विमर्शमा ‘पहेंलो घाम’

कान्तिपुर । मंगलबार, १५ मंसिर २०७२

काठमाडौं (कास)- विष्णु भण्डारीको उपन्यास ‘पहेंलो घामबारे विमर्श भएको छ । प्राज्ञ अमर गिरीले उपन्यासमा जनयुद्धसँग सम्बन्धित संवेदनशील विषय उठान भएको बताए । जनयुद्धमा पार्टी र राज्यले अयोग्य करार गरेका छापामारलाई लिएर भण्डारीले उपन्यासमा समसामयिक र संवेदनशील विषय उठान गरेको उनले दाबी गरे । अहिले बजारु उपन्यासको बोलवाला बढिरहेको बेला संवेदनशील विषयमा उपन्यास लेखिनु सराहनीय कार्य हो,’ उनले भने ।

समालोचक रमेश भट्टराईले अहिलेको यथार्थ चित्रणमा उपन्यास सफल भएको बताए । संगीत श्रोताले जनयुद्धको पक्षमा कम सिर्जना भइरहेको अवस्थामा त्यसैबारे उपन्यास लेखेर भण्डारीले जोखिम मोलेको दाबी गरे । जनयुद्धमा सहभागी महिलाबारे अनुसन्धान गरिरहेकी कैलाश राईले विष्णु भण्डारीले माओवादी छापामारका बीच हुने यौन हिंसालाई उपन्यासमै भए पनि सार्वजनिक गरेको बताइन् । उपन्यासकार भण्डारीले जनयुद्धमा कुशलतापूर्वक लडेका तर क्यान्टोनमेन्टबाट अयोग्य सावित भएका युवाको पीडामय जीवनशैलीबाट संवेदित भएर उपन्यास लेखेको बताए । कार्यक्रममा *बालकृष्ण अधिकारीसँगै जनयुद्धमा सहभागी रेखा बाँस्तोला, भगवती प्रधान र राजु स्याङ्तानले उपन्यासको चर्चा गरे । प्राइम बुक्सले छापेको उपन्यास भण्डारीको आठौं कृति हो ।


  प्रकाशित मिति : २७ चैत्र २०७८, आईतवार ०८:३७