- खुलामञ्च संवाददाता
- २०८० बैशाख ३० गते २०:१६:०० मा प्रकाशित
काठमाडौं: साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ सार्वजनिक भएको छ। मार्क्सवादी सौन्दर्यचिन्तकद्वय मोहन वैद्य ‘किरण’, निनु चापागाईं, कवि तथा समालोचकद्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्त रूपमा भण्डारीको उक्त कृति विमोचन गरेर सार्वजनिक गरका हुन्।
कार्यक्रममा वैद्यले वीरगाथा कालदेखि जनयुद्धकालसम्म भएका युद्धहरूमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्ययन गरेबाट नेपाल युद्धमय छ भन्ने कुरा प्रमाणित हुने बताए।उनले भण्डारीको कृतिले नेपाली साहित्यमा युद्धसाहित्यलाई सथापित गराएको बताए ।
यस्तै कार्यक्रममा चापागाईंले नेपली साहित्यमा नेपाली युद्धसाहित्यमाथि सिर्जना गर्ने चलन कम भएका सन्दर्भमा भण्डारीले युद्धसाहित्यमाथि लेखिएका सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेर कृति प्रकाशन गर्नु महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा डा. गिरीले युद्ध सशस्त्र मात्र नभएर निःशस्त्र पनि हुन्छ भन्दै साइबर युद्ध, जैविक युद्ध जस्ता युद्धलाई कृतिमा नसमेटिएको जनाए। उनले समग्रमा यो कृतिले नेपाली युद्धसाहित्यको मोटामोटी चित्र प्रस्तुत गरेको बताए।
यस्तै कार्यक्रममा बोल्दै डा. शर्माले नेपाली समालोचकहरूले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई एउटै भनेकोमा कृतिले युद्धसाहित्य र द्वन्द्वसाहित्यलाई अलग गरेर विवेचना गरेको बताइन्।
कवि , कथाकार एवं उपन्यासकारका रुपमा स्थापित भण्डारीले नेपाली युद्धसाहित्यमाथि अध्ययन नभएको हुँदा यस विषयमा काम गर्ने हुटहुटी पैदा भएकोले कृति तयार गरेको बताए ।
पुस्तक ‘भुँडीपुरान प्रकाशन’ले बजारमा ल्याएको यो कृतिको ५ सय पृष्ठको मूल्य ७ सय राखिएको छ।