विष्णु भण्डारीले कविताबाट साहित्यकारको परिचय बनाएका हुन् । उनको पहिलो कृतिका रूपमा ‘विद्रोहको छाल’ खण्डकाव्य वि.सं. २०४३ सालमा प्रकाशित भएको हो । त्यसपछिका दिनमा उनी साहित्य सिर्जनामा निरन्तर क्रियाशील छन् ।
हालसम्म उनका विद्रोहको छाल (२०४३, खण्डकाव्य), आँधी–तुफान (२०४४, मुक्तक सङ्ग्रह), ब्वाँसोको अन्त्यको खेल (२०४५, खण्डकाव्य), कालो नाटक (२०४५, लघुकाव्य), फेरि अर्को तारा खस्यो (२०६३, कवितासङ्ग्रह), देश जागेको बेला (२०६३, कवितासङ्ग्रह), उत्सर्ग (२०६७, महाकाव्य), घाइते ह्विलचेयर (२०६९, कवितासङ्ग्रह), पहेँलो घाम ( २०७२, उपन्यास) र सुनको पहाड (२०७६, उपन्यास) गरी दसोटा कृति प्रकाशित छन् ।
विष्णु भण्डारी स्कुल जीवनदेखि नै साहित्यको डोरेटो समाएका व्यक्ति हुन् । राजनीतिक र सामाजिक अभियन्ता समेत भएकोले उनका सिर्जनामा राजनीतिक विषयवस्तु बढी भेटिन्छ । राजनीतिक विषयमा लेखे पनि यिनका रचनामा बिम्ब, प्रतीक र भाषाको सुन्दर संयोजन भेट्न सकिन्छ । भण्डारीका ‘घाइते ह्विलचेयर’, ‘पहेँलो घाम’ र ‘सुनको पहाड’ चर्चित कृति हुन् ।
विष्णु भण्डारीको साहित्य यात्रामाथि लेखिएका समीक्षा तल पढ्न सकिने छ :