विष्णु भण्डारी
पुस्तक वार्ताः गज्जब
अहिले पढिरहनु भएको वा पछिल्लो समयमा पढ्नु भएको पुस्तक कुन हो ?
मेरो पढाइ अलि अराज प्रकृतिको छ । मैले एकै पल्ट धेरै पुस्तक पढेको हुन्छु । मेरो टेवलमा अहिले पनि अरुन्धती रोयको …The MINISTRY of UTMOST HAPPINESSÚ, Michael A. Lebowitz को ‘Socialism for the Twenty–First CenturiyÚ, जर्ज लुकाचको ‘समकालीन यथार्थवाद’, एरिक जे हाब्सबामको ‘इतिहासकार कि चिंता’, र ROBERT SERVICE को ‘TROTSKYÚ का साथै पत्रकार यज्ञसको ‘भुइँया’ कोही आधा पढिएका छन् कोही सुरु गरिएका छन् र कोही दोहोर्याएर पढ्दै छु ।
पुस्तकको छनौट कसरी गर्नुहुन्छ ?
पुस्तक पढ्दै गर्दा लेखकले सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरेका नाम र लेखक साहित्यकारले राम्रो पुस्तक भनेको आधारमा छनोट गर्छु । त्यो बाहेक पुस्तक पसल र पुस्तक प्रदर्शनीमा आफै गएर पनि छनोट गर्छु ।
प्रायः कुन समयमा पढ्नुहुन्छ ?
समय भए कुनै पनि समय पढ्न सकिन्छ । ठ्याक्कै यही समयमा पढ्छु भन्ने बनिबनाउ उत्तर मसँग छैन । लेख्दालेख्दै जब त्यो विषयसँग सम्बन्धित सन्दर्भ सामग्रीको अध्ययन गर्नुपर्ने आवश्यकता महसुस हुन्छ त्यसपछि पढ्छु । लेख्ने काम सकिएपछि केहीबेर घुम्छु र मजाले पढ्छु । पढ्न लागेपछि दिनभरि पनि पढिरहन सक्छु म ।
पढ्ने स्थान निश्चित छ ? कहाँ पढ्नुहुन्छ ?
म अध्ययन कोठामै बसेर पढ्छु । कहिले कुर्सीमा बसेर कहिले ओछ्यानमा अढेस लागेर ।
तपाईंलाई अहिलेसम्ममा सबैभन्दा धेरै प्रभावित पारेको पुस्तक कुन हो ? किन ?
मलाई अहिलेसम्म प्रभावित गरेका धेरै पुस्तक छन् । तीमध्ये सबैभन्दा धेरै प्रभावित पारेका पुस्तकमा म्याक्सिम गोर्कीको ‘आमा’ र निकोलाई चेर्निशेब्स्सीको ‘के गर्ने’ हो ।
आमा स्कुल पढ्दै गर्दा पढेकोले पावेल जस्तै क्रान्तिकारी हुन मन लागेर बढी प्रभावित भएको हुँ । ‘के गर्ने’ उपन्यास भविष्यप्रतिको आस्था, प्रेम र समाजवादी आदर्शको नमूना उपन्यास हो । त्यति मात्रै नभएर त्यो बेला र जेलभित्रको त्यस्तो कठिन अवस्थामा पनि त्यस्तो अनुपम कृति लेख्न सक्ने चेर्निशोेब्स्सीको जेल र निर्वासनको कहालीलाग्दो अवस्था सम्झिँदा उनीप्रति नतमस्तक हुन्छु म ।
तपाईंले पढ्नुभएको पहिलो साहित्यिक पुस्तक याद छ ?
एकदम याद छ । मैले पढेको पहिलो साहित्यिक पुस्तक हो– ‘नेपाली पद्य संग्रह भाग एक ।’ संभवत यो पुस्तक मेरा दाजु हरिप्रसाद भण्डारीको कक्षा दशको कोर्स बुक थियो । म त्यतिखेर चार कक्षा पढ्दै थिएँ । चार कक्षा पास गरेर पञ्जाब जाँदा यो पुस्तक सँगै लिएर गएको थिएँ ।
कुनै पुस्तकले सोच नै परिवर्तन गरिदिएको छ ?
मेरो सोचमा परिवर्तन ल्याउन एउटा पुस्तकको मात्र भूमिका छैन । मैले उल्लेख गर्नुपर्ने धैरे पुस्तक छन् । तीमध्ये गोर्कीको ‘आमा’, निकोलाई आस्त्रोभस्कीको ‘अग्निदिक्षा’, इभान तुर्गनेभको ‘पिता र पुत्र’, र निकोलाई चेर्निशेब्स्सीको ‘के गर्ने’ उपन्यासले मैले सोच्ने तरीका र मेरो चिन्तनमै व्यापक परिवर्तन ल्याए ।
तपाईंलाई सबैभन्दा मन परेको पात्र कुन पुस्तकको को हो ? किन ?
आमा उपन्यासको ‘पाभेल’, पिता र पुत्रको ‘बाजारोब’ र के गर्ने उपन्यासको ‘बेरा पावलोव्ना’ मलाई असाध्यै मन परेका पात्र हुन् । हुन त मेरो जीवनमा प्रभाव पार्ने धेरै पात्रहरू छन् तर तीमध्ये यी तीन पात्रहरूले मलाई प्रभाव पार्नाका केही कारण छन् । पाभेलले क्रान्ति र भविष्यप्रति आशाावादी हुन प्रोत्साहित गर्छ भने बेरा पावलोव्नाले सामूहिक प्रयत्नमा आधारित सुन्दर समाज र प्रेमको स्वतन्त्रताको अहम सबालमा सोच्न बाध्य बनाउँछ । त्यस्तै पुरानो विचार र दृष्टिकोणको विरोध गर्दागर्दै पनि सही दृष्टिकोण र दिशाहीनताका कारण युवाहरू कसरी पराजीत हुन्छन् भन्ने चित्रण बाजारोबले गर्छ ।
पढ्न मन लागेको तर, पढ्न नपाएको कुनै पुस्तक छ ?
यस्ता पुस्तकको लामो सूचि छ मसँग जुन मैले चाहँदाचाहँदै पनि पढ्न पाएको छैन ।
कुनै पुस्तक पढेर रुनु पनि भएको छ ? कहाँ कस्तो सन्दर्भमा रुनु भयो ?
महास्वेता देवीको ‘१०८४ औँकी आमा’ उपन्यास पढ्दा रोएको छु । सत्तरीको दशकमा पश्चिम बङ्गालमा भएको राज्य आतङ्कमा मारिएको आफ्नो छोरो ब्रतीको सव भेट्दा आमाले उसको अनुहार सुमसुम्याउँदाको प्रसङ्ग पढ्दा रोएको हुँ ।
युवाअवस्थामा यौन पुस्तक वा उपन्यासहरु पढ्नुभयो ?
पढियो नि ! कति पढियो पढियो । दार्जिलिङतिरबाट प्रकाशित हुने यौन उपन्यास र भारतीय सस्ता उपन्यासहरू धेरै पढियो ।
पढ्दा पढ्दै झुर लागेर छाडिदिनुभएको पुस्तक पनि छन् ?
धेरै छन् । यस्ता पुस्तक अझै पनि मेरो पुस्तक¥याकमा छन् । पैसा हालेर किनेका पुस्तक फालिहाल्न मन नलागेर राखेको छु ।
पुस्तक पढिसकेपछि भेट्न मन लागेको तर, नभेटिएको लेखक छन् ?
छन् नि ! भेट्न त गोर्की र सेक्सपियरलाई मन लागेको थियो नि । लागेर के गर्ने ? अँ यति भनिहालूँ, ती देशमा जाने मौका जुर्यो भने भेट्न नपाए पनि उनीहरूको गाउँ–घरमा भने जाउँला भन्ने सोचेको छु ।
युवा पुस्तालाई कुन कुन पुस्तक पढ्न सुझाव दिनुहुन्छ ?
यही पुस्तक पढ त कसरी भन्न सक्छु र म । यति भने भनिहालूँ सकेसम्म धेरै पढ । धर्मशास्त्रदेखि नीतिशास्त्रसम्म सबै पढ । पढ्ने मात्र हैन पढ र अहिलेको बहसमा सहभागी हौ, जसले युवाको अध्ययन, सोच र दृष्टिकोणलाई फराकिलो बनाओस् । सकभर नयाँ विचार पढ, उच्च विचार पढ । सस्ता विचारले मानिसलाई मानिस बन्न अबरोध गर्छ ।
(बुधबार, २४– १ फागुन, २०७४: गज्जब साप्ताहिक, पृ. २४)