विष्णु भण्डारी
(आजको संश्लेषण मासिक : साउन २०७७)
१. पुस्तक किन पढ्ने ? अध्ययनको महत्त्वबारे तपाईंको विचार के छ ?
पुस्तक ज्ञानको त्यस्तो कुन्जी हो जसको माध्यमले सभ्यताको खोज, अनुसन्धान र अध्ययनको ढोका खोल्न सकिन्छ । पुस्तक ज्ञान–विज्ञान, समाज संस्कृति र कला साहित्यको खजाना हो । पुस्तकभित्र सामाजिक जीवन, समकालीन यथार्थ, विगत र वर्तमानका अन्तरविरोध मात्र प्रतिबिम्बित हुन्नन् मानवीय संवेदनालाई विविध पाटोबाट चित्रण गरिएको हुन्छ । यस अर्थमा पुस्तक विचार निर्माणको साधन पनि हो । मानिसलाई प्राणीजगतबाट चेतनाले अलग गर्छ भने मानिसबाट विचारले फरक गर्छ । स्तरीय पुस्तकले मानिसलाई उच्च विचारसँग मात्र साक्षात्कार गराउँदैन समाज रूपान्तरणमा समेत मद्धत गर्छ । पुस्तक जीवनलाई दिशाबोध गराउने महत्त्वपूर्ण साधन हो ।
पुस्तक भन्दाबित्तिकै हामीले त्यसलाई साहित्यसँग जोड्ने गर्छौं तर पुस्तकको आयाम त्यतिमा मात्र सीमित छैन । समाजका हरेक क्षेत्रसँग पुस्तकको सम्बन्ध हुन्छ । र, पुस्तक पढ्ने भनेको कलासाहित्य, ज्ञानविज्ञान, विचारदृष्टिकोण तथा दर्शन र राजनीतिजस्ता कुरासँग एकाकार हुने हो ।
पुस्तक किन पढ्ने अथवा अध्ययनको महत्त्व के छ भन्ने प्रश्न नै असान्दर्भिक लाग्छ मलाई । अध्ययन मानिसको अनिवार्य आवश्यकताभित्र पर्छ । पुस्तक मानव जीवनको त्यस्तो अत्यावश्यक वस्तु हो जुनबिना सभ्य र समुन्नत जीवनको कल्पना पनि गर्न सकिदैन । विडम्बना ! जीवनको यस्तो महत्त्वपूर्ण वस्तुलाई मानिसहरू हल्का रूपमा लिन्छन् ।
२. पुस्तकबिनाको जीवन कस्तो जीवन ?
साहित्यबिना मानव संसार असभ्य, ज्ञानविहीन, संवेदनाशून्य, र हिंस्रक हुन्छ भन्छन् पेरुका साहित्यकार मारियो भार्गास लोसा । तपाईं आफै सोच्नोस् त पुस्तक नहुँदो हो त मानिस कस्तो हुँदो हो । मानिसले गरेका खोज र प्राप्त उपलब्धिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने साधन पुस्तक हो । नयाँको खोज र यथास्थितिप्रतिको विद्रोह पनि पुस्तक हो । पुस्तकले नै मानिसलाई सत्तासँग प्रश्न गर्न अभिप्रेरणा दिन्छ । यही भएर त तानाशाहहरू पुस्तक देखेर तर्सिन्छन् । पुस्तक त अन्धकारमा बलेको दीपक जस्तै हो जसले हामीलाई उदात्त र उर्वर जीवन जिउन मद्दत गर्छ ।
हुन त मानिसहरू विज्ञान र प्रविधिले पुस्तकलाई बिस्तारै विस्थापित गरेको हुँदा पुस्तकको भविष्यमाथि प्रश्न उठाउँछन् । भर्चुअल दुनियाँले मानिसलाई असामाजिक र संवेदनाहीन बनाउँदै नलगेको हैन । हिजो पुस्तकबाट मात्र प्राप्त गर्न सकिने कतिपय सामाग्री अहिले ल्यापटप र मोवाइलमा पढ्न सकिन्छ । यति हुँदाहुँदै पनि पुस्तक मानिसको आत्मीय साथीका रूपमा रहिरहने छ ।
३. नेपाली समाजमा पठन संस्कृति कस्तो छ ?
नेपाली समाजमा पठन संस्कृति असाध्यै कमजोर छ । अझै पनि मानिसहरू अध्ययन गर्ने भनेको परीक्षामा उतीर्ण हुनका लागि हो भन्ठान्छन् । समाजमा पुस्तक पढ्ने मानिस खासै भेटिदैन । साहित्यकार, राजनीतिज्ञ, विद्यार्थी र प्रध्यापन पेशाका लागेकाहरूबाहेक अरूले अध्ययन गरेको खासै देखिदैन । हाम्रो समाजको ठुलो जनसंख्या पठन संकृतिबाट अनभिज्ञ छ । उसलाई पुस्तक पढेर के फाइदा हुन्छ भन्ने नै थाहा छैन ।
नेपालमा पठन संस्कृतिबारे खासै बहस भएको पाइँदैन । नेपाली समाजमा पठन संस्कृति कमजोर हुनुका कारणहरूको खोजी र निराकारणका प्रयास पनि भएको पाइँदैन । अशिक्षा र गरिबीले ग्रस्त समाजमा पढ्ने, सिक्ने र नयाँ चिज आविष्कार गर्ने वातावरण त्यसै पनि कमजोर हुन्छ नै । त्यसमा पनि राज्य तहबाटै अध्ययन, शिक्षा आर्जन र पुस्तक सङ्ग्रहमा बन्देज लगाइएको समाजमा पठन संस्कृतिको विकास हुने कुरै भएन ।
सन् १२२४ मा इटलीको सिसलीमा नेपल्स युनिभर्सिटीको स्थापना भएको थियो । जतिखेर नेपालमा युनिभर्सिटी त के पाठशाला पनि खुलेका थिएनन् । नेपाली समाज ज्ञान–विज्ञान, लेखनपठन, कलासाहित्य र शिक्षामा निकै पछि परेको समाज हो । पुस्तकालय र विद्यालय बनाउनुभन्दा मन्दिर बनाउन रुचि देखाउने संस्कारका उत्पादन हाँैँ हामी । यस्तो समाजमा पठन संस्कृति स्वभावैले कमजोर हुन्छ नै ।
४. तपाईंको पुस्तकालयमा सङ्गृहीत पुस्तकको सङ्ख्या कति होलान् ?
खै ! मैले पुस्तक कति छन् भनेर गनेको त छैन । यस्तै पाँचसात हजार होलान् कि !
५. कुनकुन भाषामा लेखिएका पुस्तक अध्ययन गर्नुहुन्छ ?
मातृभाषा भएकोले होला नेपालीमा लेखिएका पुस्तक पढ्न सहज लाग्छ मलाई । पुस्तक किन्दा पनि पहिलो रोजाइ नेपाली भाषाकै हुन्छ । नेपाली भषामा लेखिएका पुस्तक नभेटिए अन्य भाषामा लेखिएका पुस्तक खोज्ने हो । नेपालीबाहेक हिन्दी र अङ्ग्रेजी भाषामा लेखिएका पुस्तक पढ्ने गर्छु । नेपाली भाषामा लेखिएका पुस्तकहरू खोज र अनुसन्धानका दृष्टिले कमजोर छन् । राजनीति, इतिहास, दर्शन र समालोचनाको गहिरो अध्ययन गर्न हिन्दी र अङ्ग्रेजी नपढी हुन्न । अरू भाषाको साहित्य नेपाली भाषामा साह्रै कम अनुवाद भएको छ । अनुवादको अभावले पनि गहन साहित्य अध्ययन गर्न यी दुई भाषामा लेखिएका पुस्तक पढ्नैपर्ने बाध्यता छ ।
६. पुस्तकमा मासिक खर्च कति हुन्छ ?
यसको पनि हिसाब मसँग छैन । बजारमा आएको नयाँ पुस्तक प्रायः किन्ने गर्छु । त्यसबाहेक कुनै विषयमा खोज, अनुसन्धान र अध्ययन गर्न मन लागे एकैपटक धेरै पुस्तक किन्छु । मलाई क्लासिक पुस्तक (साहित्य) पढ्न र सङ्ग्रह गर्न रुची लाग्छ । पुस्तक प्रदर्शनी हुने भयो कि पुस्तकका लागि मोटै रकम छुट्याउँछु ।
७. अध्ययनका लागि समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
म लेखन र अध्ययनमा मात्र क्रियाशील भएकोले अध्ययन नियमित नै हुन्छ । मसँग पढ्नका लागि पुस्तक प्रशस्तै भएता पनि लेखनको चापले गर्दा पढ्ने समय कम मिल्छ । पहिले पहिले जे पायो त्यही पढियो । चाहिने पनि पढियो नचाहिने पनि पढियो । हुन त त्यो पढाइले पनि फाइदै पु¥यायो । सबै विषय र क्षेत्रको ज्ञान भयो । अहिले आफूले लेख्दै गरेको विषयसँग सम्बन्धित अध्ययन बढी गर्छु । यस्तो अध्ययन खोज र अनुसन्धानसँग सम्बन्धित हुन्छ । साहित्यको अध्यय भने निरन्तर जारी रहन्छ ।
म एकैपटक धेरै पुस्तक पढेको हुन्छु । यही भएर मेरो टेबलमा पुस्तकको चाङ नै हुन्छ । बिहान र दिउसो प्रायः लेख्छु । लेख्दालेख्दै अल्छी लाग्यो भने पढ्छु । रातीको खाना खाएपछिको समय साहित्य अध्ययनको समय हो । एउटा काम (प्रोजेक्ट) सकिएपछि केही समय म नयाँ काममा हात हाल्दिनँ । त्यो समय भनेको अध्ययन र भ्रमणको हो ।
८. तपाईंको जीवनमा सबैभन्दा बढी प्रभाव परेका कुनै पाँच पुस्तकको नाम लिनुपर्दा ?
मेरो पुस्तक ¥याकमा जतिपनि पुस्तक छन् मलाई मन परेका पुस्तक नै छन् । जहाँसम्म जीवनमा सबैभन्दा बढी प्रभाव पारेका पुस्तको कुरा छ यसलाई समय र चेतनाका आधारमा पर्गेल्नुपर्छ होला । कुनै समय गुलबकावली र रामायणले पनि मलाई अतिशय प्रभावित गरेका थिए ।
अध्ययन, उमेर र समयले सौन्दर्यचेतनालाई प्रभावित गर्छ । सुन्दरता निरपेक्ष नभएर समाज सापेक्ष हुन्छ । यसमा विचार र दृष्टिकोण पनि जोडिएर आउँछ । उत्पादन सम्बन्धले पनि मानिसका रुची र छनोटमा प्रभाव पार्छ । यही कारण हिजो साह्रै सुन्दर लागेका पुस्तक आज कमजोर लाग्नु स्वभाविकै हो । आर्थिक र राजनीतिक परिवर्तनले मान्छेका सौन्दर्य चाहना, सौन्दर्य रुचि र सौन्दर्य आवश्यकतामा परिवर्तन ल्याउँछ भन्छन् दार्शनिक जर्ज लुकाज ।
म अहिले जहाँ छु यो सबै पुस्तक र अध्ययनको उपलब्धि हो । म ती लेखकहरूप्रति आभारी छु जसका कृति पढेर मेरो जिउने र सोच्ने तरिका नै परिवर्तन भयो । मेरो जीवनको सोचाइलाई नै परिवर्तन गरिदिने पुस्तकको लिष्ट मसँग लामो छ । त्यो लामो लिष्टबाट पाँचोटा पुस्तकको नाम लिँदा, म्याक्सिम गोर्कीको ‘आमा,’ निकोलाई चेर्निशोेब्स्सीको ‘के गर्ने,’ इभान तुर्गनेभको ‘पिता र पुत्र’, गाब्रियल गार्सिया मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्यूड’ र नेल्सन मण्डेलाको ‘लङ्ग वाक टु फ्रिडम’ हुन् ।
९. हालै पढिरहेका पुस्तक ?
कोरोनाको विश्वव्यापी महामारी कारण लकडाउनमा बस्दा धेरै पुस्तक पढ्न पाएँ मैले । यो समयमा खासगरी कथा र समालोचनाका पुस्तक बढी पढेँ । समय अभावले पढ्न नपाएका पुस्तक पनि यतिखेर पढ्न पाइयो । यही बिचमा करिब दुई दशक पहिले पढेको अल्बेयर कामूको ‘प्लेग’ फेरि पढेँ । अहिले टेबलमा रहेका पुस्तक हुन्, एरिक हाब्सबामको ‘अन हिस्ट्री,’ मिशेल बोको ‘पुँजीवादका इतिहास’, हावर्ड जिनको ‘पिपल्स हिस्ट्री अफ द युनाइटेट स्टेट’ र इ. पि. थम्प्सनको ‘द मेकिङ अफ द इङ्लिस वर्किङग क्लास’ । यी चार पुस्तकबाट तपाईंलाई थाहा भैहाल्छ अहिले म कुन विषयमा अध्ययन गर्दै छु ।
१०. नेपाली साहित्यकारले कस्तो खालका पुस्तक लेखिदिए हुन्थ्यो जस्तो लाग्छ ?
नेपाली साहित्यमा लेखिन बाँकी धेरै विषय छन् । नेपालमा पठन संस्कृति जस्तो छ लेखन संस्कृति पनि त्यस्तै कमजोर छ । असाध्यै छिपछिपे । मन लागेर पढ्यो केही नभेटिने । गम्भीर विषयलाई पनि सतही ढङ्गले लेखिएको पाइन्छ । न खोज न अनुसन्धान ! जुन समाजमा सपना र साधनाको अभाव छ त्यहाँ यस्तै कमजोर साहित्य लेखिन्छ । नेपाली समाज सपना र साधना मर्दै गएको समाज हो । मानिसहरू कि त छिट्टै धनी हुने रोगबाट ग्रस्त छन् कि त छिट्टै महान् हुने रोगबाट । यस्तो हतारोले कहीँ पुगिदैन । त्यसका पछाडि आर्थिक र सांस्कृतिक कारण पनि होला ।
नेपाली भाषामा सामाजिक परिवर्तनका लागि भएका घटना, परिघटना, युद्ध र सामाजिक जटिलतामाथि राम्रा आख्यान लेखिएका छैनन् । हामीसँग त्यस्ता मानक कृति नै छैनन् भने पनि हुन्छ, जसले एउटा सिँगो युगको प्रतिनिधित्व गर्न सकोस् । जति लेखिएका छन् एकाधलाई छोडेर असाध्यै सतही छन् । नेपाली साहित्यमा आख्यानको तुलनामा कविता विधामा उल्लेख्य प्रगति भएको छ । यहाँको समालोचना विधा पनि असाध्यै कमजोर अवस्थामा छ । छैनकै अवस्थामा छ । आलोचना विधालाई मुख्य विधा मानेर काम गर्नेहरू नै छैनन् । इतिहास र सामाजिक विषयमा पनि काम गर्न प्रशस्तै बाँकी छ ।
नेपाली साहित्यमा यस्ता छुटेका र छायामा पारिएका विषयमा गहिकिला आख्यान आइदिए हुन्थ्यो भन्ने लाग्ने हो । यसका साथै समालोचना, इतिहास र सामाजिक मुद्धामा खोजमूलक कृति आइदिए विदेशी लेखकको भर पर्नुपर्ने थिएन ।
(आजको संश्लेषण मासिक : वर्ष २, अङक ५, साउन २०७७, पृष्ठ ३५)