कविता संसारलाई कवितामय बनाउने अभियान हो

(विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन विषयमा ध्रुवराज ढकालले गरेको शोधपत्रका लागि शोधकर्ताद्वारा लिएको अन्तर्वार्ता)

तपाईंको जन्म कहाँ र कस्तो परिवारमा भयो ?

मेरो जन्म गुल्मी जिल्लाको धुर्कोट, वस्तु गाविस वडा नं. ४ मा सामान्य परिवारमा भयो ।

तपाईंको शिक्षादिक्षाका बारेमा बताइदिनुहोस् न ।

मैले एस.एल.सि. सम्मको शिक्षा आफ्नै गाउँमा रहेको हिमालय माध्यमिक विद्यालयबाट प्राप्त गरेँ । उच्च शिक्षााका लागि बुटबल बहुमुखि क्यामसमा विज्ञान शङ्कायतर्फ भर्णा भएँ । तर विविध कारणले पढाइलाई  बिचमै छोड्नुप¥यो । पछि काठमाडौंको रत्नराज्य क्याम्पसमा भर्णा भएता पनि प्राइभेट तर्फबाट सर्टिफिकेट लेवल पास गरेँ । रत्नराज्यमै व्याचलरमा पढ्न सुरु गरेता पनि पढाइलाई निरन्तरता दिन सकिनँ ।

तपाईंले प्रेरणा पाएका साहित्यकारहरूमध्ये कोसँग राम्रो चिनजान थियो ?

मैले विद्यालयमा पढ्दै गर्दा प्राप्त साहित्य पढेर प्रेरणा पाएका साहित्यकारहरूमध्ये भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, म्याक्सिम गोर्की, मोदनाथ प्रश्रित, पारिजातमध्ये काठमाडौं आएपछि पारिजात दिदीसँग राम्रो चिनजान र अलि पछि मोदनाथ प्रश्रितसँग भेट भयो ।

साहित्यमा तपाईंले कुन कुन नामले लेख्ने गर्नुभएको छ ?

साहित्यमा मैले यायावर, एस.वी. विवेक र विष्णु भण्डारीका नामले र सांस्कृतिक लेख रचनामा शैलवी नामले लेख्ने गरेको छु ।

साहित्य लेखनमा परिवारको सहयोग कस्तो रहेको छ ?

विवाह गरेदेखि आजसम्म निरन्तर १७/१८ घन्टा कडा श्रम गरेर पनि न्यानो माया र लेख्न सहयोग मात्र होइन घचघचाइरहने मेरी जस्ती जीवनसाथी कमैका हुन्छन् ।

तपाईंलाई मन पर्ने विधा के हो ?

मलाई सबैभन्दा बढी मन पर्ने कविता विधा हो ।

कविता लेखनको बलियो पक्ष के हो जस्तो लाग्छ ?

कला र विचार दुबै उत्तिकै सशक्त पक्ष हुन् जस्तो लाग्छ ।

माक्र्सवादी लेखनको दरिलो पक्ष के हो ?

माक्र्सवादी लेखनको महत्वपूर्ण तत्व भनेको विचार नै हो । चेतनाका विभिन्न रूपमध्ये कला साहित्यले समाज रूपान्तरण प्रक्रियामा मान्छेहरूमा भावनात्मक उद्वेलन पैदा गरी कुरूपताप्रति घृणा पैदा गराइदिन्छ । समाजको केन्द्रीय आवश्यकतालाई उजागर गर्छ र मानव उपयोगी सुन्दर अन्तरवस्तुको माध्यमद्वारा मान्छेमा रूपान्तरणकारी चेतना अभिवृद्धि गर्छ । साथै प्रगतिवादी कला साहित्यले मान्छेलाई सुसंस्कृत, उच्च विचारयुक्त र नैतिकवान बनाई अधिक मानवीय र संवेदनशील हुन समेत प्रेरित गर्छ । यसरी सिङ्गो मानव सभ्यतालाई प्रभावित गर्न सक्ने कला साहित्यमा विचार पक्ष कमजोर भयो र रूप पक्ष मात्र सवल भयो भने त्यस्तो कला साहित्य कलावादमा फस्न पुग्छ र त्यसले आफ्नो भूमिका निभाउन सक्दैन । त्यसकारण माक्र्सवादी लेखनको मुख्य पक्ष भनेको विचार नै हो ।

प्रगतिवादी लेखन कत्तिको जटिल छ र किन ?

स्वच्छन्दतावादी, यथार्थवादी, यौनवादी अथवा यस्तैयस्तै कुनै वाद वा दर्शनबाट नबाँधिइकन लेखिने साहित्य सिर्जना गर्नुभन्दा  खास विचार वा दर्शनबाट निर्देशित भएर लेखिने साहित्य सिर्जना गर्ने काम निश्चय पनि जटिल हुन्छ नै । प्रगतिवादी साहित्य समाजवादी यथर्थवादी साहित्य भएकोले यसका आफ्नै मूल्य मान्यता र दृष्टिकोण छन् । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण नबुझ्नेले अथवा माक्र्सवाद नबुझ्नेले प्रगतिवाद बुझ्दैन । माक्र्सवाद बुझ्नका लागि सिङ्गै दर्शनशास्त्र, समाजशास्त्र, मानवशास्त्र, अर्थशास्त्र, इतिहास, राजनीति र समकालीन विश्वलाई बुझ्नुपर्छ । यस अर्थमा प्रगतिवादी साहित्य सिर्जना गर्ने भनेको सामान्य कुुरो होइन ।

प्रगतिवादी लेखनको मुख्य केन्द्रविन्दु के हो ?

प्रगतिवादी लेखनको मुख्य उद्देश्य समाज रूपान्तरण हो । जनताका लागि त्यसमा पनि श्रमशील जनताका लागि लेखिने भएकोले यस्को केन्द्रविन्दु भनेको जनता र समाज नै हो । असल र सुसंस्कृत मान्छेहरू भएको समतामूलक संसारको निर्माण गर्ने उद्देश्य भएकोले पनि आम शोषित वर्गको उन्मुक्ति र आशावाद यसका आधारभूत पक्ष हुन् ।

प्रगतिवादी लेखनमै किन जुट्नु भो ?

सानैदेखि गरिवी, अन्याय, अत्याचारमा पिल्सिनु परेकोले समाजका ठुला ठालु, साहु महाजन, जिम्माल मुखिया र फटाहासँग घृणा छँदै थियो । अलि बुझ्ने भएपछि आफ्ना छरछिमेक, नातागोता र पढाउने गुरुहरूको संसर्ग र संगतले म बिस्तारै वामपन्थी राजनीतितिर आकर्षित भएँ । सानैमा विदेशिनु परेको, हेपिनु र तिरस्कृत हुनुको पीडाबाट उन्मुक्ति खोज्ने क्रममा  सायद यही राजनीतिले मलाई प्रगतिवादी लेखनतिर डो¥यायो ।

कविता लेख्नुको मुख्य उद्देश्य के हो जस्तो लाग्छ ?

सिर्जना भनेको समाजमा घट्ने यावत घटना र मान्छेभित्रको अन्तरविरोधले मनभित्र पैदा हुने दुख, सुख, हाँसो, आँसु, पीडा, हर्ष, विस्मात, जस्ता भाव व्यक्त गर्ने माध्यम हो जस्तो लाग्छ मलाई । सुरुमा आफूलाई अरूभन्दा अलग्गै देखाउन वा कुनै वस्तुप्रतिको राग, आकर्षण वा घृणाभाव व्यक्त गर्न कला सिर्जना गरिन्छ होला । तर लेख्दै र सिर्जना गर्दै जाँदा बिस्तारै परिपक्वता र सोद्देश्य पनि सँगसँगै आउँछ । सहित्यका सबै विधामध्ये कविता मान्छेभित्रका भावना, उद्वेलन र संवेदनाको उच्छलन व्यक्त गर्ने सबैभन्दा उत्तम विधा हो । यसमा भावनाको अधिक्यता हुन्छ । बिम्ब र प्रतिकद्वारा संसारलाई हँसाउन र रुवाउन सक्ने शक्ति हुन्छ । त्यसैले त हजारौँले कविता लेखे पनि असाध्यै कम मात्र असल कविमा दरिन्छन् । कविता लेख्नका लागि कविले सबैतिर कविता देख्नुपर्छ र साँच्चिकै कवितामय बन्न सक्नुपर्छ ऊ । लोभी पापी कवि बन्न सक्दैनन् । सत्यम्, शिवम् र सुन्दरम्को भावलाई ग्रहण गर्न नसक्नेहरू आउँछन् केही लेख्छन् र हराउँछन् । यसकारण मेरो विचारमा कविता लेख्नुको उद्देश्य संसारलाई कवितामय बनाउने अभियान हो ।

राजनीति र साहित्यबिच अन्तरसम्बन्ध हुन्छ कि हुँदैन ? सम्बन्ध हुन्छ भने किन र हुनुहुँदैन भने किन हुनुहुँदैन ?

राजनीति र साहित्यबिच अन्तर सम्बन्ध हुन्छ । हुनत धेरैजसो लेखक साहित्यकारहरूले राजनीतिबाट साहित्य अलग्गै हुनुपर्छ भन्ने पनि गरेको पाइन्छ । तर त्यसो भनिए पनि साहित्य खासमा राजनीतिकै वरिपरि घुमेको हुन्छ । समाजको परिवर्तन, समाजका अन्तरविरोधको हल राजनीतिले नै गर्छ । चाहे अर्थनीति होस वा सामाजिक सांस्कृतिक सबै मुद्दाहरू राजनीतिकै कमाण्डमा हुने भएकोले  राजनीतिबेगरको साहित्य फोस्रो गफ हुन जान्छ । तर चाहे विचार होस् वा राजनीतिक विषय होस् साहित्यमा आउँदा कलासँग अन्तरघुलित भएर आउनुपर्छ नकि नाराको रूपमा ।

सोधकर्ता : ध्रुवराज ढकाल

तपाईंले राजनीतिक विषयवस्तुमा आधारित साहित्य सिर्जना गर्नुको उद्धेश्य के हो ?

समकालीन समस्या भनेका गरिबी, उत्पीडन, हत्या, हिंसा, महङ्गी, भ्रष्टाचार, बेथिति, अकर्मण्यता, आदि हुन् । राष्ट्रिय मुद्दा भनेका अग्रगमन, विकास, राज्यको पुनसंरचना, सङ्घीयता, गणतन्त्र, आदि हुन् । यी सबै विषय भनेका राजनीतिसँग सम्बन्धित छन् । साहित्य भनेको समाजको प्रतिबिम्बन र पुनर्सिजन भएकोले साहित्यमा राजनीति केन्द्रीय बिषय भएर आउँछ । सबै विषय राजनीतिकै वरिपरि घुमेका छन् भने के साहित्यकारले राजनीतिबाट अलग्गै र शुद्ध कुराको कल्पना गर्न सक्छ ? एउटा इमान्दार साहित्यकारको कर्तव्य भनेको तत्कालीन समस्या, अन्तरविरोध र मुुद्दाहरूलाई कलाको माध्यमबाट उजिल्याउनु हो । मैले त्यही धर्म निभाएको हुँ ।

अहिलेसम्म सरकारी पक्षबाट सम्मान र सहयोग पाउनुभएको छ ?

सरकारी अथवा गैरसरकारी पक्षबाट पाइने सम्मान र सहयोगको पछि नलाग्ने लेखक हुँ म । सायद त्यसैले होला अहिलेसम्म यस्ता सहयोग र सम्मानबाट बिटुलिने सौभाग्य पाएको छैन ।

वर्तमान समयमा साहित्यको कुन विधामा कलम चलाइरहनुभएको छ ?

अहिलेसम्म कविता बाहेक केही फुटकर संस्मरण, कथा र सांस्कृतिक लेख लेखेको छु ।  तर मेरो अहिलेसम्मको लेखनको मुख्य विधा भनेको कविता नै हो ।

कविताभन्दा अरू विधामा कलम नचलाउनुको खास कारण के हो ?

सानैदेखि कविता लेख्ने गरेको हुनाले पनि कविता नै मेरो मुख्य विधा बनेर आयो । फेरि कवितामा जस्तो मनभित्रका उद्वेलन, भावना र पीडा बिम्बको माध्यमबाट व्यक्त गर्न अरू विधामा सहज नहुने भएकोले पनि यही विधा नै बढी प्रिय भयो । पहाड रोएको, जून हाँसेको र मान्छेले समयसँग पैठेजोरी खेलेको कुरा कविले मात्र अनुभूत गर्न र व्यक्त गर्न सक्छ । सायद साहित्यका अन्य विधामा मैले यति गहिरोसँग समय, मान्छे र समाजसँग अन्तरघुलन हुन सक्दिनँ जस्तो लागेर पनि अरू विधामा कलम चलाउन नखोजेको हुँ ।

छिट्टै प्रकाशनमा आउने कृतिहरू के के हुन् ?

एउटालामा कविताहरूको सङ्ग्रह  तयार भएको छ । अर्को सालसम्म एउटा उपन्यास तयार हुन्छ होला ।

नेपाली साहित्यलाई विकास गर्न के गर्नु पर्ला ?

विश्वका धेरै भाषा साहित्य हाम्रो भाषा साहित्यभन्दा धेरै विकसित र उन्नत छन् । हामी विकासका हरेका सूचकाङ्कमा अरूभन्दा धेरै पछि परेकोले कला साहित्यमा पनि धेरै पछि छौँ । त्यसकारण सामाजिक, आर्थिक र सांस्कृतिक विकासका साथसाथै नेपाली साहित्यको विकासका लागि हामी सबै गुटगत मानसिकता छोडेर, विचार र वादका तगारा भत्काएर  एकतावद्ध भै लाग्नुपर्छ । यसका लागि पहिले त सांस्कृतिक नीति, भाषा नीति र दीर्घकालीन योजना बनाउनुपर्छ । नेपाली भाषालाई शिक्षाका सबै तहमा अनिवार्य बनाइनुपर्छ, विद्यालय, सङ्घ सस्था, सरकारी कार्यालय र सम्पूण गाविसमा पुस्तकालयको व्यवस्था गर्नुपर्छ । लेखक र साहित्यकारलाई राज्यबाट प्रोत्साहन र सहयोग हुनुपर्छ ।

तपाईंका तिन कृति प्रकाशन भएपछि लामो समय साहित्य यात्राबाट ओझेल पर्नाको कारण के होला?

विद्यार्थी राजनीति गर्दा सरकारी नोकरी छोडें पढाइ बिगारेँ तर जब बहुदल आयो टाठाबाठा र लोभीपापीहरू माथि पुगे हामी कवि, लेखक भनाउँदाहरू जहीँको तहीँ रह्यौँ । त्यसपछि के  गर्ने त ? जानेको सानैदेखि व्यापार थियो । असफल व्यापारीको छोरो लागेँ व्यापारतिर ।

तपाईले केको व्यापार गनुहुन्थ्यो र गर्दै हुनुहुन्छ ?

पोस्टरको व्यापारबाट सुरु गरेको मेरो व्यापारिक यात्रा अहिले किराना पसलमा आएर अडिएको छ । अहिले त म सहयोगीका रूपमा मात्रै छु, सबै काम र जिम्मा श्रीमतीले उठाएकी छिन् ।

राजनीति पनि गर्नुहुन्छ साहित्य पनि सिर्जना गर्नुहुन्छ । तपाईंलाई कसरी चिन्ने ? सहित्यकार कि नेता ?

अहिलेलाई परिचयविहीन विष्णु भण्डारी । साहित्यकार बन्ने दौडमा दौडिदै गरेको एक सङ्घर्षशील व्यक्ति ।

 (विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन : असोज, २०७०, शोधपत्रः ध्रुवराज ढकाल पृ. ११५)                    


  प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार १५:३१