‘केही साथी मसँग धेरै खुसी छैनन्’

(चालिसको दशकदेखि काव्य साधनामा लागिरहेका विष्णु भण्डारीको पहिलो उपन्यास ‘पहेँलो घाम’ एक विद्रोही लडाकु महिलालाई केन्द्रमा राखेर लेखिएको अयोग्य छापामारहरूको कथा हो । राज्य–माओवादीबिचको सशस्त्र युद्ध, लडाकुको सङ्घर्ष र बलिदानी अनि शान्ति प्रक्रियापछि कमजोर बन्दै गएको पार्टी–आन्दोलनलाई उनले खोतल्ने प्रयास गरेका छन् । उपन्यासमा केन्द्रित भई लेखकसँग फणीन्द्र संगमले गरेको संवाद)

लामो समयदेखि प्रगतिवादी साहित्य लेखनमा लागिरहेको लेखकलाई ‘रातो घाम’ लेख्न पो मोह हुनुपर्ने, तपाईंले त ‘पहेँलो घाम’ लेखिदिनुभयो है ।

आशाउन्मुख लेखन हो प्रगतिवादी लेखन । कविता या आख्यान लेखिरहँदा तत्कालीन यथार्थको नजिक रहेर लेखे मात्र त्यो सामयिक हुन्छ । माओवादी आन्दोलन विचलनको अवस्थामा देखिन्छ । यही कारण जनयुद्धका बेला घरबार त्यागेर लागेका कतिपय कार्यकर्तालाई ‘अयोग्य’को बिल्ला भिराइयो, कति पलायन भए । ठुलो सपना बोकेर लडे पनि राज्य तथा पार्टीकै नेताहरूले बेवास्ता गरे । सुरुमा जनयुद्धको राप र ताप ऊर्जाशील भए पनि विस्तारै त्यो पहेँलो घामझैँ निस्तेज बन्न पुग्यो । माओवादी आन्दोलन नै पहेँलो घामको अवस्थामा पुगेकाले उपन्यासको नाम नै त्यही रह्यो ।

मूल पात्र शिवा र अन्य अयोग्य लडाकु पात्रहरूमा चरम निराशा र पलायनवादी सोच देखिन्छ । तपाईंले अघि नै भन्नुभयो– माओवादी आन्दोलन र नेतृत्व विचलनतिर गइसक्यो । तत्कालीन माओवादीले थालेको दश वर्षे सशस्त्र युद्ध बेकार थियो भन्न खोज्नुभएको हो ?

जनयुद्ध नभएको भए गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, महिला, मधेसी, दलितका हक अधिकार यति चाँडै प्राप्त हुने नै थिएन । त्यसबेला केही नमारिनुपर्ने मान्छे मारिए, नगरिनुपर्ने काम भए, त्यो छुट्टै विषय हो । शान्ति प्रक्रियापछि माओवादी ठुलो पार्टी भए पनि समाज रूपान्तरणको अहम् मुद्धालाई उसले बिचमै छाडिदियो । सामाजिक, सांस्कृतिक, आर्थिक नेतृत्व लिनुपथ्र्यो, त्यसमा ऊ चुक्यो । नेतृत्वमा मात्र होइन कार्यकर्तामा पनि गलत प्रवृत्ति देखाप¥यो । सुरुका दिनमा जुन एजेन्डा लिएर जनयुद्ध हाँकिएको थियो, समयक्रममा ती मुद्दा छोडिनुले आम कार्यकर्ता र युद्ध मोर्चामा लडेका लडाकुहरूको मनस्थितिमा ठुलो प्रहार भयो । ती कुरा नै उपन्यासमा आएका छन् ।

माओवादीकै भाषामा ‘महान् जनक्रान्ति’ भनेर थालिएको सशस्त्र युद्धभित्रका आर्थिक अपचलन, विभेद, शोषण, यौनका कुरालाई उजागार गरेर जनयुद्धको मर्ममाथि नै बेवास्ता गरेको तपाईंमाथि आरोप छ, के भन्नुहुन्छ ?

उपन्यास छाप्नुअघि पनि मलाई लागेको थियो– यो कुरा पक्कै उठ्ने छ । हामीकहाँ प्रगतिवादी साहित्य आलोचनात्मक तवरले लेखिएको छैन । यथास्थितिविरुद्धको लेखन नै प्रगतिशील हुने भए पनि हाम्रो लेखनमा केही समस्या छन् । मैले यहाँ उठाएको कमजोरी कुनै अमुक पार्टी वा व्यक्तिविशेष मात्रको होइन, सम्पूर्ण प्रवृत्तिमाथिको आलोचना हो । करिब सत्र हजारको बलिदानपछि पनि नेता, कार्यकर्ताहरू यति छिटो विचलनमा जानु भनेको नेपालको वामपन्थी आन्दोलनका लागि ठुलो धक्का हो । हामीले नै नलेखे अवस्था झनै खराब भएर जाने भयो नि त । क्यान्टोनमेन्टको हरहिसाबको कुरा आउन्, त्यहाँबाट निकालिएका लडाकुका गुनासा आउन् भनेरै जोखिम मोलेको हुँ । यसैलाई जोडेर आरोप र टिप्पणी आई नै रहेका छन् । मलाई लाग्छ– केही साथी मसँग धेरै खुसी छैनन् ।

राज्य–माओवादी युद्धको पेरिफेरीमा यसअघि धेरै आख्यान, संस्मरण, अनुभूतिहरू लेखिए । तपाईं आफू वामपन्थी विचारधारामा रहेर लेखिरहेको लेखकले कसरी निस्पक्ष लेख्न सक्ला र !

द्वन्द्व–साहित्य फरक–फरक तरिकाले लेखिएकै छन् । तर, ती साहित्य पूर्वाग्रहविहीन भने छैनन् । कि ‘महान् जनयुद्ध’ भनेर पक्षमा लेखियो कि त पूरापूर गलत भनेर । दुई अतिका बिच लेखिएका ती साहित्यमा आलोचनात्मक लेखन छैन । यसमा मैले अलि परै बसेर मूलतः अयोग्य भइसकेपछि लडाकुले भोगेको पीडालाई लेखेको छु । हो, म एउटा वैचारिक–राजनीतिक धरातलमा रहेर लेखिरहेको छु, तर उपन्यासमा कुनै पूर्वाग्रह छैन । नडगमगाइकन लेखेको छु भनेर म दाबी गर्न सक्छु ।

पत्रकार : फणीन्द्र संगम

द्वन्द्वको पृष्ठभूमि र अयोग्य लडाकुको पीडासँगै मूल पात्र शिवा र युवक सोहनको प्रेम सम्बन्धलाई पनि घुसाउनुभएको छ । द्वन्द्व–कथा लेखिरहँदा त्यसमा प्रेम मिसाउनु कति आवश्यक छ ?

समाज, राजनीति र प्रेमको त्रिकोणात्मक सम्बन्धको कथामा बुनिएको उपन्यास हो ‘पहेँलो घाम ।’ मैले युुद्धमा आधारित महाकाव्य लेख्दा पनि त्यहाँ प्रेम मिसाएँ । विचार मात्र धाराप्रवाह लेखियो भने त्यो जटिल बन्छ । मैले मूल पात्र नै २२/२४ वर्षको चयन गरेँ, त्यहाँ प्रेमको कुरा त आइहाल्ने भयो । उसको उमेर, सोच र चाहनाका कुरालाई बुझेर मैले जानीजानी प्रेमलाई घुसाएको हुँ । प्रस्तावनामै लेखेको छु, जहाँ उपन्याको पाण्डुलिपी पढेपछि शिवा भन्छे, ‘अयोग्य छापामारको कथा भनेको त लभस्टोरी पो भएछ ।’

उपन्यासको आरम्भ खण्डतिर विद्रोही र सहसी देखिने शिवा सोहनको प्रेम सम्बन्धमा गाँसिएपछि कमजोर बन्दै गएकी छे । एउटी आँटिली विद्रोही लडाकु कसरी एकाएक निरीह बन्न पुगी ? उसको कठोरता कोमलतामा बदलिन प्रेम कारक बनेको हो ?

उपन्यास पढ्दै जाँदा प्रेमले त्यस्तो बनाएको हो कि भन्ने पाठकलाई लाग्न सक्ला । तर, प्रेमले त अझ उत्साहित र दृढनिश्चयी पो बनाउँछ । जनयुद्धको महानता स्वीकार गरिसकेकी शिवामा अयोग्य भएर निकालिएदेखि नै निराशा सुरु भएको छ । क्यान्टोनमेन्टबाट बाहिरिएसँगै ऊ दीनहीन अवस्थामा देखिन्छे । यात्रा अन्धकारतिर मोडिएको छ । युद्ध लडेका बेला उसमा भविष्य नै पार्टी र क्रान्ति भन्ने थियो । दुबैबाट अलग भएपछि निराशा, उदासीनता र कमजोरी देखिनु स्वभाविकै हो ।

कम्युनिष्टहरू कम्युन अवधारणा अनुरूप सामूहिकतामा विश्वास गर्छन् । राजनीतिमा गुट र फुटको शृङ्खलाले त्यस्तो देखिन्न । प्रगतिशील लेखकहरूमा चाहिँ यसले कत्तिको प्रभाव पार्दो रहेछ ?

अवश्य प्रभाव पार्छ । समाजमा यस्तै अवस्था देखेर मैले २०६९ मा ‘घाइते ह्विलचेयर’ कवितासङ्ग्रह निकालेँ । फुट प्रवृत्तिको विरोधमा कविता लेख्दा केही साथीले आलोचना गरे । तपाईंले भन्नुभएझैँ प्रभाव त पर्छ नै तर त्यस्ता विषयलाई लेखकले कसरी लिने ? पार्टी घेराभन्दा लेखक माथि उठ्यो भने त्यस्ता प्रवृत्ति चिरेर सिर्जनशील साहित्य लेख्न सक्ला नत्र त लेखनमा पार्टीको पक्षधरता देखा परिहाल्छ । देखिएको पनि छ ।

(नागरिक, शुक्रवार : १० पुस, २०७२, पृ. ७)


  प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १९:०३