सत्तासँग आँखा जुधाउन र प्रश्न गर्न नसक्ने लेखक, लेखक नबनेर कारिन्दा बन्छ
विष्णु भण्डारी, कवि/आख्यानकार
२०७६ असोज ४ शनिबार ०७:२७:०० | काठमाडौ
नेपाली आख्यानको अवस्था कस्तो देख्नुहुन्छ अहिले ?
नेपाली आख्यान साठीको दशकमा उर्वर रह्यो । गुणवत्ताको दृष्टिले अब्बल आख्यान पनि प्रशस्तै आए । तर, सत्तरीको दशक सुरु भएपछि प्रकाशित अधिकांश उपन्यासहरू पाठकको नजरमा गुणात्मक दृष्टिले अब्बल ठहरिएनन् । यस हिसाबले सत्तरीको दशक आख्यानका लागि उति उत्साहजनक पाउँदिनँ ।
तपाईं कविता विधाबाट आख्यानमा आउनुभयो । कविता र आख्यानमध्ये अभिव्यक्तिको सन्दर्भमा कुन विधा सजिलो लाग्यो ?
कविता सूक्ष्म र सघन रूपमा व्यक्त हुनुपर्ने विधा हो, त्यसको तुलनामा उपन्यासको क्यानभास फराकिलो हुन्छ । उपन्यासमा समयका विविध आयाम, अन्तरविरोध, अन्तरसम्बन्ध र मानवीय मूल्यलाई विस्तृत रूपमा व्यक्त गर्न सकिन्छ । कवितामा भने बिम्बात्मक र चित्रात्मक तरिका अपनाउनुपर्ने हुन्छ । मलाई अनुभूति हुने फरक यही हो ।
पछिल्लो समय तपाईंले पढ्नुभएका पुस्तकमध्ये असाध्यै मन परेका पुस्तक कुन–कुन हुन् ?
जुन पुस्तक पढिसकेपछि पनि लामो समयसम्म प्रभाव पारिराख्छन्, त्यस्ता पुस्तक मलाई मन पर्छ । यस हिसाबले हर्मन हेस्सेको ‘सिद्धार्थ’, चिनगिज आइतमातोभको ‘प्रथम गुरु’, बेन्यामिनको ‘खबुज’ र मार्खेजको ‘वान हन्ड्रेड इयर्स अफ सोलिच्युड’ मलाई मन परेका कृति हुन् । त्यस्ता पुस्तकको प्रकाशन समय जहिलेको भए पनि मलाई अहिलेकै समयका लाग्छन् ।
कस्ता पुस्तकहरू पढेर बाल्यकाल बित्यो ?
बाल्यकालमा पढ्ने वातावरण खासै थिएन । गुल्मीको धुर्कोट, जहाँ मेरो बाल्यकाल बित्यो, त्यहाँ त्यतिवेला न त पुस्तक पढ्ने संस्कृति थियो न त पुस्तक पसल र पुस्तकालय नै थिए । त्यति हुँदाहुँदै पनि मैले धार्मिक पुस्तकसँगै केही लोककथा र कविता पढ्ने अवसर पाएँ । ‘स्वस्थानी’, ‘रामायण’, ‘महाभारत’, ‘मधुमालतीको कथा’, ‘तोतामैनाको कथा’, ‘मुनामदन’ र ‘नेपाली पद्यसंग्रह भाग एक’ बाल्यकालमै पढेका कृति हुन् । कक्षा दशसम्ममा ‘अनिँदो पहाडसँगै’, ‘आमा’, ‘गौरी’, ‘देवासुर संग्राम’, ‘मानव’, र ‘सेतो आतंक’जस्ता साहित्यिक कृति पढिसकेको थिएँ ।
‘पहेँलो घाम’पछि दोस्रो उपन्यास ‘सुनको पहाड’ प्रकाशन हुँदै छ, यो कस्तो उपन्यास हो ?
‘सुनको पहाड’ नेपालको राजनीतिक आन्दोलनमा बेपत्ता पारिएका पात्रको खोजीको कथा हो । यो उपन्यासमा बहुरेखीय कथावाचन छ । बेपत्ताको खोजी, पहिचानको मुद्दा, समुन्नत समाजको परिकल्पना र माओवादी आन्दोलनको कथा सँगसँगै अगाडि बढेको उपन्यास हो- ‘सुनको पहाड’।
‘सुनको पहाड’ कस्ता पाठकप्रति लक्षित उपन्यास हो ?
मेरो मस्तिष्कमा युद्धमा आफन्तजन बेपत्ता हुँदाको पीडामा बाँच्न विवश परिवारजन, समकालीन राजनीतिक मूल्यहीनताले सिर्जना गरेको निराशा र अराजकता सहन बाध्य नागरिक र राजनीतिक इतिहासप्रति चासो राख्ने युवाहरूले यो उपन्यास पढिरहेको चित्र आउँछ । अहिलेको नयाँ पुस्ता, जसले पछिल्लो समयको राजनीतिक र सामाजिक परिवर्तनलाई पुरानो पुस्ताबाट सुन्ने अवसर मात्रै पाएको छ, विशेषगरी, त्यो पुस्ताले यो उपन्यास पढुन् भन्ने मेरो आग्रह रहन्छ । यति हुँदाहुँदै पनि ‘सुनको पहाड’ राजनीति र समाजप्रति सचेत सबै पाठकलक्षित उपन्यास हो ।
अन्य विधामध्ये आख्यान बढी बिक्री हुने विधा मानिन्छ । बिक्रीको मोहबाट ‘सुनको पहाड’ अछुतो छ कि छैन ?
आफ्नो कृति धेरै पाठकले पढुन् भन्ने लेखकलाई लाग्छ नै । बजारमा पुगिसकेपछि पुस्तक पनि वस्तुमा परिणत हुन्छ, जसले आम उपभोग्य वस्तुजस्तै प्रतिस्पर्धामा खरो उत्रिनुपर्ने हुन्छ । नत्र आम पाठकसम्म पुग्दैन । यस अर्थमा ‘सुनको पहाड’ पनि धेरै बिकोस् भन्ने चाहन्छु । तर, बजारको मागलाई ध्यान दिएर लेख्ने लेखक म होइन ।
तपाईं किन उपन्यास नै लेख्नुहुन्छ ? तपाईंले उपन्यास नलेख्दा पाठकले के गुमाउँछ ?
मेरो समयको कथा मसँग छ । र, यो कथा मैले मात्र लेख्न सक्छु भन्ने विश्वास पनि मसँग छ । माओवादी युद्ध र यसले समाजमा पारेको प्रभावका कारण म बाँचेको समय नेपाली इतिहासको उथलपुथलकारी समय रह्यो, जसबारे प्रशस्तै लेख्न सकिन्छ । तर, खासै लेखिएको छैन । लेखकहरू यस विषयमा किन कम लेखिरहेका छन्, म जान्दिनँ । मलाई लाग्छ, राजनीति, समाज र इतिहासप्रति प्रतिबद्ध लेखकले यस्तो महत्त्वपूर्ण समयलाई नजरअन्दाज गर्न सक्दैन । मैले लेखिनँ भने आउने पुस्ताले अहिलेको यथार्थ पढ्न पाउने छैन भन्ने लागेरै उपन्यास लेख्छु ।
लेखन तपाईंको रहर, सपना, बाध्यता र दायित्वमध्ये कुन हो ?
प्रारम्भिक चरणमा लेखन रहर थियो । रहरले लेखक बन्ने सपना देखाइदियो । अहिले मेरा लागि लेखन छोड्नै नसक्ने लतजस्तो बनेको छ । यसलाई बाध्यता पनि भन्न सकिएला । तर म सोच्छु, समयले ममाथि महत्वपूर्ण दायित्व सुम्पेको छ । लेखन जब जीवनको अभिन्न अंग बन्न पुग्छ, त्यसवेला जिम्मेवारी पनि सिर्जना हुन्छ । त्यसैले म समयले दिएको दायित्व निभाउन नसक्ने लेखक, लेखक नभएर लेखनदासमा परिणत हुन्छ भन्ने मान्यता राख्छु ।
आजको आख्यान भोलिको इतिहास मानिन्छ । इतिहासलाई शासक र शासितको दृष्टिविन्दुबाट व्याख्या गर्ने परिपाटी कुनै नयाँ परिघटना होइन । यस्तो सन्दर्भमा ‘सुनको पहाड’ भोलिको पुस्ताले कुन कित्तामा राखेर अध्ययन गर्ला ?
लेखकले कृतिलाई मात्र होइन, आफूलाई पनि भोलिको पुस्ताले कुन कित्तामा राखेर अध्ययन गर्ला भन्ने सोचेर लेख्नुपर्छ । लेखक तब मात्र भोलिका निम्ति प्रिय र पठनीय हुन्छ, जब उसले समकालीन यथार्थलाई न्यायसंगत ढंगले पुनर्सिर्जन गर्छ ।
सत्तासँग आँखा जुधाउन र प्रश्न गर्न नसक्ने लेखक, लेखक नबनेर कारिन्दा बन्न पुग्छ । सत्ता, शक्ति र पैसाका निम्ति लेख्ने लेखकले इतिहासप्रति न्याय गर्न सक्दैन । ‘सुनको पहाड’ सत्ताद्वारा गुमनाम बनाइएका पात्र र समयको कथा भएकाले भोलिका पुस्ताले यसलाई अलग धारका रूपमा अध्ययन गर्ला भन्ने ठान्छु ।