भ्रम – विष्णु भण्डारी

टपक्क टिपेर सुकुमारी ओठहरूमा
छलछलाउने यौवनको छाल
सजाउन चाहेँ अट्टालीमा
लुकाएर नयनहरूमा भरभराउने असीम रहर
स्वयम् बशीभूत हुन चाहेँ उमङ्गमा ।

तर त्यो गुनकेसरीको कुसुमकलिका
बोकेर निर्वन्ध चखेवाहरूको पङ्ख
उन्मुक्त सगरमा लहरियो र टाढा भाग्यो ।

लुकाएर कैयौँ पटक कलेजोको भित्रकतै
चढाउँदा पनि ब्रह्माण्डका सारा खुसी
ऊ भागिरह्यो
भत्काएर हवेलीको देदीप्यमान संसार
ऊ उड्न चाह्यो
तर पनि सधैँ सधैँ
बनाउन चाहेँ केवल आफ्नो ।

मैले चाहेँ नुहाएर शीतका थोपाहरूले
मेरै फुलवारीमा फुलिरहोस््
पछ्याउँदै मेरै पदचाप
लहसिएर प्यासी नयनहरूमा
मेरै अतृप्त मनभित्र हाँसिरहोस् ।

तर ऊ सधैँ सधैँ
लत्याएर सुनका दरबारहरू भागिरह्यो ।

घुमेर हृदयको अलौकिक पुष्पमञ्जरी
चुमेर सृष्टिको सुन्दर कला
किन बस्न चाहन्न ऊ मनभित्रको विशद् ब्रह्माण्डमा ?
भत्काएर मभित्रको तृष्णाको भोक
के ऊ चुम्न चाहन्छ स्वतन्त्रताको सृष्टिसौरभ ?
लत्याएर राजसी ठाँट
तोडेर सुनको किल्ला
के ऊ चाहन्छ आकाशमा कावा खान ?

सायद ऊ ब्रह्माण्ड हो
नियन्ता हुन सक्दैन कोही पनि ब्रह्माण्डको !

(२०७०, साउन–भदौको सुनाखरी सन्देशमा प्रकाशित)


  प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०७:१२