‘अलग धार’ लिएर आए लेखक विष्णु भण्डारी

शुक्रबार २ वैशाख २०७९

काठमाडौं, २ वैशाख । लामो समयदेखि लेखनमा क्रियाशील कवि तथा आख्यानकार विष्णु भण्डारी ‘अलग धार अभियान’ लिएर आएका छन् ।

हिजो वैशाख १ गते फेसबुक लाइभमार्फत् उनले उक्त अभियानको अवधारणापत्र सार्वजनिक गरेका हुन् । केही वर्षदेखि कुनै पार्टी राजनीतिमा संलग्न नभएका विष्णु भण्डारी स्वतन्त्र लेखनमा क्रियाशील छन् । अहिलेसम्म उनका दुई उपन्याससहित दश कृति प्रकाशित छन् ।

विभिन्न अभियान, आन्दोलन र संघसंस्थामा सक्रिय हुँदै आएका भण्डारी साहित्य लेखनसँगै पत्रकारितामा पनि क्रियाशील छन् । सानैदेखि वामपन्थी राजनीतिमा सक्रिय विष्णु भण्डारी फेरि पनि पार्टीमा आवद्ध हुँदैछन् भन्ने बजारीया हल्लाबीच ‘अलग धार’ घोषणा गेका छन् ।

उनले जारी घरेको घोषणापत्रमा मानवीय मूल्यको पुनर्ब्याख्या, इतिहासको पुनर्मूल्याङ्कन, पहिचान र मौलिकताको जगेर्ना, समृद्ध राष्ट्र निर्माणका लागि निरन्तरतामा क्रमभङ्ग र सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा अलग धारको निर्माण गर्ने उल्लेख छ ।

उनले गणतन्त्र प्राप्त भएको लामो समय बितिसक्दा पनि राज्यसत्ता यथास्थितिमै रमाएको, पुरातन सोच, मान्यता र सामाजिक तथा सास्कृतिक रुढताको ठाउँमा नवीन मूल्य र दृष्टिकोणको विकास गर्नुपर्नेमा कतिपय मुद्दामा पछाडि फर्किएकाले यसलाई चिर्नका लागि ‘अलग धार अभियान’ बनाउनु परेको जनाएका छन् ।

उनले फेसबुक लाइभमा गणतन्त्र स्थापना भए पनि सामाजिक र सांस्कृतिक क्षेत्रमा पुरानै मूल्यको दबदबा रहेको, प्राप्त सीमित उपलब्धी पनि खोसिदै गएको तथा नेताहरू राष्ट्रहीतमा भन्दा व्यक्तिगत हीत र स्वार्थमा चुर्लुम्म डुबेकोले यसका विरुद्ध जनता स्वयम् जागरुक हुनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक पार्टी र नेतृत्वले सहिदका सपनामाथि खेलबाड गरेको, विकास र समृद्धिको गफ मात्र गरेको, समाजमा विसंगति, विकृति र भ्रष्टाचार बढ्दै गएको तथा अतिशय राजनीतिक दबाबका कारण सरकारलाई प्रश्न गर्न सक्ने शक्ति कमजोर हुँदै गएको अवस्थामा वैकल्पिक सामाजिक र सांस्कृतिक अभियानको रूपमा अलग धार स्थापना भएको जनाए ।

घोषणापत्रमा उनले राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा अलग धार, अलग सोच र अलग दृष्टिकोण निर्माण नगरेसम्म हामीले सोचेजस्तो समृद्ध र सुखी नेपाल निर्माण हुन सक्दैन भनेका छन् ।

https://nepalipatra.com/news/bishnu-bhandari/92730?fbclid=IwAR01EEdCTW8C2rJ17mLPk4TSE1-VU98Hg0UfywcbG65saY2bPrSSMhGXCYA


  प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १३:५३