घामका अन्तिम किरण पनि अस्ताइसकेका थिए । केहीबेर अघिसम्म हिमाल सुनौलो घाममा चम्किँदै थियो । शिखरहरू आकाश चुम्ने रहरले मुस्कुराएझैँ लाग्थे । पन्छीहरू चिरबिराउँदै थिए । अहिले भने सबैतिर सन्नाटा फैलिएको छ । हिमालको अगलबगल बादलका स–साना टुक्राहरू तैरिँदै छन् । हिमाल पनि पहिला जस्तो झरिलो र चम्किलो छैन । क्षितिजसँगै उभिएका पहाडहरू खुलेका छैनन् । डाँडाकाँडाहरू फिका र घुर्मैला देखिन्छन् ।
सदाझैँ आज पनि बाटोमा मान्छेहरूको ओहोरदोहोर बढेको छ । सहरसँगैको गाउँ, साँझको बेला यहाँ सधैँ यस्तै देखिन्छ । जानेभन्दा आउने बढी । कमिलाको ताँती जस्तो । आउनेहरू, प्रायः सबैले केही न केही समाएका छन् । एकाध मान्छेबाहेक सबैका हातमा पोकापन्तरा छन् । कसैको हातमा तरकारी त कसैको हातमा फलफूूल । कसैको हातमा सुफत मूल्यको चावल त कसैको हातमा छोराछोरीका लागि माया गरेर किनेको कापीकलम । अनि केहीको हातमा मासु र खोकिलामा जतनले लुकाएर राखेको सस्तो रक्सीको सिसी ।
मान्छे हिँडेका छन् । वर्षौंदेखि यसरी नै हिँडेका छन् । कोही मुस्कुराउँदै हिँडेका छन् । कोही थकित अनुहार लिएर फर्किंदै छन् । कोही पीडामा छन् । कोही खुसीले गफिँदै छन् । कोही जीवनदेखि नै अघाएका छन् । कोही उदात्त जीवनको खोजीमा निस्किएका छन् । जो जीवनदेखि भाग्न खोज्छन् बाटो छेउ उभिएर उदास नेत्रले टाढा हेर्छन् । कोही उभिएर लामो सुस्केरा हाल्छन् । जिन्दगीको भारी बोक्दा बोक्दा थाकेर होला प्रायः वृद्धहरू एक्लै एक्लै बरबराउँछन् । एक्लै एक्लै लडखडाउँछन् । र, सुस्त सुस्त बाटोमा ओझेल पर्छन् ।
त्यही भिडमा हतारहतार गर्दै धनकुमारी पनि फर्किंदै छ । पुरेत बाजेले जुराइदिएको नाम हो यो । तर यो नामप्रति घृणा छ उसलाई । गरिबीले आहत बनाएको छातीमा यो नामले च्वास्स घोच्छ । तर पनि यही नामले बोलाउँछन् सबै जना । फर्किंदा अरूहरूको जस्तो उसको हातमा पोकापन्तरा छैनन् । तरकारी र फलफूले भरिएको झोला छैनन् ।
ऊ आई र छोरोलाई सुमसुम्याई । छोरो लामो समयदेखि उसकै प्रतीक्षामा थियो । आमाको आगमनले ऊ फिस्स हाँस्यो । हाँस्दा सेता दाँत हिमाल जस्तै गरी चम्किए । उसले नस्याहारिएको छोरोको कपाल मिलाइदिई । गाला सुमसुम्याई र म्वाइँ खाँदै भनी, ‘छोरो ! किन बाहिर ? हेर त लामखुट्टेको बथान !’
‘मैले आकाश हेर्दै थिएँ आमा !’ उसले भन्यो ।
उसले सुनिन सायद । अथवा सुनेर पनि प्रतिक्रिया जनाइन । छोरोलाई लिएर भित्र गई र बत्ती बाली । बत्तीको मधुरो प्रकाशमा कोठा मुस्कुरायो । उसले खुइया सुस्केरा हाली, पोल्टाबाट बिस्कुट निकाली र छोरोलाई दिई ।
‘आमा ! तपाईंले पनि खानोस् न ।’ बिस्कुट खाँदै छोरोले भन्यो ।
‘मलाई भोक छैन छोरा ।’ उसले सुस्तरी भनी ।
हुन पनि उसलाई भोक थिएन । दिनभर ठेकेदारकोमा सावेल चलाउँदा चलाउँदा ऊसँग भएको भोक मेटिएको थियो । दिउसो एककप चिया र आधा पाकेट बिस्कुट खाएकी हो । त्यसपछि दिनभर गिटी र बालुवासँग कुस्ती खेलिरही । सँगै काम गर्ने साथीहरूले चाउमिन खाए । कसैले आलु, चना र चिउरा खाए । उसले त्यस्तो केही खाइन । एउटा बिस्कुट पनि आधा बाँधेर पोल्टामा राखी ।
‘दिपु, रोटी खायौ नि ?’ स्टोभ सल्काउँदै उसले सोधी ।
‘खाएँ आमा !’ छोरोले छोटो उत्तर दियो ।
उसले खाना पकाई । छोरोलाई खाना ख्वाई र आफूले खाई । भाँडा माझ्दा र सरसफाइ गर्दा रातको नौ बजिसकेछ । छोरोलाई दवाई ख्वाएर ओछ्यानमा ढल्किई । ढल्किएर सुत्दानसुत्दै आँखामा उही फोटो प¥यो, जुन लामो समयदेखि ओछ्यान सामुन्नेको भित्तामा झुन्डिएको थियो । फोटोमा आफूसँगै छोरो र लोग्ने मुस्कुराउँदै उभिएका थिए ।
नहेरूँभन्दा पनि सुत्ने बेलामा त्यही फोटोमा आँखा पर्छन् । कत्ति पटक त उसले त्यो फोटोलाई त्यहाँबाट हटाएकी हो । तर, स्कूलबाट आएपछि प्रत्येक पटक उही ठाउँमा राखेको थियो छोरोले । सायद उसलाई आमाको यो काम असह्य भएको थियो । उसले फोटोलाई उही ठाउँमा राख्दै भनेको थियो, ‘आमा ! मेरो बाबालाई यहाँबाट किन हटाएको ?’
उसले बत्ती निभाई । कोठा सुनसान गुफा जस्तो अन्धकार भयो । बाहिर भुस्याहा कुकुर भुकेको आवाज आउँदै थियो । निकै समय बित्दा पनि निद्रा लागेन । ऊ उठी र चुरोट सल्काई । सलाईको उज्यालोमा कोठा केहीक्षण उजेलियो र फेरि अँधेरो भयो । उसले केहीबेर बुङबुङ धुवाँ उडाई र सुती ।
‘आमा ! नीद लागेन ?’ केहीबेरको मौनतापछि छोरोले सोध्यो ।
‘अब निदाउनुपर्छ ।’ उसले सिरक मिलाई र छोरोलाई काखमा च्यापेर निदाउने प्रयत्न गरी ।
छोरो बाँच्दैन भन्ने उसलाई थाहा थियो । बचाउन सक्दिनँ भन्ने पनि थाहा थियो । तर पनि ऊ बाँचेकी थिई । सङ्घर्ष गर्दै थिई । उसका बिगिँ्रदै गएका किड्नीले एकदिन काम गर्न पुरै छोड्ने छन् । ऊ मनभरि बाँच्ने अभिलाषा बोकेर मृत्युलाई अङ्गाल्न विवश हुने छ । छोरोको मृत्युसँगै उसले पतिको अन्तिम चिनो गुमाउने छ, आँखाको ज्योति गुमाउने छ, आशा र खुसी गुमाउने छ । यस्तै सोच्दासोच्दै उसका आँखा रसाए । केही समयमै आँखाबाट आँशुको मुल फुट्यो ।
‘आमा किन रुनुभएको ?’ आमाका आँसुुको स्पर्शले मर्माहत हुँदै छोरोले सोध्यो, ‘रोएर मलाई सन्चो हुन्छ र ? डाक्टर अङ्कलले सन्चो हुन्छ भन्नुभएकै छ ।’
छोरोले अँध्यारोमै आमाका आँखामा हात पु¥यायो र आँसु पुछिदियो । यसपछि त झन आमाको हिक्का नै छुट्यो । उसले बलैले आफूलाई रोकी । आँसु पुछ्दै उठी र नजिकैको जग उठाएर पानी खाई ।
कोठा फेरि पनि सुनसान भयो । केहीबेरको सन्नाटापछि छोरोले सोध्यो, ‘आमा ! भन्नोस् न मलाई सन्चो नहोला र ?’
०००
आमा काममा गइसकेकी छ । दिपु सदाझैँ पेटीमा बसेर टोलाउँदै छ । कहिले त्यो अबोध बच्चाले पारिपारि चम्किने क्षितिज हेर्छ । बेलाबेलामा उड्ने पन्छीका बथान देख्दा भित्रभित्रै रमाउँछ । कहिले बाटोमा हेर्छ । बाटोमा स्कुल जाँदै गरेका आफू जस्तै केटाकेटी देख्दा भने ऊ निराश हुन्छ ।
दिनक्कैजसो उसले यसैगरी बाटोमा हेर्छ । यसैगरी बच्चाहरू स्कुल जान्छन् । कोही रोएका हुन्छन् । कोही हाँसेका हुन्छन् । कसैलाई बुवाले बोकेका हुन्छन् । कसैलाई आमाले उचालेका हुन्छन् । कसैले डो¥याएका हुन्छन् । कसैले समाएका हुन्छन् ।
उसलाई पनि बुवाले यसरी नै बोकेर स्कुल लैजाने गथ्र्यो । ‘पढेर असल मान्छे बन्नुपर्छ,’ बाटोमा जाँदै गर्दा उसले भन्थ्यो, ‘पढ्यो भने गरिब पनि महान् बन्नसक्छ ।’
हो त नि ! कति माया गथ्र्यो बाउले ? कसरी राती सुतेपछि गाउँखाने कथा भन्थ्यो ? कसरी गरिब किसानले राक्षसको हातबाट राजकुमारीलाई बचायो ? अनि कसरी राजकुमारीले त्यही किसानलाई कमारो बनाई ? यस्तै यस्तै कथा सुनाउँथ्यो । कथा सुन्दासुन्दै ऊ बुवाको काखमा निदाउँथ्यो ।
अहिले भने त्यो सबै अतीत भैसकेको छ । उसको बाउ ऊबाट चुँडिएको पनि पाँच वर्ष भयो । अहिले पनि बुवा आउनुहुन्छ कि भन्ने आशामा बाँचेका छन् यी दुई प्राणी । प्रत्येक दिन प्रायः एकलै बस्दा बाउको झझल्को बढेर आउँछ । खाना खानेबेला र सुत्नेबेला उसले बाउलाई नसम्झिएको दिनै छैन ।
पाँच वर्ष पहिलेको घटना सम्झिदा पनि ऊ झस्किन्छ । कसरी मध्यरातमा आएका थिए सैनिक ? कसरी उसको बाउलाई घिसार्दै लगेका थिए ? बाउलाई लैजादै गर्दा ऊ कसरी चिच्याएको थियो ? कसरी खाटबाट फाल हालेर बाउलाई समाएको थियो ?
त्यसपछि बुवाको केही खबर आएन । किन लगे होलान् उसको बाउलाई सैनिकले ? किन नफर्किएको होला उसको बाउ ? नराम्रो काम गर्नेलाई प्रहरीले समात्छन् भन्ने सुनेको हो । तर उसको त्यति जाती र असल बुवाले पक्कै पनि नराम्रो काम त गरेन होला । उसलाई अझै पनि यस्तै लाग्छ ।
ऊ र उसकी आमा धेरै पटक बुवालाई खोज्न पुलिस चौकी गए । सैनिक छाउनी पुगे । तर, कहीँ पनि भेट्न सकेनन् । बदमासी नै गरेको भए पनि पुलिस चौकीमा त भेटिनुपर्ने । त्यहाँ नभए जेलमा हुनुपर्ने । तर कत्ति खोज्दा पनि कहीँ भेट्टाउन सकेनन् । कहीँ नभेटिएपछि माया मारेर काममा लागेकी थिई आमा । यो सबै सोच्दासोच्दै उसको छाती चसक्क भयो । आँखाबाट आँसु बगे ।
‘ल, किन रोएको दिपु ? भात खाएको छैन, हो ?’ सँगै कोठामा बस्ने अन्टीले सोधी ।
‘हैन अन्टी ! त्यसै ।’ उसले आँसु पुछ्दै छोटो उत्तर दियो ।
टोल छिमेकमा सबैले माया गर्छन् उसलाई । तर मायाले मात्र नपुग्ने रै’छ । उसका दुबै किड्नी बिग्रिएको महिनौँ भयो । फेर्न लाखौँ रूपियाँ लाग्छ । बेपत्ता परिवारको छोरो । कसले दवाई गरोस् ? कसले खर्चको जोहो गरोस् ? आमाले दिनभर कमाएको पैसाले कोठाभाडा तिरेर मुस्किलले खाना र दवाई खर्च जुट्छ ।
कमिजको फेरोले आँसु पुछ्दै उसले भन्यो, ‘अन्टी अब त मेरो बुवा फर्किनुहुुन्न होला, हगि ?’
‘ए ! बुवालाई सम्झिएर पो रोएको ?’
‘हो अन्टी ! बाबाको सम्झना धेरै आउँछ ।’
उमेरले बच्चै छ ऊ । तर असाध्यै ज्ञानी र इमान्दार छ । उसको तर्क सुन्दा ऊ बच्चा जस्तो लाग्दैन । यति सानैमा पनि कसरी आर्जन गरेको होला यति सुन्दर विचार ? उसका कुरा सुन्नेहरू यसै भन्छन् ।
ऊ दिनभर कोठामै बस्छ । कहिले पढ्छ, कहिले सुत्छ र कहिले चित्र कोर्छ । अनि बिहान बेलुका विद्यालय जाने र फर्किने स्कुले केटाकेटीलाई हेरिरहन्छ । हेर्दाहेर्दै भित्तामा अढेस लागेर टोलाउँछ । बिमारीले क्लान्त र कमजोर ऊ सपनामा भने विद्यालयको चउरमा हुन्छ । साथीसँगै खेलमा सहभागी हुन्छ । उसलाई मन पर्ने खेल हो दौड । उसलाई दौडमा कसैले उछिन्न सक्दैनन् । सबैलाई उछिनेर ऊ नै प्रथम हुन्छ । सबैले स्यावासी दिन्छन् । सबैले पिठ्युमा धाप मार्दै क्यावात् भन्छन् ।
ऊ हर्षविभोर हुँदै घर फर्किन्छ । तर ऊ घर फर्किएर खुसी साट्न नपाउँदै घनघोर वर्षा हुन्छ । बेतोडले हुरी चल्छ । आँधीहुरीको प्रचण्ड धक्काले उसको निद्रा खुल्छ । विपनामा भने ऊ न दौडिन सक्छ न त हिजोको जस्तो खुसी नै बाँकी छ ऊसँग ।
०००
‘आमा ! तपाईं कस्तो दुब्लाउनुभयो ?’ राती भात खाँदै गर्दा दिपुले सोध्यो, ‘तपाईंलाई सन्चो छैन क्यो आमा ?’
‘मलाई ठिक छ छोरा ?’ आमाले ऊतिर पुलुक्क हेर्दै संक्षिप्त उत्तर दिई ।
‘ठिक भए किन यसरी दुब्लाउनुभएको त ?’ छोरोले शङ्का व्यक्त गर्दै सोध्यो ।
यस पटक भने आमाले उत्तर दिइन । उत्तर भए पो दिनु । उसले धेरै दिनदेखि आमा किन यसरी दुब्लाउँदै छिन् भन्ने कुरा बुझ्न चाहन्थ्यो ? आमाको बाहिरी दुःख त उसलाई पनि थाहा थियो । तर आमाको मनभित्र दन्किने चिन्ताग्निबारे उसलाई के थाहा र ? उसको जीवनमा एकपछि अर्को गर्दै बज्रिँदै गर्ने घात प्रतिघातबारे के थाहा ?
उसले सुत्ने बेलामा बिस्तारै भन्यो, ‘आमा सबैले गणतन्त्र आयो भन्छन् ।’
‘हो छोरा ! सबैले त्यसै भन्छन् ।’ आमाले पनि झनै सुस्तरी भनी । मानौँ यो कुरा कसैले सुन्न सक्छ । र, सुन्यो भने उपद्रव मच्चिन सक्छ ।
‘आमा ! हाम्रो बुवा अब फर्किनुहुन्न ?’ केही समयको मौनतापछि उसले सोध्यो । पहिले त आमा यस्तो अनपेक्षित प्रश्नले व्याकुल बनी । तर पनि ऊ संयमित बनी । उसले नै संयम गुमाई भने बिरामी छोरोको हालत झन कस्तो होला ? सायद उसले यस्तै सोची र सुस्तरी भनी, ‘छोरा ! प्रतीक्षाको अन्तिम सीमा हो यो ।’
‘आमा ! के हाम्रो बाबाले राजाको विरोध गर्नुहुन्थो ?’
‘बुवा असल मान्छे हुनुहुन्थ्यो छोरा ।’
‘त्यसो भए बाबा माओवादी हुनुहुन्थ्यो आमा ।’
ऊ बोलिन । के उसलाई थाहा थिएन र उसको लोग्नेले क्रान्तिकारी पार्टीमा काम गर्छ भन्ने ? थाहा भए पनि त्यो बच्चालाई कसरी भनोस् कि उसको बुवा क्रान्तिकारी भएकै कारण बेपत्ता पारियो । पाँच वर्ष बेपत्ता हुनु भनेको नफर्किनु हो । कोठामा सन्नाटा छायो । निकैबेरको सन्नाटापछि उसले फेरि भन्यो, ‘मलाई थाहा छ, अब बुवा फर्किनुहुुन्न ।’
‘कसले भन्यो यस्तो नचाहिने कुरो ?’ आमाले अलि च्याट्ठिदै भनी । उसले देखाउन चाहन्थी, ऊ जे बोल्दै छ सरासर झुट बोल्दै छ । फेरि लोग्ने म¥यो भन्ने पनि त कुनै प्रमाण थिएन । सायद उसलाई लाग्दै थियो, उसको लोग्ने कुनै दिन फर्किने छ ।
‘मैले आज पत्रिकामा पढेको, हाम्रो बुवा नआए पनि हामी सुखी हुन्छौँ रे ! नयाँ नेपाल छिट्टै बन्छ रे आमा !’
‘पहिले पनि धेरैले त्यसै भनेका हुन्,’ शङ्कामिश्रित स्वरमा उसले भनी, ‘तर ऐलेसम्म कसैले भनेको पुगेको छैन ।’
‘आमा ! मलाई बाँच्ने धेरै रहर छ ।’
‘बाँच्ने मन कसलाई हुन्न र छोरा ? तर डाँडाको जून कतिञ्जेल चम्किन सक्छ ?’ नबोलूँ भन्दाभन्दै पनि उसले बोलिहाली । तर बोली टुङ्ग्याउँदा नटुङ्ग्याउँदै उसलाई बोलेकोमा पश्चाताप भयो । उसले आफैलाई घृणा गरी ।
‘हैन आमा ! निराश नहुनुहोस् न,’ उसले उत्तेजित हुँदै भन्यो, ‘के हाम्रा बाबाको बलिदान त्यत्तिकै खेर जाला र ?’
त्यसपछि ऊ बोलेन । कोठा उसैगरी निस्पन्द टोलाइरह्यो । केहीबेरको मौनतापछि उसले फेरि भन्यो, ‘आमा म बाँच्ने छु । मलाई फेरि स्कुल जाने रहर छ आमा ।’
यसरी बोल्दा उसको पहेँलो अनुहारमा दुईटा आँखा चम्किए । उत्तेजनाले आँखाका कोस रसाए । उत्तेजनाले हो कि बोल्दाको थकाइले हो उसले छिटोछिटो स्वास लिने र छोड्ने गर्दै थियो ।
‘हो छोरा मलाई पनि त्यस्तै देख्ने रहर छ ।’ आमाले लामो निस्वास छोडी ।
‘आमा मलाई पनि तपाईंसँगै लैजानुहोस् न ।’ छोरोले आशान्वित नयनले आमालाई हेर्दै भन्यो ।
‘काँ छोरा !’
‘नयाँ नेपालको सुन्दर क्षितिज भेट्न ।’
‘छोरा ! क्षितिज पनि भेट्ने वस्तु हो र ?’
‘आमा त्यही त हाम्रो विश्वास हो । हामी यही आशा र विश्वासमा झुन्डिएर त सधैँ बाँच्ने गर्छौं । के भुल्नुभयो र बाबाले भनेको कुरो ?’ उसले छिटोछिटो आफ्नो कुर भन्यो र आमाको अनुहारमा हे¥यो । सायद आमाको प्रतिक्रिया सुन्न चाहन्थ्यो ऊ । तर आमा नबोलेको देखेर उसले पुरानो कुरा सम्झाउँदै भन्यो, ‘जीवनदेखि हरेश नखानु धन, म फर्किने छु भन्नुभएको थिएन र बुवाले ?’
उसको बुवाले अन्तिम पटक यही भनेको थियो । ढोकानेरि पुगेर ऊ केहीबेर उभिएको थियो । अन्तिम पटक उनीहरूलाई हेर्दै बुवाले भनेको कुरा अझै पनि बिर्सिएको थिएन उसले । उसले यो कुरा सम्झाउँदा आमाको मुटु नराम्रोसँग दुख्यो । आमाले भित्तामा अढेश लागेर सजल नयनले बाहिर हेरी । झ्यालबाट टाढाटाढा देखिने क्षितिजको घेरा अन्धकारभित्र कतै हराएको थियो ।
‘आमा ! के मलाई मर्छ भन्नुभएको ?’ उसले अलि भावुक हुँदै भन्यो । सायद बोल्दाबोल्दै उसको गला अवरुद्ध भयो । ऊ अगाडि बोल्न सकेन ।
‘हैन छोरा ! म वर्षौंदेखि तिम्रै भरोसामा त बाँचेकी छु ।’ आमाले पनि भावुक हुँदै भनी ।
‘हो आमा ! म बुवाको सपना पूरा नभएसम्म मर्ने छैन ।’ उसले आमातिर फर्किएर यसरी भन्यो कि मानूँ मृत्यु उसको खटनमा आउने छ । कस्तो आत्मविश्वास ! एकछिन त आमा पनि हेरेको हे¥यै भई । केहीबेरको मौनतापछि उसले सुस्तरी भनी, ‘छोरा ! के त्यो बिहान हाम्रो खुसी बोकेर आउला र ?’
उसलाई लाग्यो आमा अविश्वास गर्दै छिन् । आमाले बाहिर फैलिएको अन्धकारलाई मात्र सत्य ठान्दै छिन् । भोलिको नयाँ र सुन्दर बिहानप्रति शङ्का गर्दै छिन् ।
उसले दृढ र मृदुल स्वरमा भन्यो, ‘आमा ! के त्यो रातो क्षितिज हाम्रो बुवाको रगतले रङ्गिएको होइन र ?’
(२०६६)