खोकिलामा लुकाएर डुब्दै गरेको जून
गुराँसको रातो थुङ्गा
र वसन्तको शीतल पवनको एक झोक्का
सुदूर बस्तीहरूले गाइरहेछन्
उदास साँझहरूमा
उत्सर्गको नयाँ कोरस ।
अझै पनि
लालीगुराँसका पत्रहरूमा
फुल्ने गर्छ
अनन्त हारहरूमा पनि बेदखल
सुन्दर सपना
सहिदहरूको रगतको अन्तिम थोपा
र विद्रोहको मधुर गुञ्जन ।
वसन्तका मुजुराहरूमा
किन अझै पनि गाइरहेछन् पन्छीहरूले
लुकेर उही विद्रोहको विशद् आवाज ?
किन झरनाहरूले
छोड्न सकेनन् गाउन आँसुको भाका ?
र किन बज्न छोडेन
उत्सर्गका कोरसहरूमा क्रान्तिको गीत ?
बस्तीका चिसा मझेरीहरूमा
बामे सर्दै गरेका नानीहरूले
खेलाइरहेछन्
गोलीका खोकाहरू
र करेसामा
भर्खर स्कुल जाँदै गरेकी सुनकलाले
लुकाइरहिछे बारुद भरिएका सकेटहरू ।
गुमाएर जूनजस्ता छोराछोरी
आफ्नै अगाडि
खोसिँदा पनि सिउँदोको सिन्दुर
नडगमगाएकी सुनकलाकी काकी आमा
किन हतास नेत्रले
ताकिरहिछन् सुदूर क्षितिज ?
र किन डगमगाइरहेछ उनीभित्रको सतीसाल ?
अझै पनि
बोकेर विद्रोहको आँधी
गाइरहेछन् सुदूर पखेराहरूमा
पन्छीहरूले उत्सर्गको नयाँ कोरस ।
(२०७०, जेठको गरिमामा प्रकाशित)