धेरै वर्षपछि ब्युँझिएको म
हेर्दै बाजेको अस्थिपञ्जरमा नियतिको क्रूर मजाक
उभिएको छु चौबाटोमा
खोज्दै लुटिएको धनुषकाणमा सभ्यताको प्रथम आवाज
लगाउँदै कोम्बीमा धार
फेरि आइपुगेको छु उही ठाउँमा
जहाँ बज्ने गर्छ साकेन्वाको आदिम धुन
जहाँ बग्ने गर्छ लोरीका लयहरूमा मुन्धुमको विस्मृत कथा ।
नाच्ने गर्छ अझै पनि
स्मृतिको सुदूर सन्नाटामा
धुजाधुजा सपनाको प्रेमिल कथा
सोनाम ल्होसारमा सुसेल्दा सेलोको धुन
नाच्दा साकेलामा ठोक्दै ढोल
कसरी लगाएथे श्री ३ महाराजले सिस्नो पानी
पढ्न खोज्दा वेदका ऋचाहरूमा नेप्टो नाक
कसरी कटाएथे मुखियाले देशको सीमा ?
महोदय ! म उही तिघ्रे भुसतिघ्रे भुइँमान्छे हुँ !
जसले इतिहासका प्रत्येक उकालीमा बोक्यो
तिम्रो सभ्यताको अग्लो मिनार
खोसिएर बलात् सपनाहरू
हिनहिनाउँदै कुँद्दा पनि आफ्नै छातीमा वेलगाम घोडाहरू
बाँच्न विवश बन्यो ।
सुम्पिएर सभ्यताको आदिप्रदेश तिम्रो हातमा
गरेँ कल्पित उन्मुक्तिको आराधना
गाउँदै सोरठीका कर्खाहरूमा तिम्रै भाका
रेटेँ सनासोले आफ्नै गला
तर पनि तिमी नाचिरह्यौ
पसिनाले सिर्जित आलीहरूमा उभ्याएर तिम्रो सालिक
आफ्नै आँसुमा जीवन बाँच्दा पनि तिमी निर्धक्क गर्जिरह्यौ ।
महोदय ! गुमाएर सभ्यताको सुन्दर प्राचीर
बाँच्न विवश यो अछुत मान्छे ब्युँझिएको छ
झुकाउँदै स्वाभिमानको उँचो पहाड
ढोले, डोले र पीपाहरूमा रूपान्तरित यो अनाम आकार
धेरै वर्षपछि कोरिएको छ ।
खोज्दै इतिहासका डोबहरूमा बेनाम तस्बिर
म आएको छु
फर्काउन जीवनकोे आदि कथा
च्यातेर इतिहासको कालो पर्दा
खोज्नु छ विस्मृत बस्तीको साँचो कथा
त्यही खण्डहर बस्तीमै दबिएको
बोक्नु छ स्वाभिमानको उचो पहाड ।
महोदय ! म हु समयको नयाँ प्रतिमान
मै हुँ आवाजहरूले जन्माएको नयाँ आवाज
म हेर्न चाहन्छु माटोका कणहरूमा मेरो तस्बिर
खै कहाँ छ त्यो पसिनाको सतत सिन्धु ?
जहाँ बग्ने गर्छ मेरा पुर्खाले आर्जेको माटोको गन्ध ।
(२०७१, माघको शाल्मलीमा प्रकाशित)