चर्किएको घर – विष्णु भण्डारी

ऊ जाग्दा घाम निकैमाथि आइसकेको थियो । उसले बार्दलीबाट सुदूरपूर्वको आकाश हेर्यो । वैशाख महिनाको आकाश धुम्म थियो । सबैतिर सन्नाटा छाएको थियो ।

‘वसन्तको बिहान पनि कस्तो उदेक लाग्दो !’ उसले मनमनै सोच्दै चुरोट सल्कायो । चुरोटको धुवाँ गोलो आकारमा लहरिँदै आकासियो । उसले धुवाँको पर्दाले छेलिएको क्षितिज हे¥यो । हेर्दाहेर्दै हिजो बिताएका रमाइला क्षणको सम्झना आयो । ती क्षण सम्झिँदा पनि भित्रभित्रै काउकुति लागेर आयो । तीन दिन पहिले अफिसको काम छ भनेर बाहिरिएको थियो । अफिसको काम त बहाना थियो । ऊ यसरी नै गर्लफ्रेन्ड च्यापेर रिसोर्टतिर लाग्थ्यो । मस्तरामको जिन्दगी बिताउँथ्यो । र, घर फर्किन्थ्यो ।

तीनदिन बिताएर हिजो मात्र घर आएको थियो । घर आउँदा स्वास्नीले मुस्कुराउँदै स्वागत गरेकी थिई । स्वास्नी खुट्टा भाँचिएर थला परेकी थिई । बैशाखीको सहाराले यताउता गर्थी । तैपनि लोग्ने आएको देखेर हर्षित हुँदै उठी । सकिनसकी कान्छीसँगै मिलेर खाना बनाई । श्रीमानसँगै बसेर खाना खाई । लोग्नेको आगमनमा ऊ चञ्चल र रोमाञ्चित भएकी थिई । लोग्नेको अवस्था भने त्यस्तो थिएन । स्वास्नीलाई देख्दै ऊ निराश भएको थियो । उसको अनुहार थकित देखिन्थ्यो । स्वास्नीलाई लाग्यो अफिसको कामले थाके हुन् ।

उसको नागरिकताको नाम कृष्णहरि थियो । स्वास्नीले भने मायाले कृस भनेर संवोधन गर्थी । मोटो र थुलथुले शरीर त्यसमा पनि भाँचिएको खुट्टा । कृष्णहरिले आफ्नी प्रेमिकासँग स्वास्नीलाई दाँज्यो र नाक खुम्चायो । ऊ मोटी मात्र हैन कृष्णहरिभन्दा अग्ली र उमेरले जेठी पनि थिई । ऊ मोटी र जेठी भए पनि नराम्री भन्न मिल्ने खालकी भने थिइन । तर कृष्णहरिलाई लाग्थ्यो ‘काँ परी जस्ती गर्लफ्रेन्ड काँ यो ढेब्बरे ?’

तीन दिनदेखिको कामले थाकेको शरीर, कृष्णहरि आनन्दले सुत्न चाहन्थ्यो । उसलाई स्वास्नीसँग बोल्ने पनि मन थिएन । जिस्किने मन त झनै थिएन । स्वास्नी भने ऊसँग बोल्न चाहन्थी । जिस्किन चाहन्थी । र, मायाले सुमसुम्याउन चाहन्थी ।

ऊ खाँदाबित्तिकै ओछ्यानमा गएर ढल्किएको थियो । स्वास्नी पनि उसकै बगलमा ढल्किएर बसी । उसको मनोदशा बुझेको कृृष्णहरिले फुर्काउँदै भन्यो, ‘कति राम्री भएकी ?’ उसको भनाइले झनै नजिक सर्दै भो स्वाँङ पार्नुपर्दैन भनेकी थिई स्वास्नीले ।

‘स्वाँग पारेको रे !’ कृष्णहरिले मन नलागे पनि चुम्बन गर्दै भनेको थियो, ‘यो संसारमा तिमी जत्तिको प्यारो वस्तु अरू छैन प्रिय !’ उसले यसो भन्दा स्वास्नी मुस्कुराएकी थिई । स्वास्नी केहीबेर नबोली बसी । उसले फेरि पनि यस्तै कुरा गरेपछि भने उसले लोग्नेको अनुहारमा हेर्दै भनेकी थिई, ‘भो भो चेपारे घस्नुपर्दैन । लोग्ने मान्छेको के भरोसा ?’ हुन त उसले स्वास्नीलाई सधैँ यसै गरी फुर्काउँथ्यो । यसै गरी चेपारे घस्थ्यो । र, प्रेमिकासँग मस्ती माथ्र्यो । यसपल्ट भने अलि बढी नै माया गरेको स्वाङ गर्दै थियो ।

अर्को बिहान ऊ ब्युँझिदा स्वास्नी अर्कोतिर फर्किएर सुतेकी थिई । यतिखेर सधैँ उठिसक्थी । कान्छीलाई चिया बनाउन लगाउँथी र लोग्नेसँगै नारिएर चिया सुर्काउँथी । मिठा मिठा कुरा गर्थी र रमाउँथी । तर आज ऊ उठिन । उठाउँदा पनि उठिन । बरु अझै कुनातिर ढेपिएर सुती । कृष्णहरिले सोच्यो, ‘साँझ खाना खाएर सुत्दा त ठिकै थिई । के भएछ यो ढेब्बरीलाई ?’

त्यसपछि ऊ बार्दलीमा निस्कियो । चुरोट सल्कायो र विगततिर विचरण गर्न लाग्यो ।

विवाह गर्दा नै मोटी थिई ऊ । उतिखेर यही आइमाई कृष्णहरिलाई परी जस्तै सुन्दर लागेकी थिई । ‘सुन्दरता शरीरको मोटाइ र उचाइमा हैन व्यवहारमा पो झल्किन्छ ।’ उसले यस्तै सोचेको थियो । फेरि मोटी भए पनि सुन्दरतामा कुनै कमी थिएन । गोरो अनुहारमा बैँसालु मात । एउटै कक्षा र स्वतन्त्र परिवेश । केही दिनमै ऊ त्यो केटीसँग नजिकिएको थियो । सँगै क्यान्टिनमा बसेर चिया खाएको थियो । सँगै घुमेको थियो । र, सँगै सिनेमाहलमा गएको थियो । अझ सहरको सम्पन्न बाउकी एक्ली सन्तान भन्ने थाहा पाएपछि त ऊ पागल जस्तै उसको पछि लागेको थियो । देवीलाई जस्तै दिनरात उसकै पूजा गर्न थालेको थियो । नभन्दै उसको पूजाबाट देवी खुसी भइन् । स्वास्नी मात्र हैन अकूत दाइजो पनि हात पा¥यो उसले । समयक्रममा त्यही आइमाई ढेब्बरी लाग्न थालेकी थिई ।

शनिवारको दिन ब्रेकफास्ट अलि ढिलै हुन्थ्यो । स्वास्नीका कारण आज झनै ढिला भयो । पहिले त ऊ सञ्चो छैन भन्दै उठ्न मानिन । तर कान्छीले कर गरेपछि ऊ बिस्तारै उठी र बैशाखीको सहाराले सौचालय छिरी । उसका आँखाका डिल सुन्निएका थिए । रातभर रोएको जस्तो अनुहार फुङ्ग उडेको थियो । आँखा राता र निन्याउरा थिए । निराश अनुहारमा उदासी छाएको थियो । नास्तामा जुस र कफीबाहेक केही लिइन उसले ।

कृष्णहरिले नास्ता खाएपछि पत्रिका पढ्न थाल्यो । बिचबिचमा उसलाई पनि पढ्दै थियो । ‘कतै मेरो राम कहानी त थाहा पाइन यसले ?’ उसलाई शङ्काले गाँज्दै थियो । मनमा अनेक तर्कना आए । अन्तिममा ‘हिजो साँझसम्म थाहा नपाएकीले कसरी नै थाहा पाई होली र ?’ यही सोचेर ढुक्क भयो ।

खाना तयार गर्दै थिई कान्छी ।

कान्छी पहिले कृष्णहरिको ससुरालीमा बस्थी । पछि छोरीलाई हातसारो होस् भनेर बाउआमाले यता पठाइदिएका थिए । उसले बिहान बेलुका घरको काम गर्थी । दिउसो पढ्न जान्थी । भान्सामा पाकेको मिष्ठान्नको वासना बेडरूमसम्म आउँदै थियो । मिष्ठान्नको वासनाले हो कि कान्छीको आकर्षणले हो ऊ घरी घरी भान्सामा जान्थ्यो ।

स्वास्नी ठुस्सिएर बसेकी थिई । ऊ बोलेकी थिइन । कृष्णहरि ऊसँगै बसेर उसको घुङ्रिएको कपाल खेलाउँदै भन्यो, ‘किन नबोलेको ? के भयो मेरो प्रियालाई ? भन न मेरी रानी ! सञ्चो भएन कि ?’

ऊ बोलिन । उसले केहीबेर यस्तै अर्थ न बर्थका एकतर्फी संवाद ग¥यो । सुन्तलाका केस्रा जस्ता ओठमा म्वाइँ खायो र फेरि भन्यो, ‘तिमी नबोल्दा मलाई संसारै नरमाइलो लाग्छ प्रिय ! बोलन ।’

अब भने त्यो आइमाइले आफ्नो टाउको कृष्णहरितिर फर्काई र सिंहिनीले झैँ हेर्दै भनी, ‘यो संसारमा म जत्तिको प्यारो वस्तु अरू छैन, हैन ? तिमीले भन्न खोजेको यही हैन ?’

‘बाफ रे कस्ता डरलाग्दा आँखा ! कस्तो हान्ने गोरुले झैँ हेरेकी ! निश्चय पनि मेरो कृष्णलीला थाहा पाई यसले ।’ कृष्णहरिको सातो उड्यो । ऊ एक पटक भित्रैदेखि काँप्यो । स्वास्नीको डरलाग्दो हेराइले ऊ यति कमजोर र त्रसित भयो कि पहिले त बोल्नै सकेन । केही समय यसरी नै बित्यो । अन्तिममा उसले डराउँदै भन्यो, ‘हो प्रिय…..!’

वाक्य टुङ्ग्याउन नपाउँदै ऊ हुत्तिएर पर पुग्यो ।

‘भुइँचालो !’ कान्छी चिच्याउँदै भर्याङतिर भागी । कृष्णहरि पनि कान्छीलाई पछ्याउँदै एकै झट्कामा बाहिर निस्कियो । अपाङ्ग स्वास्नीले ऊ भाग्दै गर्दा चिच्याएर सहयोगको याचना गरी । तर उसको आवाज न लोग्नेले सुन्यो न कान्छीले । केही सेकेन्डमै घरका छाना खस्न लागे । हेर्दा हेर्दै उसको घर माटोढुङ्गाको थुप्रोमा परिणत भयो ।

‘दिदी ! खै दिदी ?’ कान्छी चिच्याई । उसको त्रासदीपूर्ण आवाजले बल्ल उसलाई आफ्नी स्वास्नीको सम्झना भयो । ऊ यतिञ्जेल घरको खण्डहरमा पुरिइसकेकी थिई ।

सबैतिर हाँहाकार मच्चियो । एकैछिनमा ऊ बस्ने टोल खण्डहर बनेको थियो । धुलोले आकाश छोपिएको थियो । घर, टहरा र बाटोछेउका पर्खाल भत्किएका थिए । भाग्न सक्ने भागे नसक्ने भित्रै पुरिए । मान्छेहरू रुँदै थिए, चिच्याउँदै थिए । कसैले राम नाम जप्दै थिए, कसैले आफन्त खोज्दै थिए ।

भूकम्प गएको केही समयमै भग्नावशेषमा पुरिएकालाई टोलका युवाहरूले निकाल्न थाले । कान्छी चिच्याउँदै भत्किएको घरतिर दगुरी । ऊ बारम्बार दिदी भन्दै चिच्याउँदै थिई । तर घर यसरी भत्किएको थियो कि दिदी कहाँनेर छ भन्ने पनि ठम्याउन गाह्रो थियो । कान्छी सँगसँगै कृष्णहरि पनि आयो र भत्किएको घरलाई नियाल्न लाग्यो । केही समय पहिलेका स्वास्नीका डरलाग्दा आँखा सम्झियो । दस वर्ष पहिलेको प्रेम कहानी सम्झियो ।

कम्ता माया गर्दिनथी उसले कृष्णहरिलाई । ऊ पश्चिम पहाडको मध्यमवर्गीय परिवारको छोरो । न धन थियो न काठमाडौंमा अडिने ठाम । तर पढ्दापढ्दै ऊ धनी बाउकी एक्ली छोरीसँग नजिकियो ।  सम्बन्ध बिस्तारै मायामा फेरियो । हेर्दाहेर्दै ऊ काठमाडौंको बासिन्दा बन्यो । वैंकको अफिसर बन्यो र कारमा हिँड्ने वर्गमा उक्लियो ।

‘नरो, रोएर आउने हैन क्यारे !’ उसले कान्छीलाई भन्यो र फेरि भग्नावशेषमा हेर्न लाग्यो । स्वास्नीलाई निकाल्न सक्ने सम्भावना कतै थिएन । केही समयमै माइती आए, आफन्त र छिमेकी आए । सबै रोए, चिच्याए । कसैले ढुङ्गा पन्छाए कसैले माटो । तर त्यो घरैघरले थिचिएको खण्डहरबाट बिचरीलाई निकाल्न सक्ने कसको औकात !

कृष्णहरि भग्नावशेषमा टुक्रुक्क बसेर विगत सम्झियो । एक मिनेटको धक्काले ऊ फेरि एक्लो र असहाय बनेको थियो । विगत सम्झिदा उसका आँखा रसाए । ऊ भग्नावशेषमा घोप्टिएर क्वाँ क्वाँ रोयो । त्यही ढेब्बरीले उसलाई राजधानीको बासिन्दा बनाएकी थिई । उसैको प्रयत्नले ऊ नाम चलेको बैंकको अफिसर भएको थियो । उसैको सम्पत्तिमा मोज गरेको थियो । र, ब्याचलर पढ्दै गरेकी चनमतेलाई गर्लफ्रेन्ड बनाएको थियो ।

भूकम्पका पराकम्पहरू एकपछि अर्को गर्दै आउँदै थिए । छिनछिनमा आउने पराकम्पले मनिसहरू अरू बढी त्रसित बनेका थिए । जब भूकम्पको नयाँ तरङ्ग आउँथ्यो मानिसहरू चिच्याउँदै बाटोतिर भाग्थे । केही बेरमा फेरि फर्किएर भग्नावशेषमा आउँथे र आफन्तको खोजीमा जुट्थे ।

सहरमा हाहाकार फैलिएको थियो । धरहरा भत्कियो भन्ने खबर हुरी जस्तै गरी आएको थियो । ‘काष्ठमण्डप, पाटन दरबार र सिंहदरबार पनि भत्कियो रे ! काठमाडौंमा मात्रै हजारौँ मान्छे पुरिएका छन् रे !’ मानिसहरू हल्ला गर्दै थिए । हल्ला गर्नेहरू हल्ला गर्दै थिए, परिवार गुमाएकाहरू आँसु बगाउँदै माटो र ढुङ्गा पन्छाउँदै थिए । त्यो भवितव्यमा टोलका सहयोगी हातहरू बाँटिएका थिए । युवाहरू पुरिएकालाई जिउँदै निकाल्न सकिन्छ कि भनेर कस्सिएका थिए ।

कृष्णहरिलाई ससुराली, साथीभाइ र छिमेकीले सान्त्वना दिए । बाउआमाले छोरीलाई भग्नावशेषमै छोडेर ज्वाइँनारानलाई साँझ घरमा लगेर राखे । तेस्रो दिन बल्ल उद्धार टोली आयो र भग्नावशेष पन्छाउन लाग्यो । यी तीन दिन कृष्णहरिका लागि तीन वर्ष जस्तै भए । बिचबिचमा प्रेमिका आउँथी र नआत्तिन भन्थी ।

‘किन निराश हुनुभएको ? म छु नि,’ गर्लफ्रेन्डले ढाडस दिँदै भनेकी थिई, ‘म भएपछि तपाईंलाई केको चिन्ता ? कि ! मलाई विश्वास गर्नुहुन्न ? म त पहिले पनि तपाईंकै भरोसामा बसेकी थिएँ, अहिले पनि तपाईंकै भरोसामा छु । भगवानले मेरो आवाज सुने जस्तो छ ।’

प्रेमिकाको सात्वनाले उसको मन बौरिएर आयो । मोडल जस्तो सलक्क परेको छाया जतिखेर पनि उसकै अघिपछि गरेको हुन्थ्यो । स्वास्नी पुरिए पनि उसले त्यही छाया हेरेर मन बुझाउन थालिसकेको थियो ।

‘मैले के नै गर्न सक्छु र !’ उसले मन बुझायो, ‘कालले नै खेदो खनेपछि कसको के नै लाग्छ र ! अघिल्लो पटक त्यत्रो दुर्घटनामा परेर बँची । अहिले फेरि भूकम्पले पु¥यो । उसलाई यसै गरी मर्नुरहेछ ।’ यसो भने पनि उसले जब विगत सम्झिन्थ्यो मन नराम्रोसँग दुखेर आउँथ्यो ।

‘ओहो ! कति माया गर्थी मोटीले मलाई ?’ एकान्तमा बसेको बेला सोच्थ्यो, ‘यति छिट्टै छुट्टिन रै’छ र त्यति धेरै माया गरेकी ? ऊ मरे पनि अब मैले नयाँ योजना बनाउनुपर्छ । ऊ मरी भनेर सधैँ रोएर बस्न पनि त भएन । मर्ने मर्छन् बाँच्नेले नयाँ उद्यम गर्नुपर्छ । फेरि ऊ मरे पनि मलाई के नै भएको छ र ! उसको विमा गरेको छँदै छ । घरको पनि क्षतिपूर्ति आउला । घर भत्किए पनि जग्गा कहाँ पो जाने हो र ! ससुरालीले दिएको महाराजगञ्जको घडेरी बेचे पनि भव्य महल ठड्याउन सकिन्छ । बैंक व्यालेन्स पनि छँदै छ ।’

भूकम्पले स्वास्नी पुरेको तेस्रो दिनमै कृष्णहरिले नयाँ सपना देख्न थालिसकेको थियो । ऊ दिनभरि भत्किएको घरछेउमा बसेर सोचिरहन्थ्यो । उसले भत्किएको घरलाई पुनर्निमाण गर्ने छ । गर्लफ्रेन्डलाई विवाह गरेर नयाँ घरमा भित्र्याउने छ । नयाँ गाडी किन्ने छ र नयाँ दुलहीसँगै हनिमुन मनाउन पोखरा जाने छ । उसले यस्तै सोच्दै थियो । अकस्मात आएको हल्लाले उसको तन्द्रा भङ्ग भयो । छिमेकी, आफन्त र उद्धारकर्ताहरू भित्रबाट आवाज आयो, मान्छे जिउँदै छ भन्दै चिच्याउँदै थिए । 

हेर्दाहेर्दै छरछिमेकी र आफन्तहरूको भिड लाग्यो । नभन्दै तीन घन्टाको प्रयत्नपछि भग्नावशेषबाट उसकी स्वास्नीको जिउँदै उद्धार गरियो । यो देखेर सबै खुसीले पागल जस्तै चिच्याए ।

कृष्णहरिकी प्रेमिका भने कालो अनुहार लगाउँदै बाहिरिई ।

कृष्णहरिकी स्वास्नीलाई अस्पताल भर्ना गरियो । केही दिनमै ऊ पूर्ववत् अवस्थामा आई । उसलाई खासै ठुलो चोट लागेको थिएन । भूकम्पले हुत्याउँदा ऊ भ¥याङतिर लडेकी थिई । तीन दिनसम्मको भोक र प्यासले असमान्य अवस्थामा पुगे पनि ऊ बाँची । धेरैले भगवानको लीला भने । कसैले लोग्नेको मायाले बाँची भने । तर धेरैजसोले बाउआमाको आँसु पुछ्न ऊ बाँचेकी हो भने ।

उसलाई केही दिनको उपचारपछि डिस्चार्च गरिने भयो । अस्पतालमा आफन्तको भिड लागेको थियो । अचम्म त यो बिचमा ऊ लोग्नेसँग एकपटक पनि बोलेकी थिइन । ऊ सबैजसो समय टोलाएर बस्थी । ‘यस्तो भवितव्यमा पनि लोग्नेसँग किन नबोलेकी होली ?’ आफन्तबिचमा खासखुस नचलेको होइन । तर यसको रहस्य ऊबाहेक कसैलाई पनि थाहा थिएन ।

घर जाने दिन भने ऊ प्रफुल्ल देखिई । ‘सायद आफू जन्मेहुर्केको घरमा जान पाउँदा उसमा खुसी फर्किएको होला ।’ सबैले उसको उज्यालो मुख देख्दा यस्तै सोचे । गाडी चढेपछि उसले आफ्नो लोग्नेलाई नजिक डाकी । के हुँदै छ भनेर सबै जना झिरिप्प जम्मा भए । उसले एक पटक सबै जनालाई हेरी र गम्भीर हुँदै लोग्नेलाई भनी, ‘ल, बाई ! कृष्णहरिजी ! म त बाबाको घर जाने भएँ । तपार्इं पनि आफ्नो घर जानुहोला ।’

‘आफ्नो घर जानुहोला रे !’ कृष्णहरिले स्वास्नीको भनाइ नबुझेर उही वाक्य दोहो¥यायो । अरूहरू पनि उसको भनाइको तात्पर्य बुझ्न नसकेर हैरान भए । ऊ वाल्ल परेर हेरेको हे¥यै भयो । केही समयको मौनतालाई तोड्दै उसकी स्वास्नीले फेरि भनी, ‘मैले तपाईंलाई मान्छे भन्ठानेर मेरो घरमा ल्याएकी थिएँ, प्रेम गर्न खोजेकी थिएँ ।’

उसको भनाइले सबै जना मुखामुख गरे । आफन्तजन सबै चुपचाप थिए । कृष्णहरि पनि बोलेको थिएन । उसले त झन त्यहाँ के हुँदै छ भन्ने पनि बुझेको थिएन ।

‘प्रेम गर्न खोजेकी थिएँ रे !’ उसले मुस्किलले भन्यो ।

‘हो कृष्णहरिजी, म मान्छेसँग मात्र प्रेम गर्छु ।’ उसले उसैगरी विरक्तिएर भनी । यतिखेर उसको अनुहारमा खुसी थिएन न त ऊ दुःखी नै देखिन्थी ।

‘अनि ! के म अब मान्छे पनि रहिन ?’

‘तपाईभित्र मान्छे हैन सैतान रहेछ कृष्णहरिजी । जसले घरमा स्वास्नी हुँदाहुँदै अरू कसैलाई प्रेम गर्छ ।’

‘अरू कसैलाई प्रेम गर्छ !’ कृष्णहरि रातोपिरो हुँदै भकभकायो ।

‘हो कृष्णहरिजी ! भूकम्पको रात तपाईंको फोनमा गरिएको च्याट हेर्नुहोला । तपाईंको मोवाइलमा त्यो संवाद अझै पनि सुरक्षित हुनुपर्छ । अनि तीन दिन रिसोर्टमा बिताउँदाका तस्बिर पनि अझै सुरक्षित होलान् ।’ उसले लोग्नेको अनुहारमा हेर्दै भनी । मानौँ उसले लोग्नेको हैन चोरको अनुहारमा हेर्दै छ ।

‘भूकम्पको रात म तिमीसँगको विछोडले अर्धचेत थिएँ । कोसँग गरेको संवाद हेरूँ मैले ।’ कृष्णहरिले सकभर आफूलाई इमान्दार देखाउने प्रयत्न गर्दै भन्यो ।

यतिखेर उसको सर्वाङ्ग चिसो भएको थियो । नजिकै आउँदै गरेको भयङ्कर त्रासदीको आशङ्काले ऊ गल्दै गएको थियो । मानौँ केही समयमै आकाश खसेर उसलाई च्याप्ने छ ।

‘मेरो जीवनमा भूकम्प एघार गते राती एघार बजेर छपन्न मिनट जाँदा गएको थियो कृृष्णहरिजी ।’ स्वास्नीले फेरि अर्को झटारो हानी ।

‘एघार गते ? त्यो पनि राती । तिमी होसमा त छौ ?’ कृष्णहरिले अलि टाठो आवाजमा प्रतिवाद गर्न खोज्यो । तर त्यो आवाज यति कमजोर प्रतीत हुँदै गयो कि मान्छेको सन्नाटामा तुरुन्तै गायब भयो । यसको ठाउँमा उसकी स्वास्नीको आवाज झनै बलसाली भयो । हुन त ऊ सुस्तसुस्त बोल्दै थिई तर उसका प्रत्येक शब्द बम जस्तै भयङ्कर आवाजमा पट्किँदै थिए ।

‘म पूर्ण होसमा छु ।’ उसले कृष्णहरिलाई एकटकले हेर्दै भनी । मानूँ लामो समयदेखि उसले लोग्नेलाई हेर्न पाएकी छैन । उसको हेराइमा रोषभन्दा पनि घृणा मिसिएको थियो । बोल्दै गर्दा उसका ओठ कहिले थरथराउँथे कहिले मुस्कुराउँथे । मुस्कान व्यङ्ग्यले भरिएको थियो । घृणा र व्यङ्ग्य मिश्रित अनुहार रापिएको थियो । उसले केहीबेर लोग्नेको अनुहारमा हेरी र फेरि भनी, ‘मेरो जीवनमा महा–भूकम्प बाह्र गते दिनको एघार बजेर छपन्न मिनेट जाँदा गएको थिएन । त्योभन्दा ठिक बाह्र घन्टा अघि गएको थियो । जतिखेर म तपाईंकी गर्लफ्रेन्डसँग च्याटमा थिएँ ।’

‘च्याटमा थिएँ !’

‘हो कृष्णहरिजी ! तपाईंको सेलफोनमा फेसबुक लगइन थियो । मलाई थाहा थिएन मान्छे यतिविघ्न नीच र बेइमान पनि हुन सक्छ भन्ने । उसले तपाईंलाई म्यासेज पठाएकी थिई । तर त्यसको प्रतिउत्तर मैले दिएँ र सारा रहस्य पत्ता लगाएँ । त्यो संवादले मेरो जीवनमा दश रेक्टरको भूकम्प गएको थियो ।’

ऊ यसरी बोल्दै गर्दा केहीबेर शान्त भई । उसलाई बोल्न पनि कठिन हुँदै थियो । सायद शारीरिक र मानसिक वेदनाले ऊ कमजोर भएकी थिई । तर पनि ऊ बोल्दै थिई । उसले लामो निश्वास छोडी र कृष्णहरिको अनुहारमा हेर्दै फेरि भनी, ‘भूकम्पले भत्किएको भन्दा चर्किएको घर बढी खतरनाक हुन्छ । चर्किएको घर आखिर छोड्नै पर्छ । हैन र कृष्णहरिजी ?’

‘यो संसारमा तिमी जत्तिको प्यारो वस्तु अरू छैन प्रिय ! तिमीसँग संवाद गर्ने महिला तिम्रो दुस्मन पनि त हुन सक्छे ।’ कृष्णहरिले लत्रिएको स्वरमा आफ्नो बचाउ गर्दै भन्यो ।

‘हो, तपाईंले ठिक भन्नुभयो । त्यो मध्यरात मसँग संवाद गर्ने महिला मेरो दुस्मन हो भन्नेमा म पूर्ण सहमत छु । सौताभन्दा ठुलो दुस्मन महिलाका लागि अरू को नै हुन सक्छ र !’ उसले केहीबेर निवर्तमान हुँदै गरेको लोग्नेको अनुहारमा घृणापूर्वक हेरी र फेरि भनी, ‘भूकम्पले चर्किएको घर र सौता उस्तैउस्तै हुन् कृष्णहरिजी ।’

(२०७२, जेठ १६ गतेको नागरिक दैनिकमा प्रकाशित)


  प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार ०२:१६