आख्यानमा युद्धको त्रासदी

– शिलापत्र संवाददाता | काठमाडौं, ७ असोज

नेपाली साहित्यमा तत्कालीन माओवादी जनयुद्धका विषय समेटिएका साहित्य लेखिने क्रम बढेको छ । यस्तै अवस्थामा जनयुद्धकै सेरोफेरोमा लेखिएको आख्यानकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ बजारमा आएको छ ।

मंगलबार मण्डला थिएटरमा आयोजित समारोहमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि एवं अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै नेकपा नेता राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नुपरेको पीडालाई प्रस्तुत गरेको बताए । घटनाको प्रस्तुति सही र रोचक तरिकाले गरिएको हुँदा उपन्यास पढुँपढुँ लाग्ने खालको बनेको उनको भनाइ थियो ।

त्यसैगरी, लेखक डा. अर्चना थापाले अहिलेको समयमा बेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले उतारेको बताइन् । उनले उपन्यासले बहुल नायक प्रस्तत गर्नु, कथाको प्रस्तुतीकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष भएको बताइन् ।

जनयुद्धका क्रममा बेपत्ता पारिएको विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए । उनले भने, ‘यसका पात्रहरूमा मैले आफूलाई पाएँ । छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ ।’

https://shilapatra.com/detail/12282


  प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १३:२१