रमेश प्रभात
२०८० श्रावण १०, बुधवार
मानवसमाजमा युद्ध हिजो पनि थियो, आज पनि छ र भोलि पनि अवश्य रहनेछ । युद्ध कसैको रहर होइन, बाध्यता हो । जब जब समाजमा बेथिति बढ्छ, तब तब युद्ध अवश्यम्भावी छ । यसरी हुने गरेका सम्पूर्ण युद्ध र त्यसका बारेमा लेखिएको साहित्य नै युद्धसाहित्य हो । त्यसको छुट्टै विवेचना हुनपर्छ भन्ने आग्रह नै अन्वेषक विष्णु भण्डारीको ‘नेपाली युद्धसाहित्य’ नामक कृतिको मूल ध्येय हो ।
‘नेपाली युद्धसाहित्य’को छोटो चर्चा
यति बेला मेरो हातमा अन्वेषक विष्णु भण्डारीको विशद ग्रन्थ ‘नेपाली युद्धसाहित्य’ नामक कृति छ । कूल ४९० पृष्ठको विशाल आकारको यो कृतिलाई लेखकले ऐतिहासिक विवेचना भनेका छन् । भुँडी पुराण प्रकाशन, काठमाडौँले प्रकाशित गरेको यो कृति नेपाली युद्धसाहित्यको अभिलेखीकरण गरिएको एउटा प्रामाणिक दस्ताबेज हो ।
‘नेपाली युद्धसाहित्य’ नाम राखिएको भए पनि यो कृतिलाई नेपाली युद्धसाहित्य, नेपाली द्वन्द्वसाहित्य, युद्धपछिको नेपाली साहित्य र जनयुद्धको साहित्य गरी चार वटा अध्यायमा विभक्त गरिएको छ । यो कृतिको मूल ध्येय भनेको नेपालमा भएका युद्धसाहित्यको खोजी गर्दै जनयुद्धकालीन साहित्य र त्यसपछिका जनयुद्धसँग जोडिएका साहित्यिक कृतिको विवेचना गरी जनयुद्ध जायज थियो भनी प्रमाणित गराउनु हो भन्ने कुरा लेखक स्वयम्ले ‘माओवादी जनयुद्धको साहित्य नेपाली युद्धसाहित्यको प्रमुख अङ्ग हो’ (पृ. ४२७) भनेर निष्कर्ष दिएकोबाट पुष्टि हुन्छ ।
‘नेपाली युद्धसाहित्य’मा चित्रित विषयवस्तु
यो कृतिको पहिलो अध्यायको नाम पनि कृतिसँग मेल खाने गरी ‘नेपाली युद्धसाहित्य’ राखिएको छ । यसमा पनि युद्धको सैद्धान्तिक अवधारणा, नेपाली युद्धसाहित्यः बहस र औचित्य, नेपाली युद्धसाहित्य ः विगत र वर्तमान, नेपाली युद्धसाहित्यको प्रवृत्तिगत सर्वेक्षण, नेपाली भाषामा लेखिएको युद्धसाहित्य र छुटेको पाटो गरी छ वटा परिच्छेदहरू छन् । यो अध्यायमा निष्कर्ष राखिएको छैन । यसमा भएका परिच्छेदहरूमा इतिहासको सर्वेक्षण राम्रोसँग गरिएको पाइन्छ । त्यस्तै दोस्रो अध्यायको नाम ‘नेपाली द्वन्द्वसाहित्य’ राखिएको छ । यसमा द्वन्द्व र द्वन्द्वसाहित्य ः संक्षिप्त विमर्श, नेपाली साहित्यमा द्वन्द्वको प्रभाव, नेपाली द्वन्द्वसाहित्यको ऐतिहासिक सिंहावलोकन र निष्कर्ष गरी चार वटा परिच्छेद समावेश गरिएका छन् । यो अध्यायले युद्ध र द्वन्द्वको अन्तर केलाउने काम गरेको छ ।
यो कृतिको तेस्रो अध्यायको नाम ‘युद्धपछिको नेपाली साहित्य’ राखिएको छ । यसमा युद्धपछिको समय, प्रभाव र असर, युद्धपछिको साहित्य : परिभाषा र प्रवृत्ति, युद्धपछिको नेपाली साहित्य र निष्कर्ष गरी चार वटा परिच्छेदहरू राखिएका छन् । यसले नेपालमा भएका विभिन्न युद्धपछि के कस्ता साहित्य रचिए भन्ने सर्वेक्षणात्मक अध्ययन गरेको छ । त्यस्तै यसमा समाविष्ट अन्तिम वा चौथो अध्यायको नाम ‘जनयुद्धको साहित्य’ राखिएको छ । यसभित्र पनि जनयुद्धको साहित्य : विकास र प्रभाव, जनयुद्धको साहित्य : प्रवृत्ति र विधागत अध्ययन, जनयुद्धविरोधी साहित्य र निष्कर्ष गरी चार वटा परिच्छेदहरू समावेश गरिएका छन् । यो अध्यायमा लेखकले अन्य अध्यायमा भन्दा बढी आफ्नो पक्षधरता देखाएका छन् । उनले जनयुद्धकालीन साहित्यलाई महान् देखाउनकै लागि यति ठुलो कृति लेखेका त हैनन् ? भन्ने शङ्का गर्ने प्रशस्त स्थान यो अध्यायले दिएको पाइन्छ ।
‘नेपाली युद्धसाहित्य’को सबल पक्ष
‘नेपाली युद्धसाहित्य’ले हालसम्म नेपाली समालोचनाका क्षेत्रमा छुट्दै गएको युद्धसाहित्यको सिद्धान्त निर्माण गर्न खोजेको छ । यस कृतिमा नेपाली युद्धसाहित्यको ऐतिहासिक सर्वेक्षण राम्रोसँग गरिएको छ । यसमा वर्तमानका भन्दा पनि इतिहासका सामग्री राम्ररी समेटिएको पाइन्छ । युद्धसाहित्यमा रुचि भएका र त्यसका बारेमा अध्ययन गर्न चाहने अध्येताका लागि यो उठान बिन्दु बन्न पुगेको छ ।
नेपाली समाजमा युद्ध हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । युद्ध कुनै नेपालीको रहर होइन, बाध्यता हो । जब जब हाम्रो समाजमा बेथिति बढ्छ, तब तब युद्ध अवश्यम्भावी छ । यसरी हुने गरेका युद्ध र त्यसका बारेमा लेखिएको साहित्यको विवेचना हुनपर्छ भन्ने आग्रह नै यो कृतिको सबैभन्दा सबल पक्ष हो ।
‘नेपाली युद्धसाहित्य’को दुर्बल पक्ष
‘नेपाली युद्धसाहित्य’का लेखक विष्णु भण्डारी आफू स्वयम् माओवादी जनयुद्धमा विश्वास गर्ने र त्यसमै आफ्नो भविष्य देख्ने व्यक्ति हुन् । आफूले आस्था राखेको कुरामा लेख्दा पक्षधरता अवश्य आउन सक्छ, तर यो कृतिमा अलिक बढी नै आएको छनक देखिन्छ । उनले यसमा जनयुद्धको अनावश्यक देवत्वकरण गर्न खोजेका छन् । यसले सामान्य पाठकका आँखामा कृतिको वजन घटाएको छ । जनयुद्धलाई निरपेक्ष रूपमा नभई माओवादीका आँखाबाट सापेक्ष ढङ्गले गरिएको व्याख्या नै आम पाठकका कोणबाट यो कृतिको दुर्बल पक्ष साबित हुन पुगेको देखिन्छ ।
अलिकति जनयुद्ध र त्यससँग सम्बन्धित साहित्यका कुरा
नेपालको भूमिमा वि.सं. २०५२ देखि २०६३ सम्म चलेको माओवादी जनयुद्धका बारेमा अनभिज्ञ आजसम्म कोही नेपाली छैन । त्यसका पक्ष र विपक्षमा त्यति बेलादेखि यति बेलासम्म लेखिँदै आएको पनि छ । त्यसरी लेखिएका साहित्यका सामग्रीलाई लिएर ‘नेपाली युद्धसाहित्य’ले जनयुद्ध र त्यसका बारेमा नयाँ बहसको उठान गरेको छ । यसो गर्दा त्यस खालका समीक्षकका लागि खुराक बन्न पुगेको छ ।
नेपालमा जनयुद्ध सकिएको पनि दुई दशक पुग्न लाग्यो । अझै नेपाली जनताको स्तर सुध्रिएको छैन । आज आएर त्यो जनयुद्धको असर कस्तो देखिन्छ त ? के त्यो जनयुद्धले चाहेका कुरा यति बेला त्यसमा भाग लिएका सामान्य योद्धाले भोग्न पाएका छन् त ? त्यति बेला जनयुद्धविरोधी भनिएकाहरू यति बेला त्यो पार्टीमा कुन स्थानमा छन् ? तिनीहरूको यति बेलाको जीवनस्तर कस्तो छ ? यसका बारेमा युद्धपछिको साहित्यमा खोजिनु जरुरी छ कि छैन ? यस्ता प्रश्नका बारेमा भने यो कृति उदासीन देखिन्छ ।
जनयुद्धको सही समीक्षा किन भएन ?
हामी नेपालीहरू पूर्वीय वैचारिक चेतनाबाट प्रशिक्षित छौँ । हामी चाहे आफूलाई वामपन्थी भनौँ या गैरवामपन्थी हाम्रो चेतना ईश्वरवादी छ । आफूलाई मन परेकालाई देवता बनाएर पूजा गर्छौं भने आफूलाई मन नपरेकालाई राक्षस बनाएर घृणा गर्छौं । हामी मानवलाई मानवका रूपमा हेर्नै सक्दैनौँ । यो सन्दर्भ सबैभन्दा बढी नारीका सन्दर्भमा लागू हुन्छ । नारीलाई कि त देवी बनाएर पुज्छौँ कि त दासी बनाएर राख्छौँ । नारीलाई सामान्य नारीका रूपमा हेर्ने हाम्रो बानी नै छैन । यही अवस्था जनयुद्धलाई हेर्ने दृष्टिकोणमा पनि पाइन्छ । माओवादमा विश्वास गर्नेहरूले आज पनि त्यसको अनावश्यक देवत्करण गरिरहेका छन् । त्यसमा भएका कमीकमजोरीहरूका बारेमा एक शब्द सुन्नै चाहँदैनन् ।
त्यसको विपरीत माओवादमा विश्वास नगर्नेहरूले त्यसको अनावश्यक दानवीकरण गरी त्यसका खराबीहरू मात्र केलाउने गरेको पाइन्छ । तटस्थ भएर मूल्याङ्कन गरिएको छैन । अनावश्यक पक्षधरताका कारण यसको वास्तविक सौन्दर्य ओझेलमा परेको छ ।
‘नेपाली युद्धसाहित्य’ले उठाउन खोजेको बहस
अन्वेषक विष्णु भण्डारीले ‘नेपाली युद्धसाहित्य’मा नेपाली साहित्यको काल विभाजनका कुरा उठाएर राम्रै बहसको सिर्जना गरेका छन् । अहिलेसम्मको नेपाली साहित्यको कालविभाजन किन अपूर्ण छ ? भन्ने बहस उठाउनु यसको प्राप्ति हो । त्यस्तै युद्धसाहित्यलाई हेर्ने दृष्टिकोण बनाउनुपर्छ भन्ने मान्यता अघि सार्नु पनि यसको अर्को सफलता हो ।
लेखकले ‘नेपाली युद्धसाहित्य’ नामक ग्रन्थ लेख्नुको मुख्य ध्येय माओवादी जनयुद्धका बारेमा समीक्षात्मक बहस उठाउनु हो । यसमा लेखक पूर्णतः सफल छन् । तर यसमा लेखक जनयुद्धको पक्षमा दिलोज्यान दिएर लागि परेका कारण त्यसको वास्तविक सौन्दर्यको गहिराइमा पुग्न नसकेको कुरा भने कतै लुकेको छैन ।
अन्त्यमा, नेपालीमा लेखिएका युद्धसाहित्यको अध्ययन हुनपर्छ भन्ने उनको विचार माननीय छ । यति ठुलो अनुसन्धानमा युद्धसाहित्यलाई कसरी पहिचान गर्ने ? त्यसको विश्लेषण कसरी गर्ने ? आदिजस्ता प्रश्नको सहज उत्तर दिँदै युद्धसाहित्यको विश्लेषण गर्ने उपकरणहरू प्रस्तुत गर्न सकेको भए राम्रो हुन्थ्यो ।
जे होस्, यति लामो खोज र अनुसन्धान गरी विशद ग्रन्थ तयार पारेकोमा अन्वेषक विष्णु भण्डारीलाई मुरीमुरी बधाई भन्दै उनको यो कृतिको अपार सफलताको कामना गर्दछु ।