पहाड – विष्णु भण्डारी

देखिदै छ टाढाटाढा
धुुम्म वादलमुनि
कसैको स्मृतिमा लिएर सन्तप्त मन
एक्लै बसिरहेकी युवतीझैँ
अथवा जीवनको अन्तिम पलमा
सम्झिदै विगतका कटुक्षण
शून्यमा ताकिरहेको सहाराहीन वटुवाझैँ
निशान्त उभिइरहेको एक्लो र उदास पहाड ।

गडगडाउँदै छ आकाश
जाज्वल्यमान आग्नेयास्त्रको तीव्र कम्पनले
भेदन गरेझैँ
दुष्टात्माहरूका विषाक्त सिरामा घोचेर सोला
आगो बर्साउँदै छ बादल
तर पनि ख्यालै नगरी
क्षितिजमा चम्किने चट्याङसँगै
बर्सिने मनसुनका प्रथम लहरहरूलाई
ग्रीष्मका उर्वर खेतहरूमा मगमगाउने
वासन्तिक सुवासले मदहोस ओठहरूमा
छुटाएर कम्पन
किन अवचेतन बाँचिरहेछ पहाड ?

हारेर युद्धका सबै मोर्चा
अविश्रान्त यात्रामा अन्धकार फैलिएपछि
किनारिएको बटुवाझैँ
अथवा छोडेर जीवनका सबै द्वन्द्व
खोज्न जीवनको परिनिर्माण
परमार्थमा लिन भएको सिद्धार्थझैँ
किन एकोहोरो उँघिरहेको छ पहाड ?
ओकलेर अग्निगर्भको तातो लाभा
पहाडका खोचहरूमा फैलिँदै गरेको
दुष्ट सिरेठोलाई पोल्नु पर्नेमा
आफै पोलिएको मुखाकृतिमा भरेर ल्पास्टिक सर्जरी
सुन्दरताको बखान गर्दै
विश्व भर्मण गर्ने नटवरलालको षड्यन्त्रलाई
किन सकारिरहेछ पहाड ?

भुलेर आफ्नै नाभीको कस्तुरी
अथवा तुफानी रातहरूमा पनि
राखेर आस्था र असीम विश्वास
उभिइरहेका सतिसालहरूलाई
नगरेर विश्वास
किन झुकिरहेछ
आँसुको व्यापार गर्ने महानजनहरूका अट्टालीमा
आँसुमा ठडिएको पहाड ?

यतिखेर हेरिरहेछु म
पहाडमा बसेर धर्तीका सारा पहाड
तर सबै पुड्का
सबै होचा र सबै उस्तैउस्तै देखिन्छन्
अहँ देखिन्न कतै पनि
घामको प्रथम किरणको स्पर्शमा
चमचमाउने मेरो आस्थाको उचो पहाड ।

(२०७१, वैशाखको शारदामा प्रकाशित)


  प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०८:०१