अग्ला अग्ला पहाडलाई
हिमाच्छादित पर्वत–मालालाई
नाघेर मेरा मनका आँखाहरू
बेइजिङको विशाल तियानमेन चोकमा पुग्छन्
र त्यहाँको बीभत्स नर–संहारलाई
दर्दनाक, नारकीय दृश्यलाई देख्दा
रोष र घृणाले राता हुँदै
एकोहोरो आँसु चुहाउँदै टोलाइरहन्छन् ।
यसरी टोलाउँदा मेरो वरिपरि
‘लङमार्च’ र चिङकाङ पहाडका लडाइँमा
जापान विरोधी छापामार युद्धमा
बन्दुक बोकेका हज्जारौं विद्यार्थीहरू देखिने गर्छन् ।
कसरी राष्ट्रको मुक्तिका लागि,
स्वाधीनता र जनवादका लागि
जन–सेनासँग काँधमा काँध मिलाउँदै
क्रान्तिको बलिवेदीमा होमिएका थिए ?
नयाँ समाजको स्थापनापछि,
भत्किएको चीनलाई बनाउने काममा मात्र हैन,
महान् सांस्कृतिक क्रान्तिमा पनि
सामन्ती अवशेष र क्रान्ति–विरोधी ब्वाँसालाई
तहस नहस पार्दै आाँधी बनेर
सारा चीनभरि कसरी फैलिएका थिए ?
ल्यू र तेङका ‘हेडक्वाटर’ माथि बम बर्साउँदै
समाजवादलाई कसरी जोगाएका थिए ?
आज विद्यार्थीको त्यही शक्तिमाथि
ट्याङ्क दौडाएर, बम बर्साएर
तेङले आफ्नो सक्कली रूप प्रष्ट्याएको छ
साम्यवादको निर्मल तलाउमा
तानाशाहीको कलङ्क लगाएर
जनताका दुस्मनलाई, नयाँ युगका वैरीलाई
नयाँ समाजको बेइज्जत गर्न
अर्को एउटा बाटो खुलाएको छ ।
महान् सांस्कृतिक क्रान्तिको अग्निकुण्डमा
नहोमेर बाँकी रहेको ब्वाँसोले
आज सम्पूर्ण चीनलाई नै आगोमा होमेको छ
जन–सेनाको प्रदीप्तमान छविमा
पहिलोपटक जनताकै छातीमा
गोली बर्साउन विवश बनाएर
कालो धब्बा पोतिदिएको छ
एउटा अक्षम्य अपराध गरेको छ ।
तेङ तेरा काला योजनाहरू !
भेँडाको रूपमा भेँडी गोठै सखाप पार्ने चाहनाहरू
बन्दुकको बलले पूरा हुने छैनन्
क्रान्तिकारीलाई सडाए पनि, बाघलाई रिझाए पनि
महान् नेताको महान सपना
सुन्दर समाजको निर्मल रचना
निर्विवाद जन्मिने छ, चीन पुनः मुस्कुराउने छ ।
(२०४६, साउन–असोजको हलकारामा प्रकाशित)