कवि विष्णु भण्डारीको साहित्य यात्रा

तेजविलास अधिकारी

१. पृष्ठभूमि

वि.सं. २०२० फागुन २९ गते पश्चिम नेपालको पहाडी जिल्ला गुल्मीको धुर्कोटमा जन्मिएका विष्णु भण्डारी प्रगतिवादी काव्यधाराका एक स्थापित नाम हो । अढाइ दशकको साहित्य यात्रामा कवि भण्डारीले आफूलाई नियमित रूपमा प्रगतिशील कित्तामा उभ्याएर परिचय दिएका छन् । २०४० को दशकबाट नै उनका फुटकर रचनाहरू प्रकाशित भए पनि २०४३ सालबाट उनका थोककृति प्रकाशित भएको पाइन्छ ।

साहित्य यात्राको आभ्यासिक कालखण्डमा कवि भण्डारीले एस.वि.विवेकको उपनामबाट विद्रोहको छाल (खण्डकाव्य, २०४३) र आँधी तुफान (मुक्तकसङ्ग्रह, २०४४) प्रकाशित गरेको देखिन्छ । ब्याँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५)  र कालो–नाटक लघुकाव्य) एउटै सङ्ग्रहमा प्रकाशित गरेका भण्डारी खासगरी पञ्चायतकालमा पञ्चायत विरोधी आन्दोलनमा तथा बहुदलकालमा बहुदलका नाममा जनतामाथि थप गरिएका पीडा र छटपटिका विरुद्ध निरन्तर लेख्दै आएका कवि हुन् ।

कवि भण्डारीका हालसम्म पाँचवटा कविता कृति प्रकाशित भएका पाइन्छन् । फेरि अर्को तारा खस्यो (कवितासङ्ग्रह २०६३) र देश जागेको बेला (जनआन्दोलनका कविता, २०६३) उनको काव्ययात्राका प्राप्ति मान्न सकिन्छ । जनयुद्ध र युद्धकालीन साहित्यसँग सम्बन्धित विषयलाई समेटेर कवि भण्डारी महाकाव्य प्रकाशनको अन्तिम तयारीमा जुटेका छन् ।

२. कवि भण्डारीको काव्यात्मक प्रवृत्ति

कवि भण्डारीले आफूलाई साहित्य सिर्जनामा लगाएको बेलादेखि निरन्तर रूपमा श्रम र सौन्दर्यका काव्य सिर्जनामा समय खर्चेका छन् । उनका रचनाहरु सामान्यतः देशको अवस्था र जनताका मर्म बुझेका मानिसहरू समाजको परिवर्तनको संवाहक बन्न तयार हुन्छन् भन्ने साक्षी बनेका छन् ।

समाजभित्रका असमानताका स्वरहरूलाई जनताको पीडा र सुस्केराको पयार्यबाचीका रूपमा स्वीकार गर्ने कवि भण्डारीको जीवनीपरक विश्लेषण गर्दा पनि निरन्तर वाम राजनीतिमा रही क्रियाशील रहेको हामी पाउँछौ । समकालीन कविहरूको लाममा कवि विष्णु भण्डारी आफ्नो परिचयलाई युद्ध र परिवर्तनको पक्षसँग जोडेर नियमित रूपमा क्रान्तिमा जुट्ने पृथक परिचय दिन चाहन्छन् ।

कवि भण्डारीका लघुकाव्य र मुक्तक सङ्ग्रहदेखि उच्चतम् स्वरूप महाकाव्यसम्मको विषय र सन्दर्भलाई केलाउँदा उनी मूलतः परिवर्तनको पक्षमा लेखिरहने स्रष्टा हुन् । समाजभित्रका विद्रूपतालाई सहज रूपमा बोध गरेर त्यसलाई काव्यको कसीमा उतार्ने काम आफैँमा महत्त्वपूर्ण छ । त्यसमाथि पनि शोषितपीडित नागरिकका पक्षमा कविको काव्यधारा केन्द्रित रहेकाले कवि प्रगतिवादी कविका रूपमा परिचित बन्न पुगेका छन् । क्रान्तिलाई जनताको स्तर र नेताको चिन्तन तथा कार्यदिशाले सही ठाउँमा पुर्याउन सक्छ भन्ने धारणा राख्ने भण्डारी मूलतः जनचाहना अनुरूपको शासनले मात्र देशको पहिचानलाई कायम र उचो राख्न सक्छ भन्छन् ।

३. कवि भण्डारीको काव्यिक यात्रा र चरण विभाजनका प्रश्न

कवि भण्डारीको साहित्य यात्राको चरण विभाजनलाई समय सीमाको कसीमा खुम्च्याउनु पर्दा आभ्यासिक काल तथा सार्वजनिक प्रकटीकरणको समय एकातिर बेजोड हिसाबले देखापर्छ भने अर्कोतर्फ कविको वैचारिक सतही वा सामान्य लेखन र वैचारिक गहन लेखनलाई आधार मान्नुपर्ने हुन्छ । यस आधारले हेर्दा अहिलेसम्मको काव्ययात्रालाई हामी दुई चरणमा राख्न सक्छौ । जसलाई उपचरणका रूपमा पनि विभाजन गर्न सकिनेछ ।

१) पहिलो चरण २०३५/२०४६ सालसम्म 
क) प्रथम उपचरण २०३५/२०४२ सालसम्म 
ख) दोस्रो उपचरण २०४३/२०४६ सालसम्म 

२ दोस्रो चरण २०४६/२०६७ सालसम्म 
क) प्रथम उपचरण २०४६/२०५८ सालसम्म 
ख) दोस्रो उपचरण २०५८ देखि हालसम्म

कवि भण्डारीको चरण विभाजनको आलेखलाई पुष्टि गर्नका लागि उनका काव्ययात्रा आफैँमा साक्ष्य बनेर उभिएका छन् । सामान्यतः भण्डारीको काव्ययात्रा आभ्यासिक र सामाजिक प्रकटीकरण (प्रकाशनकाल) का हिसाबमा पनि प्रथम चरण बढी सरल र सामान्य खालको रहेको छ । रहरका लेखन हरेका सर्जकको एउटा स्वभाव र सीमा पनि हो । त्यसैले उनको पहिलो चरणको दोस्रो उपचरण अन्तर्गतका कवितायात्राले निरन्तर परिष्कार र विचारको संवहन गर्न सकेको देखिन्छ । यस आधारबाट हेर्दा कवि २०४० को दशकमा परिवर्तनको स्वरलाई जनताको तहसम्म उराल्न हतारिने र त्यसैमा आफ्नो प्रगति र देशको समुन्नति ठान्ने चेष्टा गर्न पुगेका छन् । यस चरणका काव्ययात्रामा पञ्चायतको बर्बरताका विरुद्धमा जनताले गरेको विद्रोहलाई अत्यन्त सशक्त ढङ्ले उठाउन सफल भएका छन् ।

पहिलो चरणको दोस्रो उपचरण पश्चात कवि काव्यप्रति निराश भएर हो वा अन्य कारण उल्लेख्य फुटकर कृतिमार्फत अगाडि आउन झन्डै एक दशक लागेको छ । यसरी हेर्दा कवि भण्डारीको काव्ययात्रा प्रवृत्तिगत रूपमा दुई प्रवृत्तिलाई समेट्न सफल भएको छ । २०३५/०३६ सालको विद्यार्थी आन्दोलन पञ्चायतको दमन र त्यसका विरुद्धमा उठेका जनआक्रोश र त्यसले दिएको आंशिक नाटकीय परिवर्तन २०४६ सालको राजनीतिक परिदृश्य । यसको भित्रको संरचना र विचारपक्षले सामान्यतः साधारण कवितको हैसियतमा आफूलाई उभ्याएको छ ।

कवि भण्डारीलाई काव्ययात्राको उचाइमा पु¥याउने प्रवृत्ति भनेको नेपाली राजनीति यात्राको जनयुद्धकाल नै हो । यस अवधिमा उनले प्रभावलाई भन्दा विचारलाई व्यक्तिलाई भन्दा प्रवृत्तिलाई प्राथमिकता दिएका छन् । यस अवधिमा नै उनका फेरी अर्को तारा खस्यो (कवितासङ्ग्रह, २०६३) र देश जागेको बेला (कवितासङ्ग्रह, २०६३) तथा उत्सर्ग (महाकाव्य, २०६७) समेत रहेको छ । यसका साथै समकालीन साहित्यिक पत्रपत्रिकाहरूमा छरिएका उनका धेरै कविताहरू विचारलाई एउटा उचाइमा पुर्याउन खटिएका सिपाही जस्तै सबल छन् ।

पछिल्ला चरणका कविताहरूमा कवि विष्णु भण्डारीले भावनात्मक र विचारधारात्मक पक्षलाई प्रयोगका आधारमा अगाडि बढाउने चेष्टा समेत गरेका छन् । देश जागेको बेला (कवितासङ्ग्रह, २०६३) यसै आधारको एउटा नवीन कृति हो । यस कवितासङ्ग्रहमा कविले २०६२/०६३ सालको ऐतिहासिक जनआन्दोलनलाई गहन रूपमा प्रस्तुत गरेका छन् । कवि आफ्नो सहभागिता र त्यस आन्दोलनको परिदृश्यलाई सबल रूपमा काव्यमा उतार्न सफल भएको देखिन्छ । त्यसो त यस आन्दोलनलाई भित्री वा गहन ढङ्गबाट समेत सहयोग गर्ने शक्तिलाई कतिले पन्छाउन वा इतिहासमा अङ्कन गर्न नसक्ने कुरा समेत बोलिरहेका छन् । तर त्यस्ता भ्रमजाललाई वास्ता नगरेर नियमित रूपमा समाज परिवर्तनका लागि लाग्न कवि भण्डारीको कविता सफल छन् ।

४.कवि भण्डारीका कविताहरूको निरुपण

कवि भण्डारीका कविता नयाँ नेपाल निर्माणका एक आधारस्तम्भका रूपमा उभिएका छन् । ऐतिहासिक जनयुद्धले आर्जन गरेका उपलब्धिहरूलाई कसरी राज्यले व्यवस्थित गर्नुपर्दछ भन्ने बाटोमा कविताहरू लक्षित देखिन्छन् । उनका कविताहरूले जनमानसको आवाजलाई लिपिवद्ध यो यो अर्थमा गरेका छन्, अब नेपालको गति पुराना पारा र धाराले अगाडि बढ्दैन । नेपालीको गहन भूमिकालाई नेपाली राजनीतिले स्थान नदिएकोप्रति पनि उनी अत्यन्त आक्रोशित छन् ।

‘मान्छे रातलाई घृणा गर्छन्
म पनि घृणा गर्छु रातलाई
सायद त्यसैले त उठेका छन्
उसको विरुद्धमा हातहरू 
उसको अन्त्यका लागि जुटेका छन्
नयाँ बिहानीका नयाँ सम्वाहकहरू ।’ (रात)

कविले नेपालीलाई सताउने अभाव र यातना नै रात हुन भनी भिन्न विषयको भिन्न विषयमा आरोपीकरण समेत गरेका छन् । यसका साथै कविले नेपाली धर्तीलाई जगमग बनाउन अभाव र असमानताको जरो उखेल्न सबै आतुर रहेको जनाएका छन् :

‘चन्द्रागिरि रोएको जस्तो लाग्यो
र मैले सोधेँ
चन्द्रागिरि ! तिमीलाई के भयो ?
उनी बोलिनन् हेरिन् मात्र ।
––––––––––––––––––––
सर्–सर् गर्दै उड्ने हावालाई सोधेँ
हावा ! तिमीलाई के भयो र दौडिएको ?
हावा टक्क रोकियो र बिस्तारै भन्यो,
‘आज फेरि अर्को तारा खस्यो 
म उसकै पदचाप भेटिन्छ कि भनी दौडिएको ।’ (फेरि अर्को तारा खस्यो)

कविले आफ्नो कवितामा आफ्ना प्रिय कवि कृष्ण सेनलाई पनि उच्च प्राथमिकतामा राखेका छन् । नेपाली जनताको आवाजलाई बुलन्द पार्ने साहसी वीर योद्धा कलमवीर कवि कृष्ण सेन इच्छुक जनताका मनमा सदा रहने र जतिसुकै पीडा भए पनि विद्रोहमा लाग्न प्रेरणा दिन्छन् । कवि सेनको हत्याले सम्पूर्ण पृथ्वी नै दुःखित र पीडित भएको सन्दर्भमा नेपाली जाति पनि चिन्तित हुनु स्वभाविकै हो । तर कवितामा नेपाली जनता पीडालाई शक्तिमा बदलेर अगाडि बढिरहन्छ भन्ने काव्यिक उद्घोष प्रकट भएको छ ।

कृष्ण सेनका हत्याराहरू आफैँमा कायर हुन् । त्यति मात्र होइन, विचार र आस्थालाई कसैले मारेर मार्न सक्दैन, विचार त निरन्तर ऊर्जाको स्रोत हो भन्ने विषयलाई कविले सुन्दर ढङ्गले व्यक्ताएका छन् । कविको भाषामा इच्छुकको उपस्थिति झन् बलियो बनेको छ । कवि इच्छुक नेपाली जनताको छातीमा बास बसेका छन् । कवि थप्दछन्ः

चन्द्रागिरि बसेर टोलाइरहिछन्
आऊ सँगै जाऊँ र उनलाई भनिदिऊँ
भो नरोऊ चन्द्रागिरि उनी मरेका छैनन्
अहँ उनी पटक्कै मरेका छैनन् । (फेरि अर्को तारा खस्यो)

जनजनको मनमा मात्र होइन प्रकृतिमा पनि उनी भिजेको तथ्यले साँच्चै प्रकृतिलाई मानवीकरण गरिएको छ । यस कवितासङ्ग्रहको शीर्षक नै फेरि अर्को तारा खस्यो रहेकाले पनि कृष्णसेन इच्छुक कविताको केन्द्रविन्दुमा उभिएका छन् । नेपाली राजनीतिले आर्जेको उपलब्धिको केन्द्रमा विचारलाई प्रतिस्थापित गर्ने इच्छुक कहिल्यै नमर्ने सर्जक हुन् भन्ने अभिव्यक्ति व्यक्त गरिएको छ ।

कविताका बान्कीहरूले नेपाली समाजको परिवर्तनलाई सङ्केत गरेको छ । उज्यालो खोज्न निस्किएको म कवितामा कविले विचारको ज्यावल लिएर अन्धकार विरुद्धमा निरन्तर लागिरहने तथ्य प्रस्तुत गरेका छन् । एउटा संवादात्मक प्रस्तुतिसँगै कविले उज्यालोको निम्ति एक्लै होइन समवेत स्वर सिर्जना गर्नुपर्ने कुरालाई जोड दिएका छन् । सामान्य रूपमा क्रान्तिको परिभाषालाई नलिएर कविले नेपाली जनताको मुक्तिको बाटोमा देखिने प्रकाशले नै सबैमा चेतना भर्दछ भन्छन् । कवि काव्यात्मक अभिव्यक्तिमा नै आफ्नो सहमति र असहमतिलाई प्रकट गर्दछन् । कविले महान् उद्देश्य लिएर हिँड्नेहरूले घात गरेभने त्यो अत्यन्त प्रत्युत्पादक हुने कुरा समेत उल्लेख गरेका छन् ।

कविले आफ्नो विचारमा निरन्तर अवरोध आउँदा पनि आफूलाई क्रान्तिकारी वा कम्युनिष्ट हुँ भन्नेहरूप्रति व्यङगसमेत गरेका छन् । कविका केही कविताले रूप र सारमा क्रान्ति बोकेको मात्र होइन, विचार वा भावमा निराशावादी विचारसमेत प्रस्तुत गर्न पुगेका छन् । केही कविता पढ्दा कतै जीवनको गहिराइलाई कविले ठम्याउन अझै बाँकी छ भन्ने पनि लाग्छ । खै हामीले कहाँ जित्यौँ शीर्षकको कवितामा कविले क्रान्तिलाई निरन्तर यात्राको रूपमा व्याख्या गरेर पनि यसको निचोडमा कतै नपुगेको तर्क पो सारेका छन् । यसबाट कविको शैलीगत कमजोरी होइन सारगत त्रुटि देखिन समेत पुगेको छ । छन्दवादी कविलाई गद्य कविहरूले लगाउने आरोप विचारविहिनता भए पनि गद्यभित्र पनि यो कमजोरी देखिदाँ कविताको सैद्धान्तिक पक्षमा नै प्रश्न चिन्ह खडा हुन पुग्छ । तथापि निराशा बिचमा पनि आशाको सञ्चार भएको प्रयाप्त उदाहरणहरू साक्षका रूपमा आएका छन् ।

समाज परिवर्तनको बीज त विचार नै हो । नेपालको राजनीति गणतन्त्रसम्म आउनुमा साँच्चै नेपाली अग्रदूतहरूले धेरै ठुलो विचार दिएका छन् । अल्पायुमै हाम्रा सामू विदा भएका कवि गोकुल जोशी पनि विचारको निर्माता भएका कुरालाई कवि गहन ढङ्गले पोख्दछन् । विचार लिनु र दिनु मात्र नभइ विचारबाट विचलन नभई काव्ययात्रालाई निरन्तरता दिनु कविका लागि ठुलो कुरा भएको तथ्य बोलका छन् ।

‘कहिले भोकले निलेको गाउँमा 
कवितामा आँसुको लय भर्छ
कहिले सन्तप्त मधेसबाट 
प्रताडनाको भाका टिप्छ
गाउँदै उन्मुक्तिका लोकगाथाहरू 
कहिले पश्चिम पुग्छ 
कहिले परदेश पुग्छ ।’ (जनकवि)

कवि भण्डारीले कवि गोकुल जोशीले आफ्ना कवितामा समेटेका विषयवस्तुप्रतिको प्रेमलाई अनौठो ढङ्गबाट सुम्सुमाएका छन् । त्यतिमात्र होइन कवि गोकुलकै पथमा नेपाली काव्ययात्रालाई अगाडि बढाउनुपर्ने कुरामा जोड दिन पुग्छन् ।

कविका कलमले विचारको यात्रालाई अगाडि बढाउने वीरहरूप्रति असीम आस्था र श्रद्धा प्रकट गरेको छ । कतिपय विषय यस्ता हुन्छन् बीजले नै लाखौँको सिर्जना गर्दछन् । हाम्रो नेपाली धर्तीलाई उन्नत बनाउन तल्लीन यी प्रतिभाहरूको कदर गर्दै कवि भन्दछन् :

‘पत्यार नलाग्ने कुरो
मैले कसरी स्वीकार गर्न सक्छु र ?
तर पनि सोच्ने गरे प्रिय !
यस्तै कुराहरू नै
हाम्रो पराजयका कारण हुने गर्छन् ।’ (सम्झनाको तरेलीमा)

यी कविताका पङ्क्तिहरूमा कविले एकतामा नै बल हुन्छ । अनेकताले हामीलाई गम्भीर धक्का दिइसक्यो, अबका दिनमा साँच्चै नेपाली माटोमा अमृत फलाउन सहकार्य र समान मूल्यबोधको जरुरी छ । कविको यस कवितामा वर्गीय प्रेम र श्रमले नै विश्वलाई जित्न सक्छ भन्ने सुन्दर र महान्. भाव प्रकट भएको छ ।

नदी बग्दैछ निरन्तर शीर्षकको कवितामा कवि भण्डारीको विचारको नदी वा समानता, भातृत्व तथा न्यायको निम्ति लड्ने यात्रा अत्यन्त गतिशील बनेको तथ्यलाई केलाएका छन्ः

‘कहिले पहरासँग ठोकिएर
कहिले घुम्तिहरूमा छेलिएर
धार मोडिए पनि
छाल रोकिए पनि
नदी हो गतिको अर्को नाम
उसले भुल्दैन गाउन जीवनको गीत 
उसले छोड्दैन लाउन माटोमा प्रीत ।’ (नदी)

कवि भण्डारीका प्रतिनिधि कविताहरूको अध्ययनबाट प्रष्ट हुन्छ कि नेपाली राजनीतिको उध्र्वगामी यात्रामा समाजलाई अगाडि बढाउन तल्लीनहरूको याद र स्वर कविताहरूमा उल्लेख भएको छ ।

यी कविता कृतिहरू प्रकाशित हुँदानहुँदै निरङ्कुश राजतन्त्र ढल्न र जनताको विद्रोहले सफलता हासिल गर्न पुगेको देखिन्छ । एकातिर राजा हुँ भन्ने ज्ञानेन्द्रको अहम् र अर्कोतर्फ स्वतन्त्र बन्न चाहने नेपाली जनताको अभिलाषा कविताभित्र सुन्दर ढङ्गले व्यक्तिएको छ ।

समग्रमा गद्य कविता यात्रामा विचारका बीज रोप्ने भण्डारी विचारका कवि हुन् । प्रगतिवादी चिन्तनलाई गद्यलयमा अन्तरघुलन गर्दा उनको काव्य वैचारिक रुपमा बलियो बनेको छ । उनका केही कविता कतै विचारको अलमल, सन्देशको अपूर्णता र कतैकतै असम्पे्रष्यताका कारण कमजोरजस्ता देखिएका छन् । कवि कवितामा गम्भीर भन्दा भावुक बन्न पुगेका छन् । उनको साहित्य यात्राको अभिरेखाङ्कन गर्दा कवि पछिल्लो समयमा अझै परिस्कृत बन्दै गएका छन् । तथापि उनको गद्य कविताले संरचना पक्षलाई अझै घनिभूत र विचारलाई प्रष्ट पार्नु जरुरी देखिन्छ । कविलाई आक्रोशको जलप लगाउन खोज्दा शैलीगत कमजोरी प्रष्ट रूपमा देखिन्छ । समाज परिवर्तनमा विचारको यात्रालाई नियमित ढङ्गले अगाडि बढाउने उनको काव्ययात्रा आलोचनाको आलोकमा प्रगतिशील विचारका बाहक बनेका छन् ।

(मार्क्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, २०६७)


  प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १५:२४