विष्णु भण्डारी
कौशिकी (फागुन, २०७४)
(धुर्कोट, गुल्मीमा २०२० फागुन २९ गते जन्मिएका विष्णु भण्डारीका प्रकाशित कृतिमा विद्रोहको छाल (२०४३, खण्डकाव्य), तुफानको सङ्गीत (२०४४, मुक्तक सङ्ग्रह), ब्वाँसोको अन्त्यको खेल (२०४५, खण्डकाव्य), कालो नाटक (२०४५, लघुकाव्य), फेरि अर्को तारा खस्यो (२०६३, कवितासङ्ग्रह), देश जागेको बेला (२०६३, कवितासङ्ग्रह), उत्सर्ग (२०६७, महाकाव्य), घाइते ह्विलचेयर (२०६९, कवितासङ्ग्रह) र पहेँलो घाम (२०७२, उपन्यास) रहेका छन् । त्यसैगरी उहाँले हलकारा (साहित्यिक त्रैमासिक), गोरेटो (सामयिक सङ्कलन), चन्द्रागिरि (साहित्यिक त्रैमासिक), अभिज्ञान (अनुसन्धानात्मक पत्रिका), प्रलेस मुखपत्र आदि पत्रपत्रिकाको सम्पादन गर्नु भएको छ ।
प्रगतिवादी साहित्यकि–सांस्कृतिक आन्दोलनमा क्रियाशील कवि विष्णु भण्डारी अखिल नेपाल लेखक सङ्घको केन्द्रीय अध्यक्ष, नेपाली साहित्य घरको अध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय उपाध्यक्ष, घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको कार्यसमिति सदस्य र प्रतितिशील लेखक सङ्घको पूर्व केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ । साथै काव्यशिविरका अभियन्ता भण्डारी मार्क्सवादी समाजवादी लेखन र चिन्तनमा अभ्यस्त हुनुहुन्छ । भण्डारीलाई लेखन, सम्पादन र संगठनको क्षेत्रमा निरन्तर समर्पित एक प्रतिनिधि व्यक्तत्वका रूपमा लिन सकिन्छ । यसै सन्दर्भमा उहाँसँग २०७४ मङ्सिरमा कौशिकी द्वैमासिकका प्रधान सम्पादक चेतनाथ धमलाले लिनुभएको अन्तर्वार्तालाई यहाँ प्रस्तुत गरिएको छ– स. )
कविता केहो ? कवितालाई कसरी परिभाषित गर्न सकिन्छ ?
सुरुमै अप्ठेरो प्रश्न सोध्नुभयो । कविता यही हो भनेर ठ्याक्कै कसरी भन्न सकिन्छ र ! हुन त विद्वान र विचारकहरूले कविताको परिभाषा गरेका छन् । रूप पक्ष, विचार पक्ष र संरचनाको पक्षबाट कविता यही हो भन्न सकिन्छ । तर मलाई कविताको आयामलाई परिभाषाको साँघुरो घेरामा बाँध्न हुन्छ जस्तो लाग्दैन । मैले त कवितालाई जीवनसँग तुलना गर्छु । इन्द्रेणीमा कविता खोज्छु र पसिनाले भिजेका खेत र ठेला उठेका हातहरूमा कविता खोज्छु । कविता मानवीय संवेदनाको त्यस्तो उच्च र उदात्त प्रस्तुति हो जो पसिनाले अनुप्राणित हुन्छ र प्रेममा मुस्कुराउँछ ।
कविता रचना प्रक्रियामा के के कुरामा ध्यान दिनुपर्छ ?
कविताको रचना प्रक्रियामाथि बहस गर्नु नै हाँसो उठ्दो कुरो हो । विधा सिद्धान्तमाथि बहस गर्न सकिन्छ । के कारण कविता आख्यानभन्दा फरक छ र कति फरक छ यो बहसको विषय हुन सक्छ । विधाको संरचनागत दृष्टिले कविता आख्यानभन्दा फरक हुन्छ । त्यो पनि अलिकता बकवास हो । अलिकता सत्य हो । कविताबिनाको आख्यान आख्यान नभएर शुष्क मरुभूमि हुन्छ ।
तपाईं साँच्चिकै कविताको कुरा गर्दै हुनुहुन्छ भने यो नियम र विधानमा बाँधिएर सिर्जना हुन्न । यो त मानवीय संवेदनाले परिसिर्जन गर्ने मनोवेग हो । मनोवेगमा सचेत कविले अलिकता विचारको चास्नी लगाउँछ । प्रतिवद्धताको पाइन लगाउँछ । अनि कविता बलशाली हुन्छ ।
हुन त कविता लेखन प्रक्रियासँग सम्बन्धित प्रशस्तै लेख÷निबन्ध पढ्न पाइन्छ । कविताको संरचना, रूप र सिद्धान्त पढ्ने भनेको युनिभर्सिटीमा हो । कविले कविताको संरचना पढेर कविता लेख्दैन । बरु उसले कविता पढेर कविता लेख्छ । समाज पढेर कविता लेख्छ । यसको अर्थ कविले जे लेख्यो त्यही कविता हुन्छ भन्न खोजेको हैन । भन्न खोजेको के हो भने कविताको संरचना यस्तो हुनुपर्छ र यसरी लेख्नुपर्छ भनेर बहस गर्नु नै बेतुक कुरो हो । सुन्दर भनिएको कविताको संरचना कसरी गरिएको छ ? उक्त कवितामा के कमी छ र के नयाँ छ भनेर बहस गर्ने अलग कुरो हो । विधा सिद्धान्त पढेर कविता लेख्न थालेको कवि सायदै कोही होला । यसको अर्थ कला सिर्जनामा विधा सिद्धान्तको ज्ञान आवश्यक हुँदैन भनेको हैन । भुल्नै नहुने कुरा के हो भने न सिद्धान्त पढेर कविता लेखिन्छ न संरचना पढेर । कविता लेख्ने त कविले हो । त्यस्तो कवि जुन संरचनाको पिन्जरामा कैद नभएको होस् । उन्मुक्त र प्रयोगशील होस् । कविता त कविको आराधना हो । साधना हो । कविले वस्तु र घटनालाई जसरी अनुभूत गर्छ त्यसरी नै पुनसिर्जन गर्छ । त्यही नै रचना प्रक्रिया हो ।
प्रगतिशील, प्रगतिवादी र समाजवादी साहित्यबारे छोटो चर्चा गरिदिनोस् न ।
प्रगतिशील र प्रगतिवादी साहित्यबारे नेपालमा प्रशस्तै बहस र चर्चा भएको छ । बहस भए पनि ती बहसहरू एकधु्रवीय छन् । एकपक्षीय र अनुत्तरित छन् । धेरैजसो लेखक साहित्यकारले प्रगतिशील र प्रगतिवादलाई एउटै डालोमा हालेर गाँजेमाजे गरेको पाइन्छ । उनीहरूमा वामपन्थी लेखकले लेख्ने साहित्य मात्र प्रगतिशील हुन्छ भन्ने भ्रम रहेको पाइन्छ, चाहे त्यो साहित्य प्रतिगामी र यथास्थितिवादी नै किन नहोस् । अर्को खेमा छ जसले प्रगतिशील भनेको माक्र्सवादी वा वामपन्थी साहित्य हो भन्ने भ्रम पालेर बहसमा उत्रिन्छ । यी दुवै दृष्टिकोण गलत हुन् ।
प्रगतिशील साहित्य यथास्थितिको विरोधमा लेखिने साहित्य हो । पुरातन सोच, संस्कार र यथास्थितिको ठाउँमा नवीन सोचका साथ गरिने कलासिर्जना प्रगतिशील साहित्य हो । यो सुधारवादी पनि हुन सक्छ । अग्रगमनकारी पनि हुन सक्छ । प्रगतिशीलता छिटो छिटो परिवर्तन भैरहन्छ । एक समयको प्रगतिशीलता सधैँ उही रूपमा निरन्तर रहन सक्दैन । एक समयको प्रगतिशीलता केही समयमै यथास्थितिमा रूपान्तर हुन सक्छ । त्यसको ठाउँका अर्कै विचार वा वस्तु प्रगतिशील भएर आउन सक्छ ।
छयालिस सालको बहुदलीय व्यवस्था कति छिटो यथास्थितिवादमा रूपान्तरण भयो ? समयसँगै सबै कुरा परिवर्तन हुन्छन् । हुनुपर्छ । जसले परिवर्तनलाई स्वीकार गर्दैन ऊ अग्रगामी हुन सक्दैन, प्रगतिशील हुन सक्दैन । प्रगतिवाद भने माक्र्सवादी विश्व दृष्टिकोणमा आधारित चिन्तन हो । यो छिनछिनमा परिवर्तन हुँदैन । यसका मूलभूत सैद्धान्तिक आधार छन् । वस्तु र समाजलाई हेर्ने यसका मूलभूत सिद्धान्तकै कारण यो प्रगतिशीलभन्दा भिन्न छ ।
जहाँसम्म समाजवादी साहित्यको कुरा छ यो भने फरक छ । समाजवादी साहित्य भनेर तपाईंले इङ्गित गर्न खोजेकोे समाजवादी यथार्थवादी साहित्य होला भन्ठान्छु म । समाजवादी यथार्थवाद भन्नुभएको हो भने हामी लेनिन र स्टालिनसम्म पुग्नुपर्ने हुन्छ । समाजवादी यथार्थवाद स्टालिनकालीन कलादृष्टिकोण हो यसलाई नेपालमा प्रगतिवादी कलाविधिका रूपमा बुझ्ने गरिन्छ ।
हामीले बहस गर्दै गरेको समाजवादी लेखनको प्रसङ्ग भने अलि फरक हो । यसलाई नेपालको सन्दर्भमा बुझ्नुपर्ने हुन्छ । हामीकहाँ अहिले समाजवादको बहस तीब्र बनेको छ । संविधानमै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने कुरा उल्लेख गरिको छ । यो भनेको के हो अस्पष्ट छ । कस्तो किसिमको समाजवादी समाजको कल्पना गरिएको हो ? के नेपालमा हाल विद्यमान रहेका पार्टीहरूले समाजवादी समाजको स्थापना गर्लान् ? शङ्का गर्ने ठाउँ पशस्तै छ । रसियन र चिनिया मोडलको समाजवाद असफल भैसकेको अवस्थामा अबका दिनमा समाजवाद कसरी स्थापना गर्न सकिन्छ ? पुरानै मान्यताका आधारमा गर्न सकिन्छ कि यसमा विकास गर्नु आवश्यक छ ? यसबारे बहस पनि भैरहेको छ । यस्तो अवस्थामा समाजवादी लेखनको अवधारणा आएको हो । यो अवधारणा अखिल नेपाल लेखक सङ्घले अघि सारेको हो ।

अहिले समाजवादी लेखनबारे बहस भइरहेको छ भन्नुभयो यस बहसमा आधारिक साहित्य लेखनले फड्को मार्ला त ?
हेर्नोस् सबै कुरा विकास र प्रयोगमा भर पर्छन् । नयाँको निर्माण प्रयोग हो । प्रयोग समाजमा फिट हुन पनि सक्छ नहुन पनि सक्छ । अहिलेसम्मको हाम्रो लेखन कहीँ न कहीँ सामन्तवादका अवशेषसँग नजिक थियो । अबको लेखन पुँजीवादका आधारमा उभिएर समाजवादी दिशातिर हिँड्न सक्नुपर्छ । यसका लागि लेखक साहित्यकारले रिस्क उठाउनु पर्ने हुन्छ । पुँजीवादका सबै उत्पादन खराव छैनन र समाजवादले लागु गरेका सबै प्रयोग ठिक छैनन् । हामी दुबैको बिचबाट अघि बढ्नुपर्ने हुन्छ ।
कला साहित्यमा दशकौँसम्मका लागि दिशानिर्देश हुने खालको दृष्टिकोण भएन भने हाम्रो समाजवादी लेखन फेरि पनि पार्टी साहित्यमा रूपान्तरण नहोला भन्न सकिन्न । समाजवादी यथार्थवाद र समाजवादी लेखनमा तात्विक रूपमा केही कुरा फरक हुनुपर्छ । छ पनि । कम्युनिष्ट पार्टी वा समाजवादी सत्ताको आलोचना गर्नु भनेको समाजावादी क्रान्तिलाई कमजोर गर्नु हो भन्ने रुढता अहिले पनि हामीसँग छ । त्यतिमात्रै हैन समाजवादी सत्ता वा राज्यले गरेको विकास र उपलब्धीलाई बढाइचढाई व्याख्या गर्नु भनेको आशावाद हो भन्ने सोच पनि हामीसँगै छ । हामी यो कुरालाई स्वीकार गर्न सक्दैनौँ ।
आलोचनाको संस्कृति ह्रास भएकैले समाजवाद कमजोर भएको हो । सत्ताको विकासको डाटा प्रस्तुत गर्ने काम साहित्यकारको हैन । लेखक सत्ता वा पार्टीका प्रवक्ता हैनन् सर्जक हुन् । साहित्यकारको काम भनेको सपना जागृत गर्ने हो । समाजवादी लेखन आलोचनासहितको लेखन हो भन्ने हामीले बुझ्नुपर्छ ।
समाजवादी लेखनको बहसले कतै प्रगतिशील साहित्य र प्रगतिशील लेखक सङ्घ ओझेलमा त पर्ने हैन ? प्रगतितिशील लेखक सङ्घबारे केही बताइदिनोस् न ।
प्रगतिशील लेखक सङ्घ तत्कालीन आवश्यकता पूर्तिका निम्ति गठन भएको हो । सामन्तवादको जगजगीको समय थियो त्यतिखेर । त्यतिखेरका प्रलेसका दस्तावेज अध्ययन गर्ने हो भने पनि यो कुनै विचार र पार्टीका भातृसंगठनको रूपमा नभई प्रगतिशील कला साहित्यको उन्नयनका खातिर स्वतन्त्र रूपमा स्थापना भएको देखिन्छ । स्थापना कालमा यो संस्थाको उद्देश्य देशमा साहित्यिक र सांस्कृतिक उन्नति गर्ने देखिन्छ । तर पछिल्लो समय यो पार्टी कार्यकर्ता भर्ती गर्ने थलोको रूपमा विकसित भएको छ । प्रलेसमा अहिले साहित्यकारको हैन कि पार्टी कार्यकर्ताको जगजगी छ । प्रलेसमा सत्ताधारी साहित्यकारको हालीमुहाली हुनु र प्रतिपक्षी विचारलाई दुत्कार्नु भनेको यो संगठन अवसान नजिक पुग्नु हो ।
यसको स्थापना भएको पनि साढे छ दशक बितेको छ । यो बिचमा सामन्तवाद ढलिसकेको छ । सामन्तवादको अवसान र गणतन्त्रको स्थापनासँगै नेपाली साहित्यकारको कार्यभारमा पनि परिवर्तन आएको छ । अब पनि उनै पुराना बहसमा रमाउनु भनेको गोल चक्करमा फस्नु हो । हामी अब सामन्तवादको हैन दलाल पुँजीवाद र साम्राज्यवादका विरुद्ध लड्ने बेला भएको छ । सत्ताधारी वामपन्थीहरू दलाल पुँजीवादका विरुद्ध हैन कि यसको पक्षमा काम गर्नेछन् । गर्दै छन् । यस्तो अवस्थामा प्रलेसको विकल्पमा बहस सुरु गर्नुपर्ने हुन्छ ।
त्यसो भए अबको प्रगतिशील लेखनको दिशा कस्तो हुनुपर्छ ।
अबको प्रगतिशील लेखन भनेको समाजवादउन्मुख लेखन हो । अबको समाजवाद कस्तो हुन्छ र हुनुपर्छ ? समाजवादी समाजका आधार के हुन् ? कुन आधारमा टेकेर समाजवादी समाजको परिकल्पना र विकास गर्न सकिन्छ ? समाजवादी समाजका मूल्य र आदर्शहरू कस्ता हुन्छन् ? अहिलेको हाम्रो कार्यभार भनेको यस्ता विषयमा बहस गर्नु र समाजवादी लेखनको विकास गर्नु हो । अबको लेखनको दिशा भनेको समाजवादी लेखन हो जुन आलोचनात्मक र विद्रोहात्मक हुन्छ । यसले सत्ता र प्राधिकारमाथि प्रश्न उठाउन सक्नुपर्छ । प्रश्न उठाउन नसक्ने साहित्य समाजवादी लेखन हुन सक्दैन ।
तपाईं के कति कारणले प्रगतिवादी/समाजवादी लेखक हो ?
मैले आफै यी यी कारणले प्रगतिवादी लेखक हुँ भन्नु ठिक हुन्छ जस्तो लाग्दैन । लेखकलाई उसको लेखन र समाजप्रतिको उसको भूमिकाको आधारमा मूल्याङ्कन गर्नुपर्छ । रचना सिर्जनामा अब्बल लेखक व्यवहारमा प्रतिक्रियावादी र यथास्थितिमा रमाउने खालको पनि हुन सक्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि सुन्दर सिर्जना गर्ने लेखक जीवनचरित्रमा प्रतिक्रियावादी वा यथास्थितिवादी भएको वा हुन गएको हामीले देखेका छौँ । भूपिलाई नै लिन सकिन्छ । उनले सुन्दर साहित्य सिर्जना गर्दागर्दै पनि आफ्नो विचार र आदर्शमा पछिसम्म उभिन सकेनन् । लेख्नु एउटा कुरो हो आफ्नो लेखनको आदर्श बचाउन नसक्नु बडा नराम्रो कुरो हो । मन्दिरमा गएर ठाडो टिका लगाउने र प्रगतिशील कविता लेख्ने कवि पनि हामीसँगै छन् । समाज रूपान्तरणमा निस्कृय रहने तर क्रान्तिको साहित्य सिर्जना गर्ने प्रगतिवादी पनि हाम्रै समाजमा छन् ।
अलिकता तपाईंको सिर्जनाको कुरो गरौँ । ‘उत्सर्ग’ महाकाव्य आफैमा परम्परागत महाकाव्य जस्तो भएन भन्ने आरोप लाग्दै आएको छ नि ? ‘उत्सर्ग’ महाकाव्यको रचनागर्भबारे केही बताउन चाहनुहुन्छ ?
निरन्तरतामा क्रमभङ्ग गर्न नसक्ने लेखकले समाजमा निरन्तर विकास हुने नयाँ यथार्थलाई कलात्मक रूप दिन सक्दैन । लेखकले फोटोकपी हैन नयाँ आविष्कार गर्न सक्नुपर्छ । पुरानै पदचाप पच्छाउनेले नयाँ बाटो कसरी खन्न सक्ला र ! प्रगतिवादीहरूको समस्या भनेकै प्रयोगदेखि भाग्ने हो । मैले लेख्नै खोजेको नयाँ हो । उत्सर्ग महाकाव्य हामीले पढ्दै आएको महाकाव्यको सिद्धान्तलाई स्वीकार गरी लेखेको महाकाव्य हैन । अनि कसरी हुन्छ परम्परागत महाकाव्य जस्तो ? महाकाव्य लेखनको पुरातन संरचना र सिद्धान्तलाई मानव महाकाव्यले उहिल्यै भत्काइदिएको हो । त्यसपछि त्यस्ता महाकाव्य धेरै लेखिए जसले महाकाव्यको परम्परागत संरचन र सैद्धान्तिक आधार भत्काए । यही भत्काउने र बनाउने प्रक्रियाको अर्को तर भिन्न रूप उत्सर्ग महाकाव्य हो ।
जहाँसम्म उत्सर्ग महाकाव्यको रचनागर्भको कुरो छ यो भने यहाँ व्यक्त गर्न सकिने कुरा होइन । संक्षिप्तमा भन्दा यो महाकाव्य जनयुद्धको विषयवस्तुमा लेखिएको महाकाव्य हो ।
तपाईंको कविता सङ्ग्रह ‘घाइते ह्विलचेयर’ के कारणले चर्चित भएको होला ? यसको कला पक्षले कि विचारपक्षले ?
यो पनि मैले दिन नसक्ने उत्तर हो । पाठकले ‘घाइते ह्विलचेयर’ पढेर विष्णु भण्डारी पनि कवि रहेछ भनेर चिनेका हुन् । यो कविताकृतिमा कला र विचारलाई सकभर संयोजन गर्ने प्रयत्न गरेको छु । यही भएर पनि पाठकले मन पराएका हुन् कि ! कतिले भन्छन् माओवादीको आलोचना गरेर लेखिएको कविता सङ्ग्रह भएकोले विरोधीले बढी उचाले । तर त्यसो भन्नेहरू पुराना वामपन्थी हुन् । जसलाई अहिलेको समाजवादी लेखनबारे तातोभुत्लो थाहा छैन ।
तपाईंको पछिल्लो कृति पहेँलो घामले बढी चर्चा पायो । एउटा पार्टीको जिम्मेबार ठाउँमा रहेको व्यक्तिले त्यही पार्टीको आलोचना गरेर उपन्यास लेख्नु कत्तिको संगतिपूर्ण कुरो हो ?
समाजवादी लेखन भनेकै आलोचना सहितको लेखन हो । म पार्टीको जिम्मेबार ठाउँमा छु भन्नुको अर्थ मैले आफ्नो पार्टी र नेतृत्वले गरेको अपराधलाई नजरअन्दाज गर्नुपर्छ भन्ने छैन । एउटा साहित्यकार कुनै विचार वा पार्टी राजनीतिसँग जोडिएको हुन सक्छ । तर यसको अर्थ ऊ पार्टीको दास हो भन्नु गलत कुरो हो । म पार्टी सदस्य मात्र हैन लेखक पनि हुँ । लेखकको काम भनेको इमान्दारीपूर्वक यथार्थको प्रतिबिम्बन गर्ने हो । फेरि मैले कुनै पार्टी वा नेताको आलोचना गरेको नभै प्रवृत्तिको आलोचना गरेको हुँ । मैले दुई वर्ष अगाडि नै माओवादी आन्दोलन पहेँलो घाम जस्तो राप र तापहीन हुँदै गएको लेखेको थिएँ । अहिले आएर यो कुरा प्रमाणित भएको छ ।
तपाईं आफ्नो कविता/काव्य सिर्जनाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट हुनु भनेको सकिनु हो । सन्तुष्ट नभएकै कारण निरन्तर सङ्घर्षमा छु ।
तपाईंको कविता लेखन अलि जटिल छ र सम्प्रेषणीय छैन भन्ने आरोप छ, यसलाई कुन रूपमा लिनुहुन्छ ?
मैले कविताको नाममा लोक गीत लेखेको हैन नि ! कविता बिम्ब, प्रतीक र चित्रात्मक संरचनामा व्यक्त गरिने विधा हो । जसले कवितालाई अभिधामा बुझ्न खोज्छ उसका लागि मेरा कविता सम्प्रेषणीय नलाग्न सक्छन् । कविता त व्यञ्जना हो । तर फेरि पनि म मेरा कविता दुरुह छन् भन्ने पक्षमा छैन ।
प्रतिध्रुवीय साहित्यकार र साहित्यबारे तपाईंको धारणा के छ ?
धमलाजी नेपालमा अब प्रतिध्रुवीय साहित्य नै छ जस्तो लाग्दैन । सबै सत्ता पक्षीय सबै एकधु्रवीय हुँदै गएको समय हो यो । यति हुँदाहुँदै पनि यहाँ सत्ताविरोधी वा प्रतिपक्षी साहित्य र साहित्यकार नभएको भने हैन । यो असाध्यै झिनो छ । उपभोक्तावादले गाँजेको वर्तमानमा अलग धारमा खरो उभिन सक्ने साहित्यकार कमै छन् । अलग धारमा उभिएर मात्र भएन उसले छुट्टै सत्ता निर्माण पनि गर्न सक्नुपर्यो । खै पारिजतपछिका प्रगतिवादीले अलग सत्ता निर्माण गर्न सकेको ?
(कोशिकी : वर्ष १६, अङ्क ४, पूर्णाङ् ७६, माघ–फागुन २०७४, पृष्ठ– ४१)