समाजवादी लेखक सङ्घमा भण्डारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १२ शुक्रबार |

काठमाडौँ, १२ माघ । बदलिएको नेपाली समाजको चरित्र र आवश्यकतालाई ध्यानमा राखी समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ समाजवादी लेखक सङ्घ नेपाल गठन भएको छ ।

लेखकहरुको भेलाले सङ्घ गठन गरी सामूहिक नेतृत्वका आधारमा सञ्चालन हुने गरी समिति निर्माण गरेको सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । समितिमा विष्णु भण्डारी, शकुन्तला जोशी, कला अनुरागी, शैलज पौडेल र केदार श्रेष्ठ हुनुहुन्छ ।


भेलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापना भएको छ भने नेपाली समाज सामन्तवादबाट पुँजीवादमा रूपान्तरण भएको छ । अबको गन्तव्य समाजवाद हो ।”

हजारौँ जनताको शहादतपछि सत्तामा पुगेको कम्युनिष्ट पार्टीको नेतृत्वसमेत समाजवादी सपनाबारे दिग्भ्रमित र दिशाहीन भएको निक्र्याेलमा पुगेको सङ्घले उपभोक्तावादी संस्कृति मौलाउँदै जानु तथा स्वदेशी पूँजी र अर्थतन्त्रको ठाउँमा दलाल पूँजीलाई निर्धक्क प्रवेश र प्रश्रय दिइनुलाई चिन्ताको बिषय मानेको छ ।

दलाल पूँजीवाद र साम्राज्यवादसँग सङ्घर्ष गर्दै वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नका लागि आन्दोलनको उठान र विकासमा प्रतिबद्ध हुँदै माक्र्सवादी विश्वदृष्टिकोणमा आधारित समाजवादी साहित्य–कलाको उन्नयन गर्ने उद्देश्यका साथ सङ्घ स्थापना गरिएको जनाइएको छ । 


  प्रकाशित मिति : २९ असार २०७९, बुधबार ०३:४९