‘पहेँलो घाम’ उपन्यासको सामाजिक पक्षको अध्ययन

पहेँलो घामउपन्यासको सामाजिक पक्षको अध्ययन

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय

रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विभाग अन्तर्गत

स्नातकोत्तर तह दोस्रो वर्षको दसौँ

पत्रको प्रयोजनार्थ

प्रस्तुत

शोधपत्र

शोधार्थी

मीना नेपाली

२०७५

निर्देशकको सिफारिस

त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, रत्न राज्यलक्ष्मी क्याम्पस, नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थी श्री मीना नेपालीले तयार पार्नुभएको ‘पहेँलो घामउपन्यासको सामाजिक पक्षको अध्ययन’ शीर्षकको प्रस्तुत शोधपत्र मेरो निर्देशनमा परिश्रम पूर्वक तयार गर्नु भएको हो । यस शोधकार्यको मूल्याङ्कनका लागि सिफारिस गर्दछु ।

उपप्रा. हेमचन्द्र भण्डारी

मिति : २०७५/०२/११ 

त्रिभुवन विश्वविद्यालय

रत्न राज्यलक्ष्मी क्याम्पस

प्रदर्शनी मार्ग, काठमाडौँ

नेपाली विभाग

स्वीकृतिपत्र

यस क्याम्पसमा अध्ययन गरेकी स्नातकोत्तर तह दोस्रो वर्षकी नेपाली विषयकी विद्यार्थी मीना नेपालीले तयार पार्नुभएको पहेँलो घाम’ उपन्यासमा सामाजिक पक्षको अध्ययन शीर्षकको प्रस्तुत शोधपत्र सोही प्रयोजनका लागि स्वीकृत गरिएको छ ।

मूल्याङ्कन समिति

हेमचन्द्र भण्डारी

शोध निर्देशक                                                                      

बाह्य परीक्षक

रघुनाथ घिमिरे

विभागीय प्रमुख

डा. यज्ञेश्वर निरौला

मितिः २०७५/०२/१८        

कृतज्ञता ज्ञापन

प्रस्तुत शोधपत्र मैले स्नातकोत्तर तहको दसौँ पत्रको प्रयोजनका लागि आदरणीय गुरु उपप्रा. हेमचन्द्र भण्डारीको निर्देशनमा तयार पारेकी हुँ । यो शोधपत्र तयार गर्ने सन्दर्भमा आइपरेका विभिन्न समस्या र अड्चनहरूसँग जुध्ने प्रेरणा दिँदै सही पथ प्रदर्शन गराएर अघि बढ्न उत्प्रेरित गरी समुचित दिग्दर्शन गराउनु भएकोमा उहाँप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।

शोधकार्यसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया सहित विभागका तर्फबाट आवश्यक सहयोग गर्नु भएकोमा नेपाली विभागका प्रमुख डा. यज्ञेश्वर निरौला ज्यूलाई र अरू गुरुवर्गमा पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । साथै प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि आवश्यक सामग्री प्रदान गर्नुहुने आदणीय साहित्यकार विष्णु भण्डारीप्रति कृतज्ञता ज्ञापन गर्दछु ।

मेरो जीवनलाई यस अवस्थामा पुर्याउनु हुने पिता हर्क बहादुर नेपाली र आमा छलू माया नेपालीप्रति म आजीवन ऋणी छु । आफूले व्यावहारिक बोझ थामेर मेरो हरेक काममा सहयोग पु¥याउन मरिमेट्ने जीवन साथी महेन्द्र बहादुर मक्रातीप्रति म हार्दिक कृतज्ञता प्रकट गर्दछु । त्यसै गरी दिदी–भिनाजु र दाजु–भाउजूका साथै प्रस्तुत शोधकार्यमा प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग गर्नुहुने परिवारजन तथा सम्पूर्ण आत्मीय मित्रहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु । शुद्धसँग टङ्कन गरिदिने मित्र कोकिला कुमारी विष्टप्रति पनि आभार प्रकट गर्दछु । मेरो शोधकार्यमा राय सल्लाह प्रदान गर्नुहुने लीलानाथ सापकोटाप्रति आभार प्रकट गर्दछु ।

अन्त्यमा यस शोधपत्रको मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय, रत्न राज्यलक्ष्मी क्याम्पस नेपाली विभाग समक्ष पेस गर्दछु ।

मीना नेपाली

शोधार्थी

भर्ना समूह : २०६९/०७०    

क्याम्पस रोल नं.: ६३                                   

परीक्षा रोल नं.: ४०००६१                                  

परीक्षा साल : २०७१

त्रि.वि. दर्ता नं.:६–१–३८–२८६८–२०००                                                                                     

विषय सूची

शोध निर्देशकको मन्तव्य   

स्वीकृति पत्र 

कृतज्ञता ज्ञापन     

विषय सूची

परिच्छेद एक : शोध परिचय १

१.१         विषय परिचय १

१.२   समस्या कथन १

१.३         अध्ययनको उद्देश्य   २

१.४   पूर्वकार्यको समीक्षा   २–४

१.५   शोधको औचित्य     ४

१.६         शोधको सीमाङ्कन   ४

१.७   शोधविधि     ४–५

१.८   शोधपत्रको रूपरेखा    ५

परिच्छेद दुई : विष्णु भण्डारीको साहित्यिक परिचय ६२०

२.१   विषय परिचय ६

२.२   विष्णु भण्डारीको परिचय    ६

२.२.१  जन्म तथा बाल्यकाल ७

२.२.२  शिक्षादीक्षा    ७–८

२.२.३  विवाह र दाम्पत्य    ८

२.२.४  आजीविका    ८

२.२.५  प्रेरणा र प्रभाव      ८–९

२.३   विष्णु भण्डारीको व्यक्तित्वको अध्ययन    ९

२.३.१  साहित्येत्तर व्यक्तित्व      ९–११

२.३.२  विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व     ११–१५

२.३.३  विष्णु भण्डारीका साहित्यिक प्रवृत्ति                               १५–१६

२.३.४. उपन्यासकार विष्णु भण्डारीको औपन्यासिक प्रवृत्ति                   १७

२.३.५  निष्कर्ष

                                                      २०

परिच्छेद तीन : पहेँलो घाम उपन्यासको सामाजिक पक्षको अध्ययन         २१–४९

३.१   विषय परिचय       २१

३.२   सामाजिक पक्षको अध्ययन                                            २१

३.२.१  कथावस्तु                                                           २२

३.२.२  परिवेश                                                            २४

३.२.३  जातजाति                                                          २६

३.२.४  भाषा                                                              २९

३.२.५  पेसा                                                               ३१

३.२.६  आर्थिक अवस्था                                                     ३३

३.२.७  शैक्षिकपक्ष                                                          ३३

३.२.८ लैङ्गिक अवस्था                                                      ३५

३.२.९  राजनीतिक अवस्था                                                   ३६

३.२.१० पारिवारिक अवस्था                                                   ३७

३.२.११ सामाजिक समस्या                                                   ३९

३.३  आधुनिक नेपाली उपन्यास परम्परामापहेँलो घामको सामाजिक पक्षको योगदान    ४२

३.३.१. रातो आकाश                                                        ४३

३.३.२. मुक्तिमार्ग                                                          ४४

३.३.३  उज्यालोको खोजीमा                                                  ४६

परिच्छेद चार : उपसंहार र निष्कर्ष                                      ५०–५५

४.१.उपसंहार                                                              ५०

४.२. निष्कर्ष                                                              ५१

४.३  प्राप्ति र सीमा                                                        ५३

सन्दर्भ सूची

परिच्छेद एक

शोध परिचय

१.१.   विषय परिचय

उपन्यासकार विष्णु भण्डारी (२०२०), नेपाली साहित्यका प्रतिभाशाली व्यक्तित्व हुन् । विद्यालयको साहित्यिक वातावरणबाट अभिप्रेरित भई सिर्जना क्षेत्रतर्पm उन्मुख भएका भण्डारीले सानै उमेरदेखि कविता लेख्न सुरु गरेका हुन् । उनले कविता, कथा र उपन्यास विधामा कलम चलाएका छन् । साथै भण्डारीका विभिन्न पत्रपत्रिकाहरूमा निबन्ध र संस्कृति सम्बन्धी लेख रचनाहरू पनि प्रकाशित छन् । विद्रोहको छाल (खण्डकाव्य) २०४३, आँधी–तुफान (मुक्तक सङ्ग्रह) २०४४, ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य) २०४५, कालो नाटक (लघुकाव्य) २०४५, फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह) २०६३, देश जागेको बेला (कविता सङ्ग्रह) २०६३, उत्सर्ग (महाकाव्य) २०६७, घाइते ≈िवलचेयर (कविता सङ्ग्रह) २०६९ र पहेँलो घाम (उपन्यास) २०७२, पुस्तककार कृतिहरू हुन् । यी कृतिहरू मध्ये पहेँलो घाम (२०७२) भण्डारीको एक मात्र प्रकाशित उपन्यास हो । यो प्रगतिवादी उपन्यास हो । यसमा साना ठूला गरी पच्चीस अङ्क संरचित छन् । यस उपन्यासमा क्यान्टोन्मेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारको यथार्थ कथालाई उपन्यासको मूल विषय बनाइएको छ ।पहेँलो घाम जनयुद्धलाई सकारात्मक कोणबाट हेर्दै लेखिएको उपन्यास हो । सामान्य टीका टिप्पणी र समीक्षा भए पनि यस उपन्यासको समग्र अध्ययन नभएका सन्दर्भमा पहेँलो घाम उपन्यासको सामाजिक यथार्थ पक्षको अध्ययन प्रस्तुत शोधको अनुसन्धेय विषय रहेको छ ।

१.२.   समस्या कथन

      नेपाली साहित्यका क्षेत्रमा उपन्यासकार विष्णु भण्डारी स्थापित स्रष्टा हुन् । यस उपन्यासमा भण्डारीले समसामयिक राजनैतिक परिस्थितिलाई नजिकबाट हेरेका छन् र यथार्थको नजिक पुग्ने प्रयास गरेका छन् । यस पहेँलो घाम उपन्यासमा प्रस्तुत भएको सामाजिक पक्षमा केन्द्रित रही निम्न समस्या प्रस्तुत गरिएको छ :

      (क)   विष्णु भण्डारीको जीवनी तथा औपन्यासिक यात्रा के कस्तो छ ?

      (ख)   पहेँलो घाम उपन्यासको सामाजिक पक्ष के कस्तो छ ?

१.३.   अध्ययनको उद्देश्य

      उपन्यासकार विष्णु भण्डारीका उपन्यासमा रहेको सामाजिक पक्षको अध्ययन नै यस शोधकार्यको मुख्य उद्देश्य रहेको छ । यही प्रमुख उद्देश्यसँग सम्बन्धित रहेर निम्नलिखित समस्याहरूको समाधान खोज्नु यस शोधपत्रको उद्देश्य रहेको छ ।

      (क)   विष्णु भण्डारीको जीवनी तथा काव्य यात्राको अध्ययन गर्नु ।

      (ख)   पहेँलो घाम उपन्यासको सामाजिक पक्षको विश्लेषण गर्नु ।

१.४.   पूर्वकार्यको समीक्षा

      नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएका साहित्यिक व्यक्तित्व विष्णु भण्डारीको आख्यानकारिता मध्ये उनको पहेँलो घाम उपन्यासका विषयमा विभिन्न समालोचकहरूले विचार प्रस्तुत गरेका छन् । जसलाई कालक्रमिक रूपमा क्रमशः प्रस्तुत गरिएको छ ।

      कला अनुरागी (२०७२, माघ ३ आइतबार) ले पहेँलिदै गएको क्रान्तिको कथा’ शीर्षकमा दैनिक ‘अन्नपूर्ण पोष्ट’मा एउटा समीक्षात्मक लेख लेखेका छन् । लेखकले पहेँलो घाम उपन्यास माओवादी केन्द्रित राजनीतिकै सेरोफेरोमा छ भनेका छन् । पात्रका अभिव्यक्ति मार्पmत आफ्नो जीवन युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले    शान्ति प्रक्रिया पछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत गरेका छन् । यस समीक्षात्मक लेखमा प्रस्तुत उपन्यासलाई पहेँलिदै गएको घामसँग तुलना गरिएको छ । उपन्यासको अन्य पक्षमा अध्ययन भएता पनि सामाजिक पक्षमा भने गहन अध्ययन भएको देखिँदैन ।

      महेश पौड्याल नयाँ पत्रिका दैनिक (२०७२, माघ २३) ले ‘पहेँलो घाम एक आख्यान विद्रोह’ शीर्षकमा एक समीक्षात्मक लेख लेखेका छन् । उनले रातो हुन अनपेक्षित घाम पहेँलिदै गएको सङ्केत माओवादी भित्रको सैद्धान्तिक र व्यावहारिक विचलनलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेका छन् । उनले पहेँलो घामलाई तीन जोखिमका रूपमा उल्लेख गरेका छन् । यस समीक्षात्मक लेखमा प्रस्तुत उपन्यासलाई क्रान्तिकारी उपन्यासका रूपमा चिनाइएको छ । तर सामाजिक पक्षका आधारमा भने चिनाएको देखिँदैन ।

      राजकुमार बानियाँ कान्तिपुर दैनिक कोसेली (२०७२, फागुन २९) ले माओवादी छायामा शीर्षकमा एउटा समीक्षात्मक लेख लेखेका छन् । उनले उक्त समीक्षामा विष्णु भण्डारीको पहेँलो घाम उपन्यास सृष्टिको अन्त्य नभई सुरुवात हो भनेका छन् । पहेँलो घामलाई माओवादी आन्दोलनको एउटा बिम्बका रूपमा प्रस्तुत गरेका छन् । उनका विचारमा लेखकले माओवादी पक्ष लिएर पनि माओवादी भित्रको तमाम भ्रष्टीकरणको उजागर गरेका छन् भने माओवादीलाई सही ठम्याउन सकेका छैनन् भनेका छन् । यस उपन्यास माथिको बहसमा यसको सामाजिक पक्षको अध्ययन भने नभएको देखिन्छ ।

      कला अनुरागी (रातो पाटी डिजिटल पत्रिकाः २०७२, माघ २३) ले उपन्यासकार विष्णु भण्डारीसँग अन्र्तवार्ता लिएका छन् । उनले ‘बुकः टक कतिले भने ‘सेक्स सिन’ दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ?’ शीर्षकमा लेखकसँग कुराकानी गरेका छन् । उक्त अन्तरवार्तामा विष्णु भण्डारीले प्रेम परिपक्क भएपछि र पूर्णरूपमा झाङ्गिएपछि मात्र एकले अर्कोलाई प्रस्ताव गरेको कुरा जनाएका छन् । प्रेमका लागि रोई कराई गरेका छैनन् । यस अन्र्तवार्तामा प्रस्तुत उपन्यासलाई प्रगतिवादी उपन्यासका रूपमा चिनाइएको छ । तर सामाजिक पक्षको विस्तृत अध्ययन भने       भएको छैन् ।

      फणीन्द्र संगम (२०७२, पुस १० अप्रकाशित अन्तरवार्ता) ले पहेँलो घाम उपन्यासमा केन्द्रित भई गरेको संवादमा केही साथी मसँग धेरै खुसी छैनन् शीर्षकमा कुराकानी गरेका छन् । लेखकले एक विद्रोही लडाकु महिलालाई केन्द्रमा राखेर राज्य र माओवादी      बीचको सशस्त्र युद्ध, लडाकुको सङ्घर्ष र बलिदानी अनि शान्तिप्रक्रियापछि कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई खोतल्ने प्रयास गरिएको विचार व्यक्त गरेका छन् । तर यस उपन्यासको सामाजिक पक्षमा भने अध्ययन नभएको देखिन्छ ।

      समग्रमा कला अनुरागीले पहेँलो घाम उपन्यासलाई पहेँलिदै गएको घामसँग तुलना गरेका छन् । महेश पौड्यालले प्रस्तुत उपन्यासलाई क्रान्तिकारी उपन्यासका रूपमा चिनाएका छन् भने राजकुमार बानियाँले पहेँलो घाम उपन्यास सृष्टिको अन्त्य नभई सुरुवात हो भनेका छन् । त्यस्तै कला अनुरागीले प्रगतिवादी उपन्यासकारका रूपमा चिनाएका छन् र फणीन्द्र संगमले कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई खोतल्ने प्रयास गरेका छन् । क्यान्टोमेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारको कथालाई उपन्यासको मूल बिषय बनाइएको छ । उपन्यासमा पात्रका अभिव्यक्ति मार्पmत आफ्नो जीवन पार्टी र युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले शान्ति प्रक्रियापछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत छ । साथै सामूहिक कृषि फार्ममार्पmत उत्पादन सुरु गरी आपूm योग्य भएको प्रमाणित पनि गरेका छन् । कुनै पनि शोधार्थीले यसको सामाजिक पक्षको पूर्ण र सग्लो रूपमा अध्ययन गरेको      छैनन् । त्यसैले यसका सामाजिक पक्षमा केन्द्रित भई यो शोधपत्र तयार पारिएको हो ।

१.५.   शोधको औचित्य

      उपयुक्त्त पूर्वकार्यको समीक्षाबाट के स्पष्ट हुन्छ भने उपन्यसकार विष्णु भण्डारीको उपन्यासमा विभिन्न समीक्षक, समालोचक, विद्वान्, विचारक तथा अनुसन्धानकर्ताले आ–आफ्नो किसिमले अध्ययन, विश्लेषण गरे तापनि उनको उपन्यास पहेँलो घाममा अभिव्यक्त्त भएको सामाजिक पक्षमाथि हालसम्म कसैको गम्भीर दृष्टिकोण तथा शोधअध्ययन भए गरेको पाइँदैन । यो अध्ययन उपन्यासकार विष्णु भण्डारीको उपन्यासको अध्ययन र तिनमा चित्रित सामाजिकतालाई केन्द्रबिन्दु बनाएर गरिएको छ । यसले पहेँलो घाम उपन्यासका बारेमा जिज्ञासा राख्ने व्यक्तिहरूलाई समेत जानकारी दिने आशा गरिएको छ । 

१.६. शोधको सीमाङ्कन

      साहित्यकार विष्णु भण्डारीले नेपाली साहित्यका कविता, कथा, नाटक र उपन्यास आदि जस्ता विधा र उप–विधाहरूमा कलम चलाएका छन् । प्रस्तुत शोधकार्य भने उपन्यासकार भण्डारीको प्रकाशित उपन्यास पहेँलो घाम (२०७२) को सामाजिक       पक्षमा केन्द्रित भई तयार पारिएको छ ।

१.७. शोध विधि

      प्रस्तुत शोधकार्यमा विषयको विश्लेषणका क्रममा सामाजिक सिद्धान्तलाई आधार बनाएर शोध समस्याको समाधान गरिएको छ । यसका साथै शोधपत्रलाई वर्णनात्मक, विश्लेषणात्मक पद्धतिद्वारा प्रस्तुत गरिएको छ ।

(क)  सामग्री सङ्कलन

      प्रस्तुत शोधकार्य विष्णु भण्डारीको साहित्यिक योगदान, औपन्यासिकताको परिचय र कृतिको लेखनका क्रममा आवश्यता अनुसार प्राथमिक र द्वितीय स्रोत सामग्रीको यथोचित प्रयोग गरिएको छ । शोध लेखनका क्रममा यस शोधका नायकसँग प्रत्यक्ष रूपमा जानकारी लिनुका साथै भेट वा अन्र्तवार्ता पत्रपत्रिकामा प्रकाशित लेख रचनाका साथै अन्य पुस्तकालयीय आधारमा उपलब्ध जानकारीलाई पनि सामग्रीका रूपमा लिइएको छ ।

(ख) विश्लेषण

      उपन्यासको सामाजिक पक्षको सिद्धान्तलाई आधार मानेर पहेँलो घामको सामाजिक पक्षको बिश्लेषण प्रस्तुत गरिएको छ ।      

१.८.   शोधको रूपरेखा

      प्रस्तुत शोधपत्रलाई निश्चित, सुव्यवस्थित र सुसङ्गठित बनाएर प्रस्तुत गर्नका लागि यस शोधपत्रको रूपरेखा निम्न किसिमले गरिएको छ ।

      परिच्छेद एक : शोध परिचय

      परिच्छेद दुई :  विष्णु भण्डारीको परिचय तथा साहित्यिक प्रवृत्ति ।

      परिच्छेद तीन : पहेँलो घाम उपन्यासको सामाजिक पक्षको अध्ययन ।

      परिच्छेद चार : उपसंहार तथा निष्कर्ष ।

      सन्दर्भ सूची

शोधार्थी : मीना नेपाली

परिच्छेद दुई

विष्णु भण्डारीको साहित्यिक परिचय

२.१.   विषय परिचय

      समसामयिक सामाजिक, आर्थिक र राजनीतिक सन्दर्भलाई विषयवस्तु बनाई कलम चलाउने साहित्यकार विष्णु भण्डारीले नेपाली साहित्यको कथा, कविता र उपन्यास तीन मुख्य विधामा कलम चलाएका छन् । हालसम्म तीनओटा कविता सङ्ग्रह, दुईओटा खण्डकाव्य, एक मुक्तक सङ्ग्रह, एक महाकाव्य र एक उपन्यास गरी जम्मा       आठओटा कृति प्रकाशित गरिसकेका छन् । भण्डारी समाजमा देखापरेको राजनीतिक परिवेश र त्यसले समाजमा निम्त्याएको घटनालाई आफ्ना रचनाका माध्यमबाट ऐनामा झैँ स्पष्ट देखाउन सक्ने उपन्यासकार हुन् । उनका कृतिमा लोकतन्त्रको आगमनका क्रममा देखा परेका विविध विकृति, विसङ्गतिको चित्रण पाइन्छ । समसामयिक उपन्यास धारालाई समातेर सशक्त उपन्यास लेख्ने विष्णु भण्डारी नेपाली उपन्यास साहित्यका प्रभावशाली उपन्यासकार हुन् । देश र समाजको यथार्थलाई नवीन शैली र कलात्मक भाषामा अभिव्यक्त गर्ने उपन्यासकार भण्डारी नेपाली उपन्यास लेखनमा चालीसको दशकबाट नै सक्रिय देखिन्छन् । उनको पहिलो उपन्यास पहेँलो घाम २०७२ सालमा प्रकाशित भएको छ । यस शोधपत्रको प्रस्तुत परिच्छेदमा यिनै उपन्यासकार विष्णु भण्डारीको साहित्यिक परिचय माथि प्रकाश पारिएको छ ।

२.२.   विष्णु भण्डारीको परिचय   

      यस शीर्षक अन्तर्गत उपन्यासकार विष्णु भण्डारीको जन्म तथा बाल्यकाल, शिक्षा, स्वभाव, विवाह, दाम्पत्य, आजीविका र प्रेरणा आदि पक्षको चर्चा गरिएको छ ।

२.२.१. जन्म तथा बाल्यकाल

      उपन्यासकार विष्णु भण्डारीको जन्म २०२० फागुन २९ गते लुम्बिनी अञ्चल, गुल्मी जिल्लाको धुर्कोट वस्तुमा भएको हो । उनी बुवा परमानन्द भण्डारी र आमा विन्ता देवी भण्डारीका ३ छोरा मध्ये माइला हुन् (ढकाल, २०७०: ८) । उनको न्वारनको नाम खिमलाल भण्डारी हो । विष्णु भण्डारी ब्रा≈मण परिवारका हुन् । यिनीहरू जुम्लाको सिंजाबाट धुर्कोटमा बसाइँसराइ गरी आएको देखिन्छ । भण्डारीका पूर्खाहरूले पढ्ने, पढाउने र खेतीपाती गर्ने तथा पशुपाल गर्ने गर्दथे । उनका बुवा पनि खेतीपाती गर्दथे । उनी ११ वर्षको हुँदा धर्मसंस्कृति अनुरूप उपनयन (ब्रतबन्ध) गरिएको हो । नेपालको सुन्दर पहाडी र रमणीय जिल्ला गुल्मीको धुर्काेट वस्तुमा भण्डारीको बाल्यकाल बितेको थियो । नेपालमा प्रजान्त्रको अपहरण र एकदलीय पञ्चायती व्यवस्था स्थापनापछिको अस्थिर राजनीतिक अवस्थाका समयमा भण्डारीको जन्म भएको थियो ।

२.२.२. शिक्षादीक्षा

      विष्णु भण्डारी अक्षरारम्भ तथा विद्यालयीय शिक्षाको सुरुवात २०२९ मा हिमालय प्रा.वि.वस्तु हटियामा शिशु कक्षाबाट आरम्भ भएको हो । यिनले शिशु कक्षामै प्रथम भई आफ्नो प्रतिभा देखाएका थिए । पहाडी क्षेत्र भए पनि घर नजिकै विद्यालय भएकाले शिक्षा आर्जनका लागि टाढा जानु परेन । चार कक्षा पास गरेपछि अध्ययन छाडेर २०३३ मा १३ वर्षको उमेरमा पारिवारिक आर्थिक समस्याका कारण कामको खोजीमा भारत गएका थिए । उनले पुनः २०३४ मा नेपाल फर्की हिमालय मा.वि.मा कक्षा पाँचमा भर्ना भई अध्ययनलाई निरन्तरता दिइएका हुन् । विद्यालयको शिक्षा अवधिभर       प्रायः द्वितीय हुने भण्डारी कक्षा ९ मा भने विद्यालय भरीको पहिलो भएका थिए । उनले  २०४० सालमा २० वर्षको उमेरमा प्रवेशिका परीक्षा द्वितीय श्रेणीमा उतीर्ण गरी विद्यालयीय शिक्षा पूरा गरेको देखिन्छ (ढकाल, ध्रुव राज २०७०: १२) । उनले २०४१ मा वुटवल बहुमुखी क्याम्पस बुटवलमा भर्ना भई विज्ञान विषय लिई आफ्नो उच्च शिक्षाको अध्ययन प्रारम्भ गरे । त्यस समयमा देशमा पञ्चायती व्यवस्था थियो । जनताका हक र अधिकारहरू खोसिएका थिए भने पञ्चायती व्यवस्थाको स्वेतआतङ्कले गर्दा जनतामा त्रास छाएको थियो । भण्डारी पनि निरङ्कुश व्यवस्थाको विरूद्ध मोर्चाबन्दीमा लाग्न थाले जसले गर्दा पढाइ पूरा गर्न सकेनन्् । अन्त्यमा उनले २०४७ सालमा प्राइभेटबाट प्रवीणता तह उत्तीर्ण गरेर उनको उच्च तहको औपचारिक शिक्षा टुङ्गियो । उनको      औपचारिक अध्ययनको सिलसिला स्थगित भए पनि अनौपचारिक अध्ययन भने निरन्तर चलिरहेको देखिन्छ ।

२.२.३. विवाह र दाम्पत्य

विष्णु भण्डारीको विवाह २०४८ सालमा अर्घाखाँची जिल्ला निवासी श्री भोजराज भुसाल र पवित्रा भुसालकी सुपुत्री पार्वता भुसालसँग भएको हो । तत्कालीन मसालका नेता विनबहादुर कुँवर र टोपबहादुर रायमाझीले पार्वता भुसालसँगको वैवाहिक सम्बन्धको कुरो ल्याएका थिए । पार्वतासँग विष्णु भण्डारीका वैचारिक मेल भएका कारण हिन्दू परम्पराभन्दा भिन्न तरीकाले जनवादी विवाह गरेका हुन् (ढकाल, २०७०: १४) । हाल उनका एक छोरा दुई छोरी छन् ।

२.२.४. आजीविका

विष्णु भण्डारीले २०४२ बैशाख १ देखि मङ्सिरसम्म ८ महिना पिपलटार प्रा. वि. धादिङमा शिक्षक भई अध्यापन गरे । यही नै उनको जागिरे जीवनमा प्रवेश थियो । २०४३ बैशाख १७ मा लोकसेवा आयोगबाट मुखिया पदमा नियुक्ति भई पायोनिर गण भद्रकालीमा काम गरेका भण्डारीले २०४३ पुसमा विद्यार्थी राजनीतिमा पनि सक्रिय भएकाले भण्डारीले मुखिया पदबाट राजिनामा दिइएको देखिन्छ । २०४३ फागुन १८ मा भण्डारीले पुनः लोकसेवा आयोगबाट खरदार पदमा नियुक्त भई धादिङ् बेशीको भूमिसुधार शाखामा काम गरेको देखिन्छ (ढकाल, २०७० : १६) । २०४४ चैत ९ गते नापी विभागमा काम गर्न थालेका उनले राजनीति गर्ने उद्देश्यका साथ २०४६ मङ्सिर २ मा राजिनामा दिएका भण्डारीले २०४८ देखि झण्डै डेढ दशक व्यापार गरेकोे     देखिन्छ ।

२.२.५. प्रेरणा र प्रभाव

      उपन्यासकार विष्णु भण्डारी बाल्यकालदेखि नै साहित्य सिर्जनामा औधी अभिरुचि राखेको पाइन्छ । विद्यालयमा हुने साप्ताहिक कार्यक्रममा भाग लिन दाजु हरि भण्डारीको प्रेरणा मिलेको देखिन्छ । उनले २०३७ सालमा कक्षा ७ मा पढ्दा फूल शीर्षकको कविता लेखेका थिए । बाल्यकालमै पारिवारिक समस्याका कारण कामको       खोजीमा भारत गएका बेला त्यहाँ नेपाली पद्य सङ्ग्रह भाग एक, महाभारत र रामायणको अध्ययनको अवसर पाए जसले उनलाई कविता तिर आकर्षित ग¥यो । साहित्य सिर्जनामा उनको पारिवारिक पृष्ठभूमि, तत्कालीन समाज, साथीभाइ,   भौगोलिक परिवेश, विद्यालयको साहित्यिक कार्यक्रम, गुरुहरू र राजनीतिक सम्र्पकले उत्प्रेरणा जगाएको पाइन्छ (ढकाल, २०७० : १८) ।

२.३. विष्णु भण्डारीको व्यक्तित्वको अध्ययन

      विष्णु भण्डारीको साहित्येतर र साहित्यिक व्यक्तित्वको यहाँ क्रमशः अध्ययन गरिएको छ ।

२.३.१. साहित्येतर व्यक्तित्व

        विष्णु भण्डारीमा साहित्यिक व्यक्तित्व जस्तै साहित्येतर व्यक्तित्व पनि पाइन्छ । उनी बहुआयमिक प्रतिभा भएका व्यक्तित्व हुन् । साहित्येतर व्यक्तित्वले पनि उनको साहित्यिक व्यक्तित्वलाई उचाइ प्रदान गर्न परिपूरक भूमिका खेलेको पाइन्छ । भण्डारीका साहित्येतर व्यक्तित्वलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

(क) पत्रकार व्यक्तित्व

      विष्णु भण्डारी विभिन्न समयमा विभिन्न पत्रपत्रिका, साहित्यिक सङ्घसंस्था र आन्दोलनसँग संलग्न भएर काम गरेका थिए । भण्डारीले २०४५ सालमा ‘हलकारा’ पत्रिकाको सहयोगी सम्पादकका रूपमा काम गरेका थिए भने चन्द्रगिरी’ साहित्यिक पत्रिकाको प्रकाशन÷सम्पादकका रूपमा रहेर कार्य गरेका थिए । अभिज्ञान र प्रलेस पत्रिकामा पनि उनी सम्पादन मण्डलमा रहेर काम गरे । उनले प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ, लगायतका साहित्यिक सङ्घसंस्थामा आबद्ध रहेर कार्य गर्दै आएको देखिन्छ । भण्डारी साहित्यिक पत्रकार सङ्घको केन्द्रीय सदस्यका रूपमा रहेर कार्य गर्दै आइरहेका छन् (ढकाल, २०७०: ३४) ।

(ख) बहुभाषिक व्यक्तित्व

      विष्णु भण्डारी नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा दक्ष रहेका छन् । उनको बहुभाषिक व्यक्तित्व उनका साहित्यिक रचनामा पनि पर्न गएको छ । भण्डारीले खास गरी संस्कृत तत्सम शब्द, आगन्तुक, अङ्ग्रेजी शब्द र नेपाली झर्रा शब्दहरूको प्रयोग आफ्ना रचनामा प्रचुर मात्रामा प्रयोगमा आएको देखिन्छ । कामको सिलसिलामा बाल्यकालमै भारत जाँदा त्यही हिन्दी भाषा सिकेका र हिन्दी साहित्यका पुराना केही पुस्तक तथा पत्रपत्रिका पढ्न पाएका थिए । त्यस्तै विद्यालयीय शिक्षा तथा इन्सिटीच्युटबाट अङ्ग्रेजी भाषा सिकेका कारण भण्डारी अङ्ग्रेजी भाषामा पनि सक्षम छन् (ढकाल, २०७०: ३४)। समग्रमा यही बहुभाषिक व्यक्तित्वले साहित्य लेखनमा सकारात्मक प्रभाव पारेको देखिन्छ । भण्डारीमा बहुभाषिक ज्ञान भए तापनि साहित्य सिर्जना भने नेपाली भाषामा गरेको देखिन्छ ।

(ग) शिक्षक व्यक्तित्व

      विष्णु भण्डारीको अर्को व्यक्तित्वको पाटो शिक्षक पनि एक हो । उनले वि.स. २०४२ साल बैशाख १ गतेदेखि मङ्सिर महिनासम्म पिपलटार प्रा.वि. धादिङ्मा अध्यापन गरेका थिए । युवा जोश जागरका साथमा ज्ञानको ज्योति फैलाउन धादिङ पुगेका भण्डारीले एक शैक्षिकसत्र सम्म पनि अध्यापन गरेको देखिँदैन । त्यहाँ उनले छोटै समय भए पनि कैयौँ बालबालिकालाई शिक्षक भई ज्ञानरश्मीले सिञ्चन गरेका थिए । थोरै समय शिक्षण क्षेत्रमा अनुभव प्राप्त गरेकाले शिक्षण पेसा र विद्यार्थीका विषयमा सधैँ चासो व्यक्त गर्ने गरेको       देखिन्छ । शिक्षक व्यक्तित्वको प्रभाव उनका केही रचनाहरूमा पनि परेको देखिन्छ  (ढकाल, २०७०: ३३) ।

(घ) अभिप्रेरक व्यक्तित्व

      विष्णु भण्डारी अरूलाई प्रेरणा र हौसला प्रदान गर्ने व्यक्तित्वका रूपमा देखापर्दछन् । निरन्तरको साधनाबाट मिठो फल प्राप्त गर्न सकिन्छ भन्ने अभिप्रेरणासाथ सबैलाई कर्ममा निवृत हुन आग्रह गर्ने गरेको देखिन्छ (ढकाल,२०७०: ३३) । उनी साहित्यकार, व्यावसायिक, संस्कृतिकर्मी, शिक्षक, कर्मचारी, समाजसेवी र राजनीतिज्ञ समेत भएकाले सरसल्लाह र सहयोग लिने       व्यक्तिको सङ्ख्या पनि उल्लेख्य रहेको देखिन्छ । साथै सबैसँग सरल व्यवहार गर्ने बानीका कारण उनीसँग सबै जना नजिकिन्छन् । उनले आफूसँग सल्लाह लिन खोज्ने व्यक्तिलाई उचित मार्ग निर्देशन गर्दछन् । आफ्नो कर्तव्य प्रति सदा इमान्दार, मिहिनेती र परिश्रमीका धनी भण्डारी एक कुशल अभिप्रेरक व्यक्तित्वका रूपमा देख्न सकिन्छ ।

(ङ)   राजनीतिक व्यक्तित्व

      विष्णु भण्डारीका व्यक्तित्वका पाटाहरूमध्ये साहित्येतर व्यक्तित्वको ऊर्जाशील पाटो राजनीतिक व्यक्तित्व हो । बाल्यकाल देखि नै ने.क.पा. मसालमा सक्रिय हुँदै आएका भण्डारी क्रान्ति र रूपान्तरणप्रति सधैँ आशावादी देखिन्छन् । देशको राजनीतिक अवस्थालाई अति नै नजिकबाट बुझेका उनी राजनीतिक रूपमा सचेत व्यक्तित्व हुन् । विद्यार्थी समयमा कक्षा ८ मा पढ्दा उनी नेकपा मसालको विद्यार्थी सङ्गठन अनेरास्ववियू(छैँठौ)बाट स्व.वि.यू.मा उप–सभापति पदमा उम्मेदवार बनेपनि पराजित भएका थिए । २०३८ माघमा छैँठौको जिल्ला भेला आयोजक समितिको सहसचिव भएका थिए । वि.स. २०३८ चैतको केन्द्रीय सम्मेलनमा जिल्ला प्रतिनिधि भई काठमाडौँ गएका थिए । त्यस्तै       २०३९ कात्तिकमा छैँठौको जिल्ला अध्यक्ष, २०३९ चैतमा राप्ती र लुम्बिनी उपकेन्द्रीय समितिको सह−सचिवमा मनोनित भएका हुन् (ढकाल,२०७०: ३२) । मसालमा आएको फुट (२०४८) पछि राजनीतिमा निष्क्रिय भएका उनी २०६३ असार १३ गतेबाट औपचारिक रूपमा तत्कालीन ने.क.पा. माओवादीको सांस्कृतिक मोर्चाको क्षेत्रीय सदस्यका रूपमा प्रवेश गरी हालसम्म पनि सोही पार्टीको सांस्कृतिक जिल्ला समिति सदस्यका रूपमा सक्रिय छन् ।

२.३.२. विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व

      विष्णु भण्डारी नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने स्रष्टा हुन् । बाल्यकालको कलिलो उमेरदेखि नै उनले साहित्य लेखन सुरु गरेका थिए (ढकाल, २०७० : २८) । उनका अहिलेसम्म निम्नलिखित साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् । उनले विद्यार्थीकालमै लेखेको कविता रेडियो नेपालको साहित्य संसार कार्यक्रममा प्रसारण भएको देखिन्छ । उनको पहिलो कृति प्रकाशन हुनुभन्दा अघिका फुटकर रचना अप्रकाशित रहेका छन् । उनी नेपाली साहित्यका फाँटमा कविता विधाको विद्रोहको छाल खण्डकाव्य लिएर औपचारिक रूपमा देखिएको पाइन्छ । उनले २०४३ सालमा एस. वि. विवेक उपनामबाट यो कृति प्रकाशित गराएका हुन् । कविता यात्राकै क्रममा २०४४ सालमा आँधी–तुफान  मुक्तक सङ्ग्रह प्रकाशित गरेका हुन् । २०६३ सालमा देश जागेको बेला  र २०६३ सालमै फेरी अर्को तारा खस्यो कविता सङ्ग्रह प्रकाशित गरेका थिए । २०६९ सालमा घाइते ≈िवलचियर कविता सङ्ग्रह प्रकाशित गरेका थिए । कविता यात्राकै क्रममा दुईओटा खण्डकाव्य विद्रोहको छाल र ब्वाँसोको अन्त्यको खेल प्रकाशन गरेका छन् । त्यस्तै एउटा लघुकाव्य ‘कालो नाटक’ रउत्सर्ग महाकाव्य पनि प्रकाशित छन् । उनको पहिलो उपन्यास पहेँलो घाम हो । यो कृति २०७२ सालमा प्रकाशन भएको हो । यी बाहेक फुटकर रूपमा कथा, कविता र निबन्ध पनि प्रकाशित भएका छन् ।

(क)   कवि व्यक्तित्व

      विष्णु भण्डारीको  कविता  लेखन  यात्रा  २०३७  सालमा  सात कक्षा  पढ्दाखेरी  फूल शीर्षकको कविताबाट आरम्भ भएको पाइन्छ । उनले विद्यार्थीकालमा विभिन्न शीर्षका कविताहरू लेखेको र साहित्यिक कार्यक्रममा वाचन गरेको पाइन्छ । साथै विभिन्न पत्रपत्रिकाहरूमा विभिन्न शीर्षकका कविताहरू प्रकाशित गरेको पनि पाइन्छ । भण्डारीका फुटकर कविताहरू फेरि अर्को तारा खस्यो,   देश जागेको बेला र घाइते ह्विलचियर (२०६९) शीर्षकका कविता सङ्ग्रहमा सङ्कलित छन् । भण्डारीको पहिलो कविता सङ्ग्रह फेरि अर्को तारा खस्यो मा विभिन्न  विषय र आकारका ३५ ओटा फुटकर कविताहरू गद्यालयमा संरचित छन्  । यस कविता सङ्ग्रहमा सङ्कलित उनका कविताहरू पढ्दा तत्कालीन समयको चित्र प्रस्ट रूपमा देख्न सकिन्छ । साथै त्यतिखेरको सामाजिक, लैङ्गिक र वर्गीय उत्पीडनका साथै सत्ताको निरङ्कुश चरित्र पनि बुझ्न सकिन्छ । उनका कविताको मर्म भनेको दासता, उत्पीडन र अन्यायबाट मुक्ति र उदात्त चाहनाको अभिवृद्धि गर्नु हो । तत्कालीन सामन्ती निरङ्कुश साशनका कारण देश कठिन परिस्थितिमा रहेको सन्दर्भलाई भण्डारीले जनबोली अर्थात् जनउत्कर्षको प्रकटीकरण यस सङ्ग्रहका कवितामा चर्चा गरेका छन् । यस सङग्रहका अधिकांश कविताहरूमा बिम्बात्मक सुत्र पाइन्छ । प्रकृति, समाज, इतिहास, पुराकथा, माक्र्सवाद, आदि विविध क्षेत्रसँग सम्बन्धित रहेर बिम्ब,  प्रतीक र अलङ्कार योजना गरिएको देखिन्छ ।

      उनको अर्को कविता सङ्ग्रह देश जागेका बेला (२०६३) हो । यस सङ्ग्रहमा विभिन्न विषयका ३० ओटा कविताहरू रहेका छन् । यस सङ्ग्रहका सबै कविताहरू २०६२÷६३ को जनआन्दोलनको सेरोफेरोमा रचिएका कविताहरू हुन् । वास्तवमा यस सङ्ग्रहका कविताहरू १९ दिने जनआन्दोलनका दैनन्दिनीको काव्यिक अभिव्यक्ति हुन् । श्रम सङ्घर्ष, उत्पादन सङ्घर्ष र वर्गसङ्घर्षको कलात्मक दर्पण यस देश जागेको बेला कविता सङ्ग्रहमा रहेका छन् । आन्दोलनको समयमा सारा देशमा बलेको आगोको सहित्यिक रूप यस सङ्ग्रहका कविताले लिएका छन् । गद्यालय ढाँचामा लेखिएका यस सङ्ग्रहका कवितामा सरल शब्द चयन हुँदाहुँदै पनि गहन अर्थ दिन सफल छन् । जनआन्दोलनजस्तो घटनालाई अनेक बिम्ब प्रतीक योजना गदै वैचारिक रूपमा   परिपक्क बनाइएको छ । यस सङ्ग्रहका कविताहरू काँडाभित्र फूलेका गुलाब हुन् र यिनले त्यही गुलाबको सौन्दर्यलाई बोकेका छन् ।

      त्यस्तै विष्णु भण्डारीको अर्को चर्चित कविता सङ्ग्रह घाइते ह्विलचेयर (२०६९) रहेको छ । यस सङ्ग्रहमा ४६ ओटा कविताहरू रहेका छन् ।  यसका सम्पूर्ण कविताहरू गद्यलयमा रचिएका छन् । माक्र्सवाद दर्शन र सिद्धान्तबाट सोझै प्रभावित यस सङ्ग्रहका कविताका विषयवस्तु राजनीतिबाट उत्पन्न परिणाम हुन्, जुन विसङ्गत यथार्थ हुन् ।

      हालसम्म तीनओटा कविता सङ्ग्रह प्रकाशित गरेका विष्णु भण्डारीको व्यक्तित्व फुटकर कविता रचनाका दृष्टिले सशक्त मान्न सकिन्छ । २०४३ सालदेखि औपचारिक रूपमा कविता रूपी डुङ्गामा हेलिएका भण्डारीको घाइते ≈िवलचियर कविता सङ्ग्रहका कवितासम्म आइपुग्दा कवि व्यक्तित्व पनि उचाइमा पुगेको छ ।

      भण्डारीको कविता रचनाको यात्राका क्रममा दुईओटा खण्डकाव्य र एउटा लघुकाव्य प्रकाशन गरेका छन् । ती खण्डकाव्यमा विद्रोहको छाल (२०४३),ब्वाँसोको अन्त्यको खेल (२०४५) र कालो नाटक (२०४५) लघुकाव्य हुन् । विद्रोहको छाल भण्डारीले एस. वि. विवेकको नामबाट प्रकाशन गरेका थिए । यस खण्डकाव्यमा नीलम र उषाका बीचको वार्तालापबाट नेपालमा प्रजातन्त्र ल्याउनका लागि गरिएको सङ्घर्ष र वस्तुस्थितिको चित्रण गरिएको छ । झ्याउरे लयको दुई सय पङ्क्तिमा रचिएको अन्त्यानुप्रास योजना, सरल शब्द चयन र बिम्ब प्रतीक योजनाले भण्डारीको प्रथम प्रयासमै खण्डकाव्यकार व्यक्तित्व प्रष्टिन्छ । त्यस्तै उनको ब्वाँसोको अन्त्यको खेल खण्डकाव्यको विषयवस्तु आख्यान विकल्प विचारका रूपमा आएको छ । निर्दलीय पञ्चायती शासन व्यवस्थाप्रति व्यङग्य र आक्रोश प्रकट गरिएको यस कृतिबाट प्रगतिवादी साहित्यले योगदान प्राप्त गरेको छ । त्यस्तै उनको अर्को लघुकाव्य कालो नाटक रहेको छ । सामन्तवादी पञ्चायती व्ववस्थाले जनताको आँखामा छारो हाल्दै सङ्घर्षलाई निस्तेज गर्न अगाडि सारेको रणनीतिलाई विषयवस्तु बनाउँदै अनुष्टुप छन्दमा रचना गरिएको छ । यसरी नेपाली साहित्यको कविता विधाको मझौला रूपमा कृतिहरू प्रकाशित गरी आफ्नो कवि व्यक्तित्वलाई झन उजिल्याएको देखिन्छ ।

      कविता यात्राकै क्रममा उनको उत्सर्ग महाकाव्य २०६७ मा प्रकाशित भएको छ । २०५२ देखि २०६३ सम्म चलेको जनयुद्धमा आधारित भएर यो महाकाव्य लेखिएको छ । प्रत्येक सर्गलाई अलग–अलग शीर्षक दिएर सर्गविधानमा नविनता ल्याएको यस महाकाव्यमा बिम्ब, अलङ्कार र मिथकहरूको सौन्दर्यपूर्ण प्रयोग पाइन्छ । गद्यलय ढाँचामा लेखिएको यो महाकाव्य जनयुद्धको चेतना र अवस्थालाई प्रकटिकरण गर्न सक्षम भएको छ ।

      तीनओटा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दुई ओटा खण्काव्य, एउटा महाकाव्य, एउटा लघुकाव्य र एउटा उपन्यास प्रकाशित गरेका भण्डारीले आफूलाई एक सफल कविका रूपमा प्रस्तुत गर्न सफल भएको देखिन्छ । २०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी काव्ययात्रामा पदापर्ण गरी अघि बढेका भण्डारी २०६९ मा घाइते ≈िवलचियरसम्म पुग्दा कवि व्यक्तित्व उचाइमा पुगेको छ । कविता विधाको लघुत्तम रूपदेखि बृहत् रूपसम्म कलम चलाएर विष्णु भण्डारीले आफ्नो परिचय बनाउन सफल छन् ।

(ख)   कथाकार व्यक्तित्व

      साहित्यिक व्यक्तित्वका विविध पाटाहरूमध्ये विष्णु भण्डारीको कथाकार व्यक्तित्व पनि एक पाटो हो । उनको पहिलो कथा विश्वासमा अडिएको जीवन (२०६६) असोजमा प्रकाशित भएको हो । उनले अरू थुप्रै कथाहरू सिर्जना र प्रकाशन गरेको भएपनि सङ्ग्रहका रूपमा भने प्रकाशित भएका छैनन् । भण्डारीको कथाकार व्यक्तित्वको निरूपण गर्ने आधार यो लगायत चर्किएको घर, चिहान, फोन चोर र दुश्मन जस्ता अन्य कथाहरू नै हुन् ।

(ग)   उपन्यासकार व्यक्तित्व

      विष्णु भण्डारीले २०७२ सालमा पहेँलो घाम उपन्यास प्रकाशन गरेका छन् । यस उपन्यासमा जनयुद्धमा साहसिक योद्धाको रूपमा परिचय बनाएकी युवतीको कथावस्तु रहेको छ । युवतीले युद्धकालमा भोग्नुपरेको पीडा र उनले देखाएको साहसका साथ सँगै उपन्यास अघि बढेको छ । मानिस अयोग्य हुन सक्दैन भन्ने मूल विषयवस्तु रहेको यो उपन्यास मूलतः अयोग्य लडाकुको कथा हो । यही कृतिबाट उनको उपन्यासकार व्यक्तित्व प्रभावकारी रहेको स्पष्ट हुन्छ ।

(घ) निबन्धकार व्यक्तित्व

      विष्णु भण्डारीले विभिन्न पत्रपत्रिकामा समसामयिक विषयमा कलम चलाइरहेका छन् । विभिन्न पत्रपत्रिकामा उनका निबन्ध र सांस्कृतिक लेख प्रकाशित भएका छन् । साथै उनको आफ्नै व्यक्तिगत ब्लग पनि छ । शैलवी नामको ब्लगमा पनि उनका निबन्धहरू प्रकाशित हुने गर्छन् ।

(ङ)   सम्पादक व्यक्तित्व

      विष्णु भण्डारीले ०४४÷४५ सालमा हलकारा पत्रिकाको सहयोगी सम्पादकका रूपमा काम गरेको देखिन्छ (शोधनायकसँगको कुराकानीका आधारमा) । चन्द्रागिरी साहित्यिक पत्रिकामा प्रकाशक÷सम्पादकका रूपमा रहेर कार्य गरेको देखिन्छ । अभिज्ञान र प्रलेस पत्रिकामा पनि उनी सम्पादक मण्डलमा रहेर काम गरेका छन् भने प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घ,      घनश्याम प्रतिष्ठान लगायत साहित्यिक सङ्घसंस्थामा आवद्ध रहेर कार्य गर्दै आएको देखिन्छ । उनी साहित्यिक पत्रकार सङघ्को केन्द्रीय सदस्यका रूपमा रहेर कार्य गर्दै आइरहेका छन् । यसले पनि उनको साहित्यिक व्यक्तित्वलाई सहयोग गरेको छ । यसरी विष्णु भण्डारीले साहित्य र साहित्येतर दुबै क्षेत्रको      गरिमा र सम्बृद्धिलाई उच्च राख्नका लागि निकै ठुलो प्रयास गरेका छन् ।

२.३.५  विष्णु भण्डारीका साहित्यिक प्रवृत्ति

      बहुआयामिक व्यक्तित्वका धनी विष्णु भण्डारीले कविता, कथा समीक्षा र उपन्यास लगायतका विभिन्न विधामा कलम चलाएका छन् । यी सबै विधामा उनका फरक–फरक विशेषता पाइन्छन् र उनका कतिपय विधामा स्वच्छन्दतावादी प्रवृत्ति पाइन्छन् । यी विशेषताका अतिरिक्त उनका विधाहरूमा पाइने विशेषता निम्न रहेका छन् ।

      सर्वप्रथम साहित्यिकार विष्णु भण्डारी २०४३ सालमा विद्रोहको छाल कृति लिएर औपचारिक साहित्यिक यात्रामा सुरु गरेका हुन् । उनको यात्रा कविता विधाको लघुत्तम रूपदेखि चरम रूप महाकाव्यसम्म फैलिएको देखिन्छ । नेपाली साहित्यिको कविता विधामा थुप्रै कृतिहरू रचना गरी साहित्यको श्रीवृद्धि गरेका उनका कविताको भाव गाम्भीर्य र अन्तरवस्तुको गहनताको दृष्टिले कवित्व उच्च रहेको देखिन्छ । यिनले कवितायात्रामा वि.स. २०४४ सालमा आँधी–तुफान (मुक्तक सङ्ग्रह) प्रकाशित गरेका हुन् । उनले कविता विधाको लघुत्तम रूप मानिने मुक्तकको माध्यमबाट तत्कालीन युगीन शासन व्यवस्थाप्रति विरोध र व्यङ्ग्य प्रकट गर्दै नयाँ समाज निर्माणको पक्षमा आफ्नो आवाजलाई उठाउने काम गरेको देखिन्छ । तत्कालीन सामन्ती निरङ्कूश शासनका कारण देश कठिन परिस्थितिमा रहेको सन्दर्भलाई यिनले आफ्नो कविता मार्फत चित्रण गर्न र समाजको परिवर्तन गर्न खोजेका छन् । १९ दिनको जनआन्दोलनको समयमा देशमा उर्लिएको जनसागरलाई कवितामार्फत देखाउने प्रयत्न गरेका छन् । निर्दलीय पञ्चायती शासन व्यवस्थाप्रति व्यङ्ग्य र आक्रोश प्रकट गर्दै यिनले समाजको चित्रण गरेका छन्। सामन्तवादी पञ्चायती व्यवस्थाले जनताको आँखामा छारो हाल्ने निस्तेज गर्न अगाडि सारेको रणनीतिलाई विषयवस्तु बनाउँदै उनले लघुकाव्य कालो नाटक  मार्फत समाजको चित्रण गरेका छन् ।

      उनको पहिलो कथा विश्वासमा अडिएको जीवन (२०६६) असोजमा प्रकाशित भएको हो । यस कथामा गणतन्त्रको आगमनले समाजमा परिवर्तन आउन सक्ने विश्वासमा बाँचेका पात्रको कथा समेटिएको छ । समाजमा व्याप्त गरिबी, शोषण, दासत्ता र अत्याचारको अन्त्य भई जनआकाङ्क्षा अनुरूपको शासन रहने छ भन्दै वेपत्ता परिवार सरकारप्रति आशातीत रहेको यथार्थको मार्मिक चित्रण गर्दै त्यसले समाजमा ल्याएको परिवर्तन उल्लेख गरे छन् । उनले अरू थुप्रै कथाहरू सिर्जना र प्रकाशन गरेको भएपनि सङ्ग्रहका रूपमा भने प्रकाशित भएका छैनन् । विश्वासमा अडिएको जीवनका साथै चर्किएको घर, चिहान, फोन चोर र दुश्मन जस्ता अन्य कथाहरू पनि प्रकाशित भएका छन् । आख्यान विधामा यिनले यथार्थवादी प्रगतिवादी धारामा तत्कालीन समाजको सामाजिक, राजनीतिक र आर्थिक अवस्थाको चित्रण गरेको पाइन्छ । पहेँलो घाम उपन्यासकार विष्णु भण्डारीको पहिलो औपन्यासिक कृति हो । यस उपन्यासमा २०५२–६३ सालसम्म तत्कालीन ने.क.पा. माओवादीद्वारा सञ्चालित महान् जनयुद्धसँग सम्बन्धीत र सेना समायोजनपछि क्यान्टोमेन्टबाट बाहिरिएका पूर्व माओवादीहरूको कथा व्यथालाई समेटिएको छ । उक्त जनयुद्धमा अत्यन्त सुन्दरी केटी (बन्दुक समाउन दक्ष) सफल माओवादी लडाकु शान्ति सम्झौतापछि आफ्नो जीवनयापनलाई अगाडि बढाइरहेकी छु । अयोग्य लडाकुको कथालाई केन्द्रमा राखी यो उपन्यास तयार पारिएको छ । अर्कोतर्फ समयको परिवर्तनसँगै समाज र समाजमा रहने मानिसमा पनि परिवर्तन आउन सक्छ भन्ने कुरा उपन्यासको खल पात्र विक्रममा आएको परिवर्तनले पुष्टि गरेको छ ।

 २.३.६.      उपन्यासकार विष्णु भण्डारीको औपन्यासिक प्रवृत्ति

      यस अध्यायमा विष्णु भण्डारीको औपन्यसिक प्रवृति अन्तर्गत प्रगतिवादी, सामाजिक यथार्थत, राष्ट्रियता, मानवतावाद, क्रान्ति र विद्रोह र सरल, सहज, स्वभाविक र सम्प्रेषणीय भाषाशैलीको प्रयोग गरि विश्लेषण गरिएको छ ।

(क)   प्रगतिवादी

      उपन्यासमा प्रगतिवादी उपन्यास भन्नाले परम्परागत रूढि, कुरीति, कुसंस्कारको विरोध गरी यिनलाई निर्मूल पार्न गरिएको प्रयासलाई बुझिन्छ । उपन्यासमा चित्रित पात्रहरूलाई शोषक वर्गको आडम्बर भोगवादी प्रवृत्ति र स्वार्थी एवम् मानवहीन षड्यन्त्रको विरोध गर्दै क्रान्तिकारी, विद्रोही र परिवर्तनकारी चरित्र प्रयोग गर्न आग्रह गरिएको हुन्छ । नेपाली साहित्यमा डी.पी. अधिकारीको आशामाया (२०२५) र धरती अझै बोल्दैछ (२०२७) उपन्यासले प्रगतिवादी प्रवृत्तिको सुरुवात गरेका छन् । यसै प्रवृत्तिलाई आत्मासात् गर्दै लेखिएका अन्य उपन्यासहरूमा पारिजातको बैसको मान्छे (२०२९), पर्खालभित्र र बाहिर (२०३५), खगेन्द्र सङ्ग्रौलाको आमाको छटपटी (२०३४), मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीलाई (२०३२), सञ्जय थापाको देउमाईको किनारमा (२०४७), ऋषिराज बरालको कमरेड हुतराजको राजधानी प्रस्थान (२०४८), आहुतीको नयाँ घर (२०५०), आदि रहेका छन् (बराल र एटम, २०६६: १५१–१५२) । प्रगतिवादी उपन्यासमा परम्परागत कुसंस्कारको     विरोध गरी विद्रोही तथा परिवर्तनशील विषयवस्तुको प्रयोग गरिएको हुन्छ । तसर्थ जनतालाई सङ्गठित गरी उद्देश्यपूर्ण ढङ्गले क्रान्ति गर्दै भविष्यप्रति आशावादी हुनु नै प्रगतिवादी हो । जसले परम्परागत रूढि, कुरीति, कुसंस्कारको बिरोध गरी निर्मूल पार्ने प्रयास गर्दछ । विष्णु भण्डारीको उपन्यास पहेँलो घाम भित्र जनयुद्धकालमा नेपाली समाजमा व्याप्त अन्याय, अत्याचार राजनीतिक उथलपुथलले परिवर्तन गर्न खोजिएको यथार्थ चित्रण गरेका छन् ।

(ख)   सामाजिक यथार्थवादी

      उपन्यासकार विष्णु भण्डारीले समाजमा देखेसुनेका, भोगेका तथा अनुभव गरेकाविषयवस्तुलाई आधार बनाएर उपन्यास प्रकाशनमा ल्याएका छन् । अर्को शब्दमा भन्नुपर्दा उनको उपन्यासको विषयवस्तुको स्रोत दन्त्यकथा, इतिहास, वेद, पूराण आदि नभएर उत्पादनसँग सम्बन्धित विषयवस्तु वा नेपाली समाज नै रहेको छ । उपन्यासमा तत्कालीन नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गर्ने उपन्यासकारले नेपाली समाजमा घटित अन्याय, अत्यचार, शोषण दमन तथा उत्पीडनका घटनालाई यथार्थरूपमा चित्रण गरेका छन् । उनको उपन्यास पहेँलो घाम भित्र जनयुद्ध कालमा नेपाली समाजमा व्याप्त राजनीतिलाई यथार्थ चित्रण गरिएको पाइन्छ । त्यसबेलाका क्रूर शासकहरूको आक्रमण, हत्या र बलात्कारको शिकार बन्ने लाटासोझा जनताको कथा नै यस उपन्यासको मूल विषयवस्तु बनेको छ । नेपाली सेनाले जनतालाई दिने दुःख, पीडा आदि भोग्न बाध्य पात्रको उपस्थिस्ति, शिवामाथि अफिसको बोसले गरेको आक्रमण, आर्थिक अवस्था सुधार्न रोजगारिको लागि विदेशिनु परेका बाध्यता आदिजस्ता सामाजिक यथार्थपरक घटनाहरूको संयोजन उपन्यासमा गरिएको छ ।       समाजका शोषित पीडित, सर्वहारा तथा श्र्रमजीवी वर्गको पक्षमा आफ्ना       अभिमत प्रकट गर्दै समतामूलक समाजको परिकल्पना यिनको उपन्यासमा रहेको पाइन्छ ।

(ग)   राष्ट्रियता

      उपन्यासकार विष्णु भण्डारीले आफ्नो उपन्यास पहेँलो घाम भित्र जनयुद्ध कालमा रहेको अन्याय, अत्याचार, शोषण, दमन र राजनीति उथलपुथललाई देखाएका छन् । जसको विरोधमा पीडित जनताहरू राष्ट्रमा परिवर्तन ल्याउनको लागि युद्धमा होमिएका छन् । गणतन्त्र स्थापनाको महान् युद्धमा त्याग, बलिदान र उत्सर्ग गरेका छन् । यही महान् बलिदानले गर्दा राजतन्त्रको अन्त्य भएको छ । राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि देशको विकासको लागि वातावरण बनेको कुरा उपन्यासमा छ । तर नेताको अदूरदर्शिता र मूल्य विघटनका कारण देश कमजोर हुँदै गएको कुरा उल्लेख भएबाट उपन्यासमा राट्रियताको पनि चिन्ता गरिएको स्पष्ट हुन्छ । यस उपन्यासमा राष्ट्र निर्माणका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने केन्द्रीय कथा छ भने पात्रहरूको माध्यमबाट राष्ट्र र राष्ट्रियताका लागि चिन्ता र आशा व्यक्त गरिएको छ ।

(घ)   मानवतावाद

      मान्छेलाई मान्छे भएर बाँच्न नदिने हाम्रो नेपाली समाज, नेपाली राजनीति, शासक र तिनका भरौटेहरूको पाशविक र वर्बर व्यवहारलाई उपन्यासमा विष्णु भण्डारीले प्रस्तुत गरेका छन् । समाजमा रहेका सोझासिदा, अपठित जनता तथा महिलाहरूले सहनु परेको पशुवत् जीवनसत्यलाई ओकल्दै कम्तीमा मान्छे भएर बाँच्न पाउनुपर्ने मानवतावादी सन्देश प्रस्तुत गरेका छन् । उनको       उपन्यासपहेँलो घाम भित्र राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको छ । तर जनयुद्धपछि तिनै गणतन्त्र स्थापना गर्नुपूर्वका माओवादी लडाकुहरू पछि गाँस, बास र कपासको लागि छटपटिनु परेको मानवीय संवेदना प्रस्तुत गरेका छन् । धने कामीले गाउँको मुखियाकी छोरी विवाह गरेको आरोपमा छोरा जन्मिसक्दा पनि उसलाई समाजले स्वीकार नगरेर भाला रोपेर हत्या गरिनु परेको मानवीय घटना मार्मिक रूपले प्रस्तुत गरेका छन् । मान्छेमा मानवीय संवेदनाको लेसमात्र पनि बाँकी नरहेको घटनाहरूको संयोजन गरी मानवतावादका पक्षमा आफ्नो अभिमत प्रकट गर्नु भण्डारीको औपन्यासिक प्रवृत्ति हो ।

(ङ)   क्रान्ति र विद्रोह

      उपन्यासकार विष्णु भण्डारीले आफ्नो उपन्यासमा समाजमा व्याप्त अन्याय र भ्रष्टाचारका विरूद्धमा आवाज बुलन्द गरेका छन् । राजनीतिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक, आर्थिक तथा लैङ्गिक क्षेत्रमा देखिएका सबैखाले विकृत्तिहरूको विरोध गर्नु नै उपन्यासको लक्ष्य रहेको पाइन्छ । क्रान्ति र विद्रोह समाजमा हुने असमानता र अन्याय अत्याचारका कारण हुने हो । लेखकले जनयुद्ध सुरु गर्नाका कारणको बडो कलात्मक ढङ्गले उपन्यासमा चित्रण गरको देखिन्छ । क्रान्तिविना विकास र सम्पन्नताको कल्पना गर्न सकिन्न भन्ने मान्यतालाई आत्मसात् गर्दै लेखकले शान्तिका लागि पनि विद्रोह वा क्रान्ति आवश्यक रहको कुरा जनाएका छन् । उनको उपन्यास पहेँलो घामकी प्रमुख नारी पात्र शिवाको क्रान्तिकारी विचार, साहस, आँट र युद्धको बेला उनले परिवर्तनका लागि गरेका बलिदानीपूर्ण कार्यहरू बडो मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । अफिसको बोसको तिरस्कार तथा तिनका भरौटेद्वारा गरिब जनताको पीडा, जनयुद्ध कालमा नारीको सशक्त भूमिका सर्वसाधारणलाई गरेको अमानवीय व्यवहार, नारीमाथि गरेको यौनशोषण, हत्या आदिजस्ता अपराध विरूद्ध सर्वसाधारण जनतालाई सचेत तुल्याई जनयुद्ध सफल पारेको घटनाले गर्दा विद्रोह र क्रान्ति नै सिङ्गो उपन्यासको कार्य बन्न पुगेको छ ।

(च)   सरल, सहज, स्वाभाविक र सम्प्रेषणीय भाषाशैलीको प्रयोग

      सरल, सहज, स्वाभाविक र सम्प्रेषणीय भाषाशैलीको प्रयोग गर्नु विष्णु भण्डारीको अर्को औपन्यासिक विशेषता हो । पात्र अनुकूल संवादको प्रयोग उपन्यासमा पाइन्छ । खासगरी वर्णनात्मक शैली अँगालेर लेखिएको यो उपन्यासमा प्रसङ्गबस यथेष्ट बिम्ब र प्रतीकहरू पनि आएका छन् । समग्रमा उपन्यास काव्यात्मक शैलीको प्रयोगले गर्दा कलात्मक बन्न पुगेको छ । उपन्यासमा तत्सम, तत्भव र आगन्तुक तीनै क्षेत्रका शब्दहरूको प्रयोग पाइन्छ । उपन्यासमा संयुक्त र सरल वाक्यको प्रयोग भएको छ । झर्रा तथा अनुकरणात्मक शब्दहरूको यथोचित प्रयोगले भाषालाई जीवन्तता प्रदान गरेको छ ।

२.३.७  निष्कर्ष

      उपन्यासकार विष्णु भण्डारीले आफ्नो उपन्यासमा समाजमा विद्यमान गरिबी, अन्याय, अत्याचार, थिचोमिचो, भ्रष्टाचार र अन्धविश्वास आदि मानव विरोधी पक्षहरूको उद्घाटन गर्दै तिनका विरूद्ध कलात्मक अभिव्यक्ति दिने काम गरेका छन् । उपन्यासमा विद्रोही र क्रान्तिकारी देखिए पनि उनी व्यवहारमा मिलनसार, हौसला र स्पष्टवक्ता छन् । द्वन्द्वात्मक भौतिकवाद र माक्र्सवादी कला सौन्दर्यबाट प्रभावित विष्णु भण्डारीको उपन्यासमा प्रगतिवादी चिन्तन अभिव्यक्त भएको पाइन्छ । उनी प्रगतिशील लेखकहरूको प्रतिनिधित्व गर्ने प्रमुख स्रष्टा हुन् । त्यसैले उनको उपन्यासको अध्ययन गरी मूल्याङ्कन गर्दा उपन्यासमा सामाजिक थथार्थता, प्रगतिशीलता, मानवता, राष्टियता, वर्गाीय उत्थान, स्वतन्त्रता र स्वाधीनताको पक्षमा दरोसँग उभिदै सामन्ती अधिनायकवाद तथा हैकमवादका विरुद्ध क्रान्ति र विद्रोहको स्वर मूखरित भएको पाइन्छ । आफूले देखेसुनेका, भोगेका तथा अनुभव गरेमा सामाजिक घटनालाई यथार्थ रूपमा कलात्मक, काव्यात्मक शैलीको प्रयोग गरी सरल, सहज र सम्प्रेषणीय भाषामा जीवन्तता प्रदान गर्नु नै उपन्यासकार विष्णु भण्डारीको औपन्यासिक प्रवृत्ति हो । 

परिच्छेद तीन

पहेँलो घामउपन्यासको सामाजिक पक्षको अध्ययन

३.१   परिचय

      कृतिकार समाजको सदस्य भएकाले उसले आफ्ना कृतिमा आफूले देखेका, सुनेका, भोगेका तथा अनुभव गरेका समाजलाई कुनै न कुनै रूपमा प्रस्तुत गरेको हुन्छ । सृष्टिको विविधता विचित्रको भए जस्तै सामाजिक विषय र तिनका पक्षहरुको अध्ययनले समाजलाई समानरूपमा प्रस्तुत गर्दैन । समाजभित्र भएका विषयबस्तु, चालचलन, रीतिरिवाज, रहनसहन, परम्परा लगायत समाजका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक मानसिक वा बौद्धिक आदि सबै पक्षले सिर्जना भएको साहित्यिक कृतिमाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्दछ । साहित्यमा प्रस्तुत गरिएको समाजका यिनै विविध पक्षमाथिको विस्तृत अध्ययन नगरिए अपूरो रहने गर्दछ । यसै पृष्ठभूमिका आधारित रहि उपन्यासकार विष्णु भण्डारीको उपन्यास पहेँलो घाम (२०७२) को सामाजिक पक्षको अध्ययन गर्ने क्रममा विभिन्न सैद्धान्तिक मापदण्ड र परिसूचकको प्रयोग गरिएको छ ।

३.२   सामाजिक पक्षको अध्ययन

      पहेँलो घाम उपन्यास विष्णु भण्डारीको पहिलो औपन्यासिक कृति हो । मझौला आकारको देखिने यस उपन्यासको संरचनालाई अध्ययन गर्दा २९४ पृष्ठ, शीर्षक बिहीन २५ परिच्छेद रहेका छन् । सबैभन्दा बढी १०० र सबैभन्दा कम २० अनुच्छेद छन् । यस उपन्यासले दश वर्षे जनयुद्धलाई समेटेको छ । जनयुद्धमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न व्यक्तिबाट लेखिएको हुँदा उपन्यासको विषय, पात्रचयन र प्रस्तुति यथार्थको नजिक देखिन्छ भने घटना र चरित्राङ्कनमा पनि यथार्थवादी दृष्टि अबलम्वन गरिएको पाइन्छ । लेखकले अयोग्य लडाकुले भोग्नु परेका समस्या अनि तिनका आस्था र विश्वासमा गएको पैह्रोलाई यस उपन्यासमा  चित्रण गरेका छन् । आकारका दृष्टिले मझौला देखिने यस उपन्यासमा द्वन्द्वकालमा सेनाबाट आफ्नो बुवा र हजुरआमा गुमाएकी र उक्त घटनामा परी अर्धचेत अवस्थामा रहेकी आमा र शिवाले जीवनमा भोग्दै आएका समस्या, दुःख, पीडा र आरोह–अवरोहलाई देखाउँदै शिक्षित युवती शिवाको चरित्र चित्रण गरिएको छ । द्वन्द्वकालमा नेपाली समाजमा घटेका विभिन्न घटना, विकृति र विसङ्गतिका विरुद्ध क्रान्तिको विगुल फुक्न चाहने प्रमुख पात्र शिवाको जीवन भोगाइमा केन्द्रित छ । यस उपन्यासले देश, काल र परिस्थिति अन्तर्गत काठमाडौँदेखि पोखरा र दोलखादेखि सिरहाको लाहान चोक र वासिङ्टनको सेरोफेरो ढाक्न पुगेको छ । उपन्यासले समाजमा परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने कुरालाई सामाजिक घटनाको आधारमा देखाउन सफल भएको छ । सामाजिक पक्षको निम्नानुसारको सिद्धान्तलाई सँगै राखेर कथावस्तु, परिवेश, जातजाति, भाषा, पेसा, आर्थिक अवस्था, शैषिक पक्ष, लैङ्गिक अवस्था, राजनीतिक अवस्था, पारिवारिक अवस्था, सामाजिक समस्या आदिको विश्लेषण गरिएको छ ।

शोध- पत्र

३.२.१  कथावस्तु

      कथावस्तु उपन्यासमा घट्ने घटनाहरूको योजनाबद्ध घटना हो । यसमा आउने घटनाहरू कार्यकारण सम्बन्धद्वारा कसिएका र व्यवस्थित गरिएका हुन्छन् कथावस्तुमा चरित्र, विचार, कल्पना जस्ता कुराहरू समाबिष्ट हुन्छन् । कथावस्तुले नै उपन्यासको मूल ढाँचा निर्माण गर्ने प्राथमिक तत्वको काम गर्दछ (बराल र एटमः २०६६:२०–२१) । दश वर्षे जनयुद्धलाई समेटेर एउटी निम्न मध्यमवर्गीय पात्र शिवा र सोहनको जीवनमा आएको परिवर्तन र उनीहरूले खेलेको भूमिकालाईं मूल कथावस्तु बनाइएको पहेँलो घाम उपन्यास भण्डारीको पहिलो औपन्यासिक कृति हो । अयोग्य माओवादी लडाकु शिवालाई नायिका बनाएर उसैको केन्द्रीयतामा कथालाई अघि बढाइएको यस उपन्यासको नायक माइकल सोहन रहेको छ । ऊ सानैदेखि अमेरिका बस्दै आएको हुन्छ । बावुआमाको मृत्युपछि आफ्नो पुख्र्यौली थलोको खोजिमा दोलखा आउँदै गरेको सोहन र अयोग्य घोषित गरिएपछि क्यान्टोमेन्टबाट बाहिरीएकी रमिला (पार्टीको नाम शिवा) संयोगले एउटै बसमा यात्रा गर्न पुग्छन् । सोहनले आफू अयोग्य छापामार शिवाको डकुमेन्ट्री बनाउन हिँडेको भन्दै छापामार युवती शिवाबारे जिज्ञासा राख्छ । शिवाको नामले युवती झस्किन्छे । उसले आफ्नो वास्तविक परिचय नदिएर रमिला नाम बताउँछे । जाममा परेको बस काठमाडौँ पुग्दा रात पर्छ । भक्तपुरको आफ्नो साथीको डेरामा जान सम्भव नभएर आत्तिएकी रमिलालाई सोहनले आफूले बुक गरेको होटलको कोठामा राखेर आफू अर्को होटलमा बस्छ । यसबाट प्रभावित बनेकी रमिला सोहनसँग नजिकिन्छे । उता साथी सविनलाई लिएर दोलखाको एउटा गाउँमा पुगेको सोहन सानो पसलमा बास बस्न पुग्छ । त्यहाँ पसल गर्ने माओवादी पूर्व लडाकु तारा र आदर्शले शिवाको बारेमा धेरै कुरा बताउँछन् । शान्त र सुखी शिवाको घरमा कसरी सेनाले आक्रमण ग¥यो ? शिवालाई बलात्कार गर्न लाग्दा कसरी हजुरआमाले उसलाई बचाएर भगाइन् ? कसरी उसकी आमा बलात्कृत भइन् ? अनि कसरी निर्दोष बाबु र बृद्ध हजुरआमा मारिन पुगे ? भन्ने कुराहरू ताराले सुनाउँछे । हजुरआमाले भगाएकी डोल्मा (पार्टीको नाम शिवा) कसरी रातको समयमा घना जङ्गल पार गर्दै चौँरी गोठमा पुग्छे ? अनि पछि कसरी ऊ चर्चित छापामार बन्न पुग्छे ? भन्नेकुरा समेत ताराले सोहनलाई सुनाएकी हुन्छे । ताराबाट सोहनले शिवा सम्बन्धी धेरै कुरा थाहा पाउँछ । उता क्यान्टोमेन्टबाट वहिर्गमित भएपछि अन्योल र अनिश्चित भविष्य बोकेर साथीको सहारा खोज्दै भक्तपुर पुगेकी शिवा केही दिन साथीको आश्रयमा, केही महिना रेष्टुरेन्टमा काम गर्दै र केही महिना मेनपावर कम्पनीमा जागिर गर्दै पछि आफूजस्तै साथीहरूसँग मिलेर सामुहिक कृषि फर्ममा संग्लग्न हुन्छे । जग्गा भाडामा लिएर संञ्चालन गरिएको उक्त सिर्जनशील कृषिफर्मले उनीहरूको साझा भावना र उदेश्यलाई बोक्न पुग्छ । त्यहाँ ऊजस्तै धेरै अयोग्य लडाकुहरूको संलग्नता रहन्छ ।

      हिजो सँगै लडेका कतिपय कमाण्डर भव्य महलमा बसेको र महङ्गा गाडीमा घुमेको तर अधिकांश कार्यकर्ताको अवस्था झन जराजीर्ण भएको देख्दा उसलाई असै≈य हुन्छ । यसै क्रममा रमिला र सोहन नजिकिन्छन् । उनीहरू सँगै भ्रमणमा निस्कन्छन् र धेरै ठाउँ घुम्छन् । अमेरिका फर्कदा सोहनले दोलखाको गाउँमा एकजना माओवादी भाइलाई पारिश्रमिक दिएर आफ्ना पूर्खा र जन्मथलोको खोजि गर्न लगाउँछ । सोहन अर्कोपल्ट अमेरिकाबाट नेपाल आएपछि शिवासँगै चरिकोट पुग्छ । सोहनले काम अह्राएको भाइले आफूले खोजिका क्रममा थाहा पाएका कुराहरू भन्दै जान्छ । गाउँको प्रतिभाशाली छात्र धने कामीले छात्रवृत्ति पाएपछि सहरमा पढ्न गएको र शहरमै पढ्न बसेकी गाउँको काजीकी छोरीसँग प्रेम बसेपछि विवाह भएको, गाउँमा आउने परिस्थिती नभएपछि शहरमै बसेको र त्यहीँ छोरो जन्मिएको हुन्छ । अलि वर्षपछि गाउँमा आउँदा धने कामीको हत्या गरिएको र उसकी पत्नी र छोराको पत्तो नलागेको कुरा उसले सोहनलाई बताउँछ । उसले धनेको घर र त्यहाँ रहेका उसका बृद्ध बाबुआमालाई समेत देखाइदिन्छ  । वास्तविकता थाहा पाएपछि सोहन मर्माहत हुन्छ ।

      उता कृषि फारममा माओवादी लडाकुहरूको जमघट हुन्छ । माओवादी आन्दोलन र त्यसको परिणाम अनि यसका उपलब्धी र कमजोरीबारे गम्भीर बहस हुन्छ । अधिकांशले आन्दोलनको पछिल्लो अवस्थाबारे गम्भीर असन्तुष्टि र निराशा व्यक्त गर्छन् । तर शिवा यसरी निराश भएर समस्याको हल नहुने बरु प्राप्त उपलब्धीलाई संस्थागत गर्न सबै लाग्नुपर्ने भन्दै सन्तुलित विचार व्यक्त गर्छे । अमेरिकामा रहेको सोहनलाई शिवाले पत्र पठाउँदै आफू नै सोहनले खोजेको शिवा भएको वास्तविकता खोल्दै पहेँलो घाम पुस्तक पठाइदिन्छे । पढेर ऊ झल्यास्ँस हुन्छ । यसरी उपन्यासको प्रस्तावनामा आफू चरिकोट जाँदा सोहनसँग भेट भएको आफू कथा खोज्न त्यता आएको बताउने लेखकले उपन्यास पूरा गर्नुअघि पूर्वकथामा सोहन र शिवाको सम्बन्धको रहस्य खोल्न पुग्छन् । शिवाको बाबुले नै सोहनलाई बाल्यकालमा संरक्षण दिएको र उसकै घरमा केही समय बसेको बताउँदै दुबैजना सहिदकै छोराछोरी भएको रहस्य खोलिएको छ । यसले कतै ती दुईको सम्बन्ध अनैतिक ठहर्ने हो कि भन्ने चिन्तालाई मेट्दै ती दुईको सम्बन्ध विवाहोचित र स्वाभाविक देखाइएको छ । अन्तिममा सहिद घरको उद्घाटनसँगै उनीहरूले नयाँ यात्राको सङ्कल्प गरेपछि उपन्यास समाप्त हुन्छ ।

      शिवाले नेपाली समाजमा चारैतिर अन्धकार छाएको, स्वार्थले जरा गाडेको र नैतिकता हराउँदै गएको देखेर त्यस समाजसित लडेर विजय प्राप्त  गरेकी छ । जनयुद्धकालमा समाजमा घटेका घटनाहरूलाई मूल कथावस्तु बनाइएको यस उपन्यासमा सामाजिक समस्याको रूपमा २०६२÷६३ सालको जनयुद्धलाई समेटिएको छ । युद्धकालका बेलामा समाजले भोग्नु परेको पीडा र जीवन भोगाइ कष्टकर बन्दै गएको समाज पाइन्छ । जताततै द्वन्द्व र उत्पीडनले गर्दा समाजमा महिला, बालबालिका तथा बृद्धहरूको जीवन झनै कष्टकर भएको छ । माओवादी पूर्वलडाकुहरूलाई कृषि पेसामा मात्र सम्लग्न गराउनु भन्दा प्राविधिक क्षेत्रमा सहभागि गराउन सकेको भए समाजमा विकासको गति अगाडि बढ्ने थियो । उपन्यासमा अयोग्य लडाकुहरूको मात्र बढी चर्चा भएतापनि ती लडाकुहरूको व्यवस्थापनको समस्या भने समाजमा यथावत नै रहेको देखिन्छ ।

३.२.२  परिवेश

      उपन्यासकारहरूले उपन्यासमा कथावस्तु र चरित्रको संयोजन गर्दा खास समय, स्थान र परिस्थितिको निर्माण गर्दछन् । यसरी लेखकले आफ्नो अनुभवबाट प्राप्त स्थान, समय र परिस्थितिलाई उपन्यासको कथानकमा प्रयोग गर्ने कार्य परिवेश हो (बराल २०६६: ५५) । उपन्यासमा पात्रहरूको क्रियाकलाप गर्ने वा घटनाहरू घट्ने स्थान, समय र त्यसको मानसिक प्रभावलाई पर्यावरण भनिन्छ । पर्यावरणलाई परिवेश भनिएको पनि पाइन्छ (बराल र एटम २०६६: ६६) । त्यसकारण परिवेश भन्नाले उपन्यासमा व्याप्त देश, काल, समय, स्थान र परिस्थिति वा वातावरण भन्ने बुझिन्छ । पहेँलो घाम उपन्यासको समयावधीको सेरोफोरो लगभग २०६२÷६३ देखि हाल सम्म रहेको देखिन्छ । उपन्यासमा माओवादीले सुरु गरेको जनयुद्धको समय र शान्ति प्रक्रियापछि अयोग्य प्रमाणित भएर निकालिएका लडाकुहरूले जीवनयापन गर्न सिर्जनशील कृषि फारम सञ्चालन गरेको समयावधि कालीक परिवेशको रूपमा आएको छ । उपन्यासको कथावस्तुले समेटेको स्थान वा ठाउँ नै स्थानिक परिवेश हो । प्रस्तुत पहेँलो घाम उपन्यासमा घटनाहरू घटित भएका स्थानहरू धेरै छन् । पोखराको लेकसाइड, सारङ्कोट, गोरखा, दोलखाको जिरी, कालिञ्चोक, सुन्द्रावति, लापिलाङ, डुसीखर्क, नुनथला र लाङटाङ पदमार्ग आदि स्थानिक परिवेशका रूपमा उल्लेख गरिएको छ । गोरखा दरवारबाट उत्तरतिर हिमाल, पश्चिमतिर फैलिएको क्षितिज र दक्षिणतिरको हरियो फाँट पनि परिवेशको रूपमा उपन्यासमा आएको छ । दोलखा जाने राजमार्ग छेउको होटल, दोलखाकै पल्लो पाखोमा रहेको आदर्शको होटल, बैराम काटेर सैलुङ हुँदै पूर्वजाने बाटो, चारैतिर डम्म कुहिरो र बाक्लो हिउँले ढाकिएको स्याउँले गोठ जस्ता स्थानहरू उपन्यासमा उल्लेख भएका ठाउँहरू हुन् । उपन्यासमा काठमाडौँको ठमेलमा रहेको होटल, एयरपोर्ट, भक्तपुरको दक्षिणपूर्व पर्ने शिवाको कोठा, भक्तपुर मादिकोटको सिर्जनशील कृषि फारम स्थानिक परिवेशका रूपमा आएका छन् । त्यस्तै खेतबारीमा काम गर्ने मानिसहरूको जीवनशैली, परम्परागत चालचलन पनि उपन्यासमा प्रस्तुत भएका छन् । बारी र खेत बाँझिएका र सन्नाटा बोकेर बाँचेका गाउँ र गाउँको विकासको नाममा धुलेजीप र थोत्राबस मात्र हुनु पनि स्थानिक परिवेश हुन् । प्रस्तुत उपन्यासमा अस्पताल, शेर्मा गाउँ, पेरिसडाँडा, अमेरिका, शिवाको अफिस पनि स्थानिक परिवेशको रूपमा आउँछन् ।

      राजमार्ग छेउको होटलबाट देखिएका पातला घरहरू, किराना पसल, कपडा पसल र भट्टीपसल पारिस्थितिक परिवेशका रूपमा आएका छन् । त्यस्तै ढङ्ग्री खोलाको खोँचमा भएको भीषण आक्रमण, शिवाको बोसको अफिसमा भएको आक्रमण, शिवाको घरमा भएको आक्रमण, ठमेलको अग्लो होटलबाट देखिएको मनमोहक दृश्य, घामको दोछायाँमा देखिएको स्वयम्भू, चन्द्रागिरिको सौन्दर्य, पोखराको सुन्दर र रमणीय वातावरणसँगै घामको न्यानोमा धोविनी र जुरेलीको चिरबिर आवाज उपन्यासमा पारिस्थितक परिवेशको रूपमा आएका छन् । फागुन महिनाको न्यानो घाम, पाखोमा बाक्लो जङ्गल, ग्राबेल बाटो, बसन्त ऋतुको रात, शरदको न्यानो घाम झुलेका फाँट, मादिकोटको पाताले टार, खोलाछेउ फाँटको पूर्व र दक्षिणमा ठडिएका पहाड, फारमबाट देखिएको पश्चिम र उत्तरपट्टिको विशाल आयतनमा फैलिएको शहर उपन्यासमा परिवेशका रूपमा वर्णित छन् । उपन्यासमा नागढुङ्गा कटेपछि देखिने स–साना गाउँ र एकनासका घरको चित्रण गरिएको पाइन्छ भने शैलुङ्गको शिखर, गौरीशङ्कर, शेर्मा गाउँको बस्ती, सुनसान र एकलास ठाउँ, ढुङ्गा लगाइएको घरको छाना भत्किएको र चुहिने गारोमा देखिएको पानीका धारा बगेको डाम पारिस्थिक परिवेशका रूपमा प्रस्तुत भएका छन् । त्यस्तै बन्दीपुर, सर्लाही, मलङ्गवा, महाभारत लेक, भोजपुरको घोडेटार, कालीलेक पनि पारिस्थितिक परिवेशको रूपमा आएका छन् ।

      पहेँलो घाम उपन्यासमा जनयुद्ध र जनयुद्धपश्चातको परिवेश चित्रण गरिएको छ । उपन्यासमा माओवादीको विगत र वर्तमान अवस्थाको चित्रण गरिएको छ । युद्धमा भएको दमन, हत्या, नृशंसताको यथार्थ प्रस्तुतिका साथै ठूला भनाउँदा र पढेलेखेकाले निम्नवर्गीय जनतामाथि गरेको अमानवीय व्यवहारको पनि चित्रण गरिएको छ । सङ्घर्ष र क्रान्तिको निरन्तरताबाट नै जीवन सफल हुन्छ भन्ने उपन्यासमा देखाइएको छ । समग्रमा भन्नुपर्दा उपन्यासमा ग्रामीण र शहरीया दुवै परिवेशको सफल चित्रण गरिएको पाइन्छ । यस उपन्यासको परिवेशलाई विश्लेषण गर्दा नेपालदेखि अमेरिकासम्मको रहेको छ । विदेशमा समेत नेपालको दश वर्षे जनयुद्धको चर्चा सुनेर सोहन डकुमेन्ट्री बनाउनको लागि नेपाली भूमि र समाजको चयन गर्नु समाजमा सकारात्मक देखिन्छ । तर उपन्यासकारले नेपालका हिमाली भेगमा समेत गाडीमोटर चलेको देखाउनु त्यति सान्दर्भिक रहेको देखिँदैन । 

३.२.३  जातजाति

      समाजमा विभिन्न जातजातिको बसोवास रहेको छ । प्रत्येक जातिको आ–आफ्नै संस्कति, मूल्य, मान्यता, प्रथा, विश्वास, परम्परा, सभ्यता आदि सामाजिकता रहेका हुन्छन् । हाम्रो देश नेपाल भने बहुजातजातिको बसोवास भएको मुलुक हो । यहाँ अनेक जातजातिको बसोबास रहेकाले अनेक प्रकारका रीतिरिवाज र जीवन शैली रहेको पाइन्छ (कोइराला, २०७०: ६०) ।  साहित्यकार पनि त्यहि समाजको सदस्य भएका कारण उनका कृतिमा विभिन्न जातजातिहरूको प्रयोग भएको पाइन्छ । हाम्रो देश नेपालमा विभिन्न जातजातिको बसोवास भएको पाइन्छ । हुन त उपन्यासको मुख्य कथावस्तु जनयुद्धको बलीदानीपूर्ण इतिहास र त्यसले समाजमा पारेको सामाजिक पक्षमा आधारित छ । पचासको दशकको सेरोफेरोमा समाजमा केहि परिवर्तन ल्याउनको लागि युद्धले जन्माएकी शिवा एकजना मेजरसहित एकदर्जन सेनालाई पराजीत गर्न सफल हुन्छे । उपन्यासकी प्रमुख पात्र शिवासहित अन्य युवायुवतीहरू पनि युद्धमा होमिएका छन् । युद्धमा चारजात छत्तीस वर्णकै उपस्थिती रहेको छ । उपन्यासकारले उपन्यासमा समाजका सकारात्मक र नकारात्मक प्रभाबलाई राम्रोसँग उतारेका  छन् ।

      पूर्वदीप्ति शैलीमा लेखिएको प्रस्तुत उपन्यासमा लेखकीय वर्णनात्मक तथा संवादात्मक शैलीको प्रयोग गरिएको छ । लेखक जन्मिएको र हुर्किएको समाजको भाषिकागत सूक्ष्म प्रभाव देखिएपनि पात्रहरूले शुद्ध नेपाली भाषाको प्रयोग गरेका छन् । उपन्यासकी प्रमुख पात्र शिवाका बाउ तामाङ भएतापनि उसको बोली शुद्ध नेपाली छ । विदेशमा बस्ने सोहनले यदाकदा अंग्रेजी भाषाको प्रयोग र शुद्ध मानक नेपाली भाषाको प्रयोग गरेको पाइन्छ । उपन्यासमा ब्राह्मण र क्षेत्रीय जातजातिले शुद्ध र मानक नेपाली भाषाको प्रयोग गरेको पाइन्छ । अन्य जातजातिहरूमा भने आफ्नै मातृभाषाको प्रभावका कारण शुद्ध मानक नेपाली भाषाको प्रयोग गर्न सकेको देखिँदैन । हुनत एकाध जातजातिले पनि शुद्ध नेपाली भाषाको प्रयोग गर्ने गर्दछन् ।

      यस उपन्यासकी मुख्य पात्र शिवाले प्रवेशिकासम्मको पढाइ गाउँको स्कुलमा गरेकी थिई । प्लस टुसम्मको अध्ययन भने माओवादी जनयुद्धको बेलामा गरेकी थिई । वि.ए. सम्मको अध्ययन गरेकी शिवा एक असल नारी पात्र हो । उसकी आमा बाहुनी र बुवा तामाङ् हुन् । उसको वास्तविक नाम डोल्मा हो । आमा बाहुनी भएता पनि बुवा तामाङ् भएकाले शिवा जनजातीय वर्गभित्र परेको पुष्टि हुन्छ । द्वन्द्वकालमा हराएकी भनिएकी डोल्मा तारा भाउजूको छत्रछाँयामा बसेकी हुन्छे । धेरै समय बेपत्ता भएर फेला पारिएकी हुनाले डोल्माको काकाले उसको नाम शिवा राखेका हुन् । डम्बर गुरुङ्की नातिनी भएपनि दलितसँग जनवादी विवाह गरेकी हुनाले तारा पनि दलित जातिमा नै पर्छिन् । द्वन्द्वकालमा माओवादी बनेकाहरू सबै वर्ग र जातजातिका छन् । पहेँलो घाम उपन्यासमा सैनिकहरू अति गौण पात्रका रूपमा देखा परेतापनि उनीहरु क्षेत्री तथा जनजातीय समाजभित्र रहेको पुष्टि हुन्छ । सोहनको बुवा कामी र आमा बाहुनी भएतापनि सोहन पनि दलित जातभित्रै पर्दछ । हाम्रो समाजमा आमाभन्दा बावुको जात अगाडि आउने हुनाले आमा बाहुनी भएता पनि बुवा कामी भएको हुनाले सोहन पनि दलित जातभित्रै परेको पुष्टि हुन्छ । सानैदेखि सोहनको बुवा पढाइमा तीक्ष्ण दिमाग भएको कारण छात्रवृत्ति पाएको हुन्छ  र शहरमा पढ्न जान्छ । त्यत्ति नै बेला सोहनकी आमा मुखियाकी छोरी पनि शहरमा पढ्न जान्छे । उनीहरूबीचको प्रेमसम्बन्ध पछि विवाह सम्बन्धमा परिणत हुन्छ । समाजले उनीहरूको विवाह स्वीकार गरेको थिएन । उनीहरू विवाहपश्चात छोरो जन्मिएपछि मात्र आफ्नो गाउँ फर्कन्छन् । तर उनीहरूको माया समाजले खोसिदिन्छ । सोहनको बुवाको हत्याको सामना आफ्नै आँखा अगाडि गर्नुप¥यो सोहनकी आमाले । समाजले काजीकी छोरी भगाएको आरोपमा सोहनका बुवाको भाला रोपेर हत्या गरे । अझसम्म पनि हाम्रो नेपालमा दलितलाई हेर्ने समाज परिवर्तन भएको छैन ।

       सोहनकी आमा यस उपन्यासको जमिन्दार काजीकी छोरी, उच्च जातकी नारीपात्र हुन्् । उनी आफ्नै गाउँको धनसिं कामीसँग विवाह गरेकाले समाजमा कसैले पनि स्वीकार्दैनन् र आफ्नो पतिको हत्यापछि पनि बेसाहारा बनेकी सोहनकी आमा सानो दुधे बालक काखमा च्यापेर अमेरिका जान्छे र उतै दोस्रो विवाह गरी बस्छे । हाम्रो नेपाली समाजमा अहिले पनि प्रचलित छुवाछुत प्रथाले गर्दा दलितहरू कत्तिसम्म क्रूर र पशुवत् व्यवहार भोग्दै र अपहेलित हुँदै बाँचिरहेका छन् भन्ने कुरा यस उपन्यासमार्फत प्रस्ट देखाइएको छ । टाठाबाठा भनाउँदा माथिल्ला जातकाहरूले धर्मको खोल ओढी दलितहरूको रगत र पसिनामाथि कतिसम्म रजाइँ गर्न सक्छन् भन्ने सामाजिक विकृति यस उपन्यासमा वर्णित छ । यसरी पहेँलो घाम उपन्यासका मुख्य पात्रहरू जनजाति र दलित जातिका भएपनि अन्य सहायक र गौण पात्रहरू भने विविध जातिका छन् । विकल्प, धनवीर, माओवादी भाइ, कमरेड दानबहादुर, बूढाबूढी आदि सम्पूर्ण चार जात छत्तिस वर्णकै प्रतिनिधि पात्रहरूको प्रतिनिधित्व उपन्यासमा रहेको पाइन्छ । समग्रमा मध्यमवर्गीय नेपाली समाजका पठित अपठित, शोषित, पीडित, गरिब, निमुखा, परिवर्तनप्रेमी बहुजातीय नेपाली समाजको प्रस्तुति यस उपन्यासमा पाइन्छ । यस उपन्यासमा समाज र जातिको सम्बन्ध सुमधुर देखाइएको छ । लडाइँ गर्ने र खेतीपाती गर्ने समाजमा प्रायः जनजाति नै रहेको देखाइएको छ ।

३.२.४  भाषा

      भाषा विचार विनिमयको माध्यम हो । भाषा यस सृष्टिमा मानव मात्रको  महत्वपूर्ण प्राप्ति पनि हो । कुनै पनि समाजमा विभिन्न धर्म, वर्ग, लिङ्ग, जात, पेसा र समप्रदायको अवलम्बन गर्ने मानिसहरूको बसोबास रहेको हुन्छ । उच्च शिक्षित एवम् सभ्यवर्गले स्तरीय औपचारिक एवम् सभ्य भाषाको प्रयोग गर्ने गर्दछन् । यस्ता वर्गका भाषामा संस्कृत तत्सम् शब्दको अधिक प्रयोग हुने भएकाले अन्य वर्गका लागि दुर्वोध्य र कठिन हुन्छ । यसरी नै निम्न, असभ्य, अपठित वा अशिक्षित वर्गले बोल्ने भाषामा तत्भव र झर्रा शब्दको बढी प्रयोग हुने भएकाले अनौपचारिक हुन्छ । यो बोलचालमा सीमित रहने हुँदा सामान्य स्तरको हुन्छ । यसमा थेगोको साथै अपूर्ण वाक्यको प्रयोग प्रशस्तै रहन्छ । मध्यम वर्गले बोल्ने भाषामा भने दुबै थरिका विशेषताहरू रहेका हुन्छन् । उपन्यासमा मूर्तरूपमा प्रकट हुने माध्ययम नै भाषा हो (बराल र एटम, २०५९: ५४) । उपन्यासमा यथार्थको अभिव्यक्ति गर्दा पात्रहरूले प्रयोग गर्ने भाषा उनीहरूको स्तर अनुसारको बोलिचालिको भाषा प्रयोग गरिन्छ । यसका साथै स्तरीय लेख्य भाषाको पनि प्रयोग गरिन्छ । उपन्यास पाठ्य विधा भएकाले पाठक समक्ष सम्प्रेषण गर्नका लागि भाषा एक मात्र माध्यम हो । उपन्यासको प्रस्तुतिकरणसँगै आउने घटना, दृष्य, परिवेश आदि सम्पूर्ण कुराहरू भाषाकै माध्यमबाट आउँछन् । उपन्यासलाई कलात्मक वा सौन्दर्ययुक्त बनाउनका लागि बिचलन युक्त साहित्यिक तथा आलङ्कारीक भाषाको प्रयोग पनि गरिएको पाइन्छ । उपन्यासमा भाषाको प्रयोग मूलतः उपन्यासकारले आफै प्रयोग गरेका भाषा र पात्रहरूका माध्ययमबाट प्रयोग गरिएको भाषा गरी दुई किसिमले प्रस्तुत भएका हुन्छन् । पहेँलो घाम उपन्यासमा सरल, सरस, सम्प्रेशषणीय, तत्सम, तत्भव र आगन्तुक तीनै स्रोतका शब्दहरूको प्रयोग भएको छ । पूर्वदीप्ति तथा लेखकीय वर्णनात्मक शैली रहेको यस उपन्यासमा झिनो संवादात्मक भाषाको प्रयोग गरिएको छ । नेपाली समाजमा निम्नमध्ययम वर्गले बोल्ने नेपाली जनजिब्रोमा भिजेका बोधगम्य र सरल भाषाको प्रयोग उपन्यासमा पाइन्छ । उपन्यासको मूल कथावस्तु जनयुद्धलाई सफल पार्नका लागि होमिएका जनताले प्रकट गरेको आक्रोशपूर्ण भाषा पाइन्छ । उपन्यासमा शुद्ध मानक नेपाली भाषाको प्रयोग गर्न सक्ने शिक्षित क्षेत्री ब्रा≈मण समुदायका पात्रको उपस्थिति रहेको पाइन्छ । समाजमा रहेका शोषित, पीडित, दलित तथा उपेक्षित जनतामा चेतना जगाइ युद्धमा सहभागी गराई २०६२/०६३ सालको परिवर्तन ल्याउन सफल शिवाजस्ता पात्र अरू कोही नभएर कुशल भाषिक क्षमता भएका हाम्रै समाजका विद्यार्थी नेताहरूकै प्रतिनिधिमूलक पात्रहरू हुन् । देश र जनताको मुक्तिका निम्ति अहोरात्र लड्ने ती पात्रहरूले नेपाली समाजमा प्रयोग हुने राजनीतिक शब्दावलीयुक्त भाषाको प्रयोग गरेका छन् । ‘मो ता केही वार्ष इन्डियन आर्मीमा काम गरेर छोड्याको हो नोकरीबाडा अलग भा’सी माउवादीलाई सायोग गा¥यो’ (पृः १७६) । रिटायर्ड इन्डियन आर्मीले शिवा र सोहनसँगको संवादमा भाग लिँदा बोलेका वाक्य हुन् यी । जसले जनजातिले बोल्ने भाषाको प्रतिनिधित्व गर्छन् । पहेँलो घाम उपन्यासमा पूर्वदीप्ति शैलीको सरल, शरस भाषाको प्रयोग गरिएको छ । पात्रका जीवनमा घटेका घटनाको स्मरणसँगै कथानक सुरुभई वर्तमान अवस्थामा  आएर द्वन्द्वात्मक बन्न पुगेको छ । खासगरी वर्णनात्मक शैलीमा लेखिएको यो उपन्यासमा तारा (युद्धको नाम प्रतीक्षा) ले नै सम्पूर्ण घटनाको वर्णन गरेकी छ । मञ्चीय पात्रका रूपमा यस उपन्यासमा शिवा, तारा, आस्था, दिपीका, सिर्जना, निमा, सोहन आदि पात्रहरू उपस्थित छन् । ताराले नै वर्णनात्मक शैली तथा आत्मकथात्मक शैलीको बाहुल्यता देखिन्छ । उपन्यासको भाषा काव्यात्मक शैलीको प्रयोगले गर्दा कलात्मक बनेको छ । उपन्यासकारले भाषिक विशिष्टताको अभिव्यक्ति दिन काव्यात्मक तथा साहित्यिक भाषाको प्रयोग गरेको देखिन्छ ।

      ‘हरिया र हँसिला पाखापखेरा, सर्वत्र रमणीय र सुन्दर देखिन्थे । पारिपारि उँचा र  हरिया पहाड लयबद्ध उभिएका थिए । उत्तरतिर स्निग्ध गौरीशङ्कर हिमशृङ्खला बिहानको कलिलो घाममा टल्किँदै थियो (पृ :२६५) । यस गद्यांशमा शरद् ऋतुको समयमा सेर्मा गाउँको रमणीय व्याख्या गरिएको छ । जहाँबाट वारिपारि हेर्दा कलिलो घाममा टल्किएको गौरीशङ्कर हिमालको वर्णन कलात्मक ढङ्गले गरिएको छ । त्यसैगरी उपन्यासमा प्रतीकहरूको पनि प्रयोग गरिएको छ । जस्तै— ‘सन्ध्याकालीन पहेँलो घामको परावर्तनमा क्षितिज चम्किँदै थियो । बजार सुनसान थियो तल–तल पातला घरहरू देखिन्थे । यस्ता पहाडी बस्तीहरू सन्ध्याकालीन पहेँलो घाममा असाध्यै सुन्दर र जादुमयी देखिन्थे । अत्यासलाग्दो चिसो भए पनि ठाउँ नरमाइलो थिएन् । हुन त बजारको नाममा बढीमा तीसओटा हुँदा हुन् घरहरू । केही किराना पसल, एकाध कपडा पसलबाहेक अरू सबै भट्टी पसलहरू । पारिपारि पूर्वजाने मोटरबाटो नागबेली देखिन्थ्यो । उत्तरपूर्वपट्टि ठडिएको कालीलेक डम्म कुहिरोले छोपिएको थियो (पृ : २५) ।

      पहेँलो घाम उपन्यासमा प्रयुक्त भाषा व्याकरणीय दृष्टिले एकाध अवस्थालाई छोडेर हेर्दा शुद्ध मानक भाषाको प्रयोग गरिएको छ । विश्मयादिबोधक, निपात तथा अनुकरणात्मक शब्दको प्रयोगले भाषिक मिठास प्रदान गरेको छ । सरल र संयुक्त वाक्यकै अधिक प्रयोग गरिएको यस उपन्यासमा मिश्रवाक्यको प्रयोग नभएको पनि होइन । नेपाली भाषामा प्रयुक्त चिन्हहरूको यथोचित प्रयोग गरिएको छ । ‘फ्याउरी रण्डी । अब छोडिहाल्छु नि !’ (पृ : ३१) साथै निम्नवर्गीय नेपाली जनताले प्रयोग गर्ने भाषाको प्रयोग पनि यस उपन्यासमा गरिएको छ । ‘गोला र चिम्सा आँखा, सुलुत्त परेको नाक र गोलो अनुहार चुन्निले गला छोपिएको’ (पृः ५२) । ‘ढुङ्गा लगाएको घरको छानो भत्किएको र चुहिने थियो । गारोमा सबैतिर पानीका धारा बगेको डाम देखिन्थ्यो’ (पृ. २६८) । अतः शिवाको शारिरिक बनावटको वर्णन गरेसँगै बूढाबूढीको आर्थिक अवस्थाको बिम्ब उतारी लेखिएको उक्त उपन्यासले लेखकीय वर्णनात्मक पूर्वदीप्ति शैली तथा कलात्मक काव्यात्मक भाषाको प्रयोगले उत्कृष्ट बनेको छ । भाषा विचार विनिमयको माध्ययम भएको कारण समाजमा विभिन्न भाषाभाषिको बाहुल्य रहेको देखिन्छ । समाजमा उच्च आदरार्थी भाषाको प्रयोगले सकारात्मक प्रभाव पारेको हुन्छ भने अनादर्थी भाषाले समाजमा नकारात्मक असर पारेको छ ।

लेखक : विष्णु भण्डारी

३.२.५  पेसा

      मानिसले बाँच्नका लागि गर्ने कार्य नै पेसा हो । हाम्रो नेपाली समाजमा विभिन्न पेसा अबलम्वन गर्ने मानिसहरू पाइन्छन् । जसमा कृषि, पशुपालन, होटल व्यवसाय, सरकारी सेवा, पत्रपत्रिका तथा गीतसङ्गीत आदि मूल रूपमा रहेको पाइन्छ । मानिस बाँच्नका लागि कुनै न कुनै पेसा अंगालेको  हुन्छ । साहित्यिक कृति र साहित्यकार पनि समाजकै उपज भएकाले सो कृतिमा प्रयुक्त पात्रहरूको चित्रण भएको हुन्छ । व्यक्ति आफ्नो पेसा अबलम्वन गर्नमा जाति, धर्म, शिक्षा, भौगोलिक आदि कुराले प्रभाव पारेको हुन्छ । यद्यपि समयको गतिशीलतासँगै शिक्षा र दक्षताका आधारमा पनि पेशा अपनाएको पाइन्छ (कोइराला, २०७०: ६६) । पहेँलो घाम उपन्यासमा विभिन्न पेशा अबलम्वन गर्ने पात्रहरूको उपस्थिति वा वर्णन भएको छ । संस्मरणात्मक शैलीमा लेखिएको यस उपन्यासमा मूलतः राजनितिक घटनावलीको व्याख्या गरिएको छ । नेपाली समाजमा व्याप्त बेरोजगारी समस्याका कारण युवाहरू युद्धमा होमिनु परेको बाध्यता यस उपन्यासमा व्यक्त भएको नेपाली समाजको यथार्थ हो । यस उपन्यासकी प्रमुख पात्र डोल्मा तामाङ (युद्धको नाम शिवा) को बुवाको पेशा सामान्य स्कुले मास्टर हो । उनी स्कुलमा पढाएर आफ्नो सानो परिवारमा खुसी छाएको हुन्छ । उनको परिवार निम्न मध्यम वर्गीय नेपाली दाजुभाइको परिवार भित्र नै पर्छ । शिवा क्यान्टोमेन्टबाट अयोग्य प्रमाणित भएपछि कृषि फारममा लागेर कृषि पेसा अपनाएकी छे । यसैगरी उपन्यासमा वर्णित राजनितिज्ञ र परिवर्तनका संवाहकहरू सबैले राजनीतिलाई पेशाको रूपमा अबलम्वन गरेका छन् । नेपाल कृषिप्रधान मुलुक हो । यहाँका करिब ८० प्रतिशत जनता कृषिमा निर्भर छन् । यही बुझेरै होला लेखकले साठीको दशमा अयोग्य ठहरिएका लडाकुहरूलाई कृषि पेसा नै अपनाएर कृषि फारम खोलेको लेखेका छन् । उपन्यासका पात्रहरू ग्रामीण समाजकै कृषकका छोराछोरी हुन् । शिवाको बोस समाजकै पात्र हो । पछि मेनपावर खोलेर सोझासाझा जनताको रगत र पसिनाको मूल्य कुम्ल्याएर उच्च घरानाको जस्तो देखिएको छ । समाजमा नारीहरूलाई दमन गर्ने ६–७ वटी श्रीमतीहरूलाई छुट्टै अपार्टमा राख्ने र जनयुद्धको बेलामा क्यान्टोमेन्टबाट करोडौँ कुम्ल्याएर लाखौँको गाडी चढेर हिड्ने जस्ता व्यक्तिहरूको पनि उपन्यासमा उल्लेख छ । प्रस्तुत पहेँलो घाम उपन्यास पुरै आन्दोलनमय छ । सम्पूर्ण नेपाली जनता, बुद्धिजीवि, पत्रकार, कृषक, सबै नै आन्दोलनमा होमिएका छन् । यति भएर पनि आन्दोलन आफैँमा कसैको पेसा भने अवश्य होइन । शिवा समाजको मुक्ति र राष्ट्रको परिवर्तनको लागि युद्धकालमा सार्पसुटर परी समेत बन्न सफल भएकी र पछि कृषि फारममार्फत समाजमा परिवर्तन ल्याउन लागिपरेकी छ । समयको परिवर्तनसँगै व्यक्तिको दृष्टिकोण पनि परिवर्तन हुन्छ भन्ने कुरा शिवाको सिङ्गो जीवनीबाट पुष्टि भएको छ । गरिबको पसिनामा मोज गर्ने व्यक्तिहरू कतिसम्म भ्रष्ट, क्रूर र कामुक हुन्छन् । युद्धमा सँगै लडेका व्यक्तिहरू कसरी लाखौँ रकम कुम्ल्याएर भाग्न सफल भएका छन् भन्ने कुरा पनि उपन्यासमा देखाइएको छ । अतः यस उपन्यासमा कृषि, राजनीति, शिक्षण, व्यापार, नोकरी आदि पेशाको प्रसङ्ग साङ्केतिक रूपमा आएका छन् । यिनले नेपाली समाजको सामाजिक यथार्थलाई प्रतिबिम्वन गर्दछन् । यस उपन्यासमा प्रायः बेरोजगारीले आक्रान्त रहेको समाजको चित्रण गरेको पाइन्छ । कोही –कसैले मात्र आफ्नो मुख्य पेसा कृषिलाई समेटे तापनि उनीहरूको दैनिक गुजारा चलाउन धौ–धौ परेको अवस्था उपन्यासमा चित्रण गरिएको छ ।

३.२.६  आर्थिक अवस्था

      व्यक्तिलाई जीवन संचालनका लागि नभई नहुने कुरा भनेकै आर्थिक अवस्था हो । आर्थिक अवस्था कमजोर हुने मानिसलाई समाजमा जीवन जीउन समेत गाह्रो हुन्छ । आर्थिक अवस्था राम्रो हुनेको जीवन भोगाइ र सामाजिक हैसियत पनि उच्च हुन्छ (कोइराला, २०७०: ३७) । पहेँलो घाम उपन्यासकी प्रमुख पात्र शिवाको जीवन सञ्चालन गर्ने आर्थिक स्रोत कृषि फर्म हो । कृषि फर्म खोल्नुपूर्व शिवा जनसेनामा भर्ती भई विभिन्न मोर्चा लड्दै सार्पसुटर परी बन्न पुग्छे । सेना समायोजनको क्रममा अयोग्य घोषित भएर क्यान्टोमेन्टबाट बाहिरिएपछि जीविकोपार्जनको लागि केही समय मेनपावरमा काम गर्छे । सधँै स्वतन्त्र भएर हिँडेकी शिवालाई अफिस झ्यालखानाजस्तो लाग्छ शिवालाई । यस उपन्यासमा तत्कालीन राजनीतिक कारण र वर्गीयद्वन्द्वले गर्दा युद्ध चर्किएको देखाइएको छ । गाउँका सोझासिधा जनतालाई शोषण गरेर सामन्त र ठूलाठालुले एकछत्र राज गरेको कारण पनि युद्ध सुरु गर्नु परेको हो । नेपाली समाजका अभावका कथादेखि घोर अत्याचार सम्मका कथा रहेको यस उपन्यासका पात्रहरुको आर्थिक स्थिति पनि कथा सुहाउँदो रहेको छ । निम्न, निम्नमध्ययम र उच्च वर्गबीचको आर्थिक असमानताका कारण सिर्जित वर्गीय द्वन्द्वले निम्नवर्गको पक्ष लिएको छ । उच्च र कूलीन वर्गको अन्त्य, गरिब र निम्न वर्गका जनताको उज्वल भविष्यको सङ्केत उपन्यासले गरेको छ । अयोग्य प्रमाणित भएपछि गाँस र बासको लागि छट्पटिएका पूर्व माओवादी लडाकुहरूको मार्मिक कथा यस उपन्यासमा प्रस्तुत भएता पनि समाजमा जनताको आर्थिक अवस्थामा भने कुनै सकारात्मक परिवर्तन नभएको अवस्था छ ।

३.२.७  शैक्षिक पक्ष

      कुनै पनि साहित्यकारको साहित्यिक सिर्जनाको बीजभूमि समाज नै रहेको हुन्छ । उसका कृतिमा समाजका विविध पक्षहरू प्रत्यक्ष रूपमा समाविष्ट भएका हुन्छन् । त्यस्तै समाजको शैक्षिक अवस्थाले पनि साहित्यकारलाई प्रभाव पारेको हुन्छ र कृतिमा कुनै न कुनै रूपमा सो समाजको शैक्षिक अवस्थाको चित्रण हुन्छ । साहित्यकारले समाजमा जे देख्छ,  अनुभव र अनुभूति गर्छ, त्यसैका आधारमा पात्रको शैक्षिक पृष्ठभूमिको चयन हुने गर्दछ । तिनै पात्रहरूका माध्यमबाट लेखकले कुनै खास सन्देश दिने गर्दछन् । अशिक्षित समुदायभित्रका साहित्यिक कृतिमा पात्रहरू पनि अशिक्षित नै हुन्छन् (कोइराला, २०७०: ५०) । प्रस्तुत पहेँलो घाम उपन्यासका पात्रहरू पनि शिक्षित, बौद्धिक र चेतनशील रहेका छन् । पढेर नभए परेर जानिन्छ भन्ने लोकोक्ति यहाँ शिवाको जीवनमा आएको सामाजिक परिवर्तनले पुष्टि गर्दछ । उसले औपचारिक शिक्ष ग्रहण गरेकी छ । दश वर्षे जनयुद्ध लडेर पनि क्यान्टोमेन्टबाट अयोग्य प्रमाणित भएकी छ । मेनपावरमा जागिर खाएर पनि कृषि उत्पादनमा लागेकी शिवाको वर्णन गरिएको छ । अन्ततः आमाको बलत्कार, बावु र हजुरआमाको हत्या राज्य पक्षबाट गरिएपछि युद्धमा होमिएकी छ । देश र जनताको लागि विभिन्न मोर्चा लड्न पनि पछि परेकी छैन । यस अभिव्यक्तिबाट नै शिवाको उच्च बौद्धिक पक्षको मूल्याङ्कन गर्न सकिन्छ । शिवा आफ्ना निराश साथीहरूलाई सम्झाउँछे– ‘मान्छे जतिसुकै स्वार्थी र लोभि भएपनि उसले आफ्नो पहिचान भुल्दैन् । आफ्नो आधार भुल्दैन, भुल्न सक्दैन, मान्छेले सबै भुलेपनि यो भुल्न सक्ने छैनन् कि जनयुद्धले नै नेपाली समाजलाई घोर निराशा, उत्पीडन, निन्द्राबाट ब्युझिँएको हो’ (पृ : १३१) । उपन्यासको अर्का प्रमुख पात्र सोहन र उसको साथी सविनले अभिव्यक्त गरेको संवादको अध्ययनबाट नै उसको शैक्षिक वा बौद्धिक पक्षको मूल्याङ्कन गर्न सकिन्छ । ‘एकाएक ग्वारवार्ती सेना आउँदा मास्टर झस्किए । बूढीको ओठमूख सुक्यो । श्रीमती र छोरी एकापट्टि कुनोमा सन्त्रस्त अवस्थामा उभिएका थिए । सबैको अनुहार डरले कालोनीलो भएको थियो । गोठमा खसी रहेछ । ढालीहाले । कोही मास्टरलाई सोध्न लागे । तँ आतङ्ककारीको दाइ होस् भन्ने राम्रोसँग थाहा छ मलाई ! क्याप्टेन कड्कियो ।’(पृः३०) । यस प्रकार उपन्यासमा प्रयुक्त सम्पूर्ण भाषा, शैली र संवाद मध्यवर्गीय नेपाली समाजमा प्रचलित शुद्ध मानक नेपाली भाषाको प्रयोग गरिएको छ । अतीतलाई वर्तमानमा ल्याएर लेखिएकाले उपन्यास वर्णनात्मक छ । ऐतिहासिक तथा राजनीतिक विषयवस्तु भएकाले यो विचार प्रधान उपन्यास हो ।  शिष्ट, सभ्य र मर्यादित भाषा पात्रहरूले बोलेका छन् । त्यसैले प्रस्तुत पहेँलो घाम उपन्यासको शैक्षिक समाज, पठित, शिक्षित, बौद्धिक तथा विद्धत् वर्गयुक्त देखिएता पनि अझै यदाकदा अपठित समाजको बाहुल्यता उपन्यासमा देखिएको छ ।  तारा र विगुल जस्ता प्रतिनिधिपात्रले समाजमा व्याप्त नराम्रो र कुत्सित विचारलाई हटाउन सभ्य शिक्षित अभिव्यक्ति प्रकट गरे तापनि समाजमा परिवर्तन ल्याउनका लागि अझै शिक्षाको बाहुल्य कमै रहेको देखिन्छ । 

३.२.८ लैङ्गिक अवस्था

      सृष्टिका अभेद्य अङ्ग पुरुष र महिलाबीचको सामाजिक अवस्था नै लैङ्गिक अवस्था हो । हाम्रो नेपाली समाज पुरुष प्रधान समाज हो । यहाँ महिलाको स्थान पुरुषको तुलनामा नगन्य छ । समाजका आर्थिक, राजनीतिक, प्रशासनिक, शैक्षिक आदि जस्ता हरेक क्षेत्रमा पुरुषको एकाधिकार अनादिकालदेखि नै चलिआएको पाइन्छ । यसरी पुरुषको तुलनामा महिलाको दयनीय स्थिति रहेपनि हाल आएर भने महिलाहरूले आफ्नो अधिकारको लागि राज्यको ढोका ढक्ढकाउन थालेका छन् । नेपाली समाजमा अझैँ पनि महिलालाई कुनै पनि महत्वपूर्ण सामाजिक कार्यमा सहभागी गराइँदैन् उनीहरूलाई घरायसी काम काजमा मात्र सिमित गराइन्छ । आर्थिक हिसाबले उनीहरू सम्पूर्ण रुपमा पुरूषमाथि नै निर्भर रहनुपर्ने बाध्यता छ (सुवेदी, २०६८: ४७)। पहेँलो घाम उपन्यासमा पनि ठीक यसै भएको छ । उपन्यासकी प्रमुख पात्र शिवा १६ वर्षमै बुवा गुमाएर टुहुरी भएकी छ । देशमा जनयुद्ध भएको बेलामा राज्य पक्षले उसको बावु र हजुरआमाको हत्या गरी आमाको बलत्कार गरिएकी शिवा एक असल क्रान्तीकारी, जनविद्रोही माओवादी लडाकु बन्न पुग्छे । अन्याय र अत्यचारको विरोध गर्दै हिँड्ने शिवा मुलुकबाटै खराब व्यवस्था, हत्या, शोषण र भ्रष्टाचारी प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार राख्दछे । निडर, शाहसी, आँटी र दयालु स्वभावकी शिवा उसको बाबाको हत्या गर्ने राज्य पक्षसँग बदला लिन चाहन्छे  । तत्कालीन मुलुकमा व्याप्त कुव्यवस्था, भ्रष्टाचार, द्वन्द्व, छुवाछुत आदि जस्ता अनैतिक र राष्ट्रघाती गतिविधिका विरुद्ध कम्युनिष्ट माओवादी सङगठनमा नेतृत्वदायी भूमिकामा रहेर सार्पसुटर परी बन्न सफल हुन्छे । युद्धका बेलाकी सफल योद्धा शिवा शान्तिकालमा कमाण्डरको यौन प्रस्तावलाई नकार्दै कमाण्डरको हात भाच्न सफल हुन्छे । अर्कातिर युद्धकै बेलामा राज्य पक्षका एक जना मेजरसहित एक दर्जन सेनालाई एउटै चिहान बनाउन सफल हुन्छे । यस्तो साहसी योद्धा सेना समायोजनपछि भने अयोग्य प्रमाणित भएर क्यान्टोमेन्टबाट निकालिन्छे । एकातिर शिवालाई सोहनको सम्झनाले तान्दै थियो भने अर्कातिर अयोग्यको पीडाले । कोही आफ्नो पढाइ पूरा नगरी युद्धमा होमिएका थिए भने कोही युद्धमा आफ्नो सबै परिवार गुमाएका थिए । शिवामात्र नभएर उसका साथीहरू आस्था, मोहना, दीपिका, आमा, आशा, तारा, हजुर आमा, बहिनी, लगायत महिला पात्रहरू छन् । यी पात्र कोही राजनीतिक रूपमा अगाडि छन् भने कोही पछि । धेरैजसो महिला पात्रहरू राजनीतिक चेतनाले अगाडि छन् । युद्ध लडेका छन् र समाज रूपान्तरणमा अहिलेसम्म पनि सक्रिय छन् । राजनीतिमा खासै चासो नभए पनि हजुर आमा र आमा राज्यपक्षबाट प्रताडित भएका छन् । कोही मारिएका छन् । लडाकुहरू अन्तत शिवाको नेतृत्वमा कृषि फारम खोली व्यवसाय सुरु गर्न थाल्दछन् । हाल आएर राष्ट्रले सम्पूर्ण क्षेत्रमा समावेशीकरको प्रयत्न गरिरहेको छ । तर तत्कालीन समयमा राजनिति र युद्धमा महिलाको सहभागिता निकै नै रहेको छ । अतः यस उपन्यासमा नारीको भूमिका विशिष्ट रहेता पनि समाज रूपान्तरणका लागि कुनै औचित्यपूर्ण काम नगरेको अवस्था छ ।

३.२.९  राजनीतिक अवस्था

      कुनै पनि मुलुकको राजनीतिक व्यवस्थाले व्यक्ति, समाज र राष्ट्रलाई नै प्रभाव पारेको हुन्छ । मुलुकमा विद्यमान राजनीतिक अवस्था, सरकारी संरचना ढाँचा, शासनको संयन्त्र शासकका व्यवहार र आचरण, शासक र शासित बीचको सम्बन्ध, सरकारले जनताप्रति गर्ने व्यवहार, जनताको भलाइको लागि गर्ने कार्यहरू, शासनका विभिन्न तह (अञ्चल, जिल्ला, क्षेत्र, नगर गाउँ) अनेक कुराहरूले साहित्यिक कृतिमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रवेश पाएका हुन्छन् । लेखकले राजनीतिमा देखा पर्ने कुरीति, कुसंस्कार, भ्रष्टाचार, अपराधको राजनीतिकरण र आपराधीकरण जस्ता अनेक गलत प्रवृतिलाई आफ्ना साहित्यिक कृतिमार्फत व्यङ्ग्य गरेको हुन्छ र यसको सुधारको प्रत्यक्ष वा अप्रत्यक्ष वकालत गरेको हुन्छ (सुवेदी, २०६८ :४६)। पहेँलो घाम उपन्यास शीर्षकबाट नै यो राजनीतिक उपन्यास हो भन्ने अनुमान लगाउन सकिन्छ । उपन्यासको कथा २०५२ देखि चलेको जनयुद्धलाई आधार बनाइएर तयार गरिएको छ । अर्कोतर्फ शिवाको जीवनमा आएका परिवर्तन सहायक कथावस्तु रहेपनि राजनीतिकि परिवर्तन नै मुख्य मोड रहेको देखिन्छ । २०६२/०६३ सालको राजनीतिक परिवर्तले शिवाको जीवनको मोडमा परिवर्तन ल्याएको छ । यस उपन्यासमा झन्डै २०५० सालदेखि २०७० सालसम्मको राजनीतिक अवस्थाको राम्रोसँग चित्रण गरिएको छ । युद्धमा जानु पर्नाको राजनीतिक कारण र युद्धले सिर्जना गरेका यावत परिवर्तनलाई उपन्यासमा कुशल ढङ्गले व्यक्त गरिएको छ । माओवादी जनयुद्ध शान्ति सम्झौतामा टुङ्गिदा एउटा अङ्गका रूपमा सेना समायोजन पनि रहेको थियो । जनयुद्ध लडेकालाई क्यान्टोमेन्टमा राखेर तिनको उमेर, शैक्षिक योग्यता, छातीको नापो, शरीरको उचाई, तौल लगायत शाररिरिक अवस्था हेरिकन वर्गीकरण गरिएको छ । जसमा धेरैजसो जनसेना असहमत रहे । जस अनुसार केही लडाकु समायोजनमा परे कसैले तोकिएको रकम पाउनेगरी स्वच्छिक अवकास रोजे भने कोही समायोजनमा अयोग्य ठहरिएर रित्तो हात क्यान्टोमेन्टबाट बाहिरिन विवश भए । यसरी वहिर्गमनमा पर्नेमध्ये अधिकांशले आफ्नो पढाइमात्र गुमाएका थिएनन्, घरपरिवार र आफन्त समेत गुमाएका थिए । खान पुग्ने जग्गा जमिन नभएको अवस्था थियो । जागिर वा नोकरी गरेर सहरमै बस्ने भनेपनि बीचमै पढाई छाडेर युद्धमा लागेकाले शैक्षिक प्रमाणपत्र थिएन् । वैदेशिक रोजगारीमा जान पुँजी थिएन र सहजै ऋण पाउने स्थिति पनि थिएन । कुनै उद्योग वा कारखानामा काम गरौ भने पनि बेरोजगारी समस्याले आक्रान्त देशमा त्यत्ति सजिलै काम पाउने अवस्था थिएन । जुन पार्टीको आ≈वानमा आफ्नो सर्वश्व त्यागेर युद्धमा होमिएका थिए त्यही पार्टीले पनि कुनै व्यवस्था संरक्षण नगरी बेवारीसे बनाएर छाडेपछि तिनको अवस्था कस्तो र≈यो होला ? तिनीहरूले कसरी जीवन निर्वाह गरिरहेका होलान्  ? तिनीहरूको पारिवारिक र सामाजिक जीवन कस्तो र≈यो होला ? माओवादी आन्दोलनको पछिल्लो स्थितिलाई उनीहरूले कसरी हेरेका होलान् ? सबै खाले अन्याय, अत्याचार, शोषण, दमन र विभेदका विरुद्ध न्याय र समतामूलक समृद्ध नेपालको उद्देश्य बोक्दै सुन्दर सपना सजाएर माओवादी युद्धमा लागेका वहिर्गमित लडाकुको कथालाई राजनीतिक पार्टीका ठूलाबडा भनौदा क्यान्टोमेन्टका मोटो रकम असुलेर चिल्ला पजेरोमा हिड्ने र आफ्नै श्रीमतीलाई सभासद बनाउने भरौटे नेताहरूको माध्यमद्वारा तत्कालीन राजनीतिक अवस्थालाई चित्रण गरिएको छ । यस उपन्यासले राजनीतिक समाजलाई चित्रण गर्दा माओवादी जनयुद्धमा सहभागी लडाकुहरूको अवस्था र देशमामा ल्याएको शान्ति सम्झौता पश्चात उनीहरूको विभेदपूर्ण व्यस्थापन अझै सम्म समाजमा हुन नसकेको देखाइएको छ ।

३.२..१० पारिवारिक अवस्था

       सामाजिक संरचना निर्माणका लागि परिवार एक महत्वपूर्ण एकाइ हो । संसारका प्रत्येक मानिसहरू कुनै न कुनै परिवारको सदस्य हुन्छन् । परिवार जैविक सम्बन्धमा आधारित एक सामाजिक समूह हो, जसमा बाबुआमा तथा तिनीहरूका छोराछोरी हुन्छन्, जसको उद्देश्य आफ्ना लागि सामान्य बासस्थान, आर्थिक सहयोग, यौन सन्तुष्टि तथा प्रजनन् सामाजिकीकरण र शिक्षा जस्ता कुराहरूको सुविधा जुटाउनु हो (अधिकारी, २०६२: २५४) । परिवारमा विवाह सम्बन्ध, वंशनामको व्यवस्था, आर्थिक अवस्था, सामान्य निवास आदि जस्ता सामान्य विशेषताहरू रहेका हुन्छन् ।  पहेँलो घाम उपन्यासमा मुख्यतया छओटा परिवारको पारिवारिक अवस्था वर्णन गरिएको छ ।  शिवाको परिवारमा उसका बुवा रामबहादुर तामाङ, हजुर आमा, आमा र ऊ सहित चारजना सदस्य छन् । अङ्कल पनि उसकै परिवारका सदस्य भएपनि उनी युद्धमा उहिल्यै गएको कुरा उपन्यासमा वर्णन गरिएको छ । शिवाको परिवार राज्य पक्षले हमला गर्नु पूर्व शान्त र सुखी थियो भन्ने कुरा उपन्यासमा उल्लेख गरिएको छ । उपन्यासमा भनिएको छ– ‘साँझ बुवाको हात समाएर घरतिर गएको अहिल्यै जस्तो लाग्छ । केहीबेर हिँडेपछि आफू थाकेको देखाउन बाटोमा लत्रिन्थी ऊ ? उसलाई थाहा थियो यसरी लत्रिएपछि बुवाले आलुको बोरासँगै उसलाई पनि बोक्छन् । त्यसपछि उसले बुवाको टाउकोमा तबला बजाउन पाउँछे’ (पृ : ८०) ।  सोहनको परिवारमा सोहन र उसकी आमा अमेरीकन बुवाको वर्णन गरिएको छ । उसका नेपाली बुवा पहिले नै भाला रोपेर मारिएको, काकालाई जिउँदै खाल्डोमा गाडिएको छ भने बूढा हजुर बुवा र हजुर आमा भिख मागेर आफ्नो ज्यान पालेको कथा पूर्वकथामा देखाइएको छ । उपन्यासमा उक्त कुरा यसरी वर्णन गरिएको छ– ‘एउटा कामीको छोरोले महासामन्तकी छोरी भगाएको थियो । दलितलाई मान्छे नै नमान्ने कालो राजमा त्यो ठूलो अपराध थियो । त्यसमा पनि एउटा आतङ्कारी’ (पृः २९०) । उपन्यासमा वर्णन गरिएको मध्ये अर्को परिवार हो आस्थाको परिवार । आस्थाको परिवारमा ऊसहित उसको श्रीमान पासाङ र सानी छोरी छन् । यो परिवार क्रान्तिको बीचमा बनेको हो । दुबैजना युद्धबाट गुज्रिएका हुन् । अनि दुबैजना अयोग्य बनेर निकालिएका हुन् । यो परिवार मादिकोटको रैथाने तामाङ परिवार हो । उपन्यासको अर्को परिवार भनेको आर्दशको परिवार हो  । अयोग्यपछि आदर्शको परिवार सानो होटेल चलाएर आफ्नो जीवन गुजारिरहेका छन् । आदर्शको परिवारमा आदर्श युद्धबाट प्राप्त श्रीमती तारा र एक छोरा छन् । उसको पारिवारिक परिचय उपन्यासमा यसरी आएको छ– ‘उनी मेरी जीवनसाथी तारा …नराम्री भन्न न मिल्ने .. गोलो र गोरो अनुहारमा चिम्सा आँखा’   (पृ : ३८) । आदर्शको परिवार एकल देखिन्छ । आदर्शको अरु परिवार उपन्यासमा कहीँ कतै पनि उल्लेख गरिएको छैन्  । अर्को परिवार हो दीपिका र विगुलको । यो परिवार सानो छ । यो पनि युद्धबाट आएको परिवार हो । शिवासँगै प्रशस्तै मोर्चा लडेको यो परिवार पनि पछिल्लो समय अयोग्य बनाइयो र क्यान्टोनमेन्टबाट निकालियो । यस्तै अर्को परिवार हो अञ्जनाको परिवार । अञ्जनाको परिवारमा ऊ र उसको श्रीमान छन् । दुबै पार्टी सदस्य । पार्टी शान्तिप्रक्रियामा आएपछि उनीहरूको वर्गीय धरातल ≈वात्तै माथि उठेको कुरा उपन्यासमा देखाइएको छ । अञ्जनाको पारिवारिक स्थिति यहाँ यसरी देखाइएको छ– ‘बन्दुक समाउने हात नङ लामा र पोलिस गरिएका थिए । कपाल राते बाँदरको जस्तो रातो र झ्यापुल्ले थियो । खुट्टामा एक वित्ताका हिल, हिँड्दा होस् पु¥याएर हिँड्नुपथ्र्याे । उसको फेसन सिँगार पटार र हाउभाउबाट ऊ कुनै उच्च घरानाकी सम्पन्न महिलाजस्ती देखिन्थी’ (पृ : १२४) । अञ्जनाको यस्तै विलासीजीवनका आधारमा ऊ जस्ता धेरै नारीहरूले आडम्बर प्रस्तुत गर्ने गरेको समाज पाइन्छ । प्रस्तुत उपन्यासमा छओटा परिवारको समाज भएतापनि उपन्यासको समाजलाई अगाडि बढाउन रहेक परिवारको यत्तिकै सहभागिता रहेको देखिन्छ । तर पनि अझै जातिय विभेद भने समाजमा परिवर्तन हुन नसकेको देखिन्छ ।

३.२..११      सामाजिक समस्या

       समाजको भिन्नतासँगै सामाजिक समस्या पनि पृथकता रहने गर्दछ । पारिवारिक स्थिति, धार्मिक अवस्था, राजनीतिक परिप्रेक्ष्य, भौगोलिक बनावट, जातीय संस्कार आदिका आधारमा सामाजिक समस्याहरू पनि फरक पर्ने गर्दछन् तर समस्यामुक्त समाज भने कहीँ पनि हुँदैन । साहित्यकार पनि सोही समाजको सदस्य भएकाले उसका कृतिमा समाजमा विद्यमान समस्याहरू कुनै न कुनै रूपमा प्रवेश भएका हुन्छन् (घिमिरे,२०५४: ९४) । बाहिरबाट हेर्दा सुखी र सम्पन्न देखिएपनि समस्या रहित समाज कहीँ पनि हुन्न । मान्छे समाजिक प्राणी भएको र समाजमै बस्ने भएकोले समाजसँगै मानिस पनि समास्याले जेलिएको हुुन्छ । यत्ति हो कुनै समाजमा कम समस्या हुनसक्छन् भने कुनैमा बढी । यस उपन्यासमा वर्णित समाजमा पनि अनेक समस्याहरू देखिएका छन् । यस उपन्यासमा प्रमुख सामाजिक समस्याको रूपमा राजनीतीक समस्या आएको छ । यसका अतिरिक्त आर्थिक समस्या, पारिवारिक समस्या तथा अन्य थुप्रै सामाजिक समस्याहरू रहेका छन् । जनयुद्ध कालमा नेपाली जनताले भोग्नु परेको अन्याय, अत्याचार, शोषण, दमन र उत्पीडनको जीवन चित्रण उपन्यासले गरेको छ । त्यसबेलाका क्रूर शासकहरूको आक्रमण, हत्या र बलत्कारको शिकार बन्ने लाटासोझा जनताहरूका कथा नै यस उपन्यासको मुख्य सामाजिक समस्या हो । समाजका निमुखा जनताहरूको घरमा आक्रमण गरेर मध्य रात पनि नभनी भकारीबाट दाल चामल निकालेर गोठमा रहेका खसी बोका छिनालेर भर्जिनसँग खाँदै घरका परिवारमाथि आक्रमण गर्ने तत्कालिन राज्य पक्षका शासकहरू नै यस उपन्यासका मुख्य सामाजिक समस्या हुन् । शान्ति प्रक्रियामा आएपछि कतिपय कमाण्डर र नेताहरूको वर्ग उत्थान भएर  जीवनशैली नै फेरिएको तर अधिकांशको अवस्था अत्यन्त कष्टकर रहनु प्रमुख सामाजिक समस्या बन्न गएको देखिन्छ । जीवन निर्वाहको उपाय नभेटेर पूर्व लडाकुहरू कोही ईटा र बालुवा बोक्न र कोही विदेशमा मजदुरी गर्न गएको अनि दानबहादुर जस्ता अपाङ्ग लडाकुले बाँच्ने  आधार नभेटेर आत्महत्या गर्नुपरेको सामाजिक समस्या एकातिर देखाइएको छ भने अर्कातिर युद्ध लडेकी अञ्जनाको भव्य बङ्गला, रिसोर्ट, गाडी र काम गर्ने केटी हुनु र केटी पनि सहिदकी छोरी हुनुजस्ता कुरा परस्पर विरोधी सामाजिक समस्याका नमुना हुन् । युद्धकालमा र शान्ति प्रक्रियामा आइसकेपछि पनि कतिपय लडाकु कमाण्डरमा पाइने आर्थिक विचलन, नैतिक स्खलन र गलत आचरणले सिङ्गो माओवादी  आन्दोलनलाई बदनाम गराउनु, विक्रमजस्ता कम्पनी कमाण्डर क्यान्टोमेन्टबाट लाखौँ लिएर भाग्नु, अर्कोतिर कम्पनी कमाण्डरले नै शिवा जस्तो लडाकुलाई बलत्कार गर्न तम्सिनु जस्ता विकृतिहरू सामाजिक सास्याका रूपमा आएका छन् । समाजमा रहेको बेरोजगारी, हत्या, हिंसा, भ्रष्टाचार र पार्टी तथा राजनीतिज्ञमा आएको नैतिक विचलन र मूल्यहिनता जस्ता कुरा सामाजिक समस्या हुन् । जसले समाजलाई अग्रगमनतिर नभई पस्चगमनतिर लैजान्छन् । देश र जनताको आर्थिक र सामाजिक  अवस्था मात्र बिग्रिएको नभएर कतिपय माओवादी लडाकुहरूको परिवारीक अवस्था पनि त्यतिकै दर्दनाक  र बियोगपूर्ण रहेको छ । युद्धको अवस्थामा नजिकिएका युवा युवतीहरूको वैवाहिक सम्बन्ध, आर्थिक, सामाजिक, सांस्कृतिक, पारिवारिक अवस्थाका कारण भत्किदै गएको कुरा उपन्यासमा देखाइएको छ । यो पनि एउटा मुख्य सामाजिक समस्या हो । युद्धको अवस्थामा विहे भएकाले सन्तान समेत जन्माएका युवतीहरू युद्धको समाप्ति पछि लोग्नेको घरमा जान खोज्दा लोग्ने मरिसकेका कारण घरको पत्ता लाग्न नसकेको, पत्ता लागेपनि घरका परिवारले स्वीकार्न नसकेको, घरमा गएकाहरू पनि  समाज, संस्कृति र जात फरक भएका कारण घरमा बस्न नसकेको, राम्ररी सोचविचार नगरी विवाह गर्दा लोग्ने स्वास्नीका बीचमा समझदारी कायम हुन नसकेको देखिन्छ । त्यसैले सम्बन्ध विच्छेद गर्नु परेको जस्ता सामाजिक समस्याहरू अत्यन्त जटिल रूपमा रहेका छन् । युद्धको अवस्थामा विहे गरेर सन्तान जन्माएकाहरू  लोग्ने मरेपछि बच्चाको जन्मदर्ता र आफ्नो विवाह दर्ता नभएर विचल्लीमा परेको अवस्था अझ पीडादायक देखिन्छ । सिर्जनाले आफ्नो पीडा यसरी व्यक्त गर्छे ‘पहिला त घरमा राम्रै गरेका थिए । तर दलितकी छोरी भन्ने थाहा पाएपछि हामी दुबैलाई घर निकाला गरे । केही समय त हामी सँगै बस्यौँ । पछि विस्तारै मसँग टाढिए उनी, वाइसिएल छाडेर उनी कोरिया गएपछि त म बेसाहारा भएँ । घर जाऊ घरकाले स्वीकार्दैनन् । न विवाह दर्ता छ न छोरीको जन्मदर्ता छ, न नागरिकता छ’   (पृः २२३) । शान्ति प्रक्रियामा आएपछि माओवादी आन्दोलन छिन्नभिन्न भएर अस्ताउन लागेको घामजस्तो मलिन, क्लान्त र निराशाजनक अवस्थामा पुग्नुलाई उपन्यासको प्रमुख सामाजिक समस्याको रूपमा लिन सकिन्छ । अयोग्यमा पारिएको पूर्व लडाकु सागर नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै भन्छ ‘मभित्र अब यी नेताप्रतिको विश्वास गुम्दै गएको छ । खुला राजनीतिमा आयौँ भन्दैमा जे पनि गर्ने ? हेर न हाम्रो बटालियन कमाण्डरको हाईफाई  ! यता हाम्रो यो हालत छ उता भने ऊ लाखौँको गाडीमा हिँड्दो रै छ …. के उसको स्वास्नीलाई गाडी किनोस् भनेर सभासद् बनाको हो पार्टीले ? अनि ऊ बस्ने विशालनगरको घर के ले किनेको नि’ (पृ : ९२) । अतः नेपाली  समाजमा व्याप्त राजनीतिक, आर्थिक, सांस्कृतिक, र्धार्मिक तथा जातीय आदिजस्ता सामाजिक समस्याले ग्रस्त समाजमा परिवर्तन र चेतना ल्याउनुपर्ने सन्देश र सङ्र्घषका साथै समाजका असल चरित्र र विचारलाई दबाउने सामाजिक समस्याको रहस्योद्घाटन गर्ने उपन्यासको मूल मर्म हो । अर्कातिर आस्था र सिद्धान्तमा दृढ रहँदै निराश र पलायन हुन लागेका लडाकुलाई सम्झाउने हैसियत राख्ने एउटी सशतm छापामार केटीलाई विदेश बस्दै आएको युवक सोहनसँग दोस्रो पटकको भेटमै दुई हप्तासम्म सँगै हिँड्ने–बस्ने गराउनु पनि त्यति औचित्यपूर्ण देखिँदैन, एकातिर शिवालाई बहादुरी, सिद्धान्तनिस्ट र पार्टी प्रतिवद्ध छापामारका रूपमा चरित्राङ्कन गरिनु र अर्कातिर दुईपटकको परिचय र सामान्य सहयोगकै भरमा आफूले समेत सञ्चालन गरेको कृषि फर्म नै छोडेर दुई हप्तासम्म सोहनसँग बहकिएर घुम्दै हिँड्नु, सँगै रात बिताउनु उसको चरित्राङ्कन स्वाभाविक रूपमा हुन सकेको देखिँदैन । त्यसै गरी क्यान्टोमेन्टबाट बाहिरिएको लामो समयसम्म आमाको खोजि–खवारी नगर्नू र एकैचोटी कृषि फर्ममा काम गर्न थालेपछि मात्र आमालाई भेट्नु शिवाको कमजोरीलाई पनि प्रमुख सामाजिक समस्याको रूपमा उपन्यासमा प्रस्तुत गरिएको छ । अतः नेपाली समाजमा व्याप्त राजनीतिक, आर्थिक, व्यवसायिक, धार्मिक तथा जातीय आदिजस्ता सामाजिक समस्याले ग्रस्त समाजमा परिवर्तन र चेतना ल्याउनुपर्ने सन्देश र सङ्घर्षका साथै समाजका असल चरित्र र विचारलाई दबाउने सामाजिक समस्याको रहस्योद्घाटन गर्नु नै यस उपन्यासको मूल मर्म हो ।

      यस उपन्यासमा नेपाली समाजमा घटेको जनयुद्ध, २०६२/६३ सालको जनआन्दोलन र त्यसपछिको मुलुकको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक अवस्थालाई मूल विषयवस्तु बनाइएको छ । यहाँ उपस्थित पात्रहरू सामान्यतया निम्नमध्यम वर्गीय नेपाली दाजुभाइ, दिदीबहिनी नै छन् । शिक्षित भएपनि दलितलाई भाला प्रहार गरी हत्या गर्नु, तामाङ लगायत जनजातिलाई होच्याउनु, महिलामाथि उत्पीडन गर्नु र हिन्दुवादी सोचलाई अझैपनि समाजमा लाद्न खोज्नुजस्ता कुराले तात्कालीन समाजमा कस्ताकस्ता सामाजिक समस्या रहेछन् भनेर बुझ्न सकिन्छ । उपन्यासमा सत्असत् दुबै खाले पात्रको प्रयोग भएको छ । यहाँ राजनीति, समाजसेवा, अध्ययन, शिक्षण, व्यापार–व्यवसाय, मजदुर, सेना, कृषि आदि पेशा अपनाएका पात्रहरूको उपस्थिति छ । नारी–पुरुष, बद्ध मुक्त, मुख्य सहायक र गौण आदि सबै प्रवृतिका पात्रहरू  छन् । उपन्यासकी नायिका शिवा बाहेक अरू पनि थुप्रै नारीपात्रहरू छन् । उपन्यासमा भएका सबैजसो साना तथा मझौला परिवार छन् । मुख्यतया उपन्यासमा राजनीतिक, सांस्कृतिक, आर्थिक, जातीय, लैङ्गिक आदि समस्याहरू रहेको पाइन्छ । पारिवारिक दृष्टिले एकल परिवारको प्रयोग उपन्यासमा पाइन्छ भने राजनीतिक, सांस्कृतिक, आर्थिक, जातीय, लैङ्गिक आदिजस्ता सामाजिक समस्याले गर्दा माथिल्लो पदमा रहेकाले तल्लो पदमा रहेकालाई गरेको शोषण, ठूलो जातले सानो जातलाई गरेको शोषण, उच्च वर्गले निम्न वर्गमाथि गरेको शोषण आदिजस्ता नेपाली समाजका यथार्थता उपन्यासमा प्रतिबिम्वित छन् । समाज वा मुलुकका सबैखाले विकृतिप्रति विरोध गर्दै जीवनका सबै घुम्तीहरूमा सङ्घर्ष गर्नुपर्छ भन्ने प्रगतिवादी सन्देश उपन्यासकारले यस उपन्यासमार्फत दिन सफल भएका छन् ।

३.२   आधुनिक नेपाली उपन्यास परम्परामा पहेँलो घामको सामाजिक पक्षको योगदान प्रगतिवादी उपन्यासको सुरुवात संवत् २०११ मा मुक्तिनाथ तिमल्सिनाको को अछुत ? उपन्यासबाट सुरु भएको हो । त्यसका साथै २०१७ सालमा प्रकाशित हृदयचन्द्र सिंह प्रधानको एक चिहानले क्रान्तिकारी तथा सुधारवादी प्रवृत्तिलाई भित्याएको छ । क्रान्तिकारी स्वच्छन्दतावाद र प्रगतिवादी विचारलाई सँगै लिएर डि.पी. अधिकारीको आशमाया २०२५ लेखिएको पाइन्छ । यसपछि प्रगतिवादी उपन्यास लिएर खगेन्द्र सङ्ग्रौला, पारिजात, मोदनाथ प्रक्षित, रमेश विकल, ऋषिराज बराल, आहुती आदि महत्वपूर्ण प्रतिभाहरू देखा परेका छन् । प्रगतिवादको सुरुवात संवत् २०११ बाट भएता पनि ६० को दशकमा भक्त बहादुर नेपालीको लीलावती २०६५, ऋषिराज बरालको सगरमाथा २०६४, कमल निओलको मुक्तिमार्ग २०६४, पुण्यप्रसाद खरेलको झापाली गर्जन २०७३, हरिहर खनालको उज्यालोको खोजीमा २०६५, घनश्याम ढकालको रातो आकाश २०५९ आदि उपन्यासहरू लेखिएका छन् । यी मध्ये घनश्याम ढकालको रातो आकाश, कमल निओलको मुक्तिमार्ग र हरिहर खनालको उज्यालोको खोजीमा उपन्यासको सामाजिक पक्षको चर्चा गरिएको छ ।

३.३.१. रातो आकाश

      घनश्याम ढकालको रातो आकाश नामक उपन्यास पनि २०६५ सालमा प्रकाशित एक प्रगतिवादी उपन्यास हो । प्रस्तुत उपन्यास नेपाली राजनैतिक सन्दर्भ र परिवेशको जीवन्त उपन्यासमा व्यक्त भएको छ । नेपाली वर्गसङ्घर्ष यतिखेर सफलतातिर बढिरहेको छ तापनि पूर्ण विजयको स्थितिमा पुगिसकेको छैन । न जीत न हारको वर्तमान शक्ति सन्तुलनकै परिप्रेक्ष्यमा रातो आकाश रहेको छ । वर्ग विद्रोहको निरन्तरतामै लेखिएको हुनाले यसमा विद्रोहको भावी स्थान निक्र्योल गर्न नसकिएला तर वर्तमान यथार्थतालाई संश्लेषण गरेर भविष्यको अनुमान गर्न सकिन्छ । त्यही दिशालाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । यो उपन्यास पात्रको मनोवैज्ञानिक विकास र मनोद्वन्द्वमा आधारित भन्दा वस्तुगत घटनाको प्रतिबिम्बन र ऐतिहासिक घटना वर्णनको कलात्मक प्रस्तुति हो । त्यसैले यस उपन्यासमा वर्गयुद्धको ऐतिहासिकतालाई समेटिएको छ । घटना विवरणको साहित्यिक संयोजन गरिएको छ । तसर्थ यो विवरणात्मक उपन्यासकै कोटीमा पर्दछ । जसले निश्चित कालखण्डको ऐतिहासिकता व्यक्त गर्दछ । वर्गद्वन्द्वको इतिहासलाई इतिहासको रूपमा लेख्नु होइन, कलात्मक रुपमा लेख्नु र नयाँ इतिहासलाई साहित्यमा प्रतिबिम्बित गर्नु यस उपन्यासको खास प्राप्ति हो । एक दशकमा यस्ता उथलपुथलकारी घटनाहरू नेपाली समाजमा घटेका छन् । नेपाली वर्गद्वन्द्वको एक दशकलाई निश्चित कोणबाट यस उपन्यास मार्फत हेरिएको छ । जनविद्रोह यसको औपन्यासिक कल्पना होइन । आजको युगीन परिवेशमा त्यो आफैँमा यथार्थ बनिसकेको छ । सिङ्गो समाज र मानिस भित्रका कुरूपता विरुद्ध उभिएको विद्रोही मानिस र उसका इच्छा, आकाङ्छा र विचारहरूको खोजी गर्ने अभिलाशाले मात्र होइन किन र कसरी उसले दमन झेल्दछ, प्रतिरोध गर्दछ र मृत्युवरण गर्दछ भन्ने जिज्ञासालाई यस उपन्यासमा समेटिएको छ । गतिशील यथार्थको बीचबाट एउटा वर्गहीन, सुन्दर, शान्त र समृद्ध समाज सिर्जना गर्न र मानव हत्याको श्रृङ्खलालाई अन्तय गर्ने क्रियाशील नयाँ मानिसको निर्माण गर्ने अभिष्टको परिणाम नै रातो आकाश हो । त्यसैले समकालीन यथार्थको केन्द्रबिन्दुमा रहेका सक्रिय मानिसहरूका गतिविधिले उन्पन्न गरेको नयाँ यथार्थ नै यस उपन्यासको विषयवस्तु रहेको छ । रातो आकाश उपन्यासमा गरिब जनताहरूले एक छाँक खान, एक सरो लुगा लगाउनको लागि पनि निकै नै सङ्घर्ष गर्नुपरेको तर पनि जीवन गुजार्न धौ–धौ परेको अवस्थाको चित्रण गरिएको छ । भने पहेँलो घाम उपन्यासमा राजनीतिक खिचातानीका साथै आफ्नो भकारी भरेर जनतालाई भोको राखेकाजस्ता सामाजिक समस्याहरू आएका छन् ।  रातो आकाश उपन्यासमा आफू विरामी पर्दा समेत उपचार गर्न नसकी श्यामलाल परलोक हुन पुगेको सामाजिक गरिबीको चित्रण पाइन्छ भने पहेँलो घाम उपन्यासमा देशमा क्रान्तिको लागि धेरैले शहीद हुनु परेको सामाजिक चित्रण पाइन्छ । रातो आकाश उपन्यासमा अबिरल जस्ता पात्र स्कुलको परीक्षा शुल्क समेत तिर्न नसकी आफूले पढाइ छोड्नु परेको सामाजिक समस्या देखापरेको छ भने पहेँलो घाम उपन्यासमा देशमा राजनीतिक परिवर्तन ल्याउनको लागि आफ्नो पढाइलाई आधा बाटोमै छोडेर युद्धमा होमिएको सामाजिक चित्रण पाइन्छ । रातो आकाश उपन्यासमा अबिरल र गगनजस्ता युवाहरू गरिबीको कारणले पढ्न नपाउँदा लाहुर जानुपर्ने सामाजिक समस्या देखापरेको छ । पहेँलो घाम उपन्यासमा जनयुद्धको बेलामा युद्धमा होमिएका युवाहरूको क्यान्टोमेन्टबाट बाहिर निकालिएपछि कता जाने भन्ने सामाजिक समस्याको चित्रण गरिएको छ । रातो आकाश उपन्यासमा कम्युनिष्ट पार्टीको सत्ता ल्याउनको लागि समाजका मानिसहरू लुकीछिपी राती–राती भाषण र जुलुस निकाल्दै हिँडेका छन् । पहेँलो घाम उपन्यासको समाज चाहिँ देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाको लागि राज्य पक्षसँग युद्ध गरेका छन् । यसरी रातो आकाश र पहेँलो घाम उपन्यासलाई एकैठाउँमा तुलना गरेर यी दुबै कृतिहरूको सामाजिक पक्ष छुट्याउन सकिन्छ ।

३.३.२. मुक्ति मार्ग

      कमल निओलको मुक्तिमार्ग उपन्यास २०६४ सालमा प्रकाशित एक प्रगतिवादी उपन्यास हो । यो उपन्यास ने. क. पा. माओवादीद्वारा सञ्चालित महान् जनयुद्धको भावधारामा आधारित छ । उपन्यासको समग्र कथावस्तु पूर्व, मध्य र उत्तर गरी तीन भागमा विभाजित छन् । उपन्यासको पूर्व भाग विपना र उजेली आमैको संवादबाट सुरु हुन्छ । विपना महान् जनयुद्धमा संलग्न महिला कार्यकर्ता हो । ऊ आफ्नो कार्यक्षेत्रमा जँँदै गरेको बेला विरामी हुन्छे र एक अपरिचित बृद्ध महिला उजेली आमाको घरमा बस्दछे । उसले उजेली आमालाई निरङ्कुश पञ्चायती शासनकालमा गाउँको खुंखार सामन्त दीपराजले जनतामाथि चरम उत्पीडन गरेको दृष्य प्रस्तुत गर्छे । गाउँका सामन्त जमिनदारहरूको उत्पीडन कायम रहेको र त्यस प्रकारका उत्पीडनको बिरोधमा जनताले उठाएका आवाजप्रति सरकारबाट कुनै ध्यान नदिइएको स्थितिमा महान् जनयुद्धको थालनी भएको कुरा बताउँछे । विपनाको अत्यन्तै कलिलो उमेरमा बिहे भएको र घरमा बस्न नसकी विद्रोह गरेर हिँडेको आफ्नो पहिलेको कथा सुनाउँछे । केही समयपछि ऊ सृष्टिको साथ लागेर कार्यक्षेत्रतिर लाग्छे । यो प्रक्रियामा कैयौँ कार्यकर्ताहरूसँग सम्बन्धित जीवन चरित्र, जनयुद्धको विकाशको प्रक्रियामा गाउँमा सामन्तहरूका विरुद्ध भएका सङ्घर्ष, जुम्ला रेडको प्रक्रियामा भएको हिमपातजस्ता परिघटनाका बीचबाट आख्यानको पूर्वाद्ध टुङ्गिन्छ । प्रस्तुत उपन्यासको मूल विषयस्तु समाजमा विद्यमान राष्ट्रिय स्वाधीनता, जनवाद, जनजीविका, प्रेम, यौन, विवाह, वर्गीय, जातीय, लैङ्गिक समस्या, जनतासितको सम्बन्धमा पार्टीका समस्याहरू कतिपय कमरेडहरूमा देखापर्ने गल्ती कमजोरी तथा गलत प्रवृत्त, सांस्कृतिक रूपान्तरणको आवश्यकता आदिमा आधारित रहेको छ । यहाँ सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरोध गरिएको छ । प्रस्तुत उपन्यासमा समाजमा विद्यमान विभिन्न अन्तरविरोधहरू, वर्गसङ्घर्ष र जनआन्दोलनलाई समेट्ने प्रयास गरिएको छ । यी सबैको केन्द्रमा महान् जनयुद्ध रहेको छ । साथै यहाँ माओवादी पार्टी भित्रका उज्याला र अँध्यारा दुबै पक्षलाई उजागर गर्ने काम पनि अत्यन्तै प्रभावकारी रूपमा भएको छ । विपना यस उपन्यासकी प्रमुख नारी पात्र हो । विपनाका माध्यमबाट समाजलाई सभ्य र सुसंस्कृत बनाउनका लागि शारीरिक श्रमको विशेष महत्व हुने र क्रान्तिमा श्रमिक वर्गलाई नेता बनाउनु पर्ने कुरामा जोड दिइएको छ । साथै यस उपन्यासमा विपनाको आदर्श वैज्ञानिक साम्यवाद हो । यस उपन्यासले महान् जनयुद्धको प्रक्रियामा अभिव्यक्त जनसमुदाय र क्रान्तिकारी योद्धाहरूका त्याग, बीरता र बलिदानमा आधारित उद्दत्त महागाथालाई मूर्तिकृत गर्ने काम गरेको छ । यस उपन्यासको मुख्य सामाजिक पक्ष भनेको क्रान्तिकारी, कम्युनिष्ट नारीलाई आदर्श नायिकाका रूपमा समाजमा प्रस्तुत गर्नु हो । नेपाली समाजको आमूल परिवर्तनमा नेपालमा सञ्चालित महान् जनयुद्धको महत्वपूर्ण योगदान रहेको छ  । यसलाई केवल युद्धको रूपमा नबुझी समग्र युद्धको रूपमा बुझ्न सकिन्छ ।  यसको प्रभाब केवल राजनीतिक क्षेत्रमा मात्र नभई आर्थिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै रहेको छ । सबैभन्दा महत्वपूर्ण प्रभाव यसले मान्छेको मनमस्तिष्कलाई आन्दोलित बनाएको छ । अन्यायको विरुद्ध मान्छेको मस्तिष्कलाई सङ्घर्षशील बनाउनु महान् जनयुद्धको सबभन्दा ठूलो उपलब्धि हो । जनयुद्ध र २०६२÷६३ सालको ऐतिहासिक जनआन्दोलनको भीषण प्रक्रियापछिको परिणामले नेपाली समाजले सुन्दर काँचुली फेरेको छ । पहेँलो घाम उपन्यास र मुक्तिमार्ग उपन्यासको सामाजिक पक्षलाई तुलनात्मक रूपमा यसरी देखाउन सकिन्छ । मुक्तिमार्ग उपन्यासमा ने.क.पा. माओवादीको नेतृत्वमा महान् जनयुद्धको घोषणा भएपछिको नेपाली समाजको कुरूप स्वरूपलाई चित्रण गरिएको छ । पहेँलो घाम उपन्यासमा गण्तन्त्र प्रप्तिका लागि आफ्नो पेसा, शिक्षा, घरपरिवारको समेत वास्ता नगरी युद्धमा होमिएको नेपाली समाजको शान्तिप्रक्रियापछिको चित्रण पाइन्छ । मुक्तिमार्ग उपन्यासमा केवल सामन्ती सत्ताधारीले मस्ती गरेको न कुनै गति न कुनै प्रगति भएको समाजको चित्रण छ । राष्ट्रको दुर्दशा, अत्याचार र फटाहाहरूले बेरोकटोक राज गरेको समाज पाइन्छ । पहेँलो घाम उपन्यासमा समाजमा सिङ्गो देशलाई हल्लाउँदै विश्वमा समेत चर्चा र चासोको विषय बनेको माओवादी जनयुद्ध बाह्रबुँदे सम्झौताबाट शान्ति प्रक्रियामा ओर्लिएपछिको समाजको चित्रण पाइन्छ । मुक्तिमार्ग उपन्यास नेपाली धर्तीमा सञ्चालित महान जनयुद्ध राजनीतिक्षेत्रमा मात्र नभई आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभावलाई चित्रण गरिएको छ । पहेँलो घाम उपन्यासमा संविधान सभाको पहिलो निर्वाचनपछि सरकारको नेतृत्व गर्न पुगेको माओवादी पार्टीबाट जनताले राखेको आशा र अपेक्षलाई लत्याइएको समाजको चित्रण पाइन्छ ।

३.३.३  उज्यालोको खोजीमा

      हरिहर खनालको उज्यालोको खोजीमा उपन्यास पनि २०६५ सालमा प्रकाशित एक प्रगतिवादी उपन्यास हो । प्रस्तुत उपन्यासको कथावस्तु पश्चिमी नेपालको कास्की र स्याङ्जा जिल्लाबाट आरम्भ भएको छ । दुरुङचुङ नामक सानो गाउँले यसको पृष्ठभूमी निर्माण गरेको छ । पहाडमा जमिनको उर्वरतामा ह्रास र पुरानो सामन्ती प्रथाले गर्दा जीवन कष्टकर देखिन्छ । त्यस गाउँमा आर्थिक विपन्नता र शोषण विद्यमान देखिन्छ भने इतिहासमा अनेक पल्ट हारेको देशबाट युवाहरू विदेशिने परम्परा अनादि कालमै आरम्भ भएको छ । त्यही विपन्न गाउँ र वर्माको एक ठाउँको कथा यस उपन्यासमा छ । प्रमुख पात्र माधव, धनबहादुरको पछि लागेर वर्मा पुग्छ । केही समय त्यहाँ बिताएर स्वदेश फर्किन्छ । माधवको वर्मा बसाइँको समय कसरी बित्यो, त्यसको लामो वृत्तान्त छैन् । यसमा आदिकथा धेरै अर्थमा पुनरावृत्त छ । पुरुष धन कमाउनको लागि विदेशीने, नारी अन्य पुरुष सित लाग्ने, छोराछोरी एक्लिने, पारिवारिक प्रथा ध्वस्त हुने, पुनर्विवाह गर्ने, बाढीपहिरोले तथा प्राकृतिक प्रकोपले जीवन दःखपूर्ण हुँदै जानुजस्ता सामाजिक समस्याहरू यस उपन्यासमा पाइन्छ । यो उपन्यासमा मानव भूगोल र संस्कृति तथा सामाजिक जीवन र एक अन्धकार समयको कथा रहेको छ । समाज अशिक्षित, अन्धकार र रूढीग्रस्त छ । त्यतिखेरको समाज समयले हानेको भकुन्डो मात्र भएको छ । एउटै परिवारमा एकै चोटी चारजना सदस्यको दुःखद निधन हुँदा उपन्यासमा निराशा, दुःख र विसादको अवस्था सिर्जना भएको छ । एउटा एक्लो पात्र अनेक सङ्घर्ष, युद्ध हन्डर खाँदै अन्धकारमय समाजसँग जुहारी खेल्दै उज्यालो तर्फ लम्किन खोजेको छ । सानै उमेरमा बाबु आमा गुमाएको टुहुरो केटो अजय चितवन पुग्दछ । कुनै प्रकारले त्यहीँ पढ्छ, बढ्छ र कलेज पूरा गर्छ अनि विहे पनि गर्छ । त्यसपछि ऊ विद्यार्थी राजनीतिमा जोडिन्छ र वामपन्थीको नजिक पुग्छ । २०३६ सालसम्मको यात्रामा उपन्यास टुङ्गिएकाले पातलो कलेवरमा राजनीतिक कालखण्ड देखिन्छ र पछि आउने २०४६ र २०६३ सालका आन्दोलनहरू गर्भमा रहेको देखिन्छ । सत्र साल अघिको सुगौली सन्धि, त्यसपछिको निरङ्कुशता यस विरुद्ध लड्ने व्यक्ति र दलहरू यस उपन्यासमा केन्द्रित छन् । उपन्यासको मुख्य पात्र अजय २०३६ साल नजिक पुगेरमात्रै सचेतता अनुभूत गर्दछ । परोक्ष रूपले गाउँमा विद्यालय खुल्नु, विधवा विवाह स्वीकार्नु, जातपातको विभेद हट्दै जानु, टाठाबाठा र जिम्वावालहरूको शक्ति कमजोर हुँदै जानु आदि घटना सामाजिक पक्षको रूपका आएको छन् । उपन्यासले अत्यन्तै लामो कालखण्ड ओगटेकोले सात सालभन्दा अघि भिमसेन थापाको पालादेखिका कुरा जोडिएकाले घटनाहरू बिजुलीको गतिमा अघि बढेर  घटनाप्रधान भएको छ । खण्ड एकमा मनोरम गाउँ दुरुङचुङ्को वर्णन छ । खण्ड दुईमा माधवको परिवार, समग्र परिवेश र खण्ड तीनमा वर्माको चित्रण र माधव वर्माबाट फर्केपछिको ग्राम्य जीवन, घर गोठ, खेती र दुःखसुखहरूको वर्णन छ ।  त्यसपछि आउने चाडपर्व खेती किसानीका ऋतुचक्र र अन्य दैनिकी अत्यन्तै सुन्दर भाषशैलीमा प्रस्तुत छन् । पहेँलो घाम उपन्यास र उज्यालोको खोजीमा उपन्यासको सामाजिक पक्षलाई तुलनात्मक रूपमा तल देखाइएको छ । उज्यालोको खोजीमा उपन्यासमा एउटा ग्रामीण परिवारको चित्रण पाइन्छ । यस उपन्यास सामाजिक परिवेशले अघि बढदै गएको छ । अजयको पढाइ, विवाह, जागीर र सुखद अन्त्यले उपन्यास सुखान्तक बनेको छ । सानै उमेरमा बाबुआमा गुमाएको एक टुहुरो केटो अजय अनेक सङघर्ष, युद्ध र सामन्ती समाजसँग जुध्दै एउटा डरलाग्दो अन्धकारबाट उज्यालो खोज्दै पहाडबाट तराई झरेको छ । पहेँलो घाम उपन्यासमा समाजमा सामाजिक समस्याका रूपमा जनयुद्ध पश्चात अनेक दुःख र कष्ट साथै गाँस, वास र कपासको लागि भौँतारिइरहेको युवाको चित्रण पाइन्छ । देशमा आएको परिवर्तनले एकापट्टि आशा पलाएको छ भने अर्कोतिर नेतृत्वमा देखिएको विचलन र खासगरी माओवादी पार्टीमा देखिएको मूल्यहिनताको अवस्थाले मानिसमा निराशा जागेको अवस्थाको चित्रण गरिएको छ । उज्यालोको खोजीमा उपन्यासमा समाजमा सामन्तको शक्ति र पहुँच कमजोर हुँदै गएको र गाउँका सिधासाधा जनता उज्यालोको खोजीमा अघि बढेकोे चित्रण पाइन्छ । पहेँलो घाम उपन्यासको समाजमा जनयुद्धकालमा क्यान्टोमेन्टभित्र अन्तरजातीय विवाह भएतापनि शान्ति सम्झौतापछि दलित जातलाई न स्वीकारेको समाजको चित्रण पाइन्छ । उज्यालोको खोजीमा उपन्यासको समाज अन्धकारमय रातबाट झिलिमिली बत्ती बलेको उज्यालोतिर धकेलिँदै छन् । समाजमा विधवा विवाह स्वीकार्नु, जातपातको विभेद हट्दै जानु जस्ता सामाजिक परिवर्तन आएको छ । पहेँलो घाम उपन्यासमा भने अन्तरजातीय विवाह भएतापनि विधवा विवाहजस्ता पक्षको उल्लेख पाइँदैन ।

      उज्यालोको खोजीमा उपन्यास सामाजिक परिवेशले अघिबढ्दै गएको छ । एउटा नाबालक टुहुरो अजयको पढाइ, विवाह, जागीर र सुखत अन्त्यले समाज सुखान्तकतातिर ढल्केको झल्को दिन्छ । पहेँलो घाम उपन्यासमा माओवादी पूर्व लडाकु शिवाको जीवनमा आएको आँधीहुरी र उतारचढावको चित्रण छ । शिवा क्यान्टोमेन्टबाट अयोग्य प्रमाणित भएपश्चात मेनपावरको जागिर, कृषि उत्पादन साथै अन्त्यमा एक विदेशी युवकसँग विवाह गरी उपन्यास  सुखान्तमा टुङ्गिएको छ । विष्णु भण्डारीको पहेँलो घाम उपन्यासलाई अन्य उपन्यासहरूसँग तुलना गरी हेर्दा विभिन्न सामाजिक पक्षको चर्चा पाइन्छ । घनश्याम ढकालको रातो आकाश उपन्यास नेपाली समाजमा देखिएको वर्गीय द्वन्द्व, असमानता र उत्पीडनलाईको जीवन्त प्रस्तुति हो ।  अर्को उपन्यास कमल निओलको मुक्तिमार्गमा सामन्तहरूको प्रवृत्ति र थिचोमिचोलाई चुपचाप सहेर बस्नुपर्ने बाध्यात्मक समाजको चित्रण गएिको छ । त्यस्तै गरी हरिहर खनालको उज्यालोको खोजीमा उपन्यासमा एक अवोध टुहुरो बालकको जीवनको चित्रण गरिएको छ । उक्त बालक सामन्ती समाजसँग सङ्घर्ष गदै उज्यालोको खोजीमा दौडेको छ । सामन्ती समाजको अन्त्य गर्नको लागि राजनीतिक परिवर्तन ल्याउन खोजेको समाजको चित्रण गरिएको छ । विष्णु भण्डारीको पहेँलो घाम उपन्यासमा चाहिँ सिङ्गो देशलाई हलाउँदै दश वर्षे युद्ध भोगेको समाजको चित्रण गरिएको छ । आमोवादी जनयुद्ध बाह्रबुँदे सम्झौताबाट शान्ति प्रक्रियामा ओर्लिएपछि पूर्वलडाकुहरूको जीवन भोगाइलाई सामाजिक समस्याको रूपमा देखाइएको छ । सम्झौता अनुसार क्यान्टोमेन्टमा रहेका लडाकुहरुलाई वर्गीकरण गरिएको समाज यस उपन्यासमा पाइन्छ । शान्ति प्रक्रियामा आइसकेको पार्टीले आफ्ना कार्यकर्ता र लडाकुलाई समेत संरक्षण नगरेको समाजको चित्रण प्रस्तुत पहेँलो घाम उपन्यासमा  छर्लङ्ग देख्न सकिन्छ ।

परिच्छेद चार

उपसंहार र निष्कर्ष

४.१. उपसंहार

      प्रस्तुत पहेँलो घाम उपन्यासको सामाजिक पक्षको अध्ययन शीर्षक शोधपत्रलाई जम्मा चार परिच्छेदमा विभाजित गरिएको छ । यस शोधको परिच्छेद एक शोधको परिचय अन्तर्गत विषय परिचय, समस्या कथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य, शोधको सीमाङ्कन, शोधविधि, सामग्री सङ्कलन, विश्लेषण शोधको रूपरेखा लगायतका उपशीर्षक राखेर शोधपत्र प्रस्तुत गरिएको छ ।

      परिच्छेद दुईमा विष्णु भण्डारीको परिचय तथा साहित्यिक प्रवृत्ति अन्तर्गत विषय प्रवेश, विष्णु भण्डारीको जीवनी, जन्म तथा बाल्यकाल, शिक्षादीक्षा, विवाह र दाम्पत्य, आजीविका, प्रेरणा र प्रभाव शीर्षक राखेर विश्लेषण गरिएको छ । त्यस्तै विष्णु भण्डारीको व्यक्तित्वको अध्ययनमा साहित्येतर व्यक्तित्व, पत्रकार व्यक्तित्व, बहुआयामिक व्यक्तित्व शिक्षक व्यक्तित्व, अभिप्रेरक व्यक्तित्व, राजनीतिक व्यक्तित्व आदि उपशीर्षक राखेर विश्लेषण गरिएको छ । विष्णु भण्डारीको साहित्यिक व्यक्तित्व अन्तर्गत कवि व्यक्तित्व, कथाकार व्यक्तित्व, उपन्यासकार व्यक्तित्व, निबन्धकार व्यक्तित्व, लगायतका उपशीर्षक राखेर विश्लेषण गरिएको छ । यस अन्तर्गत साहित्यिक प्रवृत्तिको समेत चर्चा गरिएको छ । साथै उपन्यासकार विष्णु भण्डारीको साहित्यिक प्रवृत्ति र औपन्यासिक प्रवृत्तिको चित्रण गरिएको छ ।

       परिच्छेद तीनमा आधुनिक नेपाली उपन्यास परम्परामा पहेँलो घामको सामाजिक पक्ष अन्तर्गत सर्वप्रथम परिचय, कथावस्तु, परिवेश, जातजाति, भाषा, पेशा, आर्थिक अवस्था, शैक्षिक अवस्था, लैङ्गिक अवस्था, राजनीतिक अवस्था, पारिवारीक अवस्था, सामाजिक समस्याजस्ता उपशीर्षक राखेर विश्लेषण गरिएको छ । त्यस्तै उपन्यासकार विष्णु भण्डारीको औपन्यासिक प्रवृत्तिहरूको चर्चा गरिएको छ । यस अन्तर्गत प्रगतिवादी, सामाजिक यथार्थ, राष्ट्रियता, मानवतावाद, क्रान्ति र विद्रोह, सरल, सहज, स्वाभाविक र सम्प्रेषणीय भाषशौलीको प्रयोग गरी औपन्यासिक प्रवृत्तिको चर्चा गरिएको छ । यसै परिच्छेदमा आधुनिक नेपाली उपन्यास परम्परामा पहेँलो घामको सामाजिक पक्षको योगदान अन्तर्गत पहेँलो घाम उपन्यासको सामाजिक पक्षलाई अन्य उपन्यासको सामाजिक पक्षसँग तुलना गरी देखाइएको छ । अन्य उपन्यासहरूमा रातो आकाश, मुक्तिमार्ग, उज्यालोको खोजीमा आदि उपन्यासको सामाजिक पक्षसँग पहेँलो घामको सामाजिक पक्षलाई तुलना गरिएको छ । 

४.२. निष्कर्ष

      प्रस्तुत पहेँलो घाम उपन्यास जनयुद्ध र त्यसपछिको समयमा छापामारहरूले भोग्नु परेको दुःख सुखका घटनामा केन्द्रित भएर लेखिएको उपन्यास हो । जनयुद्ध पश्चातको समयमा योद्धाहरूको जीवन र तिनीहरूका परिवारजनको दयनीय अवस्थाको बारेमा प्रस्तुत उपन्यासमा छर्लङ्ग पारिएको छ । समग्रमा विष्णु भण्डारीको पहेँलो घाम उपन्यासको सामाजिक पक्षको अध्ययनबाट प्राप्त निष्कर्षहरूको यहाँ चित्रण गरिएको छ । विष्णु भण्डारी प्रगतिवादी लेखक हुन् । यिनको सूक्ष्मदेखि बृहत रूपसम्मको विषय सन्दर्भलाई केलाउँदा मूलतः परिवर्तनको पक्षमा लेखिरहने स्रष्टा हुन् । पहेँलो घाम उपन्यास जनयुद्धलाई सकारात्मक कोणबाट मूल्याङ्कन गरेर लेखिएको उपन्यास हो । यस उपन्यासको कथा त्रिकोणात्मक सम्बन्धको कथामा बुनिएको छ । माओवादी आन्दोलन नै पहेँलो घामको अवस्थामा पुगेकाले उपन्यासको नाम पहेँलो घाम रहेको हो । पहेँलो घाम उपन्यास एक प्रतीकात्मक नाम हो । जसले रातो हुनुपर्ने घाम पहेँलिदै गएको सङ्केतले माओवादी भित्रको सैद्धान्तिक र व्यहारिक विचारलाई प्रस्तुत गरिएको हो । चारित्रिक संरचनाका आधारमा प्रस्तुत उपन्यासलाई बहुपात्रीय उपन्यासको कोटीमा राख्न सकिन्छ । शिवाको साहस, प्रतिरोधी चरित्र र आशावादीताले उपन्यासको अन्यपात्रहरूलाई समाजिक सम्बन्धमा नजिक ल्याएको छ । शिवामार्फत नै जनयुद्धमा महिला र जनजाति समाजको बलियो सहभागिता उपन्यासमा पाइन्छ । युद्धमा वीरतापूर्वक लडेका माओवादी छापामारहरूको क्यान्टोमेन्टबाट बाहिरिएपछिका दुःख, पीडा, सङर्घषको चित्रण निकै मार्मिक रूपमा गरिएको छ । सेना समायोजनमा परेका पूर्व माओवादी छापामारहरूको जीवनी चित्रण पनि गौण रूपमा भएपनि लेखकले सामाजिक रूपमा चित्रण गरिदिएको भए पहेँलो घामको कथावस्तुमा अझ मिठास थपिन्थ्यो । समग्रमा पहेँलो घाम उपन्यासको सामाजिक पक्ष गहन र सकारात्मक छ । यो अहिलेको सशक्त प्रगतिवादी उपन्यास हो ।

      पहेँलो घाम उपन्यास विष्णु भण्डारीको मझौला आकारको पहिलो औपन्यासिक कृति हो । माओवादी जनजुद्धको घटनावलीलाई विषयवस्तु बनाएको यस उपन्यासमा द्वन्द्व कालमा नेपाली समाजमा ब्याप्त अन्याय, अत्यचार, शोषण, दमन र उत्पीडनको जीवन्त चित्रण छ । त्यस बेलाका शासकहरूको आक्रमण, हत्या र बलात्कारको शिकार बन्ने नरनारीका कथाव्यथा तथा साहस र वीरताकासाथ युद्ध लडेका लडाकुहरू शान्ति सम्झौतापछि अयोग्य प्रमाणित भई क्यान्टोमेन्टबाट बाहिर निकालिएपछि उनीहरूले भोग्नुपरेको दुःख–व्यथा र गन्तव्यहीन यात्रालाई समाजमा देखाइएको छ । सिङ्गो देशलाई हल्लाउँदै विश्वमा समेत चर्चा र चासोको विषय बनेको माओवादी जनयुद्ध शान्ति प्रक्रियामा आएपछि उसका लडाकुहरूको व्यवस्थापन समाजमा ठूलो चुनौतिका रूपमा देखिन पुग्यो । सम्झौता अनुसार क्यान्टोमेन्टमा रहेका लडाकुहरूलाई वर्गिकरण गरी निश्चित सङ्ख्या सेनामा समायोजन गरियो भने केहीले तोकिएको रकम लिएर स्वेच्छिक अवकास रोज्न पुगे । तर वर्गीकरण गर्दा सेनामा अयोग्य ठहर गरिएको ठूलो सङ्ख्याका लडाकु भने रित्तो हात क्यान्न्टोमेन्टबाट बाहिरिन पुगे । संविधान सभाको पहिलो निर्वाचनपछि सरकारको नेतृत्व गर्न पुगेको माओवादी पार्टीबाट समाजका जनताले ठूलो आशा र अपेक्षा राख्नु स्वाभाविक थियो । सरकारले आन्दोलनको राप र तापको उर्जा बोकेको भएपनि आन्दोलनको मर्म भावना अनुरूप अधि बढ्न नपाउँदै छोटो समयमै विस्थापित हुन पुग्यो । शान्ति प्रक्रियामा आइसकेपछि पार्टीले आफ्ना कार्यकर्ता र लडाकुलाई समेत आवश्यक संरक्षण व्यवस्थापन र परिचालन  गर्न नसक्दा तिनीहरू पार्टीभित्रै अनाथ र बेरोजगार बन्ने स्थिति समाजमा देखाप¥यो । भित्रभित्रै असन्तुष्टिका स्वरहरू फैलिन थालेपछि अन्ततः पार्टी नै विखण्डित भई कमजोर बन्न पुग्यो । बिहानको रातो घाम बनेर उदाएको माओवादी आन्दोलन अस्ताउन लागेको पहेँलो घामझैँ हुन पुग्यो भन्ने कुरालाई उपन्यासले समाजमा अयोग्य लडाकुलाई केन्द्रमा राखी खोतल्न खोजेको छ ।

      सिङ्गो देशलाई हल्लाउँदै विश्वमा समेत चर्चा र चासोको विषय बनेको माओवादी जनयुद्ध बाह्रबुँदे सम्झौताबाट शान्ति प्रक्रियामा ओर्लिएपछि पूर्वमाओवादी लडाकुहरूको व्यस्थापन गर्न नसकेको चित्र प्रस्तुत उपन्यासले समेटेको छ । यस उपन्यासको नायक सोहनले आफ्नो जन्म थलो खोज्ने क्रममा अन्तिममा मात्र आफू कामीको छोरो भएको थाहा पाएको छ । सोहनको वुबालाई कामी भएकै कारण सामन्ती समाजले भाला रोपेर हत्या गरेको दृश्यले उपन्यासको समाजलाई घटनाप्रधान बनाएको छ । समग्रमा हेर्दा घटना, पात्र, समाज, राजनीति र विचारको उचित संयोजन अनि यथार्थको कलात्मक प्रतिबिम्वनले पहेँलो घाम उपन्यासको अहिलेको उत्कृष्ठ सामाजिक उपन्यास हो भन्न सकिन्छ । यस उपन्यासमा सेना समायोजन भित्र परेका पूर्वमाओवादी लडाकुहरूको पनि जीवनी चित्रण भएको भए अझ राम्रो हुन्थ्यो ।

४.३  प्राप्ति र सीमा

(क)   प्राप्ति

      प्रस्तुत पहेँलो घाम उपन्यासमा विष्णु भण्डारीले समाजको यथार्थ चित्रण गरेका छन् । उनले समाजमा देखे, सुनेका र भोगेका घटनालाई उपन्यासमार्फत पस्केका छन् । विष्णु भण्डारी एक कुशल राजनीतिज्ञका साथै प्रगतीशील लेखक हुन् । देशमा शान्ति स्थापनाको लागि भएको दशवर्षे जनयुद्धले समाजमा पारेको प्रभावलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

१.    पहेँलो घाम उपन्यासमा विष्णु भण्डारीले मुख्य रूपमा राजनीति समस्यालाई सामाजिक समस्याको रूपमा देखाएका छन् ।

२.    प्रस्तुत उपन्यासमा आर्थिक समस्या, पारिवारिक समस्या, लैङ्गिक समस्या, राजनीतिक समस्या, सांस्कृतिक समस्या र बेरोजगारि लगायत अन्य थुप्रै सामाजिक समस्याहरूको चित्रण गरेका छन् ।

३.    जनयुद्ध कालमा नेपाली जनताले भोग्नु परेको अन्याय, अत्याचार, शोषण, दमन र दलीतलाई हेर्ने कु–दृष्टि एक सामाजिक समस्याको रूपमा रहेको कुरा विष्णु भण्डारीको उपन्यास पढ्दा अनुभूत गर्न सकिन्छ  ।

४.    प्रस्तुत उपन्यासमा दलित र निमुखा जनताको पसिनामा मोज गर्दै ठूला–ठूला दरबार ठड्याउने सामन्ती अभिजात वर्गका साथै राष्ट्रसेवा गर्छु भन्ने नेतृत्वको असामाजिक चरित्रको चित्रण गरिएको छ ।

५.    प्रस्तुत उपन्यासमा माओवादी पार्टीका गतिविधि आन्दोलनको दिशा र नेतृत्वबारे अधिकांश अयोग्य लडाकुहरूले निराशा व्यक्त गरेका छन् । यसरी महान बलिदान गर्ने जनसेना र लडाकुहरूले नै निराशा व्यक्त गर्नु पनि समाजमा देखिएको अन्यौल र दिशाहिनताको अवस्था हो ।

६.    पार्टी गलत दिशातिर लागेको भ्रष्ट र अवसरवादीहरूकै हालिमुहाली बढेको, इमान्दार र क्रान्तिमा समर्पित व्यक्तिहरू उपेक्षित भएको जस्ता निराशा र आक्रोशका स्वरले विचलित समाजको चित्रण यस   उपन्यासमा पाइन्छ ।

७.    प्रस्तुत उपन्यासमार्फत समाजमा सामुहिक कृषि कार्यको थालनीसँगै जस्तासुकै समस्या आइपरे पनि नेपाली समाजका नर–नारीहरू पछि नहटेको चित्रण गरिएको छ ।

८.    प्रस्तुत उपन्यासमा विष्णु भण्डारीले जनयुद्धमा अयोग्य प्रमाणित भएका लडाकुहरूले कति पनि बिचलित नभइकन सामुहिक सिर्जनशील कृषि       फारम खोलेर आफ्नो उत्पादनको स्रोत बढाएको दृष्यले समाजमा कृषिमा परिवर्तन ल्याएको छ ।

९.    प्रस्तुत उपन्यासले समाजमा दलित तथा महिलालाई हेर्ने कुदृष्टिको      सशक्त विरोध गर्दै यस्ता अमानवीय सोच र संस्कारको सबैले विरोध गर्नुपर्ने सन्देश दिएको छ ।

१०.   प्रस्तुत उपन्यासमा विष्णु भण्डारीले परिवर्तनशील समाजको परिकल्पना गरेका छन् ।

११.   प्रस्तुत उपन्यासमा माओवादी आन्दोलनमा प्रत्यक्ष–अप्रत्यक्ष संलग्न      व्यक्तिबाट लेखिएको हुँदा उपन्यासको विषय, पात्रचयन र प्रस्तुतिमा समाजको यथार्थ चित्रण प्रतिबिम्बन भएको छ ।

१२.   क्यान्टोमेन्टबाट अयोग्य प्रमाणित भएका लडाकुले भोग्नु परेका समस्या अनि तीनका आस्था र विश्वासमा गएको पैह्रोको समाजको घटनालाई स्पष्ट रूपमा देखाउन खोजिएको छ ।

१३.   पहेँलो घाम उपन्यासमा विष्णु भण्डारीले आफूले जीवनमा देखे, भोगेका र सुनेका समाजका सत्यलाई चित्रण गरेका छन् ।

(ख)   सीमा

      प्रस्तुत पहेँलो घाम उपन्यास क्यान्टोमेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारहरूको कथा मूल विषय रहेको  छ । आफ्नो वैचारिक अभीष्ट पूरा गर्न कतिपय लेखकले  भाव संप्रेषण गराउनुलाई समाजमा सबल       पक्ष देखिन्छ । तरपनि कतिपय सन्दर्भ, संवाद र चरित्र चित्रणमा भने कहीँ कहीँ साना–साना छिद्रहरू देखिन गएको छ । समग्रमा विष्णु भण्डारीको पहेँलो घाम उपन्यासको सामाजिक पक्षको अध्ययनबाट प्राप्त छिद्रहरूलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।

१.    प्रस्तुत पहेँलो घाम उपन्यासमा नायिका शिवालाई एउटी बहादुर छापामार युवतीको रूपमा समाजमा देखाइए तापनि लाहानबाट काठमाडौँ आउने क्रममा रात परेको बेलामा निकै कमजोर र डरपोक देखाइएको छ ।

२.    पार्टीभित्र सार्पसुटर परीका रूपमा रहेकी शिवालाई पार्टीकै पनि कतिपय नेता तथा कार्यकर्ताहरूले नचिनेको देखाइएको छ ।

३.    यस उपन्यासमा अयोग्यमा परेकी प्रतिनिधि पात्रलाई समाजमा त्यति धेरै चर्चित तुल्याउनु अस्वाभाविक देखिन्छ ।

४.    अर्कातिर आफ्नो आस्था र सिद्धान्तमा दृढ रहँदै निराश र पलायन हुन लागेका लडाकुहरूलाई सम्झाउँदै समाजमा परिवर्तन खडा गर्ने एउटी सशक्त छापामारलाई विदेश बस्दै आएको युवक सोहनसँग दोस्रो पटकको भेटमै दुई हप्तासम्म सँगै बहकिएर हिँड्ने गराउनु पनि समाजमा त्यति औचित्यपूर्ण देखिँदैन ।

५.    यस उपन्यासमा एकातिर चौँरीखर्क अनकन्टार कालीलेक पार गरेर जानुपर्ने अत्यन्त दुर्गम ठाउँका रुपमा उल्लेख गरिएको छ भने अर्कातिर सोहन गाडी लिएर गोठालाहरू बस्ने गोठमानै पुगेको चित्र देखाइएको छ ।

६.    यस उपन्यासको नायक सोहनको चरित्रलाई पनि स्वाभाविक रूपमा समाजमा देखाइएको छैन ।

७.    उपन्यासको नायक सोहनले दुई पटकको भेटघाटमा पनि शिवाको परिवारको बारेमा जान्न नखोज्नुले पनि उसमा स्वार्थी पन देखिएको छ ।

८.    प्रस्तुत उपन्यासकी नायिका शिवाले लामो समयसम्म पनि आफ्नी आमाको खोजी खबरी नगर्नु र एकैचोटी कृषि फारममा काम गर्न     थालेपछि मात्र भेट्नु शिवाको कमजोरी देखिन्छ ।

९.    दश वर्षपछि मात्र शिवाकी आमा छोरीलाई अङ्गालो हालेर रोएको दृश्यले शिवामा पारिवारिक संवेदनाको कमी देखाउँछ ।

१०.   प्रस्तुत पहेँलो घाम उपन्यासकी मुख्य पात्र शिवाको नाम आम जनतादेखि कम्पनीको बोससम्मले सुन्नेबित्तिकै चिन्ने र त्रसित हुने   अवस्थालाई समाजमा स्वाभाविक मान्न सकिँदैन ।

११.   पहेँलो घाम उपन्यासकी मुख्य पात्र शिवाको नाम त्यसरी सबैले चिनेको र सुन्ने बित्तिकै त्रसित हुने अवस्थाको लागि त्यही अनुरूपको चरित्र    विकशित गरेर समाजमा देखाउनु पथ्र्यो तर यहाँ यसो गरिएको छैन ।

सन्दर्भ सूची

अधिकारी, कृष्णराज. (२०७३). ‘पहेँलो घाम’ को मधुरो किरण. गरिमा  ३५(५÷३८४). पृ. ९७ ।

अनुरागी, कला. (२०७२, माघ २). पहेलिँदै गएको क्रान्तिको कथा. अन्नपूर्ण पोष्ट, पृ. ६ ।

……………., (२०७२, माघ २३). कतिले भने ‘सेक्स सिन’ दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ? रातोपाटी डिजिटल पत्रिका ।

कोइराला, लयप्रसाद. (२०७०). उपन्यासकार रामप्रसाद ज्ञवालीका उपन्यासहरूमा सामाजिक पक्ष. स्नातकोत्तर शोधपत्र. काठमाडौं: पशुपति बहुमुखी क्याम्पस ।

खनाल, हरिहर. (२०६५). उज्यालोको खोजीमा, काठमाडौं: भुँडीपुराण प्रकाशन ।

ढकाल, घनश्याम. (२०६५). रातो आकाश. काठमाडौं : विवेक सिर्जनशील प्रकाशन ।

ढकाल, धु्रवराज. (२०७०). विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्व. स्नातकोत्तर शोधपत्र कीर्तिपुर : नेपाली केन्द्रीय विभाग ।

निओल, कमल. (२०६४). मुक्तिमार्ग. अखिल नेपाल लेखक सङ्घ : केन्द्रीय समिति ।

पौड्याल, महेश. (२०७२, माघ २३). पहेँलो घाम एक आख्यान विद्रोह, नयाँ पत्रिका, (९/२८९). पृ ५ ।

प्रधान, कृष्णचन्द्रसिंह. (२०५२). नेपाली उपन्यास र उपन्यासकार. (चौ.सं.). ललितपुर : साझा प्रकाशन ।

प्रधान, प्रतापचन्द्र. (२०४०). नेपाली उपन्यास परम्परा र पृष्ठभूमि. दार्जीलिङ : दीप प्रकाशन ।

बराल, कृष्णहरि र नेत्र एटम. (२०६६). उपन्यास सिद्धान्त र नेपाली उपन्यास. (ते.सं.). ललितपुर : साझा प्रकाशन ।

बानियाँ, राजकुमार. (२०७२, फागुन २९). माओवादी छायाँमा. कान्तिपुर, कोसेली. पृ. च ।

भण्डारी, विष्णु. (२०६३). फेरी अर्को तारा खस्यो, काठमाडौँ : शैलवी प्रकाशन ।

………………, (२०६३). देश जागेको बेला, काठमाडौँ : हंशराज वाग्ले ।

………………., (२०६७). उत्सर्ग, काठमाडौँ : अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्रा. लि. ।

………………., (२०६९). घाइते ≈िवलचियर, काठमाडौँ : शैलवी प्रकाशन ।

………………,  (२०७२). पहेँलो घाम. काठमाडौँ : प्राइम बुक्स प्रकाशन । 

श्रेष्ठ, भीम कुमारी. (२०७३). पहेँलो घाम उपन्यासको विधातात्विक अध्ययन. स्नातकोत्तर शोधपत्र. काठमाडौं : त्रि–चन्द्र बहुमुखी क्याम्पस ।

संगम, फणीन्द्र. (२०७२, पुस १०). केही साथी मसँग धेरै खुसी छैनन्.  साप्ताहिक शुक्रवार . पृ. ७ ।

सुवेदी, राजेन्द्र. (२०६४). नेपाली उपन्यास : परम्परा र प्रवृत्ति, ललितपुर : साझा प्रकाशन ।


  प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार ०१:३३