सुनको पहाड

सुनको पहाड समकालीन नेपाली राजनीतिको पृष्ठकथालाई सन्दर्भमा लिएर आजको यथार्थप्रति सचेष्ट गराउने आख्यान हो । वर्तमानको बिडम्बनाबोध गराउन उपन्यासले लोककथात्मक अधिकल्पनालाई शैलीका रूपमा अँगालेको छ । आफन्तजन बेपत्ता हुँदा उत्पन्न हुने मनोदशालाई उपन्यासमा मिहिन ढङ्गले चित्रण गरिएको छ । बेपत्ताको खोजी, पहिचानको मुद्दा, समुन्नत समाजको परिकल्पना र माओवादी आन्दोलनलाई उपन्यासमा बहुरेखीय कथा वाचनमार्फत् सँगसँगै आगाडि बढाइएको छ ।

बिम्बात्मक र अलङ्कारिक प्रस्तुतिले पाठकलाई उपन्यास पढ्दा कविताको स्वाद प्राप्त हुन्छ । ‘म्याजिक’ शैलीमा बुनिएको भाषा ‘काव्यिक’ त छँदैछ, दृश्यात्मक प्रस्तुतिले ‘सिनेम्याटिक’ अनुभूति दिन्छ । उपन्यासमा पसेपछि जादुयी परिवेशले पाठकलाई सम्मोहित पारिराख्छ । कल्पनालाई यथार्थ र यथार्थलाई जादुसँग जोडिएको यो उपन्यास नेपाली आख्यानमा नयाँ प्रयोग हो । यसले नेपालको पछिल्लो राजनीतिक क्रान्ति र क्रान्तिको परिणतितर्फ मात्रै आकृष्ट गराउने छैन, क्रान्तिकारी स्वप्नद्रष्टाहरूका उद्देश्य र प्रतिबद्धता पुनःस्मृतिमा ल्याइदिने ।

यस पुस्तकमाथि लेखिएका समीक्षा तल पढ्न सकिने छ


  प्रकाशित मिति : ३० पुष २०७९, शनिबार ०६:२१