पहेँलो घाम बजारमा

Posted: Monday, Oct 12, 2015 15:11 PM

 ujyaaloonline.

काठमाडौं, असोज २५ – अयोग्य छापामार युवतीलाई प्रमुख पात्र बनाएर लेखिएको विष्णु भण्डारीको उपन्यास पहेँलो घाम प्राइम बुक्सले बजारमा ल्याएको छ । 

असहज राजनीतिक परिस्थितिका कारण उपन्यास विमोचनको औपचारिक कार्यक्रम नगरी बजारमा पठाएको प्रकाशक प्राइमबुक्सले जनाएको छ । ‘सवारी साधनलगायतको समस्या भएकाले सार्वजनिक कार्यक्रम गरिएन’, प्राइमका अध्यक्ष पुरन थापाले भन्नुभयो ‘नाकाबन्दीकै कारण कतिपय नयाँ पुस्तक बजारमा आउनै सकेका छैनन्, हामीले पाठकको चाहनालाई सम्बोधन गर्दै विमोचन अगावै पुस्तक बजारमा पठाएका हौं ।’

जनयुद्धमा साहसिक योद्धाको परिचय बनाएकी युवतीको कथा उपन्यासमा बुनिएको छ । युवतीले युद्धकालमा भोग्नुपरेको सघन पीडा र उनले देखाएको साहसको रोमाञ्चसँगै उपन्यास अघि बढ्छ ।

पार्टी शान्तिप्रक्रियामा आएपछि उसले देखेको सपना कसरी भत्किन्छ ? ऊ कसरी अयोग्य बन्छे ? के ऊ अयोग्य नै थिई त ?उपन्यासका घटनाक्रम यिनै प्रश्नको वरिपरि घुमेका छन् । 

उपन्यासकार भण्डारी भन्नुहुन्छ ‘राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामारमाथि अन्याय गरेको छ । उनीहरूको योगदानको मूल्याङ्कन गर्नुको साटो अयोग्य बनाएको छ । यो गलत निर्णय थियो । मैले त्यसैलाई केन्द्रमा राखेर यो उपन्यास लेखेको हुँ ।’ उपन्यासमा अयोग्य बनाएर निकालिएका छापामारले बाँच्नका लागि गरेको संघर्ष र समकालीन राजनीतिलाई पनि सँगसँगै उतारिएको छ । माओवादी आन्दोलन किन र कसरी पहेँलो घामजस्तो कमजोर र ऊर्जाहीन भयो भन्ने खोज उपन्यासमा कलात्मक ढंगले गरिएको छ । 

भण्डारी चार दशकदेखि निरन्तर काव्यिक आन्दोलन र लेखनमा सक्रिय हुनुहुन्छ । पहेँलो घाम भण्डारीको पहिलो उपन्यास हो । यसअघि उहाँका सात काव्यकृति प्रकाशित छन् । पहेंलो घाममा २९६ पृष्ठ छन् । उपन्यासको मूल्य ३ सय ५० रूपैयाँ छ ।

http://ujyaaloonline.com/news/49140/pahelo-gham/


  प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार ०७:३०