए । कतिपय इन्काउन्टरमा मारिए । कतिपय आत्मसमर्पण गरेर छुटे । तर खै किन हो ऊ छुटेन ।
उसलाई छुट्न मन नलागेको कहाँ थियो र ! तर पनि ऊ छुटेन । नछुटे पनि जेलमा बसेकैले नेता बनेको थियो । कस्टडीबाट छुटेकाहरू प्रायः सबै मारिए । ऊ जेलमा भएकैले बचेको थियो । यसरी हेर्दा जेलजीवन उसका लागि फलदायी नै भएको थियो ।
सोच्दासोच्दै ऊ फेरि विगतको रङ्गीन दुनियाँमा पुग्यो । कसरी भर्खरकी किशोरीसँग ऊ नजिकिएको थियो ? त्यो प्रेम थियो कि यौवनको आकर्षण थियो ? जे भए पनि ऊ त्यो रूपहीन किशोरीको आलिङ्गनमा हराएको थियो । ऊ खुसी नै थियो । एक दिन त्यो खुसी पनि ऊबाट लुटियो । ऊ एकलो भयो । उसको हत्यापछि बल्ल थाहा पाएको थियो प्रेमको रहस्य ।
त्यसपछि उसले गाउँकी अलि उमेर ढल्किएकी युवतीसँग माया गाँसेको थियो । त्यो बाध्यता थियो कि आवश्यकता ? आज उक्त प्रसङ्ग सम्झिँदा पनि वडो उदेक लागेर आयो । कसरी लहसिए होला ऊ बिनास्वादकी ग्रामिण युवतीको प्रेममा ? ऊ फेरि फर्किएर वर्तमानमा आयो । हिजो ऊ कहाँ थियो, आज कुन दुनियाँमा छ ? यस्तो होला भन्ने त कल्पना पनि गरेको थिएन । कहाँ त्यो भोको र विदीर्ण छाप्रोको कथा । कहाँ यो पाँचतारे होटलको रङ्गीन लीला !
केही समयपछि उही सुन्दरी आएर उसलाई च्याप्प समाई । उसको स्पर्शले एकपल्ट उसको शरीर सर्वाङ्ग रोमाञ्चित भयो ।
‘हजुर त कस्तो हेनसम ? मलाई त हजुर जस्तै हिरो मन पर्छ ।’ भएन फसाद ! हेर्दाहेर्दै ऊ त हिरोमा पो दरियो । उसले एकपल्ट आँखा मिच्यो र टाउको हल्लायो ।
‘हैन म विपनामा त छु !’ उसले घोरिएर सोच्यो । जसरी सोचे पनि उसले आफूलाई विपनामै पायो । ‘अनि फेरि के भनेकी यो केटीले ?’ ऊ तीनछक परेर उसलाई एकनास हेरिरह्यो । लाटोले केरा हेरेजस्तै । हेर्दाहेर्दै आँखा चार भए । युवतीले लजाएको नखरा पार्दै नजर झुकाई ।
त्यसपछि त्यो नवयौवनाले उसलाई हातमा समाएर नाच्न आग्रह गरी । उसको आग्रहले ऊ रनभुल्लमा प¥यो ।
‘यतिका मानिस हुँदाहुँदै मलाई नै किन पछ्याएकी होली ?’ उसले सोच्यो ।
ऊ को हो भन्ने पनि थाहा थिएन उसलाई । हेर्दा यस्तो लाग्थ्यो कि ऊ भर्खरै हिउँमा नुहाएर आएकी अप्सरा हो । यस्ता कार्यक्रममा ऊ कहिल्यै नाचेको थिएन । नाच्न नजानेकोमा उसलाई पछुतो भयो । फेरि ऊ जस्तो महान् मान्छे केटीसँग नाच्न पनि त भएन ।
उसले डिजेतिर हेर्यो । यतिन्जेल सबैजना मगनमस्तले नाचिरहेका थिए । अध्यक्ष पनि सुन्दरी च्यापेर नाच्दै थियो । सुन्दरी अझै पनि उसकै प्रतीक्षामा थिई । उसका मुलायम करकमलको न्यानो स्पर्शले ऊ रोमाञ्चित भयो ।
‘म कहिल्यै नाचेको छैन ।’ उसले मुस्कुराउने प्रयत्न गर्दै भन्यो । तर त्यो सुन्दरी त ज्याद्रो पो निस्किई ।
‘के भयो त पहिले ननाचेर ? आज नाचे भैहाल्यो नि । मेरो इज्जतका लागि पनि त नाच्नुपर्यो ।’ सुन्दरीले कर गरी । उसले सुन्दरीको आग्रहलाई लत्याउन सकेन ।
०००
पार्टी राती अबेर सकियो ।
उसले हुन्न हुन्न भन्दाभन्दै पनि निकै पियो । पियो भन्दा पनि पिलाइयो । सम्मानका लागि, इज्जतका लागि र मायाले भरिएका नयनका लागि उसले पियो । पिउँदा पिउँदा बोली नै लरवरिएको थियो । पार्टी सकियो । उसको सहयोगी, बाँकी भद्रजन र सुन्दरीहरूले उसलाई गाडीमा चढाए ।
अब ऊ पहिलेकै सडक हुँदै निवास फर्किंदै थियो । सबैतिर शून्यता व्याप्त थियो । फाट्टफुट्ट गाडीहरू हुर्रिएर भाग्दै थिए । बाटोमा उही सुकुम्बासी बस्ती देखियो । यतिखेर बस्ती पनि सुनसान र चकमन्न थियो । निस्पट्ट चिसो रात, सबैतिर सन्नाटा छाएको थियो । अब भने चिसो हावासँगै फाट्टफुट्ट पानीका थोपा पनि छिटाउन थालिसकेका थिए ।
चालकले गाडीको गति कम गरेर पछाडि हेर्यो । हुनत यो सुनसान रातमा सुकुम्बासी नेतालाई भेट्न सम्भव थिएन । तर पनि जिएमले फर्किंदा भेट्नुपर्छ भनेको थियो । चालकले उक्त विषयको जानकारी गराउन चाह्यो ।
तर, समयले त फन्को मारिसकेको थियो ।
विचरा, चालकलाई के थाहा समय कुन रफ्तारमा अगाडि बढ्छ ? उसलाई त केवल गाडीको गति थाहा थियो । उसलाई लाग्दो हो समयको चक्र भनेको चौविस घन्टा हो । उसले घडी हेर्यो । आज पनि समय घुमिसकेको थियो । र, समयसँगै क्रान्तिकारी जिएम नसाले लठ्ठिएर गाडीको पछिल्लो सिटमा पल्टिएको थियो ।
(२०७३ असोज १५ को नागरिक, अक्षरमा प्रकाशित)