काठमाडौं- साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्यु’बजारमा आइपुगेको छ।
कथासङ्ग्रहमा जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा सङ्ग्रहित छन्।
भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन्। उनका अनुसार यी कथा काल्पनिक र बनाबटी यथार्थमाथि नभएर तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित छन्।
नेपाली युद्धसाहित्यमाथि वहस गर्दै आएका भण्डारीले युद्धसाहित्य मात्र नभएर युुद्धपछिको साहित्य मा पनि काम गर्दै आएका छन्।
उनका अनुसार यसपछि आउने उनको कृतिमा युद्धमा संलग्न र युुद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा रहने छन्।
साहित्य पार्टीको घोषणापत्र हुन सक्दैन भन्छन् विष्णुु भण्डारी। तर पनि उनका अहिलेसम्म प्रकाशित सबैजसो कृतिमा राजनीतिक विषय र सामाजिक मुद्दालाई नै प्रमुखताका साथ उठाउँदै आएको पाइन्छ।
चालिसको दसकदेखि कविता विधामा कलम चलाउँदै आएका भण्डारी सत्तरीको दसकयता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन्।
अहिलेसम्म उनका कवितासङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी १२ वटा कृति प्रकाशित भैसकेका छन्।
कथासङ्ग्रह ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको हो। १९२ पृष्ठ रहेको कृतिको मूल्य रू ३५० राखिएको छ।
औपचारिक विमोचन कार्यक्रम नगरी सार्वजनिक गरिएको ‘अरुन्धतीको मृत्यु’ आजबाटै बजारमा उपलब्ध हुनेछ।