यहाँबाट
जहाँ म उभिएको छु
देखिदै छन् टाढाटाढा
किरमिर किरमिर गोरेटाहरू
उज्यालो रोप्दारोप्दै राहाँटो छोडिएको क्षितिजमाथि
इतिहासको घुरमैलो टलक र
आदिम सभ्यताको धूमिल खण्डहर ।
भत्किएका जराजीर्ण तखताहरूमा
हुन सक्छ अझै पनि
आमाले सुनाउँदा सुनाउँदै छुटेको
एकादेशको राजकुमारको दन्तेकथा
त्यतै कतै हुन सक्छ भित्ताहरूमा चिप्किएको
बलिष्ट बाहुका कस्सिएका मसलहरूमा
निर्माणाधीन नयाँ संसार
र हुन सक्छन्
भग्न करेसावारीका एकाध वाटिकाहरूमा
युद्ध रोकिनुभन्दा ठीक पाँच मिनेट अगाडि ढलेको
अनाम सहिदद्वारा रोपिएका स्पन्दनहरू ।
हुनुपर्छ त्यतैकतै
उहिले उहिले अमरसिंहले बोकेको बन्दुकको नाल
भलै खिया लागेको किन नहोस
र हुनुपर्छ
भर्खर लम्बे यात्रामा सुस्ताउँदा
छुटेको क्रान्तिवीरको तात्तातो उच्छ्वास ।
त्यहीँ मिलेको छ धेरै बाटामध्ये
हिँड्दाहिँड्दै हिँड्नै बिर्सिएको एउटा बाटो
त्यहीँ मिसिएको छ
बग्दाबग्दै आँखाबाट आँसु
रूपान्तरित भएर अग्निज्वालाको उदात्त दीप
त्यतै कतै झुण्डिएको हुनुपर्छ
समयको चित्रकारी लेख्दालेख्दै
छुटेको क्यानभास
र त्यतै कतै फालिएको हुनुपर्छ
विस्मृत सहिदहरूको पुरानो तस्बिर ।
म उभिएर इतिहासको भग्नावशेषमा
खोजिरहेछु
म नजन्मिदै मेरो आकृतिमा खोपिएको
क्रूर नियति
र उधिनिरहेछु
भग्नावशेषमा रोप्दारोप्दै वैँशालु घाम
स्वयम् भग्नावशेष बनेका मान्छेहरू ।
(२०७०, साउनको नेपालमा प्रकाशित)