भर्खरसम्म सडककिनारामा असरल्ल यी पातहरू
मैले हेर्दाहेर्दै धेरै माथि पुगे
पछ्याउँदै आवाजहरूमा मृदु आवाज
हावाको अनन्त प्रवाहमा प्रवाहित भए
मानौँ भेट्न चाहन्छन् दिनकरका पदचापहरू
चुम्न चाहन्छन् मन्दाकिनी र फैलाउन चाहन्छन्
अन्धेर नगरीमा सिताराहरूको महाज्योति ।
हडबडाउँदै महान् विजयलाई चुमिरहेका
अग्रिम मोर्चाका योद्धाले झैँ
फरफराउँदै रक्तिम झन्डा
ओहो ! यी पातहरूले
तुफानको गीत गाउन लागे
जित्न अन्तिम युद्ध
भत्काएर समयले परिसिर्जन गरेको अन्धकार रात
रोप्न नयाँ सूर्य
कसरी हतारिएका यी पातहरू !
विजयको उन्मादले गमक्क गम्किएर
मेरो इसारालाई नदेखेजस्तो गरीे
भर्खर दबाएर विद्रोहको प्रथम आवाज
छिनाएर स्वतन्त्रताको अन्तिम त्यान्द्रो
फर्किदै गरेका
महाराजका सैनिकझैँ
पोतेर आफैले रातो अविर मस्तकमा
यी पातहरूले किन मनाइरहेछन्
मृत्यु सामुन्नेमा जीवनको नयाँ उत्सव ?
ओहो ! कस्तो अचम्म
पातहरू पनि
विजयी पन्छीझैँ उडेका माथिमाथि
सजाएर सजल नयनहरूमा इन्दे्रणीको सुन्दरता
फैलाएर पृथ्वीमा अवोध नानीहरूको सारा खुसी
के यी पातहरूले फर्काउलान्
मर्दै गएको संवेदनामा सपनाको नयाँ वहार ?
के यी पात हैनन् ?
कतै यो दृष्टिभ्रम त हैन ?
मैले गम खाएर उनीहरू गएको दिशा हेरिरहेँ ।
केही समयपछि
वायुवतासले आफ्नो गति फे¥यो
तुफान हुनहुनाउँदै बग्न थाल्यो
मैले हेर्दाहेर्दै
केही समय अघि
सारा संसार जितेको अभिनय गर्ने पातहरू
आँधीको तीव्र गतिबाट अलग्गिए
र
सडक किनारामा पछारिए ।
(२०७०, असोजको मधुपर्कमा प्रकाशित)