घामको कथा – विष्णु भण्डारी


मैले प्रत्येक दिन झिसमिसेमै
हावाको सुुसेलीसँगै
घामको गीत गाउने पन्छीलाई सोधेँ
किन उदास उदास छ घाम ?
किन प्रत्येक दिन
अस्ताउनु पूर्व
निराश र उदास देखिन्छ घाम ?
साँच्चै धोविनी !
के तिमीले घाम रोएको देख्यौ ?

भर्खर अस्ताएको छ घाम ।

उसले दिनभर
मसँगै बसेर सोधिरह्यो
घाम हुनुको पीडा
किन घाम खोज्दाखोज्दै
खग्रास बनेर अस्ताएका होलान् मान्छेहरू ?

रोपेर मत्त जवानीमा घामको पराक्रम
खेतका आलीहरूमा नमुस्कुराउँदै सृष्टिको अन्तिम खुसी
किन निराश आँखाहरूले ओकलिरहेका होलान्
मान्छेहरूले चिसो हावा ?
क्लान्त र निस्प्राण साँझमा
अस्ताउनु पूर्व
उसले नीरस हाँसो हाँस्यो र फेरि सोध्यो
के तिमीले कहिल्यै पढ्यौ मभित्रको संवेदना कस्तो हुन्छ ?

किन दुखिरहन्छ ऊ सधैँसधैँ
किन जलिरहन्छ ऊ सधैँसधैँ
किन नजलेका होलान् सत्ता शिखरहरू
घाम जल्दा पनि ?
किन झोक्राएको होला मान्छेभित्रको क्रान्तिपुरुष
घाम जाग्दा पनि ?
ऊ आएर धोविनीसँगै मेरो करेसोमा
बिहानै बोलाउँछ र सोधिरहन्छ
खण्डित मान्छेभित्रको सग्लो खवर
जब्बर शार्वरीका उच्चाटलाग्दा रातमा पनि
झनै तीव्र बनेर छचल्किने मान्छेभित्रको तृष्णाको भोक ।

साँच्चै धोविनी !
किन नबुझेका होलान् मान्छेहरूले
घामको कथा ?
किन हाँस्न नजानेका होलान् मान्छेहरू
सिर्जनामा ?
किन नजानेका होलान् घामको रापमा
समयको आवाज बुन्न ?

के घाम मात्रै मान्छेहरूको सम्प्राप्ति हो ?

उभिएर घामले छोडेका पदचापहरूमा
निकैबेरदेखि हेरिरहेँ
सूर्यास्तको सुदूर क्षितिज
तर भेट्न सकिनँ कतै
घामको कौतूहलको अन्तिम उत्तर ।

(२०६९-२०७०, माघ–वैशाखको कवितामा प्रकाशित)


  प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०७:०४