गोरेटो – विष्णु भण्डारी

प्यारो सुन्दर राष्ट्रको धरति यो साह्रै नराम्रो भयो
ढाके कान्ति सबै निशाचर मिली औधी अँधेरो भयो
माया लाग्छ भने कतै हृदयमा उत्थान निम्ती बडौँ
गोरेटो युगको समाइ सबले होस्टे र हैँसे गरौँ ।

हामी एक भए, सबै अघि बढे बैरीहरू हार्दछन्
हामी फुट्न गए, मिलेर यिनले हाम्रै गला रेट्दछन्
तस्मात् बन्धु लडौँ सबै अगि सरौँ मुक्तै हुने हो भने
गोरेटो युगको समाउँ सबले रक्षा गरौँ देशको ।

गोरेटो पथ हो असाध्य परको उद्देश्यको प्राप्तिमा
हिँड्छन् यै पथमा लिएर हतियार् योद्धाहरू युद्धमा
गिर्ने छन् अरिका समस्त सपना, साम्राज्य कालो पनि
हट्ने छन् तगरा सबै मिलिजुली बाटो समायौँ भने ।

चाहन्छन् जसले पलैपल सधै मुन्टो निमोठ्न यहाँ
उन्को अन्त निमित्त बढ्छ पथ यो औधी नयाँ जोसमा
ब्वाँसा बाघहरू, लुते कुकुरझैँ घिस्रेर हिँड्नेहरू
सब्को अन्त गरी सहर्ष सुखको साम्राज्य निर्माणमा ।

प्यारो देश हँसाइ बन्धु सबको उद्धारको खातिर
बाधा विघ्न हटाइ पूर्व रविको प्रवेशको खातिर
आऊँ लौ सब बन्धु बान्धब मिली संभार राम्रो गरौँ
हाम्रो सुन्दर राष्ट्रको प्रगतिमा नौलो सुबाटो रचौँ ।

(२०४४ को गोरेटोमा प्रकाशित)


  प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०६:३४