विष्णु भण्डारी
नेपाली आवाज साप्ताहिक (पहिलो अन्तर्वार्ता)
तपाईं हाल के गरिरहनुभएको छ ?
सांगठनिक रूपमा म अहिले अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा आबद्ध छु । संगठनमा भएकोेले बढी समय पार्टी काममा लाग्नुपर्छ । यसको अर्थ म पार्टीको मात्र काम गर्दिनँ, पार्टीको कामसँगै सिर्जनात्मक काममा पनि क्रियाशील छु ।
तपाईंले कहिलेदेखि कविता लेख्न सुरुआत गर्नुभयो ?
मैले २०३७ सालदेखि कविता लेख्न सुरु गरेँ ।
तपाईंलाई प्रगतिवादी कविता लेख्न के कुराले प्रेरित गर्यो ?
सानैदेखि शोषित र गरिब बनेर बाँच्नु परेकोले होला, म सानैदेखि कम्युनिष्ट विचारसँग नजिक भएँ । यही विचारसँगको प्रतिवद्धताले नै मलाई प्रगतिवादी कविता लेख्न प्रेरित ग¥यो ।
तपाईंले हालसम्म कति कविता लेख्नुभयो होला ?
मैले हालसम्म एउटा मुक्तक सङ्ग्रह, दुईवटा खण्डकाव्य र एउटा कविता सङ्ग्रह प्रकाशित गरिसकेको छु । प्रकाशनयोग्य तीनवटा कविता सङ्ग्रह र एउटा महाकाव्य तयारी अवस्थामा छन् ।
तपाईं कविता र जीवनको अन्तरसम्बन्धलाई कसरी बुझ्नुहुन्छ ?
जीवन सङ्घर्षको अर्को नाम हो भन्दा हुन्छ । जीवनमा कुरूपता र सुन्दरता, आँसु र हाँसो तथा प्रेम र घृणाका बिचमा अविराम द्वन्द्व चलिरहन्छ । कुरूपताविरुद्धको लडाइँमा प्राप्त अनुभूतिहरूलाई सुन्दरतम् र मधुरतम् शैलीद्वारा प्रतिबिम्बन गर्नु नै कविता भएकोले कविता र जीवनका बिचमा नङ र मासुको जस्तै अन्तरसम्बन्ध हुन्छ । कविता जीवन र जगतबाटै जन्मिन्छ र सुन्दर जीवनकै लागि लेखिन्छ ।
वर्तमान कविता लेखनको नेपाली परम्परामा तपाईंको दृष्टिमा कुन धाराको भविष्य देखिरहनुभएको छ ?
कुरूपताविरुद्धको धारा, शोषण र निरङ्कुशताविरुद्धको धारा, असमानता र वर्ग विभेदविरुद्धको धारा, घाम जत्तिकै छर्लङ्ग छ सुन्दर भविष्यका लागि लेखिने प्रगतिवादी धाराको नै भविष्य समुज्ज्वल छ ।
कविता लेखनका चुनौती र सम्भावना के हेलान् ?
मैले अध्ययन र साधनाको कमी, लगनशीलता र प्रतिवद्धताको कमी नै कविका प्रमुख समस्या देख्छु । कविताका पाठक घट्दै जानु र कविता लेखनबाट वितृष्णा फैलनु आम चुनौती जस्तो लाग्छ । तर पनि कविता भनेको क्लिष्ट भाषा र शब्दैशब्दको थुप्रो हो भन्ने मानसिकतामा परिवर्तन ल्याएर समाजमा चल्ने वर्गसङ्घर्षको दौरान सिर्जना भएका विषय, पात्र र अनुभूतिलाई टिपेर लेख्ने हो भने अवश्य पनि कविताको भविष्य उज्ज्वल छ ।
तपाईंलाई सबभन्दा मनपर्ने कवि को हो र मन पर्नुको कारण के होला ?
मलाई जीवन र जगतका जीवन्त अनुभूति र सुन्दर भविष्यको सपना बोकेर लेखिएका सबैजसो कविता र कवि पर्छन् । तरपनि विचारमा प्रतिवद्ध, वर्गप्रति प्रतिवद्ध र सरलतामा स्तरीयताका कारण कवि कृष्णसेन इच्छुक बढी मन पर्छन् ।
तपाईं कवि मात्र नभई क्रान्तिकारी संस्कृतिकर्मीका रूपमा पनि चिनिनुहुन्छ । वर्तमान जनसांस्कृतिक आन्दोलनलाई कसरी हेर्नुहुन्छ ?
नेपालको वर्तमान सांस्कृतिक आन्दोलन भनेको दश वर्षे जनयुद्धबाट निर्मित नयाँ यथार्थमा आधारित सांस्कृतिक आन्दोलन नै हो । मलाई यही विचारबाट अभिप्रेरित आन्दोलनबाट नै देशको सांस्कृतिक रूपान्तरण हुनसक्छ भन्ने लाग्छ ।
नयाँ नेपाल र नयाँ संस्कृति निर्माण के सम्भव छ ?
किन सम्भव छैन ? आँटे नहुने के छ र ? मात्र इच्छाशक्ति र सही कार्यदिशा हुनुप¥यो ।
गणतान्त्रिक नेपाल स्थापनामा स्रष्टाको भूमिका के होला ?
गणतान्त्रिक नेपाल स्थापनामा स्रष्टाको अहम् भूमिका छ । गणतान्त्रिक नेपालको स्थापना र यसलाई संस्थागत गर्र्न तथा दिगो राख्नका लागि एकीकृत गणतान्त्रिक सांस्कृतिक मोर्चाको माध्यमबाट सम्पूर्ण गणतान्त्रिक स्रष्टाहरूले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।
अन्त्यमा केही भन्नु छ कि ?
नेपाली आवाज साप्तहिक मार्फत पाठकसमक्ष आफ्ना केही अनुभूति राख्ने अवसर दिनुभएकोमा धन्यवाद दिन चाहन्छ ।
(नेपाली आवाज साप्ताहिक, १७ मंसिर, २०६३)