भर्खरै देखेको सपना सम्झेर
मदहोस मुस्कुराइरहेछ
एक युग सुतेर जागेको मान्छे ।
ओहो ! कसरी उफुर्किएर नवयौवनाझैँ
लहराउँदै खस्दै गरेको जलप्रपातमा नुहाएर
ओढिरहेछ धर्तीले सेतो आँचल
भैदिए अझ त्यो सुवासित पवनसँगै
यौवनको इन्द्रेणी रङ
अझ कति मनोहारी हुन्थ्यो होला
सपनामा फुल्ने मनहरूको अन्तरआवाज ।
टाढा क्षितिजमा मडारिइरहेछ
ग्रीष्मको घनघटा
फुलका पत्रहरूमा बोकेर वसन्तको मधुर कम्पन
चट्याङ्का नादलहरीमा बजिरहेछ
जीवनको अलभ्य झङ्कार र मुस्कुराइरहेछन्
एक्लो र सुनसान पहाडका खोचहरूमा
सदियौँदेखि गुमसुम बाँच्न विवश
नादान किशोरहरूका कलेटी परेका ओठ ।
मनसुनका निर्झरी रातहरूमा
लैवरी धुनसँगै
बज्दैछ टाढा टाढा
मादलको घिन्ताङ घिन्ताङ
चिरेर निस्पट्ट अँधेरी रात
ब्युँझाउँदै तीतो अतीत
निरन्तर झन्झनाइरहेछ
मुर्चुङ्गाको मादक आवाज ।
ओहो ! के यो सबै विपना हो ?
कत्ति छिटो फुलेछ सुन्दर बिहान !
सुन्दर विहान !
थुइक्क ! ओ जमामर्द मान्छे !
तेरा चक्षुहरूमा पनि के पानीको पर्दा खस्यो ?
तैले देखिनस् के पानीको पर्दाभित्रको असली रूप ?
पढिनस् के पानीकै पर्दाभित्र मञ्चित नाटकको दृश्य ?
के अझै पनि अभिशप्त छन् मान्छेहरू
पानीको पर्दाभित्र सपना देख्न ?
जहाँ म बाँचिरहेछु निर्लज्ज वर्तमान
जहाँ तापिरहेछन् मेरा पथगामीहरू
मेरो शिखाबाट पुत्ताइरहेको धुवाँलाई सम्झिएर तातो लाभा
तपाईं आफै भन्नोस् महाशय !
कसैले भेट्न सक्छ के
पानीको पर्दा लागेका आँखाहरूमा सृष्टिको नयाँ क्षितिज ?
(२०७१, मङ्सिरको प्रलेस पर्वतमा प्रकाशित)