विष्णु भण्डारीको कथासंग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा

उकालो

२०८० पौष १०, मंगलबार

काठमाडौँ– 

विष्णु भण्डारीको कथासंग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा आएको छ। कथासंग्रहमा सशस्त्र द्वन्द्वकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा संग्रहित छन्।

भण्डारीले कथामार्फत् सशस्त्र द्वन्द्वकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन्। कथा तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित छन्।

कथासंग्रह ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो। १९२ पृष्ठ रहेको पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ। 

राजनीतिक विषय र मुद्दालाई विषयवस्तु बनाएर साहित्य लेखे पनि उनको लेखनमा असंगत राजनीति र भ्रष्ट राजनीतिज्ञमाथि तीव्र आक्रोश भेटिन्छ। समाजमा मौलाउँदै गएको मूल्यहीनताका साथै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृति र विसंगतिको खरो आलोचना उनको लेखनको प्रमुख पक्ष हो। 

४० को दशकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी ७० को दशकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन्। अहिलेसम्म उनका कवितासंग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी १२ वटा कृति प्रकाशित भइसकेका छन्। 

‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका रुचाइएका उपन्यास हुन्। हालै उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान पनि प्रकाशित भएको थियो।


  प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार ०३:४०