कान्तिपुर : २५ माघ २०७२
पोखरा (कास)- शान्ति प्रक्रियापछि माओवादीका अयोग्य ठहरिएका लडाकुमाथि लेखिएको विष्णु भण्डारीको उपन्यास ‘पहेंलो घाम’ माथि शनिवार परिचर्चा गरियो । प्यान्डम रिडर्स सोसाइटीको शृंखलाको ६० औं संस्करणमा यो उपन्यास छानिएको हो ।
दीपक पराजुलीले उक्त कृति संक्रमणकालीन राजनीतिक इतिहासको दस्तावेज भएको दाबी गर्दै थपे, ‘यो कृतिले राजनीतिक परिवर्तनको एउटा कालखण्डलाई केलाएको छ । एक दशक लामो द्वन्द्वमा होमिएर सेना समायोजनपछि अयोग्य ठहर भई बाहिर परेकाहरूको मनोसामाजिक दशा र जीवनका उतारचढाव समेटेको छ । युद्धकालका लडाकु अयोग्य होइनन्, तिनलाई परिचालन गर्ने चाहिँ अयोग्य हुन् ।’
उपन्यासकार भण्डारीले जीवनका सत्यलाई साहित्यमा उतार्दा कोही पनि गैरप्रगतिवादी नहुने उल्लेख गर्दै भने, “प्रगतिवादी खेमाका लेखकहरूले प्रेम, यौन, स्वर्ग, भगवान् जस्ता शब्दको प्रयोग गर्ने नहुने परम्परागत मान्यताप्रति म असहमत छु । कम्युनिस्ट पार्टीका नेताहरूको दर्शन र चरित्र फरक भएकाले उनीहरूको जीवनशैली ‘पहेंलो घाम’ मा रूपान्तरण हुँदै गएको छ ।”
कृतिमाथि गनेस पौडेल, सरस्वती प्रतीक्षा, सुरेश रानाभाट, अजय अनमोल, डा. कृष्णराज अधिकारी, भीम रानाभाट, अमृत सुवेदी, राजेन्द्र पौडेल लगायतले टिप्पणी गरे ।