स्वतन्त्रताको पक्षमा – विष्णु भण्डारी


कसले सक्छ यो भेल रोक्न सङ्गिनले छेकेर ?
कसको बुता यो आँधी छेक्न बन्दुक बोकेर ?
यो भेल हाम्रो क्रान्तिको भेल नरुकी बग्दछ
कुहेको युग यसैले लग्छ कसले रोक्दछ ?!
।।८६।।

लडेमा हामी निडर बनी युग यो तुहिन्छ
विश्वका ज्यामी एकता भए संसार फेरिन्छ
विश्व नै भोलि स्वतन्त्र होला नयाँ युग जन्मेला
भएमा यस्तो भोलिको विश्व कसरी चम्केला !
।।८७।।

रक्तिम छवि छरिदा जग सुन्दर हुने छ
गरिँदा जित लडेर, वर्ग बिनाश हुने छ
सम्पत्ति निजी खोसिन जाला कुलीन वर्गको
निर्माण होला शोषण, वर्ग बिनाको युगको ।
।।८८।।

पुरानो रीति, संस्कृति, शिक्षा खतम हुने छ
विज्ञानद्वारा भौतिक सुख विकास हुने छ
समानताको समाजभित्र खुसीले बाचौँला
विश्वमा नयाँ युगको उषा ! हुनेछ निर्माण ।
।।८९।।

दिँदैन भात कसैले पनि भोको छ भनेर
मिल्दैन खान नगरे काम झरीमा भिजेर
पसिना लुट्ने लुटेरालाई बिनास नगरे
मिल्दैन हक शोषितपीडित एक भै नलडे ।
।।९०।।

मान्छेका निम्ति संघर्ष प्यारो साहस उसको सार
सहस विना संघर्ष हुन्न, हिम्मत विना पार
ढल्दछ जीवन, माया र प्रेम मुक्तिको यात्रामा
स्वाधीनता निम्ति नगरे त्याग हुनेछ कल्पना ।
।।९१।।

केवँरा फूलमा भ्रमर झुल्छ म घुम्छु बस्तीमा
म बाँच्छु सर्वहितका निम्ति ऊ बाँच्छ स्वार्थमा
खोलेर सिस्नो खाएर सधै आनन्द के लिनु
मेती र मुगा, सुनको जीवन जीवन के भनुँ ।
।।९२।।

गगन चुम्बी अटालीबाट के हेर्नु सहर
बनेर घोडा अलङ्कारले के हुनु शोभित
ज्ञानको ठूलो अटालीबाट हेरेमा संसार
स्वतन्त्रा र स्वाधीनताजस्तो छैन क्यै अमूल्य ।
।।९३।।

नदवे कैलै, नहटे पछि जीवन यात्रामा
नरोए प्यारी मलाई सम्झी मुक्तिको बेलामा
दुःख र चिन्ता नमानी कत्ति बसे है पियारी
चखेवा एकदिन आउने छ फर्की चन्द्रिका चियाई ।
।।९४।।

नमरे बाँचे वसन्तसँगै जुहारी खेलौँला
ल्याएछौँ भने सुनौला युग स्वतन्त्र भएर
जनता, देश मुक्तिको लागि वर्गीय युद्धमा
मरेछुँ भने खुसी छु उषा ! यही हो मन्थन ।
।।९५।।

के भनूँ बढी अबेला भयो संसार बुझे है
म हिँड्छु अब धैर्यता लिई पर्खेर बसे है
यात्रामा कतै हराएँ भने नरोई तिमीले
सामन्ती सत्ता नास्नका लागि मसाल समाए ।
(२०४३ मा प्रकाशित विद्रोहको छालको अंश)


  प्रकाशित मिति : २८ जेष्ठ २०८०, आईतवार ०६:३०