विष्णु भण्डारीको ‘सुनको पहाड’ सार्वजनिक

  • नयाँ विश्व

काठमाडौं, ११ आश्विन

साहित्यकार विष्णु भण्डारीको दोस्रो उपन्यास ‘सुनको पहाड’ सार्वजनिक भएको छ। राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा नेता राम कार्की, लेखक डा. अर्चना थापा र बेपत्ता परिवारका प्रतिनिधि तथा अधिवक्ता एकराज भण्डारीले उपन्यास संयुक्त रूपमा सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै नेकपा नेता एवं पूर्वमन्त्री राम कार्कीले भण्डारीको उपन्यासले जनयुद्धका क्रममा बेपत्ता योद्धाका परिवारजनले भोग्नु परेको पीडालाई प्रस्तुत गरेको बताए। भण्डारीले उपन्यासमा बलियो भाषा प्रयोग गरेको उनको भनाइ थियो । “घटनाको प्रस्तुति रोचक तरिकाले गरिएको हुँदा उपन्यास पढुँपढुँ लाग्ने खालको छ”, उनले भने ।

त्यसैगरी कार्यक्रममा बोल्दै लेखक डा. अर्चना थापाले अहिलेको समयमा वेवास्तामा परिरहेको जनयुद्धको अभिघातको जटिल पक्षलाई लेखनमा मिहीन ढंगले उतारेको बताइन्। उपन्यासले बहुल नायक प्रस्तत गर्नु, कथाको प्रस्तुतिकरण महिलाको कोणबाट गरिनु, स्वैरकल्पनाको सही र उपयुक्त रूपमा प्रस्तुत गरिनु उपन्यासको सबल पक्ष भएको बताइन्।

कार्यक्रममा बोल्दै जनयुद्धका क्रममा बेपत्ता पारिएको विपीन भण्डारीका बुबा एकराज भण्डारीले उपन्यासमा आफूलाई धेरै ठाउँमा पाएको बताए। उनले भने, ‘यसका पात्रहरूमा मैले आफूलाई पाएँ। छोरा र उसका साथीहरूलाई पाएँ र छोरालाई बेपत्ता पार्ने व्यक्तिहरूको सादृश्य वर्णन पाएँ।’

उनले लेखकले परिकल्पना गरेजस्तो बेपत्ता परिवारको पीडालाई बुझेर आत्मआलोचना गर्ने पात्र अझै पनि समाजमा पैदा नभइसकेकोले उपन्यास अध्ययनले त्यसतर्फ झक्झक्याउनेमा विश्वास व्यक्त गरे।

भण्डारीको यो दोस्रो उपन्यास तथा समग्रमा नवौँ कृति हो । फिनिक्स बुक्सले प्रकाशन गरेको उपन्यास ‘सुनको पहाड’ ३ सय पृष्ठको छ भने मूल्य ३ सय ९५ रुपैयाँ रहेको छ।


  प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १३:०८