शान्ति प्रक्रियापछिको माओवादी आन्दोलन बुझ्न ‘पहेंलो घाम’ पढ्नुपर्छ

विष्णु भण्डारी

खबरडबली : मंसिर १० गते, २०७२ बिहिवार
26th November, 2015 Thu१५:५४:१७ मा प्रकाशित

 (कवि विष्णु भण्डारीको उपन्यास ‘पहेंलो घाम’ बजारमा आइपुगेको छ । उनी आफ्नो उपन्यासलाई जनयुद्धको महान् आदर्श ओरालो लागेको वर्तमानमा गतिलो झापड हो भन्छन् । मंसिर १२ गते शनिबार १ बजे प्रज्ञा प्रतिष्ठानमा उनको उपन्यास माथि चर्चा परिचर्चा हुँदैछ । यिनै सेरोफेरोमा केन्द्रित रहेर कवि तथा आख्यानकार विष्णु भण्डारीसँग बखरडबलीले गरेको संक्षिप्त कुराकानी।)

तपाईको पहिलो उपन्यास नै जनयुद्धमा आधारित छ । किन युद्ध साहित्य नै रोज्नुभएको ?

मैले युद्ध साहित्य मात्र रोजेको नभएर हामीले भोगेको समकालीन यथार्थ रोजेको हुँ । ‘पहेँलो घाम’ युद्ध साहित्य त हुँदै हो सँगै समकालीन यथार्थ पनि हो । अहिलेको यथार्थ भनेको जनयुद्धले सिर्जना गरेको नयाँ यथार्थ हो ।

उपन्यासको विमोचन र सार्वजनिकीकरणबिना नै बजारमा ल्याउनुभयो नि किन ?

हामीले असोज १६ गते सार्वजनिक कार्यक्रम राखेका थियौँ तर भारतीय नाकावन्दीले सिर्जना भएको विसम परिस्थितिका कारण सार्वजनिकीकरण बिना नै बजारमा गयो ।

जनयुद्ध नै विर्सजनको बाटोतिर गइरहेको सन्दर्भमा कस्तो खालको नयाँ यथार्थ उठाउन खोज्नुभएको हो उपन्यासमा ?

जनयुद्धले सिर्जना गरेको महान् आदर्श ओरालो लागेको वर्तमानमा ‘पहेंलो घाम’ गतिलो झापड हो जस्तो लाग्छ मलाई । फेरी माओवादी आन्दोलन विर्सजनतिर जाँदै गरेको भए पनि जनयुद्धले सिर्जना गरेका उपलब्धिहरु कहिले पनि कमजोर हुने छैनन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता साथै महान् जागरण जनयुद्धले नै ल्याएको हो ।

तपाई जनयुद्धमा प्रत्यक्ष संलग्न नभएको मान्छे । जनयुद्धकै विषयमा उपन्यास ल्याउनुभएको छ । निकै अप्ठेरो पर्यो होला नी ?

एक त उपन्यास लेख्ने काम नै अप्ठेरो काम रहेछ । त्यसमा पनि जनयुद्धको विषयमा झनै गाह्रो । अप्ठेरो त भयो नै । जहाँसम्म मेरो कुरो छ म जनयुद्धमा प्रत्यक्ष्य नजोडिए पनि जनयुद्धको मूल प्रवाहभन्दा टाधा थिइनँ ।

तपाईंले पहिला खण्डकाव्य निकाल्नुभयो । त्यसपछि कविता सङ्ग्रह, महाकाव्य हुँदै अहिले उपन्यास ल्याउनुभएको छ । आम पाठकले तपाईलाई के भनेर चिन्ने ?

अहिले सम्म त मेरो पहिचान कविता नै हो । तर अहिले आख्यानमा रुची बढेको छ ।

पहेँलो घाम किन पढ्नुपर्छ ?

अयोग्य छापामारको अवस्था र शान्ति प्रक्रियापछिको माओवादी आन्दोलन बुझ्न ‘पहेंलो घाम’ पढ्नुपर्छ ।

हस तपाईको उपन्यासको सफलताको शुभकामना व्यक्त गर्छु ।

धन्यवाद !

https://www.khabardabali.com/news/47592


  प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार ०६:१२