‘घाइते ह्विलचेयर’ मा भण्डारीको सपना

साभार : जन बिहानी : वर्ष १, अङ्क ५, माघ २०७८

अनिल शर्मा ‘विरही’

वर्गसङ्घर्ष र श्रमिक वर्गका कथा ब्यथालाई विषय बनाएर सिर्जित समकालीन कविताहरू दोहोर्याएर हेर्दै गर्दा माक्र्सवादी कवि, लेखक विष्णु भण्डारीको कविता सङ्ग्रह घाइते ह्विलचियरले तानेको छ । २०६९ मङ्सिरमा नै अध्ययन गरेर चिन्ह लगाएका कविताहरू दोहो¥याएर हेरें । अहिलेको समयमा ती कविताको झनै बढी महत्वबोध भएको छ र केही बोल्ने–लेख्ने उत्प्रेरणा मिलेको छ ।

कवि भण्डारीले आफ्नो प्राक्थनमा भनेझैँ कविता जीवन र जगतको पुनर्सिजन हो । जीवन र जगतको विभ्रम पुनर्सिजन पनि गर्न सकिएला । तर माक्र्सवादी संस्कृतिकर्र्मीहरूले भने जीवन र जगतको यथार्थिक पुनर्सिजन गर्छन् । जनयुद्धले हजारौं स्रष्टाहरूलाई निद्राबाट झकझकाएर उठाएको थियो । त्यही क्रममा भण्डारी पनि जनताको बलिदानबाट प्रेरित भएर अझ तिखारिएर लेख्न थाले । कविताकर्मको लागि उज्यालो र चौडा बाटो अझसम्म बनेकै छैन । कविताले अँध्यारो बाटोमा एक्लै यात्रा गर्नुपर्दो रहेछ । उसले मान्छेको हृदयसँग साक्षात्कार गर्दै हिँड्नुपर्छ । आफ्नै हृदयसँग बात मार्दै बाटो पहिल्याउँदै हिँडेका छन् कवि भण्डारी ।

कविता गल्लावालको तराजु होइन । यो मान्छेको सर्वाधिक नजिक हुन्छ र स्वयंसँग संवाद गर्छ । कविता झुठको खेती होइन, कविता छुचुन्द्राको ताँती पनि होइन । हृदयको भाषा बोल्दा वैयक्तिक रूपमा तत्काल केही प्राप्त नहुन सक्छ । होचीमिन्हका कविताहरूको चर्चा गर्दै भियतनामी लेखक फान न्हु आनले भनेका छन्, ‘मानिसको अन्तर्मनको सबैभन्दा नजिक रहन सक्ने चिज नै कविता हो । कविताले शायद कहिल्यै झुठ नबोल्ला अन्यथा त्यस्तो मान्छे कहिल्यै कवि हुन सक्दैन । के जरूरी छैन भने आफ्नो अन्तर्मनको उद्घाटनबाट कविलाई केही प्राच्य होस् ।’

यथार्थको सार्वजनिकीकरण गर्नु, हृदयको भाषा बोल्नु अरू निकै जोखिमपूर्ण छ । खतरा मोल्नु हुन्छ । सत्ताको गुणगान गाउनु र कविता लेख्नु फरक कुरा हो । कवि विष्णु भण्डारीले कमण्डलु थाप्ने संस्कृतिसँग जोरी खोजे । यो नै महत्वपूर्ण पक्ष हो । यो कविता सङ्ग्रहमा ४६ वटा कविताहरू सङ्ग्रहित छन् । तिनै कवितामध्ये एक कविताको शीर्षकलाई कृतिको शीर्षक वा कृतिको नामाकरण गरिएको छ । उनका सबैजसो कविताले देशप्रेम र श्रमिक वर्गको न्यायपूर्ण सङ्र्ष, वलिदान र प्रतिरोधको भावधारलाई सौन्दर्यकृत गरेका छन्न् । अघाएका मान्छेहरूले यी कवितालाई नारा भन्न सक्लान् । तर नारा शब्दमा होइन विचारमा हुन्छ । पक्षधरतामा हुन्छ राजा–महाराजाको स्तुतिगान सबैभन्दा ठुलो नारा हो । जनयुद्धका कतिपय पथिकहरू मालिकको बलेसीमा लम्पसार परिसकेका थिए । तर तिनले क्रान्तिको गीत गाउन छोडेका थिएनन् । त्यस्तो बेला नौरङ्गी विभ्रमका खेतीहरू भए । प्रश्न उठ्यो खराब आचरण र व्यवहार खराव चिन्तनकै परिणाम हुन् भन्ने स्पष्ट नै थियो । कविले खवरदारी गरे । ‘आस्थाको सगरमाथा’ कवितामा कवि नायकको कर्मप्रति शङ्का गरे, चिन्ता गरे । हेरौँ सोही कविताका केही पङ्क्ति–

‘रोपेर आशाको राजमार्गमा

विषका पोथ्राहरू

खुइल्याएर आस्थाको सगरमाथा

यो यात्रा कहाँ पुग्ला ?

निभाएर जल्दै गरेको आगो

मिसाएर फलाममा ढुङ्गाको घोल

कस्तो औजार बन्ला ?

कमरेड ! के भेटिएला र सपनाको सुन्दर बिहान

ढलाएर आस्थाको सगरमाथा ?’ (आस्थाको सगरमाथा, पृष्ठ २८)

जब नायकहरू बलिदानको अपहेलना गर्छन् र त्यसको अपराधबोधले ग्रस्त कुन्ठाग्रस्थ मनोविज्ञान अहङ्कारको रूपमा व्यक्त गर्न थाल्दछन् । जमिनदारको गोठालोले जतिसुकै अहङ्कार गरेपनि जमिनदारको भकारो सोर्ने त हो । नयाँ कारिन्दाले साहुजीको पुरानाले भन्दा बढी सेवा गर्न सक्लान् । ‘मुल्लाका दौड, मस्जिद तक’ हिन्दी भाषाको उखान चरितार्थ हुने त हो । हेरौँ त्यही भावको कवितांश–

‘जब ऊ समयभन्दा महान्

समयभन्दा उँचो

अथवा ब्रह्माण्डको सर्वश्रेष्ठ वस्तु भएको

अहङ्कारले

कालो अँगार बन्ने छ

समयले अरबी नश्लका

दमदार घोडामाथि सवार गराएर

उसलाई निस्फिक्री कुदाउने छ ।’ (समय र घोडाहरू, पृष्ठ ३४)

 पिंजडाको सुगा पनि फलामे तारहरू विरुद्ध लडिरहन्छ, ठुँगिरहन्छ  । श्रम र पुँजीको बीचमा अन्तरविरोध रहेसम्म प्रतिरोध भइरहने छ । यो जीवनको नियम हो । यस्तो सपना केवल सपना मात्र होइन । त्यसो त सपना देख्नु नयाँ यात्राको प्रारम्भ गर्नु पनि हो । ‘सपना देख्नु जीवनमा फेरि ताजकीपन ल्याउने अद्भुद साधन हो भन्ने मेरो ठम्याई छ ।’ निकोलाई ओस्त्रोभस्की भन्छन् । यो कविता सङ्ग्रह घाइते मनहरूसँगको मितेरी हो, संवाद हो र नयाँ सपनाको ब्याड पनि हो । हेरौं अर्को कवितांश–

कविराम ! निराश नहोऊ

रगतले भिजेका सुनसान सडकहरूमा

कायर स्यालहरू घुम्न सक्छन्

ओढेर क्रान्तिको रातो झन्डा

सहिदका पदचापहरू

हँुडारका छायाहरूले छोप्न सक्छन्

तर यो यथार्थ

सत्य होइन कविराम !

……………………..

कविराम ! नआत्तेऊ

आस्थाको रातो झन्डा

सहिदका सपनासँगै

माथि माथि फहराउला

आँसुले भिजेका चिसा रातहरूमा

रगतको आहालमा डुबेका मझेरीहरूमा

सुतेका आँखाहरू

फेरि एकाकार बन्ने छन्

तुफानी वायुसँगै

फेरि गतिमान् बन्ने छन्

यो सन्नाटा छाएको वर्तमान

सधैँ मृत्यु धुन सुसेल्ने छैन कविराम ! (कविराम, पृष्ठ ३७ र ३८)

उज्यालोका पथिकहरू जहाँ उज्यालो देख्छन् त्यतै मोडिन्छन् । साइबेरियादेखि कर्णाली, कोशी वा राप्तीका जल तरङ्सम्म आउजाउ गर्ने हजारांै माइलको यात्रामा राजहंसलाई कुन चक्षुले पथ–प्रदर्शन गर्दो हो । लहरा तथा विरुवाका मुनालाई घामतिर, उज्यालोतिर मोडिन कसले सिकायो । उज्यालोतिरको यात्रा जीवनको प्राकृतिक नियम हो । कवि त्यसतिरै प्रवृत्त छन् र उज्यालो ननिभेसम्म आफू उज्यालोकै पक्षमा उभिरहने आत्मस्वीकृति प्रकट गर्छन् । हेरौँ एउटा कवितांश–

‘मात्र तिमीले बालिरहू सङ्कल्पको प्रज्वल दियो

म जलेर अनन्त ज्योतिहरूमा

तिम्रै वक्षस्थलमा झुल्किने छु

बस् उँचो आस्था र दह्रो विश्वास

विजयको मेरुदण्ड हो

म यही माटोमा सधैँ सधैँ

पछ्याउने छु जीवनको नयाँ आमुख ।’ (विश्वास, पृष्ठ ४५)

पुँजीवाद नै युद्ध, अशान्ति र हिंसाको स्रोत हो । अर्काको श्रम र साधन लुट्न यो सबै गरिन्छ । तर पुँजीवादको वर्णशङ्कर पुस्ता दलाल पँजीवादको शान्तिर समृद्धिको गीत गाइरहेको छ । जीवन भोगाइमा भयङ्कर कोलाज प्रतिध्वनित भइरहेको छ । यो के हो ? वन कुञ्जमा शान्ति हुन्छ र मशानघाटमा पनि शान्ति हुन्छ । वन कुञ्जको शान्ति नदीको जल प्रवाह जस्तै अविछिन्न हुन्छ । चिहानको शान्ति सामुहिक छालको ‘उतार’ जस्तै क्षणिक हुन्छ । यी दुई शान्तिको फरक त्यही हो । उतार आफैमा सुनामीको भयङ्कर त्रासदी हो । शान्ति र हिंसाको द्वन्द्ववादलाई कविले सुन्दर ढाँचामा पस्किएका छन् र यति बोल्न साहस चाहिन्छ । हेरौ कवितांश–

‘यो मसानघाट

कहिले पिशाचहरू जागा हुन्छन् र धुम मचाउँछन्

कहिले रातको शून्यतामा

जिउदै गाडिएका मान्छेहरू बोल्न थाल्छन्

तर ऊ

चुपचाप चुपचाप र अविचलित बाचिरहेछ

शान्ति ! मूर्दा शान्ति !!’ (शान्ति, पृष्ठ ४६)

कवि शब्द र कर्ममार्फत् देशभक्तिको पैरवी गर्छन् । उनी सुगौली सन्धिमा पराजित धारा हुन् । उनी कोत पर्वमा पराजित देशभक्त धारा हुन् । अमरसिंह थापाले अङ्ग्रेजको नितम्ब नपाउने ‘नखरेबाज थिम्पु’ होइन मेरो देश । कवि भण्डारी भारतीय साम्राज्यवादलाई चुनौती दिन्छन् र शासकको नखरा मनोवृत्तिलाई घृणा गर्छन् हेरौं कवितांश–

‘के तिमीले भुल्यौ

सतलजका किनाराहरूमा

मेरा पुर्खाले साँध बाँधेको कुरा ?

के तिमीले बिस्र्यौ

गंगाका समथर मैदानहरूमा

अविजित झन्डा गाडेको कुरा ?

यो वीरताको निर्मलभूमि

भो, मलाई तिम्रो छाताको आवश्यता छैन ।’ (स्वाभिमान, पृष्ठ ५९)

कवि भण्डारी गुल्मीमा जन्मेर हुर्केर काठमाडौंलाई कर्मक्षेत्र बनाएका कवि हुन् । तर उनी कहिले महाकाली पुग्छन् त कहिले सुस्ता, सोमेश्वर अनि महेशपुर । इलामको उच्च शिखर श्री अन्तुमा चढेर उनी पशुपतिनगरमा गाडिएका बैरीका नङ्ग्रालाई दुत्कार्छन् । जहाँबाट हाम्रा पुर्खाले मेची र टिष्टाबिचको दुरी नापेका थिए । भूपी शेरचनले भनझैँ यो ‘हल्लै हल्लाको देश’ बनाइएको छ । अनुसन्धान, अध्ययन, खोज थोरै हुन्छ र हल्ला धेरै हुन्छ । पशुपतिनगर, महेशपुर, सुस्ता, कालापानीकै कहर छ चितवनको दक्षिणी चुरे पहाड शृङ्खलामा, तर देशभक्तिको आवाज पनि हल्लातिर मात्र मुखरित भएको देखिन्छ । तर कविले मसिने दृष्टिले चारैतिर हेर्छन् । उनलाई कालापानी जतिके दुख्छ श्री अन्तु डाँडापूर्वको पशुपतिनगर र सोमेश्वर । हेरौँ त्यस्तै प्रकारको एक कवितांश–

‘गहिरो घाउ छ छातीभित्र

दुख्छ चसक्क भित्र कतै

कहिले कोसीब्यारेज दुख्छ

कहिले सोमेश्वर पहाड दुख्छ

गण्डकी आँसुले नुहाएर

सुस्ता दुखेर बग्दै गर्दा

यो मनभित्रको आलो घाउ

फेरि श्रीअन्तुमा बल्झिएको छ ।’ (श्री अन्तु, पृष्ठ ६२)

हेपिएका, चेपिएका, ठगिएका र मानवीय प्रवृति भएका सबै मान्छेको सुन्दर र न्यायपूर्ण समवेत स्वर थियो । महान् जनयुद्ध प्रेम, जिम्मेवारीबोध र सिर्जनाको मुहान हो । तर सिस्नोको भ¥याङमा मातृत्व फालेर हिँड्ने अपवाद दुर्घटनाका खबर पनि त सुनिन्छ । थाक्न र बिक्न सक्दा रहेछन् नायक ठानिएकाहरू । नायक ठानिएकाले नै नायकत्व नलिएपछि विद्रोही मनहरू मुटु गाँठो पारेर निस्के । बजारले संस्थापन भन्ने गरेको भूत बंगलाबाट निस्के । हृदयभित्र बिद्रोहको रातो तातो लाभा बोकेर निस्के । कविले त्यसप्रकारको विद्रोहलाई लाभाको पूर्वाभ्यास ठान्छन् । हेरौँ त्यसप्रकारको यथार्थवोधी कविता–

‘चिसो मन लिएर फर्किएका छन्

स्वयम् आगो सल्काउने मनहरू ।

तर ती उध्र्वगामी चेतनाका वाहकहरू

समयको आह्वानसँगै

बोकेर अन्तरहृदयमा  तातो लाभा

फेरि फर्किने छन्

र सल्काउने छन्

सदियौँ पुरानो गजवार झिकेर

अन्धकार विरुद्धमा नयाँ मसाल ।

त्यो तप्त अग्निहोत्रमा

जल्ने छन् फोहरहरू

पग्लने छन्

समयको अविरल प्रवाहमा

उभिने टावरहरू ।’ (विद्रोही मनहरू, पृष्ठ ७९)

बाढीले नदी किनारमा हाडखोरह असरल्ल छोडेर गएझैँ युद्धले अथाह पीडाहरू छोडेर जाँदो रहेछ । अझ योद्धाले नहारेको युद्ध नालायहरूले छल गरेर हराएपछि त्यो अझ भयानक हुने भयो । कोठीवाल काकाले ‘बिरालाले कहिल्यै पनि मुसासँग मितेरी लगाउदैनन्’ भन्नुभएको थियो । बिरालोसँग मितेरीको आशा गरेका मुसाहरू बयानमा छैनन् । घाइते वेपत्ता, सहिद र योद्धाका सपना घाइते मन–तन बोकेर भौतारिरहेका छन् । कविता सङ्ग्रहको केन्द्रीय अभिव्यक्ति पनि यहिँनेर छ । यो नेपाली समाजको वर्गसङ्घर्षको मुख्य पाटो नै हो । यसलाई कवितांशमा हेरौँ–

‘ऊ को हो ?

तप्त मन लिएर गुड्ने त्यो घाइते

को हो ?

अहँ पत्थरिला चक्षुहरूले

चहार्दैनन् ऊभित्रको संवेदना

बेफुर्सदिला भएका छन् उसको आस्थाका बिम्बहरू

र बन्द छन्

उसको प्रवेशमा ढोकाहरू ।’ (घाइते ह्विलचेयर, ८९)

रुसी महासङ्घ अन्तर्गत दागिस्थानका कवि रसुल हमजातोवले आफ्नो संस्मारणत्मक कृति ‘मेरो दागिस्तान’मा अबुतालिवको मननयोग्य कथन उदृत गरेका छन् । अबुतालिव भन्छन्, ‘यदि तिमी अतीतमाथि बन्दुक सोझ्याउँछौ भने भविष्यले तिमीमाथि तोपले गोला बर्साउने छ ।’ हामी देखिरहेका छौँ अतीतको गोलाबारीको परिणाम । हामी देखिरहेका छौँ सिंहहरू हेर्दाहेर्दै स्यालमा स्खलित भएको । जनताको रगतले लेखिएको इतिहासमाथिको बेइमानीप्रति कवि जोडदार शब्दमा कटाक्ष गर्छन् । हेरौँ त्यसप्रकारका कवितामध्ये एउटा कवितांश–

‘समय फेरि घुम्छ

समयको फेरोसँगै निर्लज्ज खितखिताउँछ मृत्यु

मझेरिमा

रक्तमुछेल अनुजहरूको लासमा

जब निर्धक्क भन्किन थाल्छन् हरिया झिँगाहरू

उसले भुल्छ रूप माधुर्यको स्वप्नगङ्गा

र सुमसुम्याउँछ

खिया लागिसकेका बन्दुकहरू ।’ (बन्दुक, पृष्ठ १०२)

खाण्डकाव्य, मुक्तक, महाकाव्य हुँदै उपन्यासमा कलम चलाइरहेका कवि विष्णु भण्डारी माक्र्सवादी लेखन क्षेत्रका चम्किला तारा हुन् । भनिन्छ संसारमा कुनै पनि अनुसन्धान र निष्कर्षहरु पूर्ण र अन्तिम हुँदैनन् । विज्ञानको यो धारणा समालोचनाको सन्दर्भमा उत्तिकै सत्य हो । समाजको इच्छा, रुची, सरोकार अपेक्षा र चस्मा फरक–फरक हुन्छन् । जसको कारण निष्कर्ष र हेराइमा विविधता आउन सक्छ । त्यो कारण स्रष्टाहरू आत्तिनु पर्ने हुँदैन । यद्यपि यो आलेख कृतिको सम समालोचना होइन नै । कवि, लेखक भण्डारीबाट हाम्रो वर्गले अझै धेरै प्राप्त गर्न सकोस् हार्दिक शुभेच्छा !


  प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १३:२२