काठमाडौं, मंसिर १४ (नागरिक )
विष्णु भण्डारीको उपन्यास ‘पहेँलो घाममाथि’ राजधानीमा विमर्श भएको छ ।
विमर्शमा प्रगतिशील लेखक संघका अध्यक्षा तथा प्राज्ञ अमर गिरीले उपन्यासमा जनयुद्धसँग सम्बन्धित संवेदनशील विषय उठान भएको बताए । ‘जनयुद्धमा पार्टी र राज्यले अयोग्य करार गरेका छापामारलाई लिएर भण्डारीले उपन्यासमा समसामयिक र संवेदनशील विषय उठान गरेका छन्,’ उनले भने, ‘यसले राजनीतिक र सामाजिक क्षेत्रमा बहस सिर्जना गरेको छ।’ अहिले बजारु उपन्यासको बोलवाला बढिरहेका बेला संवेदनशील विषयमा उपन्यास लेखिनु सराहनीय कार्य भएको उनको मत छ । समालोचक रमेश भट्टराईले कथामा मार्क्सवादी सौन्दर्यदृष्टिबाट हेर्दा निराशा देखिए पनि अहिलेको यथार्थ चित्रण गर्नमा उपन्यास सफल भएको बताए । उपन्यासको भाषा सुन्दर छ । अहिले कथा प्रस्तुति पनि कलात्मक छ। त्यसैले मैले यसलाई पढ्नैपर्ने उपन्यासको सूचीमा राखेको छु,’ उनको भनाइ छ
समीक्षक संगीतस्रोताले जनयुद्धका पक्षमा कम सिर्जना भइरहेको अवस्थामा त्यसैबारे लेखेर भण्डारीले जोखिम मोलेको दाबी गरे । जनयुद्धमा सहभागी महिलाबारे अनुसन्धान गरिरहेकी कैलाश राईले भण्डारीले माओवादी छापामारका बीच हुने यौनहिंसालाई उपन्यासमै भए पनि सार्वजनिक गरेको बताइन् ।