भण्डारीको गैरआख्यान ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

देशसञ्चार संवाददाता

बैशाख ३०, २०८०

काठमाडाैँ –  साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ।

पद्मकन्या क्याम्पसको सगरमाथा हलमा आयोजित लोकार्पण समारोहमा माक्र्सवादी सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईं, कवि तथा समालोचकद्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा कृति सार्वजनिक गरेका थिए।

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक मोहन वैद्य ‘किरण’ले शान्ति र बुद्धको देश भन्दै आएकोमा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्यययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुन्छ भने।

त्यसैगरी कार्यक्रममा बोल्दै सौन्दर्यचिन्तक निनु चापागाईंले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकोमा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकोले यस कृतिको महत्त्व बढी छ भने । साथै उनले कृतिमा माक्र्सवाद र समाजवादी यथार्थवादमाथि कहीँकतै नबोलेको, नलेखेकोमा प्रश्न पनि उठाए।

कार्यक्रमका अर्का वक्ता डा. अमर गिरीले युद्ध सशस्त्र मात्र नभएर निशस्त्र पनि हुन्छ भन्दै साइवर युद्ध, जैविक युद्ध जस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाए । उनले समग्रमा यो कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत गर्ने बताए।

कार्यक्रममा बोल्दै अर्का वक्ता डा. विन्दु शर्माले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भनेकोमा कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताइन् । साथै नेपाली साहित्यमा युद्धमाथि लेखिएको यस्तोखाले कृति नआएकोमा यसको महत्त्व बढी रहेको बताइन्।

कार्यक्रमका चारै जना वक्ताले कृतिको भूमिकामा रहेको नेपाली साहित्यको कालविभाजनमाथि बढी समय खर्चिएका थिए । लेखकले वि.सं. १९४० देखि २०१७ सम्मलाई जागरण काल भनेकोमा असहमति व्यक्त गरेका थिए।

लेखक विष्णु भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको जनाए। उनले कृतिमा एकीकृत राष्ट्रनिर्माणको क्रममा भएका युद्ध, नेपालको अखण्डता, सार्वभौमिकता तथा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि भएका युद्ध र सशस्त्र विद्रोहमाथि लेखिएको साहित्यका साथै द्वन्द्वसाहित्यको पनि विवेचना गरिएको जनाए।

पुस्तक ‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको हो। ५ सय पृष्ठको कृतिको मूल्य ७ सय राखिएको छ।

बैशाख ३०, २०८० मा प्रकाशित

https://deshsanchar.com/2023/05/13/796169/?fbclid=IwAR1TWBXr4K_Y81y6AOSZXh1vwIYduvO8gVrCMBfxIH100STOPslX5rV9L00


  प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १३:११