पहिचान – विष्णु भण्डारी

जब पहिलो पल्ट
उसले छोड्यो देश र टेक्यो परदेशको माटो
उसले अनुभूत गर्यो कस्तो हुन्छ
छल्दीको किनारा हुँदै बग्ने हावाको गन्ध ।

राखेर बन्धकी आमाको आँसु
लुकाएर मायाको चिनो छातीभित्र
उडेको उसले
जब सुरु गर्यो माझ्न
असिऔँ तलाको भव्य रेस्टुरामा जुठा भाँडा
लगाउन पोचा र सफा गर्न चर्पी
उम्लिन सुरु गर्यो ऊसँगै परदेशिएको
राष्ट्रवादको तात्तातो लाभा ।

मिसिन खोज्दानखोज्दै लाभाको घोलसँग
पुर्खाले छोडेको जोस
नाच्यो फनफनी आँखाको वरिपरि
आमाको जीर्ण शरीर
चिसो भयो लाभा
बग्न लाग्यो बालुवामिश्रित बतासमा मिसिएर
स्वाभिमानको अन्तिम फलक
रोक्न खोज्यो आशाको अन्तिम तृणमा झुण्डिएरै भए पनि
पुर्खाले बचाएको शील
तर रोक्न सकेन
उसले सँभालेको रातो झन्डाले
कृतदास बन्दै गरेको उसको पहिचान ।

उसले बन्द गर्यो पलक र पढ्न थाल्यो
देशभक्तिको लडाइँमा कासन गर्ने
क्रान्तिवीरको तस्बिर
ठिङ्ग उभियो क्रान्तिवीर
झुण्ड्याउँदा पनि नझुकेको लखन जस्तै
निर्धक्क तरिरह्यो आँखा
अहँ पटक्कै हुन सकेन एकाकार समयको मजाकसँग ।

ऊ पल्टियो निस्लोट भै र देख्यो सपना
देख्दादेख्दै क्रान्तिवीर खण्डित भयो
कतै नेवार भयो
कतै तामाङ भयो
कतै राई भयो
कतै मधेसी र बाहुन भयो
हेर्दा हेर्दै चर्कियो उसको ललाट र प्रतिबिम्बित भयो
अभिज्ञान खोज्दा खोज्दै स्वयम् पराधीन बन्दै गएकोे देश ।

उसले खोज्यो चुम्न
भादगाउँले टोपीमा अङ्कित क्रस खुकुरी
स्पर्श गर्न चाह्यो बुद्धको सुन्दर मूर्ति
तर गर्दा नगर्दै स्पर्श
गाढा भयो रात र बग्न थाल्यो तुफान
उसले अरबका ताता भेडीगोठबाट देखिने
धुलाम्मे क्षितिजको जून हेर्दै अनुभूत ग¥यो
कस्तो हुन्छ
नेपाली हुनुको पहिचान ?

(२०७०, माघको नेपालमा प्रकाशित)


  प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०७:५७