सानो छातीमा क्रान्तिको विशाल क्यानभास अट्न सक्दैन

विष्णु भण्डारी

शिलापत्र : प्रकाशित मिति: शनिबार, असोज ११, २०७६, ०९:३७:००

विष्णु भण्डारीको दोस्रो उपन्यास सुनको पहाडयसै साता प्रकाशित भएको छ । यसअघि २०७२ सालमा उनको पहेंलो घामउपन्यास प्रकाशित छ । विगत तीन दशकदेखि कविता तथा कथा लेखनमा सक्रिय भण्डारीसँग आख्यान लेखन र सुनको पहाडमाथि केन्द्रित रहेर निर्भीकजंग रायमाझीले गरेको कुराकानीः

कविता लेखनको लामो सक्रियतापछि आख्यानमा आउनुभयो ? आख्यानको शक्तिले तानेको हो कि ?

साहित्यका सबै विधामा उत्तिकै शक्ति र सामर्थ्य हुन्छ । एउटा सशक्त कविताले मानिसलाई कसरी उद्वेलित र आनन्दित बनाउन सक्छ भन्ने कुरा हामीलाई थाहा नै छ । एउटा नाटकले मानिसको दिमागलाई यसरी तरंगित बनाइदिन्छ कि उसको सोच्ने तरिकामै बदलाव आउन सक्छ । सबै विधा आफ्नो ठाउँमा उत्तिकै शक्तिशाली हुन्छन् ।

आख्यान नयाँ र अलग विधा भएकाले स्वभावैले यो विधा अरू विधाभन्दा फरक छ । पुँजीवादी समाजका अन्तरविरोध र जटिलतालाई व्यक्त गर्नकै लागि यो विधा जन्मिएको हो । हाम्रो समाज पनि अहिले पुँजीवादी युगका अन्तरविरोधको बिचबाट गुज्रिँदै छ । साथै, मध्यम वर्गको तीव्र विकास हुँदै गएको छ । यस्तो अवस्थामा बजारमा उपन्यासको माग बढ्नु स्वाभाविकै हो ।

फेरि कविता सूक्ष्म, सघन र विम्बका माध्यमले व्यक्त हुने विधा हो । कविताको तुलनामा आख्यानको क्यानभास फराकिलो हुन्छ । साथै, यसमा आफ्ना कुरा सिधै भन्न सकिन्छ । यिनै विविध कारणले म आख्यानप्रति आकर्षित भएको हुँ ।

उपन्यासमा जनयुद्धकै विषय र त्रासदी उठाउनुपर्ने खास कारण के हो ?

नेपालको इतिहासमा इसाको अठारौं शताब्दीको उत्तरार्द्धमा महत्त्वपूर्ण परिघटना भएको थियो । हुन त त्यो परिघटना राज्य विस्तारको अभिप्रायले सुरु गरेको देखिन्छ । तर, त्यसले नेपाली समाजमा दूरगामी प्रभाव छोड्न सफल भयो । राज्य विस्तारकै क्रममा गोरखाली सेना अंग्रेजसँग ठोकिन पुग्यो ।

समय क्रममा राज्य विस्तारको यो अभियान साम्राज्यवादविरोधी युद्धमा परिणत भयो । जसका बारे हामी जानकार नै छौं । नेपालमा त्यसपछिको अर्को ठूलो परिघटना भनेको जनयुद्ध नै हो । जसले नेपाली समाजमा सदियौंदेखि जरा गाडेर बसेको राजतन्त्रलाई उखेलेर फ्याँकिदियो । समाजमा दबाइएका निम्छरा र आवाजविहीनको आवाज मुखर भयो । समाजमा युगीन परिवर्तन यही युद्धले ल्यायो ।

यसैको बलमा दोस्रो जनआन्दोलन सम्पन्न भयो । यसैको आडमा समान्तवाद धराशयी भयो । तर, त्यसपछि लामो समय बितिसक्दा पनि यसबारे खासै लेखिएन । मलाई यस्तो महत्त्वपूर्ण परिघटनाका बारेमा लेख्नुपर्छ भन्ने लागेर यो लेखेको हुँ ।

हुन त यो युद्धको कथा नभएर युद्धको बेला बेपत्ता पारिएका पात्रको खोजीको कथा हो । परिवारको एउटा सदस्य बेपत्ता हुँदा सिर्जना हुने पीडा कस्तो हुन्छ भन्ने कुरा देखाउन खोजेको हुँ । यसर्थ यो उपन्यास युद्धको कथाभन्दा पनि द्वन्द्वबाट परिसिर्जित वर्तमानको पीडादायी कथा हो ।

सुनको पहाडको शैली नयाँ छ भनिएको छ । विमोचनको दिनमा वक्ताहरूले पनि यही भने, तपाईंले पनि यही भन्नुभएको पाएको छु । यसको शैलीबारे केही बताइदिनुस् न ।

‘सुनको पहाड’ मा मैले विषयवस्तु, भाषाशैली र कथावाचनका हिसाबले नयाँ गर्न खोजेको छु । यो उपन्यासमा जेजति कथा, प्रसंग र पात्र जोडिएर आउँछन्, विम्बमा बुझ्नुपर्ने हुन्छ । नेपाली सभ्यताको विकास, इतिहास र राजनीति नपढेको वा नबुझेकाले यसलाई बुझ्न कठिन हुनेछ ।

यसमा सयौं वर्षको इतिहास, पहिचानको मुद्दा, राजनीति र द्वन्द्वले सिर्जना गरेको मनोदशा कहिले लोककथाको रूपमा आउँछन् त कहिले जादुको रूपमा देखिन्छन् । यथार्थलाई सपाट अर्थमा बुझ्नेहरूका लागि भन्दा पनि यथार्थलाई पृष्ठकथाका रूपमा बुझ्नेहरूका लागि निश्चय पनि यो उपन्यास गतिलो खुराक बन्न सक्छ ।

किन यस्तो शैलीको प्रयोग गर्नुपर्यो सुनको पहाडमा ?

आख्यानको भाषा, शैली र संरचनाको निरुपण लेखकको सनक र इच्छामा मात्र हुँदैन । त्यसो गर्नुको पछाडि तर्कपूर्ण र खास आधार हुन्छ । मैले पनि खास अर्थबोधका साथ यो शैली अपनाएको हुँ ।

कथा पढ्दै जाँदा मानिस २ सय ४५ वर्ष पनि बाँच्न सक्छ र ? भन्ने कौतुहलता जाग्न सक्छ । हेर्दाहेर्दै आफ्नै अघिल्तिरको मानिस अर्को मानिसमा परिवर्तन हुनु, वर्षौं कोमामा पुगेको मानिस अचानक ब्यूँझिएर आउनु र सुरुङभित्र नयाँ संसार दृष्टिगोचर हुनु, निश्चय पनि प्रश्न उठाउन योग्य प्रसंग हुन् ।

तर यी र यस्ता धेरै प्रसंग छन्, जसका पछाडि खास कारण छ । यस्तो शैली अपनाउनुपछाडिको मुख्य कारण भनेको विषयको जटिलता नै हो । हराएको वर्षौंपछि मानिस फर्किएर आएको उदाहरण हामीसँग छ ।

कतिपय कुरा प्रामाणिक जस्तै लाग्छन् तर प्रश्नको उत्तर अथवा प्रमाण भेटिँदैन । यो विषय पनि प्रमाण नभेटिएको प्रामाणिक विषय हो । यही भएर पनि जादुको शैलीमा कथा भन्न बाध्य भएँ म ।

त्यसो भए सामान्य पाठकले सुनको पहाडछिचोल्न सक्दैन होला ?

एउटा खास उद्देश्य लिएर हिँडेको यात्री र आमयात्रीमा फरक हुन्छ नै । सामान्य बटुवाका लागि बाटो केबल बाटो हुन्छ । तर, कसैका लागि त्यही बाटो उद्देश्य बन्छ ।

सुनको पहाडमा प्रेम छ । बेपत्ता परिवारजन छन् । र, यिनको कथा छ । तर, यसको अन्तर्यमा अर्कै कथा छ । अर्कै सन्देश छ । सामान्य पाठक बेपत्ता पात्रका परिवारजनले भोगेको पीडा र दुःख देखेर द्रवित हुनेछन् । बेपत्ता श्रीमानको खोजीको कथा पढेर मर्माहत हुनेछन् । तर, एउटा सचेत पाठकले सुरुदेखि अन्त्यसम्म यसको अन्तर्यको भाव बुझ्ने प्रयत्न गर्नेछ । युद्ध र द्वन्द्वको कथा यसरी पनि भन्न सकिने रहेछ भनेर आजित हुनेछ ।

पत्रकार : निर्भीक जंग रायमाझी

उपन्यासको गातामा ‘म्याजिक शैलीमा बुनिएको भाषा ‘पोएटिक’ त छँदैछ, दृश्यात्मक प्रस्तुतिले ‘सिनेम्याटिक’ अनुभूति दिन्छ’ भनिएको छ । के यसमा साँच्चिकै यस्तै छ यो उपन्यास ?

त्यो त पाठकले मूल्यांकन गर्ने कुरा हो । तर, मैले ‘सुनको पहाड’मा भाषा र शैलीमा अलिक बढी नै काम गरेको छु । यो एउटा प्रयोग पनि हो । ‘सुनको पहाड’ मा पाठकहरू सुरुदेखि नै नयाँ भूगोलको यात्रा गर्न थाल्छन् ।

नयाँ ठाउँको नयाँ कथा, जहाँ लोककथा छ, राजनीति छ, युद्धको विभीषिकाले सिर्जना गरेको मनोदशा छ र स्वैरकल्पना छ । स्वैरकल्पना र जादु यसरी अन्तरघुलित भएर आउँछन् कि पाठकमा सुरुदेखि नै कौतुहलता जाग्न थाल्छ ।

बेपत्ताको खोजीको कथा हुँदाहुँदै पनि त्यहाँ राजनीति र नेतृत्वको नैतिक स्खलन, बेपत्ताको पीडाले परिसिर्जित मनोदशा र विगतमा गरेका अपराधका कारण सिर्जना हुने त्रासदीका कारण त्यस्ता जटिल र मनोवैज्ञानिक संवेग र दृश्यको निर्माण भएको छ, पढ्दा पाठकलाई लाग्छ सक्छ यो यथार्थ नभएर जादु हो । र, यसरी नै कथाले अहिलेको राजनीतिको निकृष्ट चरित्रलाई उदिङ्ग्याइदिन्छ ।

युद्ध साहित्य विश्वभरि नै लेखिन्छ । नेपालको सन्दर्भमा युद्ध साहित्य र यसको सेरोफेरो कस्तो पाउनुहुन्छ ?

हामीहरूको युद्धलाई हेर्ने दृष्टिकोण अलि नकारात्मक छ । विश्वमा भएका सबै युद्ध नकारात्मक कामका लागि लडिएका छैनन् । साम्राज्य विस्तारका लागि लडिने युद्ध र स्वतन्त्रताका लागि लडिने युद्ध एकै होइनन् । बजार नियन्त्रण गर्ने उद्देश्यले पनि विश्वमा प्रशस्तै युद्ध भएका छन् ।

जस्तो उद्देश्यका लागि भएको भए तापनि युद्धको कथा लेखिन्छ । लेखिँदै आएको छ । लेव तोल्स्तोयको ‘युद्ध र शान्ति’ पनि युद्धकै कथा हो । निकोलाई आस्त्रोभस्कीको ‘अग्निदीक्षा’ पनि युद्धकै कथा हो । समाजमा युद्धले पारेका सकारात्मक र नकारात्मक दुवै प्रभाव चित्रण गर्नका लागि युद्धका उपन्यास लेखिएका छन् ।

नेपालको अवस्था भने अलि फरक छ । नेपालमा युद्ध साहित्य लेखिएकै छैन भन्दा हुन्छ । नेपाल एकीकरण भन्नोस् वा राज्य विस्तार भन्नोस्, त्यस्तो युगान्तकारी युद्धको कथा खै लेखिएको ? खै प्रजातन्त्र प्राप्तिका लागि लडिएको सशस्त्र क्रान्तिको साहित्य ? जनयुद्धको कथा कसले लेख्ने ?

हाम्रो छाती ढुकुरको जत्रो छ । सानो छातीमा युद्ध र क्रान्तिको विशाल क्यानभास अट्न सक्दैन । त्यही भएर पनि हामी निरपेक्ष रूपमा युद्धको विरोध गर्दै पछि हट्छौं । जसले लडेको भए पनि लडिएको युद्धले समाजमा पारेको प्रभावलाई कलामा उतार्न किन नहुने ?

समकालीन आख्यान लेखनलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

समकालीनताको पनि आ–आफ्नै परिभाषा छ । कुन समयलाई समकालीन भन्ने ? समकालीनताको सीमा निर्धारण नगरी यसमा बोल्न अलि कठिन हुन्छ । ७० को दशकको कुरा गर्नुभएको हो भने हामी प्रत्येक दशकको आख्यानको अवस्थाबारे बहस गर्न सक्छौं ।

फेरि त्यो संख्यामा हो कि, विचार र विषयवस्तु वा कलामा हो ? समकालीन आख्यानको विश्लेषण गर्दा ७० को दशकमा लेखिएको आख्यानमाथि बहस गर्ने बेला आइसकेको छैन । हुन त यो दशकको अहिलेसम्मको अवस्था त्यति सन्तोषजनक छैन ।

साहित्यलाई परिणाममा भन्दा पनि त्यसको गुणवत्ताको तहमा मूल्यांकन गर्नुपर्छ । ६० को दशक आख्यानमा जति उर्वर रह्यो, अहिले त्यो अलि धिमा गतिमा छ भन्दा फरक नपर्ला ।

६० को दशकमा पल्पसा क्याफे, समानान्तर आकाश, छापामारको छोरो, घनचक्कर, प्रेतकल्प, निदाएँ जगदम्बा, सहिदको सालिक, कर्णाली ब्लुज, लू, सेतो धर्ती, उर्गेनको घोडा र दमिनी भीरजस्ता राम्रा आख्यान प्रकाशित भएका थिए । तर, सत्तरीको दशक सुरु भएपछि प्रकाशित भएका अधिकांश आख्यान गुणात्मक रूपमा अब्बल ठहरिएका छैनन् । यसरी सरसर्ती मूल्यांकन गर्दा अहिलेको आख्यानको अवस्था सन्तोषजनक छैन भन्ने लाग्छ मलाई ।

नेपाली लेखकहरू एकैसाथ राजनीति, पत्रकारिता, समाजसेवा र लेखन गर्छन् भनिन्छ । तपाईं यसमा पर्नुहुन्छ कि पर्नुहुन्न ? तीव्र सामाजिक सक्रियताले लेखनमा असर पर्दैन ?

नेपाली लेखकको बाध्यता हो यो । अहिलेसम्म पनि यहाँका लेखक आफ्नो लेखनबाट बाँच्न सक्ने अवस्थामा छैनन् । लेखनबाट बाँच्न नसक्ने भएपछि आयआर्जनका अन्य काम गर्नैपर्यो । राम्रा प्रतिभा यही कारण ओइलाएको हो ।

निजामती सेवा र व्यापार व्यवसायतिर लाग्नेहरू लेखन कार्यबाटै अलग्गिएको पाइन्छ । साथै, प्राध्यापनलाई जीविकोपार्जनको आधार बनाउनेहरूमा आलोचनात्मक र सिर्जनशीलता हराएको पाइन्छ । यो उनीहरूको बाध्यताको उपज हो ।

अन्य व्यवसायको तुलनामा पत्रकारितामा लाग्नेहरू लेखन कार्यमा बाँचिरहेको देखिन्छ । विश्वका राम्रा लेखकहरूले पनि पत्रकारिता र साहित्यलाई सँगसँगै अगाडि बढाएको देखिन्छ ।

विश्वका धेरैजसो लेखक कहीँ न कहीँ राजनीति वा पत्रकारितामा जोडिएरै साहित्य लेखनमा क्रियाशील भएको पाइन्छ । राजनीतिको कुरा गर्दा यो बाध्यता र आवश्यकता दुवै भएर आएको अवस्था हो ।

प्रायः लेखकको चरित्र भनेको विद्रोही र परिवर्तनगामी हुन्छ । परिवर्तन र स्वतन्त्रताका हिमायती हुनुको नाताले हिजोका दिनमा राजनीतिक र सामाजिक रूपान्तरका लागि लेखकहरू राजनीतिमा लाग्नुपर्ने बाध्यता र आवश्यकता दुवै थियो । जहाँसम्म विविध पेशामा संलग्नताले लेखनमा घाटा पुर्याउँछ कि पुर्याउँदैन भन्ने छ, पुर्याउँछ नै ।

हुन त एउटा लेखक विषय, पात्र, परिवेश र शैलीका लागि जनता र समाजसँग अन्तरसंवादमा रहनुपर्छ । समकालीन अन्तरविरोधलाई बुझ्नका लागि पनि ऊ राजनीति र समाजसँग एकाकार हुनैपर्छ ।

फेरि राजनीति, विचार र दृष्टिकोणमा स्पष्टता भएन भने कला साहित्यमा प्राण भर्न सकिन्न । यस कारणले पनि एउटा लेखक राजनीति र समाजसँग टाढा रहन सक्दैन ।

समाज सेवालाई कुन अर्थमा लिने हो ? एनजीओमा रहेर समाजसेवाको नाउँमा डलर कमाउनेहरू पनि छन् । आफू बसेको टोलसमाजमा बाटोघाटो, बिजुली, पानीजस्ता आधारभूत आवश्यकता पूर्तिका लागि समाजसेवा गर्ने पनि छन् । एउटा लेखक लेखक मात्र भएर बाँच्न सक्छ जस्तो लाग्दैन मलाई ।

समाजसँग उसका केही सम्बन्ध र कर्तव्य हुन्छन् । यसैका आधारमा ऊ राजनीतिमा, पत्रकारितामा र समाज सेवामा क्रियाशील हुन सक्छ । यसो गर्दा उसको लेखन झनै खँदिलो, प्रभावकारी र समाजोपयोगी हुन्छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०७६, ०९:३७:००

https://shilapatra.com/detail/12458?fbclid=IwAR2CF92e9IvH-I_cL8QaCHgkijAE8USdjg1fLBAWsxTR7yPqNJ56aKQUC4s#.XY9uiY5Feeo.facebook


  प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार ०१:०२