अबको लेखन समाजवादी हुनुपर्छ

विष्णु भण्डारी

रातोपाटी : बैशाख २०७३

प्रगतिवादी लेखकहरूको संगठन अखिल नेपाल लेखक संघको दोस्रो राष्ट्रिय सम्मेलन ११ बैशाख,२०७३ शनिबारका दिन पेरिसडाँडा कोटेश्वरमा हुँदैछ । लोकतन्त्र दिवस र विश्व पुस्तक दिवसका दिन हुन लागेको सम्मेलनमा देशभरबाट करिब तीन सय प्रगतिवादी लेखक प्रतिनिधि भेला हुँदैछन् । सम्मेलनको सन्दर्भमा संघका कार्यवाहक अध्यक्षसमेत रहेका कवि तथा उपन्यासकार विष्णु भण्डारीसँग डिएनएनकर्मी कला अनुरागीले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

अखिल नेपाल लेखक संघको दोस्रो सम्मेलन हुँदैछ । तर संघको नाम आमवृत्तमा त्यति सुनिए जस्तो लागेन, के यो सम्मेलनको बेला मात्रै नाम सुनिने संस्था हो ?

नामै नसुनिएको त होइन होला । तर नौ वर्षपछि यसको सम्मेलन हुँदैछ । २०६४ मा भएको पहिलो सम्मेलनपछि आफ्ना गतिविधि पनि गर्दै आएको छ । तर गर्नुपर्ने समयमा सम्मेलन गर्न सकेन । जति गर्नुपर्ने हो, त्यति काम पनि गर्न सकेन । त्यसैकारण यसको नाम आमवृत्तमा नसुनिएको हुनसक्छ । तर यो प्रगतिवादी, समाजवादी यथार्थवादमा विश्वास राख्ने कवि, लेखक, साहित्यकारहरूको संगठन हो । राजनीतिक रूपमा एमाओवादीको विचारसँग सहमत हुने लेखकहरूको संगठन हो । त्यसैले अपरिचित नै छ भन्ने त लाग्दैन ।

यसमा कस्ता लेखक छन्, कस्ता लेखक आवद्ध हुन सक्छन् ?

यसमा समाजवादी यथार्थवादमा आधारित साहित्यको सिर्जना गर्ने र मार्क्सवादी विश्वदृष्टिकोणलाई स्वीकार गर्ने लेखक साहित्यकार आबद्ध हुन सक्छन् । यसमा विचारमा प्रतिबद्ध लेखकहरू छन् । त्यसैले यो प्रगतिशीलभन्दा पनि एक कदम अगाडि छ र प्रतिबद्ध लेखनमाथि यसले विश्वास गर्छ । यस्तै प्रकृतिका लेखक छन् ।

लेखक पनि पार्टीका हुन्छन् र भन्ने प्रश्न पनि उठिरहन्छ, यो संघको जवाफ के हुन्छ ?

लेखक पार्टीका हुँदैनन्, तर लेखकको पार्टी हुन्छ । लेखकको एउटा राजनीतिक, वैचारिक विश्वदृष्टिकोण हुन्छ । त्यो कुनै न कुनै राजनीतिक पार्टीको दृष्टिकोणसँग मिल्छ । त्यसैले लेखकको पार्टी हुन्छ । जस्तो, प्रगतिशील लेखक संघको भर्खरै राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यो नेपालका वाम पार्टीहरूको साझा संगठन हो । त्यस्तै नेपाली लेखक संघ छ, यो प्रजातन्त्रवादी लेखक साहित्यकारको संगठन हो । त्यसैले पार्टीविशेषको नहुँदानहुँदै पनि पार्टीले अघि सारेको मुद्दा, तत्कालीन वा दीर्घकालीन सवालमा कतै न कतै स्वीकार गर्छ भने स्वभावतः त्यस नजिकको संगठनमा आबद्ध हुन्छ नै । जब लेखकले आफ्नो विचार कुनै पार्टीसँग मिल्छ भन्ने महसुस गर्छ, त्यसमा आबद्ध हुन के समस्या भयो र ?

विचारलाई समर्थन गर्ने तर संगठनको सदस्य नभएको लेखक पनि त हुन सक्छन् नि ?

माओवादी जनयुद्धले उठाएको एजेण्डालाई स्वीकार गर्ने लेखकहरूको ठुलो पंक्ति स्वतन्त्र रूपले कलम चलाइरहनुभएको छ । उहाँहरू माओवादी पार्टीको कार्यकर्ता हुनुहुन्न, माओवादीको राजनीतिक लाइनमा प्रतिबद्ध छौं भनेर अभिव्यक्त पनि गर्नुभएको छैन । तर उहाँहरूले आफ्नो सिर्जनामा स्वीकार गर्नुभएको छ । उहाँहरूसँग भावनात्मक र वैचारिक रूपले नजिककै सम्बन्ध छ । हामीहरूले उहाँहरूलाई हाम्रो आन्दोलनमा समेटेर लैजानुपर्छ भनिरहेका छौं । पार्टीको कार्यकर्ता बन्ने लेखक साहित्यकारलाई मात्रै समेट्नुपर्छ, अरूलाई समेट्नुहुन्न भन्ने जडताबाट हामी मुक्त हुनुपर्छ भन्ने मलाई लाग्छ ।

लेखकहरू स्वाभावैले स्वतन्त्र हुन्छन् भनिन्छ । तर संगठनको दाम्लोले बाँधिएपछि लेखक शक्तिशाली बन्न सक्छ र ?

पहिलो कुरा त लेखक स्वतन्त्र हुन्छन् भन्ने मान्यता नै गलत हो । लेखक कहीँ पनि स्वतन्त्र हुँदैनन् । किनभने हरेक लेखकसँग विचार र विश्वदृष्टिकोण हुन्छ । कुन वर्ग र विचारको पक्षधर हो भन्ने कुरा कहीँ न कहीँ खुल्छ । तर बहस भइरहेको कुरा हो कि एउटा लेखक कार्यकर्ता भएर हिँड्छ कि हिँड्दैन, पार्टीको दाम्लोमा बाँधिनुपर्छ कि पर्दैन, पार्टीको कार्यक्रमको घेराभित्रमात्रै बसेर कला साहित्य सिर्जना गर्न सकिन्छ कि सकिदैन ? यी छलफलका विषय हुन् । तर लेखक साहित्यकार एउटा पार्टीको भातृसंगठनमा वा पार्टीको विचारलाई विश्वास गर्ने संगठनमा आबद्ध हुनु भनेको पार्टीको दाम्लोमा बाँधिनु हो भन्ने मान्यता पनि गलत हो । हामीले दोस्रो राष्ट्रिय सम्मेलन हुँदै गर्दा यस विषयमा पनि बहस सिर्जना गरेका छौं । एउटा पार्टीको विचारलाई समर्थन गर्नुको अर्थ त्यो पार्टीको सम्पूर्ण राजनीतिक लाइनलाई समर्थन गर्नुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्छ । हुन त हिजो पार्टीको प्रतिबद्ध लेखक हुनुको अर्थ पार्टीको विरुद्ध बोल्न नमिल्ने, पार्टीको लाइन सही या गलत जे भए पनि समर्थन गरेर जानुपर्ने र कुण्ठित हुनुपर्ने भन्ने मान्यता पनि थियो । तर हामी यसबाट मुक्त हुनुपर्छ भनेर बहस चलाइरहेका छौं ।

कला अनुरागी

संगठनमा बस्ने र नबस्ने लेखकबिच के फरक हुन्छ र ?

विचार एउटै हो, एउटा संगठनभित्र छ र अर्को बाहिर छ भने पनि त्यहाँ फरक त पर्छ नै । संगठनमा बसेको लेखकले लेखनभन्दा संगठनका दैनिक काममा मात्रै प्राथमिकता दियो र राजनीतिक समितिले जस्तो काम गर्दै हिंड्यो भने त साहित्य सिर्जना गर्न के सक्ला र ? तर संगठनले मानिसलाई प्रतिबद्ध बनाउँछ । विचारलाई समर्थन गर्ने तर संगठनबाहिर बस्ने लेखक प्रतिबद्ध हुँदैन । ऊ अराजक हुने, अनुशासनहीन हुने र विचारलाई त्यतिबेलाको अन्तरविरोधलाई बुझेर अभिव्यक्त गर्नुपर्ने हो, त्यसो गर्न नसक्ने स्थितिमा हुन्छ ।

समाजको अन्तरविरोध के हो भन्ने कुरा राजनीतिक दिशा बुझेरमात्रै बुझ्न सकिन्छ । राजनीतिक संगठनभन्दा टाढा बसेको व्यक्तिलाई त्यो अन्तरविरोधको सही विष्लेषण गर्न गाह्रो हुन्छ । त्यसो हुँदा ऊ मनोगत हुन्छ, चिप्लिन्छ । अर्को कुरा राजनीतिक विचारसँग आबद्ध भएको र संगठित भएको लेखकलाई जनसमुदायको हरेक तहमा जान सहज पनि हुन्छ । यसैले फरक त परिहाल्छ नि ।

तपाईं आफैं कवि, उपन्यासकार हुनुहुन्छ । एउटा लेखक किन संगठित हुनुपर्छ भन्ने कुरामा तपाईंको निजी धाराणाचाहिँ के हो ?

लेखक कतै न कतै संगठित भएकै हुन्छ । नेपालको अहिलेकै सन्दर्भमा भन्ने हो भने अध्ययन गर्दै जाँदा लेखकका कहीँ न कही साना ठुला समूह छन् । चाहे गैरराजनीतिक संस्था होस् या समूह । संगठनको आवश्यकताले नै त्यो जन्मिएको हो । विश्वकै उदाहरण हेर्ने हो भने पनि संगठित लेखकले गरेको सिर्जनाले समाज रूपान्तरणमा बढी भूमिका खेलेको देखिन्छ । रसियन साहित्य त्यसको बलियो उदाहरण हो ।
मेरो अनुभव के हो भने संगठनमा आवद्ध भएर लेखन गर्दा म लेख्नका लागि स्वतन्त्र छु भनेर लेखकले अनुभूत नगर्ने हो भने राम्रो सिर्जना गर्न सक्दैन । लेख्दा उसले म कुनै पार्टीको प्रतिबद्ध कार्यकर्ता हुँ, त्यसैले पार्टीको निर्देशअनुसार मात्रै लेख्नुपर्छ भन्ने सोच्नुहुँदैन । मैले स्वतन्त्रतापूर्वक लेख्नुपर्छ, विचार र अन्तरविरोधलाई सही ढंगले पर्गेल्न सक्नुपर्छ भन्ने सोचेर लेख्नुपर्छ । त्यसो गर्न सकेमात्रै सही दिशनिर्देश गर्न सकिन्छ साहित्यमार्फत भन्ने मलाई लाग्छ ।

तपाईंको संघमा आवद्ध कवि, लेखकहरू विभिन्न अभियानमा देखिएका थिए, जस्तो कि अभिज्ञान आन्दोलन, काव्यशिविर अभियान, आदि । यसअघि लेखक संघ अलि निष्क्रिय भएर त्यस्ता अभियान सञ्चालन भएका हुन् कि ती निरन्तर जारी रहन्छन् ?

अखिल नेपाल लेखक संघ वैचारिक, राजनीतिक विश्वदृष्टिकोणसँग आबद्ध लेखकहरूको संगठन हो । त्यसैले यसले गर्ने व्यवहार, काम र अभियान पार्टीको दिशानिर्देशसँग जोडिएको हुन्छ । हामी लेखकीय स्वतन्त्रता महसुस गर्छौं, तर संगठनमा आवद्ध भएकाले वैचारिक प्रतिबद्धता पनि छ । त्यसैले जुनसुकै अभियानमा संलग्न भएपनि हामीमा त्यो रहन्छ । यस्ता अभियानमा सहभागी हुँदा त्यो एउटा पार्टीको मात्रै नभएर सबै प्रतिभाको मञ्च निर्माण गर्न सकिन्छ ।

सम्मेलनमा चाहिँ के के हुँदैछ ?

हाम्रो सम्मेलन लोकतन्त्र दिवस र विश्व पुस्तक दिवसको सन्दर्भमा पनि हुँदैछ । जनयुद्ध र जनआन्दोलनबाट लोकतन्त्र पुनस्र्थापित गरेको र गणतन्त्रको बाटो खोलेको दिनको रूपमा हामी सम्मेलन ‘सेलिब्रेट’ गर्दैछौं । त्यसैगरी हाम्रो सबै प्रदेशमा सम्मेलन भइसकेको छ । करिव ६५ जिल्लाबाट तीन सयका हाराहारीमा लेखक जम्मा हुँदै हुनुहुन्छ । त्यसैले एकअर्काबीच पुस्तक आदान–प्रदान गरेर विश्व पुस्तक दिवस पनि मनाउँछौं । संघको भावी नेतृत्व चुन्ने कार्यभार त छँदैछ केही ताजा विषयमा गम्भीर विमर्श गरे निष्कर्ष निकाल्दैछौं ।

पहिलो, अबको लेखकको संगठन कस्तो हुनुपर्छ भन्ने विषयमा बहस हुनेछ । पहिले जस्तै साँघुरो घेरामा बसेर पार्टीका ‘लाइन’ मान्ने लेखकलाई मात्रै समेटेर हुँदैन, विचारलाई स्वीकार गर्ने तर संगठनभन्दा बाहिर बसेका लेखकलाई पनि समेट्नु आवश्यक छ । त्यसो गरेरमात्रै संगठनलाई नयाँ बनाउन भन्ने कोणबाट बहस हुन्छ नै । त्यस्तै अबको लेखन कस्तो हुन्छ भन्नेमा पनि बहस गर्नेछौं । नेपालको सन्दर्भमा अबको लेखन भनेको समाजवादी लेखन हो । त्यो कस्तो हुनुपर्छ भन्दै गर्दा अबको समाजवादी क्रान्ति कस्तो हुनुपर्छ भन्ने बहस पनि सँगसँगै गरिनुपर्छ । यो बहसलाई निर्क्योलमा पुर्याउने प्रयत्नमा हामी छौं, जसले राजनीतिक पार्टीलाई समेत दिशानिर्देश गर्न सकोस् ।

हामी गणतन्त्र नेपालको जुन मोडमा आएर उभिएका छौं, यहाँ एउटा युगले कोल्टे फेरेर अर्को युगको प्रादुर्भाव भएको छ । नयाँ युग सुरुवात भएको अवस्थामा लेखनमा पनि नयाँ बहस स्वभावतः सिर्जना हुन्छ । हिजो हामीले राजतन्त्रविरुद्ध, सामन्तवादविरुद्ध, गाउँका मुखियाविरुद्ध लेख्यौं । महिलालाई मझेरीबाट बाहिर निकाल्न, दलितलाई आम मानिससरह व्यवहार गर्न लेख्यौं । जनयुद्ध र जनआन्दोलनपछि प्राप्त गणतन्त्रले यो परिस्थितिमा उथलपुथल ल्याएको छ । हिजो मझेरीमा बसेका महिला बन्दुक बोकेर समरमा उत्रिए । आर्थिक उपार्जन गर्न प्रतिपर्धा गर्न थाले । दलित, मधेसीले आफ्नो अधिकार खोजिरहेका छन् । त्यसैले अबको लेखन भनेको समाजवादी रूपान्तरण कसरी गर्न सकिन्छ भन्नेतिर केन्द्रित हुनुपर्छ भन्ने हाम्रो मत हो । यसबारे सम्मेलनमा सघन बहस हुन्छ ।

(http://archive.ratopati.com/news/45196/)


  प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार ०८:२६