सुनको पहाड :  अभिशप्त आस्थाको कथा

प्रा.डा. भीम खतिवडा

आख्यानकार विष्णु भण्डारीको नेपाली साहित्यमा दोस्रो औपन्यासिक  उपहार बनेर चर्चामा रहेको छ, ‘सुनको पहाड ।’ बहुमुखी स्रष्टा विष्णु भण्डारी प्रगतिवादी साहित्य लेखनमा सक्रिय नाम हो । उनको उत्सर्ग महाकाव्य, घाइते ह्लिलचेयर कवितासङ्ग्रह तथा पहेँलो घाम उपन्यासलगायत दसबटा कृति प्रकाशित भइसकेका छन् ।

काठमाडौंको मण्डला थिएटरमा बामनेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि एकराज भण्डारीले संयुक्त रूपमा सार्वजनिक गरेकै दिनदेखि पाठकहरूका माझमा निकै चर्चामा रहेको प्रस्तुत आख्यानकृति विषय, प्रस्तुति र सन्देशको नूतनताकै कारण अरूभन्दा भिन्न हुन पुगेको सत्य हो । सुनको पहाड रहस्यपूर्ण, अप्राप्त, अमूर्त तर कानकानमा फैलिएको भ्रमको पहाड हो । समृद्धिको ओली सपनामा पनि बेलाबेला उनकै विश्वस्त सहयात्री विष्णुहरूले ऐंठन पारिदिँदा अर्का विष्णुको सुनको पहाडको सपना आँखाभरि आउँछ । यो विश्वासको कोमामा राखिएको सुनौला सपनाहरूको पहाड हो, जहाँबाट उक्लेकाहरू सुनले पुरिएर पहेँलै छाया पहेँलै काया लिएर हिँडिरहेछन् भने त्यही सुनौलो सामाजिक मुक्तिको प्रतीक्षामा जीवन समर्पण गरिरहेका इमानी यात्रीहरूचाहिँ सपनामै पहेँले लागेर रुग्णप्रायः छन् । घाइते बनाएर आस्थाको यात्रा, जटिल मोडबाट माहुतेहरूले सुखको थकाइ मारेपछि सुरु भएको हो नुनको पहाड पग्लेजस्तै सुनको पहाडको तिलस्मी कथाको स्वस्थानी ।

सुनको पहाड : सपनाहरूको उत्खनन

उपन्यासले २०५२ बाट २०६२ सम्म मेचीकालीमा बगेको क्रान्तिकारीहरूका खुनका डोबहरू पहिल्याएको छ । जनयुद्धका क्रममा बेपत्ता योद्धाहरूका परिवारजनले भोग्नुपरेको पीडालाई यसको कथाव्यथाको डोरी बनाइएको छ । मलाई यस उपन्यासको सबल सन्दर्भ लेखकको कथाप्रस्तुतीको शैली हो भन्ने लागिरहेको छ । स्तरीय र कलात्मक भाषामा अघि बढेको कथा औत्सुक्यपूर्ण छ ।

ऊबेला प्रशंसाको चुलीमा पु¥याइएका र समयसँगै उपेक्षाको गहिरो खाडलमा पुर्न लगिएका जनयुद्धका घाइते, तिनका स्वजनहरू र सम्बद्ध सबैका मन छुने व्यथाहरूका प्रतिनिधि कथाहरूको कलमी अप्रेसन र सान्त्वना÷सम्मान हो भण्डारीकलाको यो नमुना । युद्धसाहित्यको नेपाली संस्करणका कलिला पदचापहरूलाई अविस्मारक बनाउने ल्याकत छ सुनको पहाडमा । दुई दशक अघि थालिएको हतियारवद्ध युद्धाभिघातको सकसलाई लेखनमा ससम्मान अमर बनाउने श्रेयस्कर कर्म हो यो । समकालीन नेपाली समाजको यथार्थलाई स्वैरकाल्पनिकताको प्रयोगसँगै पुराकथा र समयसत्यको कलात्मक संयोजनबाट प्रस्तुत गर्न उपन्यासकार सफल देखिएका छन् । उपन्यासमा चरित्रसंयोजन, वस्तुयोजन, प्रस्तुतीकरण तथा नारीपात्रको केन्द्रीयतामा औत्सुक्यको व्यवस्थापन गरेर स्वैरकाल्पनिक संसारबाट आख्यानको निर्माण गरेर पनि स्वभाविक रूपमा हामीले बिर्सदै गएको आम्रा आँट्टी र खाट्टी हूतात्माहरूको बलिदानको यथार्थ कथा सम्झाएका छन् आख्यानकारले ।

सुनको पहाड : विचारको कलावतार

‘उपन्यासमा कथाकथन तथा पात्रीकरणमा परम्पराप्रतीप ढङ्गढाँचा प्रयोग गरिएको छ । परम्परागत रूपमा त्याग र समर्पणको यात्रामा सामाजिक चेतना र जागरणका दृष्टिले अब्बल महिलाको भूमिका नेपाली उपन्यासको परम्परितभन्दा भिन्न र नवीन पक्ष हो । राजनीति र साहित्यबिच कुनै साइनु हुन्न र हुनुहँुदैन भन्ने मनुवाहरूका लागि प्रतिप्रश्नको पहाड बनेको छ सुनको पहाड । कलात्मकताले विचारलाई आत्मसात् गरेपछि मात्र सिर्जनाको मूल्य कायम रहन्छ भन्ने यथार्थलाई भण्डारीको कलमले स्पष्ट पारेको छ भन्दा चना दलेको आरोप लागे पनि लागोस् भन्छु ।

एउटा तितो यथार्थ के हो भने यहाँ हरेक पाठकले आफूलाई जनयुद्धके सङ्गिन पीडा अनुभव मात्र गर्दैन कि ऊ वास्तविक बेपत्ता जनयोद्धा वा बेपत्ता नागरिकको आफन्त हो भने त पाता पातामा उसले आफूलाई पाउनेछ आँसुआँसुका धारमा ‘सुनको पहाड’ चढिरहँदाका बखत ।

जनयुद्धका युद्धनायकहरू वा भनौँ युद्धसरदारहरू सिंहदरबारमा पसेसँगै आख्यानकार विष्णु भण्डारीहरूको सुनको पहाडको अभिशप्त यात्रा सुरु भएको हो । युद्धले सत्ताका कुर्सीको स्वाद दियो औँलाभरिका नेतालाई, युटोपिया भइदियो हतियाबन्द क्रन्तिका योद्धा र पीडित जनतालाई ।

भित्रका कुराको सङ्केत

यो कथासार लेख्ने समय र स्थान पनि होइन । पाठकको अधिकार म हनन गरूँ किन र ! अँ, यत्ति चाहिँ भन्छु, यो कथाव्यथा मुख्य र दृश्य पात्र कञ्चन र वरुण, सचिन अनि अदृश्य पात्र उपमा र अविरामहरूको मात्र हैन प्रतिकूल चरित्रका कर्णेल धीरजङ्ग, जर्नेल, जमदार, प्रताप र संवरहरूको पनि हो । विचारले लैस निर्दोष सहसी युवाहरूको नृशंस दमन र नारकीय यातनाले स्वयं सत्ताका मतियार बनेका जागिरे धीरजंगहरूलाई अपराधको प्रायश्चित गर्ने अवसरसम्म समयले दिँदोरहेनछ, तिनको विपना र सपना जीवनभरि नाङ्गिएपछि अपराधबोधका सिकार बनेका संवेदनशील पलहरूले ‘सुनको पहाड’ क्याबात बनेको छ, लाग्छ । यद्यपि हरेक आन्दोलन र अभियानप्रतिको सन्दृष्टि पनि सापेक्षतामा आधारित हुन्छ भन्ने कुराले प्रस्तुत उपन्यासको कथाविन्यास, प्रस्तुति, पात्रीय भूमिका र लेखनगत सन्देश आदि पक्षहरूमाथिका धारणा भिन्न पनि हुन सक्छन् । मेरो विवेक मेरा लागि उचित लाग्नु स्वभाविक छ नि !

पात्र र कथाहरू पूर्वदीप्तिकमा आएका छन् । पुराकथाका देश त्रिपुरा र किन्दोर छन् यहाँ र छ ‘गोल्डेनवार’ एउटा सुन्दर प्रतीक जनयुद्धको । ‘सुनको पहाड’ को थप सुन्दर पक्ष भनेको उज्यालोतिरको सचेत विश्वास हो । यद्यपि मृगमरीचिका अर्थात् मरुभूमिमा पानीपानीको भ्रमले तिर्खाएको मृग दगुरेरै मरेजस्तै अविश्वस्त र भ्रमको पर्याय बन्न पुग्यो जनयुद्ध नामको एक दशकको सशस्त्र र हिंसात्मक आन्दोलन । परिवर्तनका कतिपय प्रभावहरू नेपाली समाजलाई राजनीतिक र सांस्कृतिक रूपान्तरण गर्न सक्षम भए अवश्य, तर लक्षित विन्दु सुनकै पहाडवरिपरि छाडियो । सपनाहरू गिँडिए, श्रमका पसिनाका अनि रक्तपातपूर्ण युद्ध र वर्गीय बलिदान सार्थक हुन नपाई तुहियो सपना स्वार्थका सुम्लाहरूसँगै, भन्ने आशय जनयुद्धप्रति सकारात्मक चेतनाका पाठकका मनले स्पष्ट बुझ्छ यहाँ । क्रान्तिको अपूर्णताको सङ्केत गर्दै वैयक्तिक महत्वाकांक्षाका कारण नेपाली समाज र मुलुकले नै क्षति व्यहोर्नु परेको दुःखद पक्षतिर आख्यानकार भण्डारीको कलम सोझिएको छ, तर उनी हीनताबोधी बन्न उक्साउन्नन् यहाँ ।

मओवादी जनयुद्धको महायात्राको असमय पतन दृश्य मेघदूतको सत्तारोहण र सो निम्ति नरेशका महामहिमलाई क्रान्तिनायक मेघदूतस्वयंले काँधमा बोकेको दृश्यले कला हो कि यथार्थ छुट्याउनसमेत कठिन मान्छ पाठकको मन । सुनको पहाड यो पीडादायी स्वस्थानीको कथा विष्णुपथको काल्पनिक अवतार हो कि प्रचण्डपथको प्रतीपात्मक यथार्थ वृत्ति हो, पाठकहरूलाई कुनै गाह्रो छैन छुट्याउनलाई ।

वास्तवमा जनयुद्ध र यसको पूर्वस्मृतिबिम्बको सत्यापन हो कञ्चनहरूको सपनाको पहाडको कथा अर्थात् मृगमरीचिका । नयाँ मुलुकको परिदृश्य र समाजवादी समाजको उन्नत रूप साम्यवादको सुन्दर प्रारूप, जुन कञ्चन र सचिनको सुरुङयात्राम आएको छ, वास्तवमा एउटा समाजवादी लेखकको सपना र आस्थाको टुङ्गो त्यही हो ।

यसो भएको भए

एउटा पाठकको दृष्टिले मैले सुनको पहाडमा अक्षरको विचरण गरेको हुँ । दोहो¥याएर पढिसक्दा मभित्र ससाना असन्तोषबाहेक अरू खासै केही आएनन् दोषदर्शनमा । गुनासाहरू पनि नरम खालकै  जम्मा भए, जस्तो कि ः कमसे कम कथाहरूको महाकथा यतिसारै भद्द नहुनुपथ्र्यो । कथा शीर्षकहरूको विषयसूचिसम्म दिँदा सचेत पाठक कथाको सुरुङमा पस्न अझ सजिलो मान्थ्यो । कतिपय ठाउँमा अनावश्यक रूपमा कथालाई रबर नबनाइदिनुपथ्र्यो । भाषाको बहाव र प्रभाव कलात्मक हुँदाहुँदै पनि शब्द, पदावली र वाक्यहरूमा मानक प्रयोग र वर्णविन्यासको एकरूपता तथा सरूपताका लागि अझै भाषासम्पादनमा होसियारी अपनाइदिएको भए हुन्थ्यो ।

माक्र्सवादी सौन्दर्यशास्त्रीय धरातलको सुनको पहाडको प्रतीकात्मक क्रान्तिपतन इतिहासमा कतिपय सन्दर्भहरू अविश्वसनीय र अतिरञ्जनापूर्ण छन् । पुराकथा इतिहासकै गोहो हो, तर अविश्वस्त, उडन्ते र भूतात्माधारित सत्योक्ति आवृत्त देखिन्छ ।

, अन्त्यमा

समग्रमा उपन्यासकार विष्णु भण्डारी कथाग्रथन तथा कथाकथनको नवीन शैलीले पूर्वोक्त दोषहरू निम्छरा बनेका छन् । पहेँलो घामबाट उदाएका भण्डारीलाई पहेँलो फापोस आख्यानमा  । सुनौलो सपनाको उनको आस्थालाई सलाम छ । फिनिक्स बुक्सले प्रकाशन गरेको तीन सय पन्चानब्बे रूपैयाँ मूल्य तोकिएको तीनसय पृष्ठको ‘सुनको पहाड’ मा कुनै पनि सचेत पाठकले पैसा खेर गएको मान्दैन भन्ने मेरो विश्वास छ ।

(कोशीपत्र, शुक्रवार, १६ फागुन, २०७६)


  प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार ०८:०१