शिवदेव रिमाल काठमाडौं उत्रिँदा वातावरण उच्चाटलाग्दो थियो ।
विमानस्थलमा दाजुको छोरो आएको रहेछ । नबोलीकनै अङ्कलको ब्याग ट्याक्सीमा हाल्यो । वर्षौंपछि भेट भए पनि उनीहरू बोलेनन् । ढोगभेट पनि गरेनन् । उत्साह मरेका आँखाले अङ्कलले भतिजलाई हे¥यो । भतिज निन्याउरो र चिन्ताकुल देखिन्थ्यो । भतिजले अङ्कललाई राम्रोसँग हेरेको पनि थिएन । यस्तो अवस्थामा कसरी अनुहारमा हेर्नु ? लाटाले हेरेझैँ ट्वाँ परेर हेर्नु पनि भएन । बोल्नु के भनेर बोल्नु ? नबोल्नु कसरी नबोल्नु ? ऊ असमञ्जसमा थियो । ट्याक्सीमा बसेपछि उसले अङ्कललाई पुलुक्क हेर्यो । अङ्कलका आँखामा चमक थिएन । ओठमा मुस्कान र अनुहारमा खुसी थिएन ।
ट्याक्सी नेपालटारतिर लाग्यो ।
शिवदेव नेपाल आउँदा सधैँ प्रफुल्ल देखिन्थ्यो । उसको मनमा खुसी मडारिएर आउँथ्यो । विमानले जब भट्टेडाँडा काट्थ्यो उसका आँखाले सहरलाई पछ्याउन थाल्थे । उसले काठमाडौंका मुख्यमुख्य ठाउँ हेर्थ्यो । पशुपति, स्वयम्भू, वसन्तपुर दरबार स्क्वायर र धरहरा देख्दा उसको मन हर्षित हुन्थ्यो । उसले भित्रभित्रै नमन गर्थ्यो । तर आज यो सबै केही भएन । उसलाई यो संसार नै भास्सिएझैँ लाग्यो ।
बाटोमा गाडीको लर्को थिएन । बजार बन्द थिए । घर खाली थिए । बाटोछेउमा रहेका अग्ला र भव्य महल निस्तब्ध उभिएझैँ लाग्थे । त्यहाँ न बच्चाको आवाज सुनिन्थ्यो न मान्छेको पदचाप । सबैतिर सन्नाटा थियो । मुर्दा शान्ति फैलिएझैँ सर्वत्र सुनसान थियो ।
मात्र नदी किनारा, चउर र खुला ठाउँ भरिएका थिए ।
उनीहरू भतिजको घर पुगे ।
सुनसान र एकान्त ठाउँमा रहेछ भतिजको बसाइ । मनग्गे जग्गाको बिचमा डेढतले घर । सानो र सुखी परिवार । अग्ला र भव्य महलका मानिस त्रिपालमा बसे पनि उसको परिवार घरमै थियो ।
भित्र छिर्नै लाग्दा शिवदेव रिमालको दृष्टि प्रवेशद्वारमा प¥यो । जहाँ ‘कविकुञ्जमा स्वागत छ’ भन्ने बोर्ड टाँगिएको थियो । यतिञ्जेल जड र मृतप्राय उसको मन कविकुञ्ज छिरेपछि झनै हुँडुलियो । उसलाई झन्डै डेढ दशक पुरानो घटनाको सम्झना भयो । उक्त घटना सम्झिँदा ऊ झनै खिन्न भयो ।
०००
धेरै बर्ष पहिलेको कुरो हो । जब ऊ घरजग्गाको काम गथ्र्यो, भतिज सँगै थियो । ऊ नाम चलेको जग्गाब्यापारी, भतिज बेरोजगार । उसले भतिजलाई पनि आफूसँगै हिँडाउन चाहन्थ्यो । भतिज भने रोजगारीमा भन्दा कविता लेख्नमा मस्त । छुस्स बढेको दारी, लामो कपाल र कोखेब्याग, ऊ कविता गाउँदै हिँड्नमा आफूलाई धन्य सम्झिन्थ्यो ।
पढाइ सकिएको र बाउको करकर बढेकोले ऊ अङ्कलसँग जोेडिन पुग्यो । उसले अङ्कलको व्यापारमा सघाउने भयो । उसलाई निर्माणाधीन एउटा साइट हेर्ने जिम्मा थियो । निर्माणको हेरचाह र रेखदेखदेखि निर्माण सामग्री मगाउने जिम्मा पनि उसैको थियो ।
ऊ प्रायः साइटमा हैन साहित्यिक कार्यक्रममा हुन्थ्यो । साइट हेर्दा उसको कविता कर्ममा खासै फरक पनि पर्दैनथ्यो । केही समय त यसरी नै चल्यो । महिनामा अङ्कलका दुईचारोटा घर बन्थे र बिक्री हुन्थे । बिक्री भएपछि उसको हातमा पनि मोटै रकम पथ्र्यो ।
दिन यसरी नै चलेका थिए । केही समयमै ऊ र अङ्कलबिचमा असमझदारी उत्पन्न भयो ।
भतिजले जिम्मा लिएको साइटको काम गतिमा बढेन । मानौँ त्यो सरकारी काम हो जहाँ जति ढिला ग¥यो उति फाइदा हुन्छ । कामको गति यति धीमा थियो कि एक महिनामा सकिने काम दुई महिनामा पनि पूरा भएन । समयमा निर्माण सम्पन्न नभएको मात्र हैन ठेकेदारसँग खटपट समेत भयो । बालुवा, गिटी ल्याउने ड्राइभरदेखि मिस्त्रीसम्मले त्यो साइटमा जान मानेनन् ।
एकदिन शिवदेव साइटमा आयो । उसले सबैतिर निरीक्षण गरेपछि भतिजलाई भन्यो, ‘क्या हो भतिज ? काम त ठिकठाक चल्दै छ नि !’
‘चल्दै छ ।’ उसले शिवदेवको अनुहारमा हेर्दै छोटो उत्तर दियो ।
अङ्कल हँ हँ गर्दै अर्कोतिर फर्कियो । केहीबेर दुबैजना बोलेनन् । केही पर मिस्त्रीले पिलरका लागि फर्मा फिट गर्दै थिए । ज्यामीहरू बालुवा र गिटी बोक्दै थिए । तर शिवदेव आएको भएर हो कि किन हो सबै चुपचाप थिए । सबैतिर सुनसान थियो । केवल हमरको ठ्याक ठ्याक र सावेलको घ्यार घ्यार सुनिदै थियो ।
केही समयपछि सन्नाटा तोड्दै भतिजले भन्यो, ‘मलाई यो तरिका ठिक लागेन है अङ्कल ।’ यसरी बोल्दा उसले अङ्कलको अनुहारमा हेरेन । काम गर्दै गरेका ज्यामीतिर हेर्दै आफ्नो भनाइ राख्यो ।
‘के तरिका ठिक लागेन भतिज ?’ थाहा हुँदाहुँदै पनि शिवदेवले सोध्यो । उसलाई थाहा थियो भतिजले किन ड्राइभरलाई हक्लाएर पठाएको थियो ? किन मिस्त्रीहरू त्यो साइटबाट भागेका थिए ?
‘यस्तो निर्माण सामाग्री हालेर घर बलियो होला र ?’ उसले बालुवा देखाउँदै भन्यो, ‘यो बालुवा हो कि माटो ? अनि यो खोलाको गेग्रान उठाएर ढलान गरेपछि घर कस्तो बन्ला ?’
‘घर बलियो हैन, राम्रो बनाउने हो भतिज । बाहिरबाट हेर्दा चिटिक्क भएन भने नोट कसरी फल्छ ?’ अङ्कलले व्यङ्ग्यपूर्वक मुस्कुराउँदै उत्तर दियो ।
भतिज अङ्कलको भनाइले रन्थनियो । उसले सोचेको थियो, यो सबै ड्राइभर र मिस्त्रीको बदमासी हो । अङ्कललाई छलेर यिनीहरूले यो सबै बदमासी गर्छन् । तर ऊ गलत रहेछ । हेर्दाहेर्दै उसले बनाएको अङ्कलको आदर्श एकैपटक गल्र्यामगुर्लुम ढल्यो ।
‘के मेरो बाउले यस्तै बेइमान काम सिक्न पठाएका हुन् ? के उनले छोरोले यस्तै गलत काम गरेर पैसा कमाओस भनेर लगानी गरिदिएका हुन् ?’ उसले धेरेबेर यस्तै सोच्यो ।
‘अहँ यसरी हुन्न । म यो हुन दिन्न ।’ केही समयमै ऊ अन्तिम निर्णयमा पुग्यो ।
‘अङ्कल म गलत काम गरेर पैसा कमाउन चाहन्न ।’ केहीबेरपछि दिक्क मान्दै उसले भन्यो ।
शिवदेव रिमाल चर्चित समाजसेवी थिए । उनले कहिले विद्यालयलाई, कहिले परोपकारी संस्थालाई र कहिले गरिब परिवारलाई आर्थिक सहयोग गर्थे । सहरमा उनको नाम र सम्मान चुलिएको थियो । फेरि उनी ठुलै राजनीतिक पार्टीका सल्लाहकार थिए । यस्तो भव्य पहिचान भएको अङ्कलसँग बोल्न त के ठाडो शिर लगाएर हेर्न पनि सक्दैनथ्यो ऊ । आज भने खै कसरी हो अङ्कलको अनुहारमा ठाडो शिर लाएर हेर्दै थियो । उनीसँग सवाल जवाफ गर्दै थियो ।
यसरी हेर्दा अङ्कलको अनुहारमा दया, माया र सत्कर्म भेटेन उसले । उनको अनुहार त कपट र दम्भले भरिएको पो रहेछ । भतिजलाई यस्तै लाग्यो ।
‘कविता लेख्नु र जीवन चलाउनु फरक फरक कुरो हो भतिज ।’ अङ्कलले उसको उदास अनुहारमा हेर्दै भन्यो । केहीबेर साइटमा सन्नाटा छायो । उसले केहीबेरपछि फेरि भन्यो, ‘यस्तै हो भने तिमी कवि हैन हरिभक्त कटुवाल हुने छौ ।’
‘मलाई बेइमानीको धन अस्वीकार्य छ अङ्कल ! मान्छे यतिसाह्रो बेइमान कसरी हुन सक्छ ? हेर्नोस् त यो बालुवा,’ उसले हातले गिटी उठाउँदै भन्यो, ‘अनि यो गिटी र सिमेन्ट हेर्नोस् त ।’
यसरी बोल्दै गर्दा अलिक आवेशमा आएको थियो ऊ । अङ्कल बोलेको थिएन । केहीबेर कोही बोलेन । उसले फेरि पनि अङ्कलको अनुहारमा हेर्यो । अङ्कलको अनुहारमा कुनै परिवर्तन आएको थिएन । उसले सोचेको थियो यति भनिसक्दा अङ्कलको अनुहारमा घृणा र पश्चातापको भाव सिर्जना होला । तर ऊ त पहिले जस्तै जडवत उभिएको थियो । यस्तो व्यवहारले भतिजमा झनै निराशा र आक्रोश जागृत भयो ।
‘अनि यो संरचना हेर्नोस् त अङ्कल !’ उसले अङ्कलको अनुहारमा हेर्दै फेरि भन्यो, ‘हातले भत्काउन सकिने यो ढलानले घाम, पानी र भूकम्पको धक्का कसरी थाम्ला ?’
‘भतिज, मैले फेरि पनि भन्दै छु हामी सेवाको लागि यो काम गर्दै छैनौँ ।’ अङ्कलले पहिले जस्तै गरी भन्यो । यसपल्ट ऊ घृणापूर्वक मुस्कुरायो । मानौँ भतिजबाट उसले जे सुन्दै छ सरासर झुट र बकबास सुन्दै छ ।
‘अङ्कल मलाई इमानको कमाइ मिठो लाग्छ । म यस्तो कमजोर घर बनाएर सम्पत्ति कमाउने पक्षमा छैन । मान्छेले सत्कर्म गरेर जो कमाउँछ त्यो नै सही कमाइ हो ।’ भतिजले हैरानी व्यक्त गर्दै भन्यो ।
‘मैले भनिहालेँ नि भतिज त्यो सब कवितामा हुन्छ । कविता र समाज फरक फरक कुरो हो ।’
‘मैले गरेर देखाउने छु । मलाई यस्तो धूर्त कर्म गरेर पैसा कमाउनु छैन अङ्कल ।’
यसरी ऊ अङ्कलसँग अलग्गिएको थियो ।
त्यसपछि झन्डै एक दशक अङ्कलले घरजग्गाको ब्यापार गर्यो । कमाइ पनि प्रशस्तै गर्यो । यो बिचमा उसका छोराछोरी पढ्न अमेरिका गए । उतै विवाह गरे । छोरी केही वर्ष उतै बसेर ज्वाइँसँगै नेपाल फर्किई । ऊ भने छोरासँगै अमेरिकामा बस्न थाल्यो ।
०००
आज ऊ त्यही भतिजको कविकुञ्जमा थियो ।
बिहान बडो नियास्रो लाग्दो थियो । ऊ बिहानै विमानस्थलमा उत्रिएको थियो । घर आउँदा नास्ता तयार थियो । भतिजले नास्ता खाने कुरो गर्दा उसले अस्वीकार ग¥यो । केवल एक कप कफी लिएपछि ऊ हिँड्न खोज्यो ।
‘बरु जाऊँ भतिज । मलाई छोरीको घर पु¥याऊ ।’ उसले फुलेको दारी मुसार्दै भन्यो ।
छोरी पुरिएको दुःखद समाचार र विमानको लामो यात्राले होला ऊ कमजोर देखिन्थ्यो । दारी बढेको थियो । आँखा गाडिएका थिए । अनुहारमा गहन पीडा झल्किन्थ्यो ।
‘अब जानुपर्छ ।’ भतिजले सहमति जनायो ।
उनीहरू ट्याक्सी लिएर नयाँबस्तीतिर लागे ।
केही समयमै ट्याक्सीले नयाँबस्तीमा पु¥यायो । नयाँबस्तीका अधिकांश घर भत्किएका थिए । विनासकारी भूकम्पले सबैभन्दा बढी असर यही ठाउँमा पु¥याएको थियो ।
मुल सडकबाट ट्याक्सी यतातिर मोडिँदा उसले भतिजलाई सोध्यो, ‘हामी कहाँ जाँदै छौँ भतिज ?’
‘नयाँबस्तीमा अङ्कल ! बहिनीको घरमा ।’ उसले अङ्कलको निन्याउरो मुखमा हेर्दै भन्यो ।
‘नयाँबस्तीमा ! यो त हामीले प्लानिङ गरेको ठाउँ हैन र ?’
‘हो अङ्कल ! उही ठाउँ हो । यहाँको ढापलाई हामीले पुरेर सम्मो बनाएका थियौँ । पहिले स्थानीय बासिन्दाले यो ठाउँलाई ढाप भन्थे । अहिले नयाँबस्ती भन्छन् ।’
यो कुराले शिवदेव रिमाललाई विस्मृत भैसकेको विगतको सम्झना भयो । जतिखेर ऊ घरजग्गाको ब्यापारमा सहरमा प्रख्यात भैसकेको थियो । उसको सान र मान उत्तिकै थियो । उसले ठुलठुला जग्गा प्लटिङ गथ्र्यो र मनग्गे कमाउँथ्यो ।
काठमाडौंको बसपार्क छेउछाउ त्यतिखेर चल्तीको ठाउँ बनेको थियो । नयाँ बसपार्क बनेकोले पनि होला मान्छेको चाहना त्यतै बस्ने थियो । फेरि होटल र लजको ब्यापार पनि त्यतै फस्टाएको थियो । त्यही भएर उसले सडकछेउ नर्कट र उत्तिसघारी भएको ढापमा प्लानिङ गरेको थियो । नजिकैको ढिस्कोको माटो काटेर गहिरो ढाप पुरेपछि जग्गा एक नम्बरको भएको थियो ।
यो जग्गाले उसलाई करोडौँ नाफा दियो । अझ यहाँ बनाएका घरको कुरै अर्को ! बनाउन भ्याएको छैन ग्राहक आइहाल्ने । त्यसमा पनि डाक्टर, नेता र ब्यापारीको लाइनै लाग्थ्यो । उसले घर निर्माणबाट पनि करोडौँ कमाएको थियो ।
उसले विगतको स्मरण गर्दै भन्यो, ‘हैन भतिज ! छोरीले त डाक्टरको घर किनेका छौँ भनेकी थिई त ।’
‘हो अङ्कल ! बहिनीले डाक्टरको घर किनेकी थिई । तर त्यो घर पैसाका लागि इमान पनि बेच्ने जग्गा दलालले बनाएको थियो ।’ भतिजले भन्यो ।
भतिजको कुरा सुन्दा शिवदेवको मन चसक्क भयो । एकताका आफू पनि जग्गादलाल भएको सम्झनाले उसलाई भित्रैसम्म चिमोट्यो ।
कुरा गर्दागर्दै ट्याक्सी भत्किएको घर अगाडि पुगेर रोकियो । भत्किएको घर देख्दैमा शिवदेवलाई रिंगटा लाग्लाजस्तो भयो । छोरीको घर कङ्क्रिटको थुप्रोमा परिणत भएको थियो । ओल्लोपल्लो घर त्यसैमाथि जोतिएका थिए । छरछिमेकका घर कि त बाङ्गिएका थिए कि त चर्किएका थिए । प्रायः ढलेका थिए ।
भूकम्प गएको हप्तादिनसम्म पनि छोरीको मर्दोजिउँदो थाहा थिएन । हुन त छिमेकी, प्रहरी र सेनाले निकाल्ने प्रयत्न नगरेका होइनन् । तर दुईतला भुइँमा भासिएकोले निकाल्न सकिएको थिएन । फेरि छिमेकीका घर यसरी खप्टिएका थिए कि त्यति सजिलेरी उद्धार गर्न सकिने अवस्था पनि थिएन । दुई दिनदेखि विदेशी र स्वदेशी उद्धारकर्मीहरू खटेका थिए ।
शिवदेव भत्किएको घरको थुप्रो हेरेर भक्कानियो । उसलाई छोरीको सम्झनाले विह्वल बनायो । एकपछि अर्को गर्दै छोरीका वाल्यकालका घटना याद आयो । कसरी ऊ छोरीलाई काँधमा बोकेर हिँड्थ्यो ? कसरी श्रीमतीले अन्तिम बेलामा छोरीको ख्याल गर्नुहोला है भनेकी थिई ? र, कसरी नेपाल फर्किंदा छोरी उसलाई छाँद हालेर रोएकी थिई ?
झन्डै दुई दशक पहिले देखेको यो ठाउँ अहिले घरैघरले भरिएको थियो । शिवदेवलाई उहिलेको कुरा घुर्मैले सम्झना मात्र बाँकी थियो । हुन त उसले पनि प्रशस्तै घर बनाएर बेचेको थियो । तर कुनकुन घर उसले बनायो भन्ने हेक्का थिएन । फेरि उसले डेढतलाभन्दा अग्ला घर बनाएको थिएन । अहिले सबैतिर अग्लाअग्ला घर ठडिएका थिए । उसलाई भूकम्पको यस्तो जोखिमयुक्त ठाउँमा पनि यस्ता अग्ला घर बनाउनेसँग रिस उठेर आयो ।
‘यस्तो ठाउँमा पनि यति अग्ला घर बनाउने ?’ भित्रभित्रै मुरमुरिदै उसले भन्यो ।
ऊ रोष र उत्तेजनाले कालोनिलो भएका थियो । उसका आँखा रसाएका थिए ।
‘यस्तो कमजोर घर बनाउने कुन मान्छे हो भतिज त्यो ? डाक्टर होस् कि इन्जिनियर त्यसलाई म छोड्दिनँ । आज उसले गर्दा मेरी छोरीको यो हाल भयो ।’
ऊ केहीबेर एक्लै भुनभुनियो । रिस र आक्रोशले ऊ रापिएको थियो । उसले कतिखेर सेतै फुलेको कपाल दुबै हातले गोड्न खोज्थ्यो । कतिखेर हात हल्लाउँदै यताउता गथ्र्यो ।
अङ्कलको यस्तो भनाइले भतिजको ओठमा घृणामिस्रित मुस्कान देखियो । ऊ हाँस्न त हाँसेन तर अङ्कलको टिठलाग्दो अवस्था देख्दा पनि ऊप्रति संवेदित हुन सकेन । हुन त यस्तो बेला पुराना कुरा भुल्नुपर्छ भन्छन् । तर पैसाको लागि जे पनि गर्ने यो मान्छेको अवस्था देख्दा उसलाई भित्रभित्रै घृणा जागृत भयो । उसले अङ्कलको विक्षिप्त अनुहार हे¥यो । उसलाई यतिखेर अङ्कलको त्यही भनाइको सम्झना भयो जसले उसलाई अङ्कलप्रति सद्भाव हैन घृणा जगाएको थियो ।
‘घर बलियो हैन राम्रो बनाउने हो भतिज । बाहिरबाट हेर्दा चिटिक्क भएन भने नोट कसरी फल्छ ?’
आज त्यो भनाइ सम्झिए पनि उसलाई अङ्कलप्रति दया जागेर आयो । हुन त उसलाई त्यतिखेरको अङ्कलको भनाइको उत्तर दिने मौका मिलेको थियो । उसको पैसाप्रतिको आशक्तिले गर्दा आज सयौँको संसार भत्किएको थियो । हजारौँ बेघरबार भएका थिए । हजारौँको सुन्दर सपना चुँडिएको थियो । तर पनि ऊ संयमित भयो ।
‘अङ्कल ! यो घर डाक्टरले बनाएको हैन ।’ उसले केहीबेर गमेर भन्यो ।
‘अनि कसले बनाएको थियो त यो घर ?’
‘हुन त यो घर नै कहाँ थियो र ! घरको नाममा चिहान बनाइएको थियो अङ्कल !’
‘चिहान बनाइएको थियो रे ! म भन्दै छु नि गडबड हुनै पर्छ भनेर । म त्यसलाई छोड्दिन भतिज । भन को हो त्यो ?’
‘यो घर बनाउने अरू कोही हैन,’ ऊ केहीबेर रोकियो र अङ्कलको अनुहारमा हेर्दै भन्यो, ‘शिवदेव रिमाल हो अङ्कल !’
यो भनाइले शिवदेवको चारैतिर अन्धकार फैलियो । सारा ब्रह्माण्ड नै घुमेझैँ लाग्यो । अब भने उसको अनुहार पश्चाताप र क्षोभले जल्न थाल्यो । ऊ यति कमजोर हुँदै गयो कि फु गर्यो भने पनि ढल्न सक्थ्यो ।
भतिजले केहीबेर शिवदेव रिमालको अनुहारमा हेर्यो । हुन त उसलाई केही नभनूँ लाग्दै थियो तर पनि भनिहाल्यो, ‘अङ्कल ! पैसाको लागि आफ्नो इमान पनि बेचेपछि यस्तै रिजल्ट आउँछ । म भन्दै थिएँ नि पैसालै सबै किन्न सकिन्छ जीवन किन्न सकिन्न ।’
यो कुरा शिवदेव रिमालले सुन्यो कि सुनेन थाहा भएन । तर उसलाई केहीबेरमै बेहोस अवस्थामा हस्पिटल पुर्याइएको थियो । नजिकमा उही कोखेझोला भिर्ने कवि उसलाई कुरेर बसेको थियो ।
(२०७२ जेठ–माघको समकालीन साहित्यमा प्रकाशित)